बिहीबार, वैशाख २०, २०८१

घलेद्वारा छुट्टै महाधिवेशन आयोजक समिति र निर्वाचन समिति पूनर्गठनको दाबी

नेपालप्लस संवाददाता / काठमाडौं२०७८ फागुन २७ गते १२:३०

गैर आवासीय नेपाली संघ (एनआरएनए) का पूर्व अध्यक्ष शेष घलेले संघको केन्द्रीय समितिको निर्वाचन गराउन निर्वाचन समिति र महाधिवेशन आयोजक समिति पूनर्गठनको घोषणा गरेको सार्वजनिक गरेका छन् ।

एनआरएनएको विधान २००३ (२०२१ संशोधन सहित) को धारा १६.१.४ अनुसार उनले निर्वाचन समिति पुनर्गठन गर्नुका साथै महाधिवेशन आयोजक समिति पनि गठन गरेको घोषणा गरेका हुन् ।

गत वर्ष निर्वाचित एनआरएनएका ६५ राष्ट्रिय समन्वय परिषद (एनसीसी) हरु मध्ये ५० भन्दा बढी एनसीसीहरुले गत आइतबार एक बैठक गरी प्रमुख संरक्षक घलेलाई संस्थाको संरक्षण गर्न आवश्यक सबै कदम चाल्न म्यान्डेट दिएको दाबी गरिएको छ ।

घलेले घोषणा गरेको निर्वाचन समितिको प्रमुख निर्वाचन अधिकृतमा विश्व बराल (अमेरिका) तथा सदस्यहरुमा इन्द्रा बन (अस्ट्रेलिया), अधिवक्ता बासुदेव फुलारा (अमेरिका), मेजर (रिटायर्ड) डमर घले (युके), पुष्प थापा (जर्मनी), बिमल सुवेदी (कतार) तथा प्रकाश धमला (दक्षिण कोरिया) रहेका छन् ।

शेष घलेले संघको दशौँ महाधिवेशन आयोजना गर्न एक महाधिवेशन आयोजक समिति पनि गठन गरेका छन् । संघका उपाध्यक्ष सोनाम लामाको संयोजकत्वमा गठित महाधिवेशन आयोजक समितिको सह-संयोजकमा अर्का उपाध्यक्ष मन केसी रहेका छन् । आयोजक समितिको सदस्यमा सबै एनसीसी अध्यक्षहरु, आइसीसीका पदाधिकारीहरु, क्षेत्रीय संयोजक तथा क्षेत्रीय उपसंयोजकहरु लगायत रहने उल्लेख छ ।

दशौँ महाधिवेशन मार्च २२ देखि २५ तारिख (चैत्र ८ देखि ११ ) सम्म काठमाडौँमा आयोजना हुने बताइएको छ ।

गत अक्टोबर २०२१ मा हुनुपर्ने दशौँ महाधिवेशन र निर्वाचन प्रतिनिधि विवादका कारण हुन नसकेपछि आइसीसीले प्रमुख संरक्षक डा। शेष घलेको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गरेको थियो । तर समितिले तोकिएको मितिबाट एक महिनाको समय लम्ब्याउँदापनि केन्द्रिय समितिलाई विवादका समाधानसहित रिपोर्ट दिन सकेको थिएन । बरु समिति आफैंमा विवादमा परेको थियो ।

उच्चस्तरीय समितिका तर्फबाट घलेले झन्डै २,६०० मतदाताहरु रहेको सूची तयार गरेको छ । सोही सूचीको आधारमा निर्वाचन गराइने जनाइएको छ ।

यस अघि प्रमुख संरक्षक रहेका घलेले संघका सबै डेलिगेट्स तथा अभियन्ताहरुलाई सकभर छिटो काठमाडौँ आउन आग्रह गरेका छन् । उनले संस्था जोगाउन र एकजुट पार्न विधानले दिएको अधिकार प्रयोग गरी आफुले उक्त निर्णय गरेको सार्वजनिक गरिएको छ । उनले नेपाल सरकारसंग सहकार्य गरी सभ्य र भव्य रुपमा दशौँ महाधिवेशन सम्पन्न गर्न सहयोग गर्न सबैलाई अपिल पनि गरेका छन् ।

घलेको यो कदमले एनआरएनए अब फुटको संघारमा पुगेको बताइन्छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक