मंगलबार, वैशाख २५, २०८१

फ्रान्सको जंगलमा लागेको डढेलोले दर्जनौं घर ध्वस्त, हजारौं विस्थापित

नेपालप्लस संवाददाता / फ्रान्स२०७९ साउन २५ गते १७:००

File photo Credit-worldwildlife.org

दक्षिणपश्चिम फ्रान्सको जंगलमा लागेको डढेलोले दर्जनौं धर ध्वस्त पार्नुका साथै हजारौं नागरिक विस्थापित भएका छन् ।

फ्रान्समा हजारौं हेक्टर सुक्खा जङ्गलमा भएको आगलागी भयंकर खडेरी र गर्मीको पछिल्लो लहरको बीचमा फेरि फैलिएको छ ।

मङ्गलबार दिउँसोदेखि ल्यान्डिरास नाम राखिएको डढेलोमा थप ६,००० हेक्टर सल्लाको वन जलेको छ । डढेलो फैलिंदै गएपछि मानव क्षती हुनसक्ने डरले करिब ६,००० मानिसलाई विस्थापित गरिएको गिरोन्डे क्षेत्रीय अधिकारीहरूले एक विज्ञप्तिमा भनेका छन् ।

“आगो अत्यन्तै हिंस्रक छ र ल्यान्डेस डिपार्टमेन्टमा फैलिएको छ । डढेलो दक्षिणतर्फ फैलिंदै गएको छ । प्रहरीले थप नागरिकको उद्दार गर्नुपर्ने संभावना रहेको बताएको छ ।

रातभरी प्रयास गर्दापनि डढेलोलाई नियन्त्रणमा लिन नसकिएको अग्नी नियन्त्रकहरुले मेडियाहरुलाई बताएका छन् ।

“यो ठूलो आगो हो …. धेरै तीव्र र द्रुत गतिमा छ । जुलाईमा प्रज्ज्वलित ल्यान्डिरास आगोको उचाइ भन्दा अहिलेको आगोको बढी छ” क्षेत्रीय अग्नि नियन्त्रक प्राधिकरणका मार्क भेर्म्युलेनले पत्रकारहरूलाई भने ।

ग्रीष्मकालीन पर्यटकहरूको ठूलो भीड तान्ने तटीय क्षेत्रमा कोही पनि घाइते भएका छैनन् । तर बेलिन-बेलीयट गाउँ नजिकै १६ घरहरू ध्वस्त वा क्षतिग्रस्त भएका छन् । र अधिकारीहरुले रातीसमेत गाउँलेहरुको निगरानी गरेका थिए ।

आगो ए ६३ राजमार्ग तर्फ फैलिएको थियो । बोर्दो शहरलाई स्पेनसित जोड्ने राजमार्गको प्रमुख सडक बन्द गर्न बाध्य पारेको थियो ।

आगो नियन्त्रणमा लिन लगभग ५०० अग्नी नियन्त्रक घटनास्थलमा छन् । उनीहरु पानीका फोहोरा हान्न सक्ने विमानहरूद्वारा सुसज्जित छन् ।

गिरोन्डेका प्रमुख प्रहरी अधिक्रित मार्टिन गुएस्पेरोले बुधवार भने “जोखिम धेरै उच्च छ । प्रतिकूल मौसमले आगो अझै फैलिन सहज बनाएको छ ।”

‘एकदमै तातो, सुख्खा हावा, अति गर्मी, कीर्तिमानी खडेरी र जमिनमा धेरै पातपतिंगर र फोहोर रहेको छ । त्यसले आगो दन्काउँछ । र मौसम समेत निकै प्रतिकुल छ । जुलाईमा आगो निभ्न सकेन, जमिनमुनि गयो । अहिले त्यो लुकेर बसेको आगो फेरि देखापर्‍यो” उनले पत्रकारहरुलाई भने ।

ल्यान्डिरास आगो र अर्काचन नजिकैको दोस्रो ठूलो आगोले संयुक्त रुपमा २१ हजार हेक्टर जलाएको थियो । त्यसले गर्दा ३६ हजार भन्दा बढी मानिसहरूलाई नियन्त्रणमा ल्याउनु अघि बसोबास क्षेत्र खाली गर्न बाध्य तुल्यायो । तर आगो पूर्ण रूपमा निभाउन सकेनन् ।

फ्रान्सको दक्षिणपूर्वको सुख्खा पहाडहरूमा र इङ्लिस च्यानलको छेउमा पर्ने ब्रिट्नी क्षेत्रहरूमा पनि आगो दन्किएको छ ।

बुधवार, पश्चिमी फ्रान्सका अधिकारीहरूले अँजेर्स र लमँ नजिकैको जंगलमा लागेको आगोले सोमबारदेखि १,२०० हेक्टर जलेको बताएका छन् । करिब ४०० अग्नि नियन्त्रकहरूले यसलाई नियन्त्रण गर्न संघर्ष गरिरहेका छन् ।

(स्रोत-फ्रंस २४)

तपाइँको प्रतिक्रिया