सोमबार, वैशाख २४, २०८१

विश्वमै पहिलो पटक बेलायतमा आधा घण्टामै औषधिहरू ड्रोनले पुर्‍याउने

नेपालप्लस संवाददाता / बेलायत२०७९ असार २१ गते २२:३४

Photo Credit-apian.aero

बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एन एच एस) ले आफ्नो देशमा क्यान्सर रोगीहरूलाई केमोथेरापी औषधिहरू ड्रोन मार्फत ढुवानी गर्ने योजना बनाएको छ । चार घण्टा समयको सट्टा ड्रोनबाट डेलिभरी गर्दा ३० मिनेटमै पुर्‍याउन सकिने छ ।

ड्रोनहरूले पोर्ट्समाउथ हस्पिटल युनिभर्सिटी एनएचएस ट्रस्टको फार्मेसीबाट आइल अफ वाइट (वाईट टापू) को सेन्ट मेरी अस्पतालमा औषधीहरू ढुवानी गर्नेछ । त्यहाँबाट कर्मचारीले तिनीहरूलाई सङ्कलन र वितरण गर्नेछन्।

स्वास्थ्य सेवाको ७४ औं जन्मदिनमा प्रमुख परीक्षण घोषणा गर्दै एनएचएस प्रमुख कार्यकारी अमान्डा प्रिचार्डले टेक कम्पनी एपियनसँगको साझेदारीमा इङ्गल्याण्डका क्यान्सर रोगीहरूले नयाँ ढुवानी गर्नबाट लाभान्वित हुने संसारमा पहिलो हुने बताइन् ।

“ड्रोनद्वारा केमो ढुवानी गर्न गर्नु क्यान्सरका बिरामीहरूको लागि अर्को असाधारण विकास हो । यसले देखाउँछ कि कसरी एनएचएसले मानिसहरूलाई सकेसम्म चाँडो आवश्यक उपचार सुनिश्चित गर्न केही पनि बाँकि राख्दैन” प्रिचार्डले एक विज्ञप्तिमा भनेका छन् ।

एनएचएस इङ्गल्याण्डका अधिकारीहरूले केमोथेरापी ढुवानी गर्न गाह्रो भएको बताएका छन् । किनकि केही डोजहरूको प्रयोगको अवधि (शेल्फ लाइफ) छोटो छ । त्यसैले समय र पैसाको बचतको साथसाथै नयाँ ढुवानी विधिले टापुमा बस्ने क्यान्सर बिरामीहरूका लागि राम्रो विकल्प प्रदान गर्नेछ । ड्रोनले औषधी बितरण गर्दा उपचारको लागि मुख्य भूमिमा आइपुग्न धेरैले यात्रा गर्नुपर्दैन ।

“हामी अझै अपेक्षाकृत प्रारम्भिक चरणमा छौं । तर चिकित्सा आपूर्तिहरू ढुवानी गर्न ड्रोनको प्रयोग एक अवधारणा हो जुन एनएचएस र युकेभरका बिरामी र टापू दुवैका लागि निर्दिष्ठ र सकारात्मक प्रभावहरू छन्” एनएचएस ट्रस्टका सीईओ ड्यारेन क्याटेलले भनेका छन् ।

समय र कार्बन उत्सर्जन बचत

ड्रोनले २० किलोसम्म मात्रा (डोज) बोक्न सक्षम हुनेछ । प्रत्येक ढुवानीले दुईवटा कार यात्रा र एउटा होभरक्राफ्ट वा प्रति फेरी यात्रा ढुवानीलाई प्रतिस्थापन गर्नेछ । कार्बन उत्सर्जन बचाउने र बिरामी र समुदायका लागि वायुको गुणस्तर सुधार गर्न योगदान पुर्‍याउने दाबीसमेत गरिएको छ ।

“यो परियोजनाले अस्पतालहरू, प्याथोलोजी ल्याबहरू, जीपी शल्यक्रियाहरू, केयर होमहरू र देशका बिभिन्न ठाउँमा रहेका फार्मेसीहरू जोड्ने छ । ड्रोन कोरिडोरहरूको नेटवर्कको निर्माणमा धेरै महत्त्वपूर्ण र पहिलो चरणको रूपमा सकारात्मक देखिएको छ” एपियनका सीईओ अलेक्ज्याण्डर ट्रेउबीले भने ।

आइल अफ वाट भनिने टापूपछि ड्रोन कार्यक्रम उत्तरी इङ्गल्याण्डको नर्थम्ब्रियामा परीक्षण हुने अपेक्षा गरिएको छ ।

ड्रोनहरूले आउँदो केहि हप्तामा आफ्नो पहिलो उडान गर्ने छन् । यदि सफल भयो भने ड्रोनहरू अन्यत्र समान ढुवानीको लागि प्रयोग गरिने छ।

मेडियाहरुलाई प्रतिक्रिया दिँदै बेलायतका स्वास्थ्य सचिव साजिद जाविदले भनेका छन् “म इङ्गल्याण्ड क्यान्सर हेरचाहमा विश्व नेता बनोस् भन्ने चाहन्छु । र ड्रोनद्वारा केमो वितरण गर्न नवीनतम प्रविधिको प्रयोग गरेर बिरामीहरूले जहाँ भएपनि उपचारमा छिटो, निष्पक्ष पहुँच पाउने छन् ।”

तपाइँको प्रतिक्रिया

फेसबुक