सोमबार, वैशाख ३१, २०८१

युक्रेनका सैनिक र नागरिकमा मानसिक स्वास्थ्य संकट

डेभेड गोर्भेजानो / पेरिस२०७९ फागुन १४ गते २२:२०

रूस-युक्रेन युद्दको एक वर्ष पछि, युक्रेन मानसिक स्वास्थ्य संकटको अवस्थामा गुज्रिएको छ । किनकि युद्धको त्रासले लडाकु र नागरिकहरूलाई समान रूपमा आघात पुर्‍याएको छ । डाक्टरहरूलाई युद्दले चकनाचुर पारेका आफ्ना मनोचिकित्सकहरूलाई फिर्ता ल्याउने र यो पेशामा अडिग राख्ने जिम्मेवारी र चुनौति थपिदिएको छ ।

कीभको बाहिरी भागमा धुपी र सल्लाका जंगलहरूमा हिउँले छर्किएको भव्य सोभियत शैलीको भवन छ । त्यसको बाहिर कार पार्कमा आमा र छोराले अँगालो हालेका थिए । वेटरन्स मानसिक स्वास्थ्य र पुनर्वास केन्द्रले २०० बिरामीहरूलाई आवास, युद्धको विनाशको बीचमा धेरै आवश्यक स्वास्थ्य र अन्य प्रदान गर्दछ।

रेनाट पिडलुज्नीलाई दुई महिनाअघि पूर्वी युक्रेनको लुहान्स्क क्षेत्रको बिलोहोरिभका नजिकै ढाडमा चोट लागेको थियो ।

“हामी खुल्ला ठाउँमा बस्यौं ताकी रुसीहरूले फायर गर्दा तिनले कता हान्छन् भनेर देख्न सकियोस्,” जवान सिपाहीले भने “तर हामी रुसी ट्याङ्कको गोलाबारीमा पर्यौं। कहिलेकाहीँ दिनभर टाउको दुख्छ। मैले औषधि खानुपर्छ । मलाई सम्झने समस्या छ। एक वर्षसम्म लडाइँ गरेपछि कहिलेकाहीँ मेरो हात काँपिरहन्थ्यो । मेरो सम्पूर्ण शरीर काँपिरहेको थियो। मेरा धेरै साथीहरू यस्तै कुराबाट पीडित छन्” उनले भने।

पिडलुज्नी पोस्ट-ट्रमाटिक स्ट्रेस डिसअर्डर (पि एस डी) रोगबाट पीडित छन् । उनी यहि केन्द्रमा बसिरहेका छन् ताकि उनी सफल उपचार पछि निको भएर अगाडि लाइनमा फर्कन सकून्। आफ्नो छोरालाई केन्द्रमा भेट्न गएकी उनकी आमाले आफूले पनि केही मनोवैज्ञानिक सहयोग गर्नसक्ने बताइन् । फेब्रुअरी २७ देखि सेप्टेम्बर १० सम्म रुसी कब्जामा रहेको उत्तरपूर्वी खार्किभ क्षेत्रको सहर कुपियान्स्कबाट आएकाले परिवारलाई युद्धले ठूलो असर पारेको थियो।

उनले भनिन् “मलाई थाहा छ दिनरात बम विस्फोटको आवाज सुन्दा, देख्दा कस्तो हुन्छ। म कसरी बाँचेँ थाहा छैन । म चिन्तित छु, धेरै कुराहरूले मलाई तर्साउँछ र मलाई राम्रोसँग निद्रा लाग्दैन।”

पिडलुज्नी र उनको आमा फेरि अँगालोमा बाँधिए । “सबैभन्दा राम्रो औषधि भन्नु मेरो छोरालाई जिउँदो र राम्रो देख्नु हो” छोरालाई भेट्न आएका बेला कारभित्र छिर्दै गर्दा उनको भनाई थियो । युद्धले ल्याएको थकान र पीडा बिदाइको समयमा स्पष्ट देखिएको थियो ।

‘यसबारे एक शताब्दीसम्म कुरा गर्ने छौं’

कीभको मानसिक स्वास्थ्य र मनोवैज्ञानिक सहयोग केन्द्रले नि:शुल्क आउने सबै नागरिकको उपचार गर्छ।

“सन् २०१४ मा रुसले क्रिमिया र डोनबासका केही भागहरू कब्जा गरेपछि “हामीले ६,००० भन्दा बढी बिरामीहरू प्राप्त गरेका छौं”, केन्द्रका निर्देशक भिक्टोरिया सोलोभियोभाले भने। रुसले फेब्रुअरी २०२२ मा आफ्नो पूर्ण विकसित आक्रमण सुरु गरेपछि उपचारको माग बढ्दै गएको छ ।

सोलोभियोभाले भनिन्, “गत मार्चमा मारिउपोलको एउटा भुइँतलाको कुनामा एक महिनाभन्दा बढी समय बिताएकी महिलाको कथाले म छक्क परें, त्यहाँ बम विष्फोट र लडाइँमा फसेकी थिइन्” सोलोभियोभाले भनिन् “त्यहाँ आश्रयमा करिब सय जना मानिस थिए। बिजुली थिएन । तिनीहरूले हेर्नको लागि मैनबत्ती प्रयोग गर्नुपर्थ्यो। त्यसपछि बाहिर आउँदा सडकमा लाशहरू थिए। उनले यहाँ सुरक्षामा पुग्नु अघि एफ एस बी (फिल्टरेशन क्याम्प) रूसी सुरक्षा सेवाहरू द्वारा एक स्क्रीनिंग र सोधपुछ प्रक्रिया -पार गर्नुपर्‍यो। धेरै हप्ता पछि, उनी एउटा क्याफेमा प्रवेश गरिन्। उनीहरु त्यहाँ मैनबत्ती बालिरहेका थिए । त्यो घटनाले उनलाई मनोवैज्ञानिक परामर्श खोज्न प्रेरित गर्‍यो ।

यस मानसिक स्वास्थ्य केन्द्रमा धेरै व्यक्तिहरू यस्तापनि छन् जसले त्यस्ता गम्भीर परिस्थितिहरू सहन सकेनन् । तैपनि युद्धको क्रोधको रूपमा युक्रेनमा बस्न तनाव छ । अनिश्चितताको सामना गर्न असम्भव छ । तैपनि बस्न बाध्य छन् ।

केन्द्रका मनोवैज्ञानिक युजीन बोजेन्कोले कीभमा बस्ने आमालाई भेटेर हेर्दै थिए । उनका तीन छोराछोरीलाई इन्टरनेटको माध्यमबाट घरबाटै पढाइँदैछ । र उनी आफूसँग आफ्नो निजि ठाउँ नभएको भन्दै विलाप गर्छिन्। उनले थपिन् “निरन्तर हवाई आक्रमणको चेतावनी आइरहन्छ । त्यसले त्रास स्रिजना गर्छ । त्यसले धेरै तनावमा राख्यो । म सधैं कीभमा हुनसक्ने अर्को आक्रमणबाट डराउँछु ।”

युद्धले पूर्व र दक्षिण क्षेत्रका फ्रन्ट लाइनहरूबाट टाढा रहेका परिवारहरूमा ठूलो तनाव दिइरहेको छ। “सेनामा लडिरहेका पुरुषहरू सधैं आफ्नो परिवारको चिन्ता गर्छन्” बोजेन्कोले भने “कहिलेकाहीँ अर्को देशमा भागेर आएका महिलाहरू त्यहाँ अर्को पुरुषलाई भेट्छन्। दम्पतीको सम्बन्धविच्छेद र परिवार टुटेको धेरै र धेरै कथाहरू सुन्छु।” समग्र मानसिक स्वास्थ्य अवस्था यति खराब छ कि बोजेन्कोले युक्रेनी सरकारले आत्महत्या रोकथामका उपायहरू लागू गरेको देख्न चाहन्छन्।

“यस युद्धको मनोवैज्ञानिक परिणाम कम्तिमा ३५ देखि ४० वर्षसम्म रहनेछ” सोलोभियोभाले थपे “जे भयो यो सबै एक पुस्तादेखि अर्को पुस्तामा हस्तान्तरण हुनेछ; हामी अझै एक शताब्दी सम्म यसको बारेमा कुरा गर्नेछौं।”

एक वर्षअघि रुसले आक्रमण गर्दा युक्रेन उच्च सैन्यीकृत समाज बन्यो । पुरुषहरूलाई बलियो रूपमा सशस्त्र सेनामा सामेल हुन र लड्न प्रोत्साहित गरियो । यदि उनीहरूले त्यसो नगरेपनि समाज र राज्य दुवैको दबाबले उनीहरूलाई राष्ट्रिय सङ्घर्षमा कुनै न कुनै रूपमा योगदान गरिरहेको देखाउन बाध्य बनाउँछ। १८ देखि ६० वर्ष उमेर समूहका पुरुषलाई विशेष अनुमतिबिना देश बाहिर जान पाइँदैन । यी सबै दबाबले मनोवैज्ञानिक तनाव थप्छ।

युक्रेनी सेनाको लागि युद्धसित सम्बन्धित आघातको सामना गर्नु उच्च प्राथमिकता हो, जसले आफ्नो साहस र प्रतिरोधको शक्तिले विश्वलाई चकित पारेको छ। त्यो वेटरन्सको मानसिक स्वास्थ्य र पुनर्स्थापना केन्द्रमा, केही सैनिकहरू भर्खरै रूसी कैदबाट फर्केका छन्, जसमा यातना भोगेका पनि केहि छन्।

एक युक्रेनी सैनिक, अनातोलीले क्लिनिकले उनलाई मद्दत गरेकोमा ठूलो राहत व्यक्त गरे ।

“मलाई गत सेप्टेम्बरमा एक चोट लागेको थियो। म खेरसन क्षेत्रमा र त्यसपछि बख्मुतमा लडिरहेको थिएँ। फेब्रुअरी २०२२ देखि मेरो इन्फन्ट्री प्लाटुनका चार सिपाही मात्र बाँचे। मेरा सबै साथी मरे । म आघातमा छु। मलाई फ्रन्ट लाइन छोड्न र उपचार गर्न अफिसरहरूलाई धेरै हप्ता लाग्यो, ”अनातोलीले वर्णन गरे।

अनातोलीको उपचार गर्ने मनोचिकित्सकहरूले उनमा अझै पनि गम्भीर पिटिएसडि लक्षणहरू देखिएको बताएका छन् । आघातग्रस्त अमेरिकी र इजरायली दिग्गजहरूको उपचार गर्ने मनोवैज्ञानिकहरूले प्रभावकारी प्रविधिहरू प्रयोग गरेर उपचार गरिरहेका छन् । तिनले एक्यूपंक्चर, योग, चुम्बकीय थेरापी र फिजियोथेरापीको मिश्रण प्रयोग गरेर उनको मनोवैज्ञानिक अवस्था सामान्यमा फर्काउँन कोसिस गरिरहेका छन् ।

“हामीले उपचार गर्ने अधिकांश सैनिकहरू पूर्वी मोर्चाबाट फर्केका छन्, विशेष गरी बाख्मुट वरपरको क्षेत्र” ट्याटियानाले भनिन् । क्लिनिकको १५ मनोचिकित्सक र मनोवैज्ञानिकहरूको टोलीका प्रमुख हुन् उनी।

“धेरै सिपाहीहरू अहिले थकित छन्; उनीहरुमा बर्नआउट र मानसिक स्वास्थ्य समस्याहरू छन्। ति धेरै लडाईमा फर्कन सक्दैनन्। उनीहरूले उपचार गराउनुपर्छ ताकि उनीहरू लडाइँ पुनः सुरु गर्न सकून् वा नागरिक जीवनमा फर्कन सकून् ।”

द्वन्द्व चर्किदै गएपछि यी समस्याहरु बढ्दै गएका छन् । गत वर्ष ठूलो मात्रामा आर्टिलरी फायर र बढ्दो परिष्कृत लडाई भयो । प्रविधिहरूको आदानप्रदानको विशेषता पनि हो लडाई परिस्क्रित हुनु ।

“हामी अगाडि लाइनहरूमा लड्दा लामोअवधि सम्म रात र दिन चलिरहेको विस्फोटबाट धेरै चोट र मस्तिष्क चोटहरूको सामना गरिरहेका छौं । यो एक उच्च-तीव्रताको द्वन्द्व हो,” केन्द्रका निर्देशक केसेनिया वोज्निसियाले उल्लेख गरे ।

‘सामूहिक मनोचिकित्सा’

अन्यत्रका मनोवैज्ञानिकहरूले युक्रेनको मानसिक स्वास्थ्य संकटलाई सार्वजनिक बहसको केन्द्रमा राखेका छन् । “युक्रेनमा, मानिसहरू घरेलु हिंसाको प्रतिक्रिया बाहेक मनोवैज्ञानिककहाँ जाने बानी छैन,” किभको एक सुविधा सम्पन्न ठाउँमा रहेको मनोवैज्ञानिक केन्द्रकी आन्ना भन्छिन् । मारिउपोल, बन्दरगाह सहरका शरणार्थीहरूलाई फेब्रुअरी २४ देखि क्रूर रुसी घेराबन्दीमा परेका शरणार्थीहरूलाई मद्दत गर्दै आएको आना बताउँछिन् । मूल रूपमा डोनेट्स्क क्षेत्रकी आनाले दुई पटक युद्धबाट भाग्नु परेको छ – पहिलो २०१४ मा डोनेट्स्कबाट मारिउपोल र त्यसपछि २०२२ मा मारिउपोलबाट कीभ।

आन्नाले काम गर्ने क्लिनिकले मारिउपोलका १९,००० विस्थापित मानिसहरूलाई सामाजिक र चिकित्सा सहायता प्रदान गर्दछ। आन्नाको तालिका सधैं ब्यस्त हुन्छ।

“मसँग दिनमा आठ वा नौ अपोइन्टमेन्टहरू छन्। मेरा सबै बिरामीहरू मारिओपोलबाट आउँछन्। हामी सबैले समान अनुभव गरेका छौं। त्यसैले यो सामान्य डाक्टर-बिरामी सम्बन्ध भन्दा अलि बढि उच्च खालको छ, किनकि हामीमा धेरै समान किसिमको समस्या छ।

बिरामीहरू प्रायः एउटै कुराको बारेमा सुनाउँछन्, चर्को आवाजको डर, हवाइजहाज वा साइरनको आवाज सहितको युद्धबाट उत्पन्न हुने अन्य धेरै प्रकारको चिन्ता।

यी युद्धकालीन अनुभवहरूले युक्रेनी एकता र राष्ट्रिय पहिचानलाई जोड्न मद्दत गरेको छ । तर यसले ठूलो मूल्य चुकाएको छ ।

“म अष्ट्रेलियामा गएर बस्न सक्छु, किनकि मेरा आमाबाबु बस्ने ठाउँ हो,” आन्नाले भनिन् “तर मैले युक्रेनमै बस्ने निर्णय गरें। म राष्ट्रवादी होइन, तर अब म युक्रेनी पीडाको महसुस गर्छु, म सबै युक्रेनीहरूसँगको सम्बन्ध महसुस गर्छु। यो हामी आम साइकोथेरापीको प्रक्रियामा संलग्न भएको जस्तो छ ।”

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार करिब एक करोड युक्रेनीहरू, (देशको जनसंख्याको एक चौथाई) ले कुनै न कुनै प्रकारको मानसिक रोगको अनुभव गरेका छन् ।

डब्लुएचओले युक्रेनमा रहेका आफ्ना सबै मेडिकल स्टाफलाई मानसिक स्वास्थ्य समस्याहरूको उपचार गर्न तालिम दिन काम गरिरहेको छ र युद्ध समाप्त हुने समय कुर्नुको सट्टा त्यहाँ प्रचलित मानसिक स्वास्थ्य समस्याहरूलाई तुरुन्तै सम्बोधन गरिएको सुनिश्चित गर्न प्रयास गरिरहेको छ।

(यो लेख फ्रान्सेली भाषामा प्रकाशित फ्राँन्स २४ डट कम डट एफ आरबाट अनुवाद गरिएको थियो।)

तपाइँको प्रतिक्रिया

फेसबुक