सोमबार, जेठ ७, २०८१

खुलामञ्चमा राजेन्द्र लिङदेनको आकर्षण, गणतन्त्रमा लुटतन्त्र बिरुद्दको आवाज

नेपालप्लस संवाददाता / काठमाडौं२०७८ चैत २५ गते २१:३५

फोटो – पुष्कर शाह

गणतन्त्रको घोषणा हुँदा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई कार्यक्रम गर्नपनि दिइँदैनथ्यो । तिनलाई निकै ठाउँबाट लघारिएको थियो । राप्रपाका नेता कार्यक्रमबाटै भागाभाग भएका थिए । अहिले त्यहि राप्रपा गणतन्त्रे पार्टीहरुको नाकैमा टेकेर चुनौति दिँदै हिंडेको छ । पछिल्लो स्थिति हेर्दा आगामी निर्वाचनमै राप्रपा गणतन्त्रे पार्टीहरुकालागि जनमतबाटै थप चुनौतिको पहाड बनेर तेर्सिने देखिएको छ ।

शुक्रवार राप्रपाले काठमाडौंको खुला चौरमा आव्हान गरेको आमसभाले खुल्लमखुल्ला गणतन्त्रे नेता, तिनका पार्टीहरुलाई चुनौति दियो । अप्रत्याशित रुपमा हजारौं हजार नागरिक जम्मा भए, राप्रपाको आमसभामा ।

लामो समयदेखि बन्द रहेको खुलामञ्च एक्कासि राप्रपाको आमसभाले भरिभराउ बन्यो । खुलामञ्चमा खुट्टो राख्ने ठाउँ थिएन् । मानिसहरु उभिने ठाउँ नपाएर पारिपट्टी बिध्युत कार्यालय र रत्नपार्कसम्म पुगेर भिड लागेका थिए ।

खुला मञ्च लमो समय बन्द रह्यो । किन बन्द रह्यो भने त्यो खुल्नु जरुरिनै थिएन । गणतन्त्र ल्याएका अधिकांश पार्टीसित जनतालाई भन्नुपर्ने केहि कुरै थिएन । जनतालाई खुला मञ्चबाट जे दिन्छु भनेर गणतन्त्र, लोकतन्त्र ल्याएका थिए, तिनै नेताले लुटतन्त्र मच्चाएका छन् । तिनको ध्यान लुटतन्त्र मच्चाउनमै केन्द्रित छ । परिवार नातापाता, आफन्त, दलाल र भ्रस्टाचारीहरुलाई सत्तामा बिभिन्न पद थमाएर देशलाई अझै जर्जर बनाउनमै तिनलाई भ्याईनभ्याई छ ।

जुन ठाउँबाट देश धनी बनाउने, जनताका सुखका दिन ल्याउने भनिएको हो त्यहि मञ्चमा गएर जनतालाई के भन्ने ? तिसित जनतालाई भन्नु र सुनाउनुपर्ने, माग्नुपर्ने केहि थिएन । ति पतित र पत्रु बनिसकेका छन् । तिसित जनताका सामुन्ने सार्वजनिक खुलामञ्चबाट माग्ने केहि छैन । न त जनतालाई दिनेनै केहि थियो । त्यसैले गणतन्त्र लुटतन्त्रमा परिणत भएसँगैँ खुलामञ्चलेपनि सदुपयोग हुन पाएन ।

फोटो – पुष्कर शाह

तर राप्रपामा अध्यक्ष राजेन्द्र लिङदेन चुनिएसँगै देशको राजनितिक स्थिति बदलिएला जस्तो देखिन्छ । यस अघिका राप्रपा अध्यक्ष कमल थापापनि राजन्तन्त्र, सुशासन र हिन्दू धर्मको नारा बोकेर त्यहि लुटतन्त्रमै मस्ति लुट्न सामेल थिए । देशमा खासै भन्ने हो भने प्रतिपक्षनै थिएन । भएपनि यस्तो प्रतिपक्ष थियो, जो क्षणिकरुपमा सरकारबाट बाहिरिएको र आफू सरकारमा हुँदा लुटतन्त्र मच्चाएको । फेरि सरकारमा जान तिकडम गरिरहेको र सिंहदरबारको शक्ति लिन खुट्टो उचालेर बसेको । त्यसैले देशमा प्रतिपक्षनै थिएन । जब देशमा प्रतिपक्षीनै हुन्न तब खुलामञ्च कसले प्रयोग गर्ने ? जनतालाई सुनाउने कुरा र नैतिकतानै नभएका पार्टी मात्रै भएपछि जनातसामु को जाने ?

तर राप्रपाको अध्यक्षमा राजेन्द्र लिङदेन निर्वाचित भएसँगै कम्तिमा देशमा दह्रो प्रतिपक्षको लक्षण देखिएको छ । त्यो पहिलो लक्षण सारा जगतले देख्ने । पार्टीहरुले देख्ने । लुटतन्त्रका हिमायतीहरुले देख्नेगरि शुक्रवार खुला मञ्चबाट लिङदेनले देखाइदिएका छन् ।

लिङदेनले बिगतमा राम्रो गरेकोले झुम्मिएका होइनन्, हजारौं हजार नागरिक खुला मञ्चमा । उनले मात्र देशमा कतै न कतै एउटा प्रतिपक्ष छ । यस्तो प्रतिपक्ष जो आफ्ना एजेण्डामा स्पष्ठ छ । ति एजेण्डाहरु लिएर जनतामाझ जान तयार छ । यो मुलुकमा गणतन्त्रले लुटतन्त्र मच्चायो । हामी बैकल्पिक एजेण्डा लिएर जनतामा जान तयार छौं । हामी जनताले लिने परिक्षा दिन तयार छौं । कम्तिमा कोहि न कोहि यो लुटतन्त्रका बिरुद्द बोलिरहेको त छ । लिङदेनले गरेको यत्ति हो । लिङदेनको यहि स्पष्ठ बिचार, एजेण्डा र सबल प्रतिपक्षबाट जनता आकर्षित भएका हुन् ।

लिङदेनको यहि स्पष्ठ बोली, एजेण्डा र नेतृत्वले जनतालाई आकर्शित गरेको हो । गणतन्त्रको गुलियो आवरणबाट वाक्क दिक्क जनताको आवाज हो, शुक्रवार खुलामञ्चमा जम्मा भएको भिड । यो भिड गणतन्त्रप्रतिको बितृष्णा हो । यो भिड हाम्रा गणतन्त्रे नेता र पार्टीको लुटतन्त्रप्रतिको आक्रोशपनि हो । यो लुटतन्त्रका बिरुद्द जनताले खोजिरहेको बैकल्पिक उपायको खोजिपनि हो । सत्ता बाहिर वा सत्ता जहाँ रहँदापनि लुटकालागि एक हुने, जनता र देशको विकासकालागि सिन्को नभाँच्ने लुटतन्त्रका बिरुद्द खोजिरहेको बिकल्प हो ।

फेरिपनि खुलामञ्चमा रमितेपनि जान्छन् । गणतन्त्र बिरुद्द होइन, राप्रपाको एजेण्डामा आकर्षित भएर होइन । धर्म निरपेक्षाता र सक्रिय राजतन्त्रका पक्षमा समर्थन जनाउन होइन भनेर केपी ओली शैलीमा उडन्ते टिप्पणी गर्नु गणतन्त्रलाई फेरिपनि लुटतन्त्रमै रमाउन चाहनेहरुको स्वार्थ अभिब्यक्त हुन बेर छैन । जनताका आवाजहरु बुझ्न नसक्ने भ्रष्टाचारी नेताहरुको अझै मुलुक लुटिरहने प्रप्रच फेरि छताछुल्ल हुनसक्छ ।

तर खुलाम्ञ्चको अभिब्यक्तिलाई अझै सोच्न, बुझ्न र शिक्षा लिन सकेनन् भने राजेन्द्र लिङदेनको बाढीलाई कसैले रोक्न सक्दैन । केहि वर्षमा त्यो बाढीले बयलगाढावाला र गणतन्त्र ल्यायौं भन्ने सबैलाई एकैसाथ बगाएर लैजाने पक्का छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक