बिहीबार, वैशाख २०, २०८१

सरकारले दूताबास नभएका देशमा सरकारी घुम्ती टोली खटाउने, पहिलो टोली पोर्चुगल

नेपालप्लस संवाददाता / काठमाडौं२०७९ माघ १६ गते ०:२३

परराष्ट्रमन्त्री विमला राई पौडेल

पोर्चुगलमा पछिल्लो समय ठूलो संख्यामा नेपालीहरु समस्यामा पर्दै गएको गुनासो बढेपछि सरकारले विशेष टोली खटाउने तयारी गरेको छ । परराष्ट्रमन्त्री विमला राई पौडेलले आगामी एक महिनाभित्र पोर्चुगलमा सरकारी टोली पठाउने तयारी गरेको बताएकि छन् ।

गैरआवासीय नेपाली संघको यूरोप क्षेत्रका राष्ट्रिय समन्वय परिषद्हरुको पहलमा आइतबार (२९ जनवरी २०२३ मा) आयोजित अन्तरक्रिया कार्यक्रममा परराष्ट्रमन्त्री पौडेलले दूतावास तथा कन्सुलर सेवा नभएका देशहरुमा सरकारले घुम्ती टोली खटाएर त्यहाँका नेपालीहरुले भोग्नुपरेको समस्या समाधानका लागि पहल गर्ने तयारी गरेको बताएकि हुन् ।

उनले भनिन्, “पोर्चुगलको धेरै कुराहरु सुन्यौँ, धेरै नेपाली अलपत्र छन्, कागजपत्र नभएका भन्ने पनि सुन्नमा आएपछि सकेसम्म कन्सुलेट खोल्ने तयारी छ, तर सो कार्य तत्काल सम्भव छैन, त्यसमा आर्थिक पाटो पनि जोडिएको छ, अर्कोतर्फ मन्त्रीपरिषदबाट त्यसको निर्णय हुनुपर्छ, त्यसैले तत्काल समस्या समाधानका लागि २५ देखि एक महिनाभित्र एउटा सरकारी टोली पोर्चुगलमा राख्ने, र त्यहाँका कागजपत्रविहिन तथा समस्याग्रस्त नेपालीलाई सहजीकरण गर्ने योजना बनाएका छौँ । आजै मात्रै यसमा निर्णय गरेर प्रक्रियाका लागि अर्थ मन्त्रालय र प्रधानमन्त्री कार्यालयमा पठाएका छौँ । स्पेनबाट वा अन्य कहाँबाट टोली खटाउने भन्नेमा हामी छलफलमा छौँ ।”

उनले थपिन्,“दिगो समाधान कन्सुलेट नै राख्ने हो तर आर्थिक पाटोदेखि मन्त्रीमपरिषदको निर्णय आवश्यक पर्छ, त्यसमा लामो समय लाग्छ ।”

यसअघि गैरआवासीय नेपाली संघको प्रतिनिधिमण्डलले काठमाडौंस्थित परराष्ट्र मन्त्रालय पुगेर दूतावास तथा महावाणिज्यदूत नभएका देशमा तत्काल दूतावास स्थापना तथा महावाणिज्यदूत नियुक्त गर्न मन्त्री पौडेललाई आग्रह गरेको थियो ।

यूरोपेली मुलुक माल्टामा दूताबास नहुँदा समूया परेको भन्ने विषयमा मन्त्रालय जानकार रहेको भन्दै मन्त्री पौडेलले माल्टाको समस्या समाधानमा सरकारले पहल गर्ने बताईन् । हाल बेलायतस्थित दूताबासले नै माल्टामा काम गर्दै आएकोमा सो प्रभावकारी नभएको गुनासो बढेको छ । साइप्रसमा घरेलु कामदारको रुपमा जाने क्रम बढेको भन्दै त्यसलाई जी टु जी च्यानलमा ल्याउन सरकारले पहल गर्ने मन्त्री पौडेलको भनाई थियो । यद्यपी त्यस सम्बन्धमा अध्ययन गर्नै बाँकी रहेकोले आफूले आवश्यक अध्ययन गरेर मात्रै काम अघि बढाउने उनको भनाई थियो ।

मन्त्री पौडेलले विदेशस्थित दूतावास तथा कूटनीतिक नियोगलाई २४ घण्टा सञ्चालन गर्न सर्कुलर जारी गरेको बताईन् । उनले भनिन्, “नेपाली नागरिकलाई दूतावासमा गुहार्छ भने ऊ सुरिक्षत हुनुपर्छ र उसका लागि दूतावासको सर्भिस २४ घण्टे हुनुपर्छ भन्ने हाम्रो ध्येय छ, त्यही अनुसार काम हुन्छ, चाहे त्यो टेलिफोनबाट इमेलबाट नै किन नहोस् ।”

यस्तै, द्रुत गतीमा काम गर्ने टिम बनाउने र त्यसले मासिक रिर्पोट गर्ने व्यवस्था मिलाउने, जनशक्ति थप्ने र दूतावासमार्फत द्रूत सेवामा हुनुपर्छ भन्नेमा आफ्नो जोड रहेको मन्त्री पौडेलले बताईन् । पासपोर्ट नविकरण गर्दा लामो समय लाग्ने, अर्को देशमा जानुपर्ने बाध्यता रहेको गुनासो आएको भन्दै मन्त्री पौडेलले दूतावासले मोबाइल टिम पठाउने वा के गर्ने भन्नेमा सुझाव दिन एनआरएनएलाई आग्रह गरिन् । त्यसबाहेक विकास साझेदारीमा पनि काम अघि बढाउने तयारी रहेको मन्त्री पौडेलको भनाई थियो ।

पोर्चुगलका महासचिव राजकुमार थापाले त्यहाँ नेपालीको अवस्था र समस्याबारे जानकारी  गराएका थिए । सरकारले तत्काल पहल नगरे आत्महत्या जस्तो विकराल समस्या आउनसक्नेतर्फ मन्त्री पौडेलको ध्यानाकर्षण गराएका थिए ।

यस्तै, एनआरएनए साइप्रसकी राधा पोखरेलले साइप्रसमा घरेलु कामदारका रुपमा गैरकानूती तवरले बसीरहेका नेपालीको संख्या बढ्दै गएको भन्दै जीटुजीमार्फत कामदार पठाउने व्यवस्था गर्न आग्रह गरेकि थि ईन् । उनले त्यहाँ विद्यार्थीले भोग्नुपरेका समस्याबारे समेत जानकारी गराईन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक