बिहीबार, मंसिर ६, २०८१

‘सेक्स अन द विच : अ ककटेल-३’

निल थापा / कोपेनहेगन, डेनमार्क२०७९ फागुन १० गते २२:५६

(‘सेक्स अन द विच : अ ककटेल !’ पहिलो भाग हेर्न यहाँ क्लिक गर्नुहोस र दोस्रो भाग हेर्न यहाँ क्लिक गर्नुहोस)

लेखक नील थापा

कुमार दाईसँग भेट भयो। हामी दाजुभाई गफ गर्दै वार्किङ्ग स्ट्रिट र सेन्टर तिर घुम्यौं। एउटा कफि पसलमा लामो समय गफ गरेर बस्यौं। ‘जाडो भएपनि यसो नर्वे घुमेर जानू नि भाइ’ । कुमार दाईले धेरै कर गर्नु भएको थियो । मैले मानिन । हाम्रो आफ्ना कामका कुरा सकेर ।

एक बजेतिर दाइ र म जयपुर ईन्डियन रेष्टुरेन्ट वार्किङं स्ट्रिटमा ईन्डियन खाना खाएर छुटिएका थियौं।

कुमार दाईसँग छुट्टिएँ र म सिधै ओश्लो (क्रुजको) टर्मिनल पुगें । बोर्डिङ चेक ईन सकेर क्रुजभित्र छिरें । कुमार दाईलाई कल गरें ।

‘दाइ म क्रुज भित्र छिरें । छिट्टै भेटौंला दाजु भाइ फेरी। धन्यवाद है ! तपाईको महत्वपूर्ण समयलाई’ भन्दै कुरा सकें ।

कुमार दाइ केही वर्ष कोपेनहेगन बसेर आोश्लो जानू भएको थियो। दाइ र मेरो कुरा मिल्थ्यो। दाईलाई पनि नेपाली सिनेमा बनाउने खुब रहर थियो । त्यसैको सिलसिलामा थियो हाम्रो गफगाफ ।

हामी तीनजना, म रुबिना र रुषा अघिल्लो दिनदेखि भेट भएतापनि सम्पर्क नंबर लिनेदिने काम भएको थिएन । नत हामीले फेसबुकमा साथी नै बन्न खोज्यौं।

बिहान छुट्दा ‘सवा तिन सम्म ओश्लो क्रुज टर्मिनलमा भेट्ने’ भनेर छुटिएका थियौं। म टर्मिनलमा पुग्दा रुबिना र रुषालाई देखिन। यताउता हेर्ने चेष्टापनि गरिन।

सार्है थकित थिएँ म । कोठामा पुग्ने बित्तिकै मोवाईल एरोप्लेन मोडमा राखें। दायाँबायाँ केही नसोचि सुतें।

म त यसरी सुते छु कि क्रुज कतिखेर हिँड्यो मैले थाहा नै पाईन। निन्द्राबाट उठ्दा ६ बजेको थियो।

मोवाईल अन गरें । श्रीमतीको म्यासेज आएको रहेछ ।

‘मोवाईल लाग्दैन त बुढा कता हो ? आज फर्केको हो नि ? कल मि प्लिज … छोरी ले कति धेरै मिस गरेकि छे।’

श्रीमतीको म्यासेज देख्ने बित्तिकै कल गरें।

‘किन मोवाईल लाग्दैन त ? कति कल गरें ?’ कल उठाउने बित्तिकै श्रीमतीले सोधिहालिन् ।

जवाफ दिएँ “सार्है थाक्या थिएँ म त । क्रुजमा पुगेर कोठामा छिर्ने बित्तिकै सुतिहालें ।”

खाना खानु भन्दा अगाडि श्रीमतीलाई कल गरेको थिएँ। मेरो रिटर्न टिकट थियो । तरपनि उनलाई कुमार दाईले कर गरेर मलाई ओश्लो नै राख्नु हुन्छ कि भन्ने डर थियो। सायद !

‘के खायौ त ?’ उनले सोधि हालिन । उनी मलाई कहिले तपाईं र कहिले तिमी भनेर सम्बोधन गर्छिन् ।

श्रीमतीलाई फुर्क्याउने विचारले शब्दको झटारो हानें “खाना नै खाएँ नि । तर बुढीले पकाएर ख्वाएको जस्तो के हुन्थ्यो ? आधा पेटमात्र खाएँ । भोक लाग्या छ नि। मिस यु यार (याद आईराखेको छ बुढी)” भनेर । अलि रोमान्टिक पाराले कुरा गरें ।

‘जे पायो त्यहि । बुढा हुन लागेर पनि के को रोमान्टिक नी ?’ श्रीमती बोलिन् ।

मैले जवाफ दिएँ “हुनु र हुन लाग्नु फरक हो नी बुढी । गितले त चालीस कटेसि रमाउने भन्या छ । म त चालीस पुग्नै चार साल बाँकि छ।”

श्रीमतीले जवाफ फर्काईन् “छोरी छ यहाँ । बाबा! बाबा ! भनेर हैरान पारीसकि । सय पटक सोधिसकि। ‘बाबा कहिले आउने’ भनेर । लु कुरा गर्नु ।” उनले मोवाईल छोरीलाई दिईन।

“छोरी के गर्दै ?” मैले सोधे ।

छोरीले जवाफ दिईन् ‘नाचेर बसेको। (छोरी छुट्टीको दिनमा कहिले काहीं नाच्छिन्) अब हेन्ड राईटिङ् लेख्छु ।’

मैले फेरि सोधें ‘के खायौं त ?’

छोरीले जवाफ दिईन् ‘चिकेन र माम (भात)।’

छोरीलाई चिकेन ग्रेभी मन पर्छ ।

मैले भनें “बाबा आउँदैछु । ममिलाई दु:ख नदिई बस् है । टिभि हेरेर बस्नु । बेलुका टाईम मै सुत्नु है ?”

छोरीले “हस्” भनिन् ।

मैले ‘मामुलाई मोवाईल देऊ’ भनें ।

‘हजुर!’ श्रीमतीले बोलिन्।

मैले भनें “ल म पनि कोठा बाहिर जान्छु । कफि पिउन मन लाग्या छ। अलि अलि भोकपनि लाग्यो। अब भरे कल गर्दिन। टाईम मै सुत्नु। भोलि साँढे दस बजेतिर घर पुग्छु ।”

ऊनले जवाफ फर्काईन् “ल ल राम्रो सँग आउनु। एक्लै छु भनेर धेर पिउने हैन नि फेरि। बारसार तिर गएर । बरु चाँडै सुत्नु। आराम त हुन्छ ।”

मैले जवाफ फर्काएँ “धेर पिउँदिन। एक्लै छु । के पिउनु ?”

उनले सोधिहालिन् ‘साच्चै ! कोई नेपाली भेट भएन र ?’

मैले जवाफ दिएँ “आज त भेटिन। हिजो चैं दुईजना नेपाली केटिहरु (महिला) भेटेको थिएँ ।

उनले भनिन ‘जे पायो त्यही।’

पुन :श्रीमतीले सोधिहाली, “को हो नी? ती नेपाली केटीहरु ?”

मैले भनें “तिम्रै साथी होलान नी । तिम्लाई चिन्छु भन्दै थिई एउटीले।”

श्रीमतीले सोधीहालीन् “को हो नी त्यो मेरो साथी ? त्यतीकै जिस्क्याउनु हुन्छ?”

‘मैले चिनेको भए । नाम के हो र उसको ?’ फेरि सोधिन् ?

मैले जवाफ दिएँ ‘खोइ तिम्लाई चिन्छ रे’ म हाँसें ।

श्रीमतीले जवाफ दिईन् ‘लु त्यसो भए तपाईंलाई गफ गर्न टाईम पास हुने भयो।’ उनले मेरो कुरा विश्वास गरिनन्।

फेरि सोधिन् ‘अर्को चैं को नि ?’

जवाफ दिएँ “तिम्रो साथीको साथी ।”

श्रीमती ले भनिन् “ल ल दायाँबायाँ नै रहेछन् त ।”

मैले हाँसेर जवाफ दिएँ “हेन्डसम हुनुको फाईदा नि बुढि ।” (म घरमा हुदाँ नि उनलाई यसरी जिस्काईराख्थें)।

श्रीमतीले सोधिन् “ऐना हेर्या छ ? आफ्नो अनुहार कस्तो छ थाहा छ ?”

मैले भनें “हिजो फुर्सद भएन । आज हेर्ने बेला भाको छैन।”

श्रीमती बोलिन् ‘के जिस्किराख्या बुढेसकालमा पनि। लु जाऊ खान। भोक लाग्या छ भन्या हैन ? म पनि छोरीसँग गफ गर्छु यता ।’

“ल बाई है त” श्रीमतीसँग बाई भन्दै मोवाईल राखें।

श्रीमतीसँग गफ सकियो। बाहिर जाने मुड बनाएँ।

बाहिर निस्केर सिधै म रुबिना र रुषाको कोठामा गएँ । बाहिर बाट ढोका ढक्ढकाएँ । ढोका खुलेन ।

एकछिन पछि फेरि ढोकामा ढकढक गरें। ढोका खुलेन । सायद! कोठामा थिएनन्। म फर्कें। अनि ड्युटि फ्रि पसलमा गएँ । पसलमा मैले आफ्नो लागि एउटा सुपर ड्राई ब्रान्डको ज्याकेट छानें । छोरीलाई एउटा स्विटर छानें । श्रीमतीलाई पनि एउटा स्विटर छान्छु भनेर हेर्दै थिएँ । अचानक रुबिना र रुषालाई पसलमा छिरेको देखें। उनिहरुले मलाई देखेनन्।

मलाई बोलाउने बहाना भयो। म नै उनिहरुलाई बोलाउन गएँ। हेल्लो ! भन्दै हात हल्लाएँ । मैले बोलाउने बित्तिकै उनिहरु हाँसे।

रुषाले बोलीहाली ‘हेल्लो! नमस्ते! कतिखेर आउनु भयो नि ?’ हामीले चेकईनमा देखिनौं तपाईलाई । सार्है थाकेका थियौं हामी त । कोठामा गएर सुतिहाल्यौं ।

मैले जवाफ दिएँ “ठिकै छ नि। म नि आउने बित्तिकै गएर सुतिहालें । भर्खर उठेर आउँदै छु। यहाँ आउनुभन्दा अगाडि म तिमीहरुको कोठामा गएको थिएँ। ढकढक गरें । ढोकै खुलेन ।”

रुषाले भनी “हामी यतिकै बाहिर घुम्दै थियौं । रुममा थिएनौं ।

रुबिनाले मलाई हेरी मात्र । आँखा जुधाउन सकिन । मैले सोधीहालें “ठिक छ ?

रुबिना बोली -ठिकै छ।
म हाँसें मात्र।

‘घुमघाम कस्तो भयो त?’ प्रश्न सोधिहालें।

‘ठिकै’ रुषाले जवाफ फर्काई।

‘जाडो धेरै । बाहिर निस्कनै गार्हो । बसबाट मात्र घुम्यौं । तर रमाईलो लागेन। जताततै हिऊँनै हिऊँ । तपाईले भनेको पार्कमा गयौं। एकछिन मात्र बसेर फक्यौं।’

मैले उनिहरुको कुरामा सहमती जनाउँदै कुरा थपें “जाडोमा त्यति रमाईलो हुँदैन।”

रुषाले मलाई सोधिहाली ‘सपिङ गर्दै हो ?’

जवाफ फर्काएँ ‘अलि-अलि । श्रीमतीलाई स्विटर किन्न लागेको साईजमा अलिकति कन्फ्युज भयो । ‘

मैले फेरि कुरा थपें ‘मेरी श्रीमतीको र तिम्रो हाईट र जिउडाल उस्तै जस्तो छ। एउटा हेर हेर। तिम्रो साईजको ।’

‘श्रीमतीलाई स्विटर किन्ने रे। जिऊडाल चै अरुको हेर्ने ?’ ओंठे जवाफ फर्काई रुषाले।
म जवाफ बिहिन भएँ एकछिन त ।

फेरि हाँस्न थाली र तुरुन्तै जवाफ फर्काई ‘म त अलि डल्ली छु हो । साईज नहोला। बरु यो रुबिनाको मिल्छ कि ?’

मैले जवाफ दिएँ “ऊसको मिल्दैन । उनी अलि मोटी छिन् ।”

मेरो कुरा सकिन नपाउँदै रुषाले जवाफ फर्काई ‘नापी सक्नु भयो र ?’ द्वअर्थी शब्दले प्रहार गरि। अनि गललल हाँसी।

यतिबेला रुबिना बोली ‘सधैं बढि नबोल है रुषे । मार्दिन्छु नि म।’ यो पटक रुबिना अलि बढि नै रिसाई। अनुहार पनि अलि निन्याउरो बनाई।

मैले कुरा मोडें ” लु नरिसाई मलाई सहयोग गर्नुपर्यो। एउटा स्विटर त किन्नुपर्यो हो। मेरी बुढिलाई ।”

मैले एउटा स्विटर उठाएर देखाएँ “यो कस्तो छ? मेरो बुढि गोरी छिन्। यो सुहाउँछ पक्कै।”

दुईटैले “तपाईंको रोजाई राम्रो छ। यतिको साईज ठिक होला” भन्दै आफ्नो जिउमा बाहिरबाट पालैपालो नाप्या जस्तो गरे ।

मैले केही नसोची श्रीमतीलाई आफ्नो रोजाईको स्विटर किनें।

“तिमीहरुको केही छैन किनमेल ?” सोध्या जस्तो गरें ।

रुषाले भनिहाली ‘किनिदिने होर ?’

“होनी । रोज न तिमिलाई मनपर्ने साईजको” भन्दै अगाडिपट्टीको लेडिज भित्री बस्त्रको रया्कतिर हात देखाएँ ।

‘छ्या्’ रुषाले यतिमात्र आ
वाज निकाली।

फेरि हाँस्दै रुबिनालाई सोधें “तिमिलाई नि चाहिन्छ कि ?” फेरि त्यही रया्क तिर हात तेर्साएँ ।

‘मार्दिऊँ ?’ रुबिनाले हातनै हालुला जस्तो गरि। हात उठाई मात्र ।

मैले हाँस्दै भनें “जोक गर्या हो। सपिङ भन्या त्यस्तै हो । लु हिँड कफि ख्वाउँछु तिमीहरुलाई ।”

उनिहरु केही किन्न चाहन्थे सायद!

रुषाले भनिन् ‘तपाईं जानुस हामी आउँछौं।

म काउन्टर तिर गएँ । बिल तिरेर बाहिर निस्किएँ ।

एकछिन पछि उनिहरु बाहिर आए । हामी तीन जना कफि पसलतिर लाग्यौं। कफि अर्डर गरें । मैले अमेरिक्यानो लिएँ । उनिहरुले ‘लाते’ (कफी) खाने निर्णय गरे ।

कफि पिउँदै गर्दा मैले सोधीहालें “मलाई त भोक लाग्या छ। तिमीहरूलाई नि?”

‘खासै छैन’ एकसाथ दुबैले जवाफ दिए ‘हामीले थाई खाना खाएर आएको’ उनिहरुले जवाफ दिए।

“मैले नि ईन्डियन खाना खाएर आएको। तर पनि भोक लाग्या जस्तो भयो। समय पनि त भयो सात बजिसक्यो” मैले घडि हेर्दै सोधें “पिजा खाउँ न त सबैजना ।”

गार्हो मान्दै सहमती जनाए उनिहरुले पनि ।

कफि पिई सकेर हामी पिज्जा रेष्टुरेन्ट तिर लाग्यौं।

भोक धेरै थिएन । सबैको सहमतीमा एउटा पिज्जा बाँडेर खाने भईयो। एउटा चिकेन पिज्जाका साथ तीनवटा कोक मगाएँ मैले।

पिज्जा अर्डर पछि सोधिहालें “अरु केही पिउने ? केही ड्रिङ्क्स ?”

उनिहरुले अलि संकोच माने ‘नाई।’

मैले भनें “पिज्जा रेडि हुन्जेल म यो सामानहरु रुममा राखेर आउँछु है । के पिउने सोच्दै गर्दा हुन्छ। मैले ड्युटि फ्रिमा किनेको सामान रुममा राख्ने विचार गरें ।

रुबिनाले जवाफ फर्काई ‘हामी लाँदैनौ त ।’

मैले ठट्टा गरें “मलाई कि यो कपडालाई?”

उनिहरु हाँसे।

मैले भनिहालें “एनि वे। म रुममा पुगेर आईहाल्छु है।” उनिहरुले मुन्टो हल्लाएर सहमति जनाए। म हिँडिहालें।

करिब दश मिनेट पछि म पुन रेष्टुरेन्टमा फर्कें । तीनवटा कोकको गिलास थियो उनिहरु अगाडि। रेष्टुरेन्ट भिड हुनाले पिज्जा अझै आईपुगेको थिएन। मैले सोधिहालें “अझै पिज्जा तयार भएनछ ? एनि वे ड्रिकङस के पिउने ?”

रुषाले हाँस्दै जवाफ दिई “उहि त होनी सेक्स अन द विच!”

फेरि बेस्सरी हाँसी।

रुबिनाले प्रतिप्रश्न गरिहाली ‘तँ चै कति बाठी भाकि नी आज?’

मनमनै मैले प्रश्न गरें “यो रुषा सार्है उत्ताउली हुँदैछ। आज चैं यसैलाई खुवाईदिनु पर्ला जस्तो छ । मात्तिने गरी । हिजो रुबिनालाई जसरी। अनि थाहा हुन्छ यसलाई ।”

रुषाले बोली ‘जोक गर्या है।’

पिज्जा आयो। हामीले पिज्जा बाँडेर खायौं।

मैले फेरि सोधें “साँच्चै केही नपिउने? बियर ? वाईन? यतिकै त रेष्टुरेन्टमा के बस्नु ?”

रुषाले जवाफ फर्काई “हिजो जस्तो पिउन मन छैन। थाकेका छौं । यही रुबिना खान्छे कि ?’ उसले फेरि जिस्काई ।

मैले सोधें “हिजोकै बारमा गएर बसौं न त एकछिन ।”

उनिहरुले मन नगर्या जस्तो गरे।

मैले घडि हेर्दै भनें “सवा आठ भईसकेछ। एकछिन बसेर आऊँला।”

रुबिनाले जवाफ दिई – बारमा त नजाने।

बिच्चमा रुषा बोली ‘निल जीको रुममा जान्छेस त ?’
फेरि हाँसी ऊ।

‘के सार्हो बाईफाले रैछ हो यो महिला ।’ मनमनै मैले रुषालाई गाली गरें ।

रुबिनाले आँखा तरेर हेरी रुषालाई।

फेरि रुषाले हाँस्दै भनी ‘हाम्रो कोठामा जाउँ न त । त्यहिँ गएर वाईन खाऊँ ।’

‘हुँदैन ?’ उसले रुबिनालाई सोधी।

रुबिनाले मुन्टो हल्लाएर सहमती जनाई।

मैले पनि उनिहरुको कुरामा सहमती जनाएँ । सोधिहालें “वाईन छ त रुममा ?”

उनिहरु दुबै जना हाँसे। उनिहरुको हाँसोले ‘छैन’ संकेत जनायो। मैले कुरा बुझिहालें।

“तिमीहरु कोठामा जाऊ। म वाईन लिएर आउँछु” मैले उनिहरुलाई आग्रह गरें।

म ड्युटि फ्रि सपमा गएँ । वाईनको वोटलहरु मध्ये एकमा मेरो आँखा अडियो । बोटलमा भएको नाम पढेर हाँसें। पछि त्यही नाम भएको तीन वोटल रेड वाईनका साथ सानो छ बोटल पानी पनि लिएँ।

म उनिहरुको रुममा गएर ढकढक गरें । रुबिनाले ढोका खोली। म भित्र पसें।
मैले ब्याग दिँदै भनें “ल यसमा वाईन र पानी छ है ।”

रुबिना झोलाबाट वाईन र पानी निकाल्दै थिई । ‘म गिलास निकाल्छु है’ भन्दै रुषा उसको झोला खोतल्न थाली।

उनिहरुले प्लास्टिकका गिलास, प्लेट, चम्चा जस्ता सामानहरु घरबाटै ल्याएका थिए ।

जब गिलासमा वाईन भर्ने बेला भयो। बोटल देखेर दुबै मुखामुख गरेर हाँसे। मैले थाहा नपाएझैं गरें।

बोटलको बाहिर लेखिएको थियो “द भेरी सेक्सी सिराज”
क्रमश :

तपाइँको प्रतिक्रिया