बिहीबार, वैशाख २०, २०८१

सम्पूर्ण विश्व ब्रम्हान्डको एउटा सानो कण हुनुमा गर्व

नेपालप्लस संवाददाता / काठमाडौं२०७८ चैत १२ गते २०:२१

एनआरएन हामी सबैको एउटा साझा परिचय हो । त्यहि परिचयले हामी सबैलाई जुट्न, एकै ठाउँमा भेला हुन र केहि नयाँ काम गर्न आत्मविश्वास दिएर हाम्रो साक्षी बनिरहेको एउटा संस्था हो । यस संस्थाको पूर्व अध्यक्ष तथा एनआरएनको एउटा सिपाहि हुँ भन्दा मलाई सधैं एकदमै गर्वको अनुभुति हुन्छ ।

अब अलिकति नमिठो कुरा गर्दछु । एनआरएन भनेको नेपालले जहिले पनि सधैं माया गरेको तथा आफ्नो सहयात्री र आदर्श मानेको संस्था हो । यस्तो सस्ंथामा विगत केहि महिनादेखि जे घटिरहेको छ । त्यो पक्कै पनि गर्विलो छैन । एउटा ‘रोल मोडल’को रुपमा हेरिएको यो संस्था अब शंकाको रुपमा हेरिंदै छ जस्तो मलाई लाग्छ ।

तर, मैले देखेको एनआरएनएको पनि विभिन्न चरण छ । कुनै समय थियो, जतिबेला एनआरएनएमा चुनाव नै हुँदैनथ्यो । त्यसपछि अर्को चरण आयो, जहाँ चुनाव हुन्थ्यो । तर अब आजको यो समय भनेको परिवर्तनको समय हो । संस्था ठूलो हुँदै जाँदा परिवर्तन हुनु र केहि विवाद हुनु पनि स्वाभाविक नै देखेको छु ।

तर, म आजको यस सम्मेलनमार्फत यो विश्वास दिलाउन चाहन्छु कि यो सम्मानित संस्था अब फेरि एकपटक ‘रोलमोडल’कै रुपमा स्थापित हुनेछ । अब यो शंकाको बादल हटेर छिट्टै फेरि आत्मविश्वाश तथा गर्वका साथ सम्मानित संस्थाकै रुपमा परिचित हुनेमा म विश्वस्त छु ।

म आजकाल विश्वभर डुलिरहँदा, अनि यो देश, यो माटोमा फर्केर आउँदा सोच्छु, एनआरएनको सट्टा एआरएन (अल्सो ए रेजिडेन्ट इन नेपाल) भन्नु पर्छ जस्तो लाग्छ । किनभने आजकाल हामी, आदरणीय मेरा पूर्व अध्यक्षहरु पनि नेपालको प्रेम बढि नै भएर नेपालमा नै बढि बस्न थालेका छौं । मैले यो एउटा संकेतिक कुरा मात्रै गरेको हो । तर, एनआरएनमा एउटा ‘प्यारडाइम सिफ्ट’ हुँदैछ भन्ने मैले देखेको छु । लर्न अर्न र रिटर्न (सिक्नु, कमाउनु र फर्किनु) भने झैं हामी धेरै एनआरएनका पुस्ता नेपालसँग बढि नै जोडिएका छौं ।

अब अलिकति परिचयको कुरा गरौं । यो तपाईहरुसँग दोहोरी गाउने, तपाइहरुको भवन भट्ट आज एउटा सन्यासी बनेको छ । यो सन्यासी जीवनबाट मात्र सन्यासी बनेको होइन । यो भवन भट्ट सन्यासी, इगोबाट सन्यास लिएको भौतिकवादबाट सन्यास तथा अनावश्यक सांसारिक कुराबाट सन्यास लिएको हो । जुन कुराले कुनै देन गर्दैन त्यसबाट सन्यास ।

म आज परिचयको कुरा किन गर्दै छु भने नेपाल वा विश्वको लागी के दिन सकिन्छ भनेर खोज्दै जाँदा म सधैं के दिन सकिन्छ भनेर खोजिरहन्छु । त्यस्तै, नेपालमा धेरै मानिस काम गरिरहेका छन् । कति जनाले नेपालको लागी राम्रो काम गर्न खोजिरहेका छन् । समाजको परिवर्तन गर्न खोजिरहेका छन् । ती सबै सकारात्मक उर्जालाई म जोड्न चाहन्छु । यस सकारात्मक उर्जालाई कसरी जोड्ने भन्ने त्यसमध्ये मेरो मानसपटलमा खेलिरहेको अभियानलाई अलिकति दृश्यमा देखाउन चाहन्छु ।

यो गरिमामय संस्थाको अभिभावकत्वमा म एक करोड रुपैयाँको ‘भवन किर्ती रत्न पुरस्कार‘ को घोषणा गर्दछु ।

यस पुरस्कारको संयुक्त स्वामित्व हुनेछ । एनआरएन तथा बिबि फाउन्डेसनले संयुक्तरुपमा हरेक दुई वर्षमा यो पुरस्कार प्रदान गर्नेछन् । यो यस्तो संस्था वा ब्यक्तिलाई दिइने छ जसले नेपाल अथवा मानव इतिहासमा परिवर्तनीय योगदान दिएको हुनुपर्नेछ ।

यसपटक मेरा अग्रज, आजको यो सभा, मेरा स्वर्गीय वुवा, जो समाजसेबी हुनुहुन्थ्यो, उहँबाटै प्ररित म, तथा मेरी आमालाई साक्षी राखेर यसपटकको पहिलो पुरस्कार महाबीर पुन तथा राष्ट्रिय आविष्कार केन्द्रलाई दिने घोषणा गर्दछु ।

नेपाल आविष्कार केन्द् मैले देखेअनुसार नेपालको परिवर्तनमा योगदान दिइरहेको तथा दिने संस्था हो । त्यसैले यो पहिलो पुस्कार पाउन योग्य ठानेको छु । यसपटक मैले आफैले पुरस्कार घोषणा गर्ने धृष्टता गरे । अर्कोपटक देखि यसको कार्यबिधी बनाएर एनआरएनए तथा बीबी फाउन्डेसनले संयुक्तरुपमा यसको घोषणा गर्नेछन् ।

मलाई गर्व छ, नेपाली हुनुमा । एनआरएन हुनुमा । तथा यो सम्पूर्ण विश्व ब्रम्हान्डको एउटा सानो कण हुनुमा ।

(गैर आवाशीय नेपाली संघको काठमाडौंमा जारि दशौं महाध्वेशनमा एनआरएनएका संस्थापक मध्ये एक भवन भट्टले राखेका मन्तब्यको प्रमुख अंश-संपादक)

तपाइँको प्रतिक्रिया

फेसबुक