शनिबार, मंसिर ८, २०८१

भाषाको कठिनाईले पेशानै बदलें

प्रविना गुरुङ / बेल्जियम२०७९ चैत २१ गते २३:३६

म नेपालमा नर्स थिएँ । बेल्जियम आउँदा ४७ वर्षकी । उमेर अलि ढल्केपछि यता आएँ । बेल्जियम जादा भाषा सिकेर जान्छु र आफ्नै पेशालाई निरन्तरता दिन्छु भन्ने अठोट थियो । नेपालमा मेरो बसाइ पोखरा हो । यता आउनुभन्दा पहिला मैले डच भाषा सिक्न पाइन्छ कि भनेर पोखरामा धेरै खोजेँ । कतैपनि यो भाषा पढ्न पाइने स्कुल भेटिन । बिदेशमा काम गरेर फर्केका नेपाली महिलाहरुको सँस्था पौरखीको पोखरा शाखाको अध्यक्ष थिएँ म त्यो बेला । विदेश जानुपूर्व भाषा सिक्न जरुरी छ भनेर संस्थामार्फत धेरै वकालत गरेर हिँडें तर आफ्नै पालोमा भाषा सिक्न पाइन ।

अग्रेजी बोल्ने भएर बेल्जियम आएँ। र यता आएपछि दुइवर्ष नियमित यो भाषा पढेँ । त्यसो त बेल्जियमा फ्लेमिश र फ्रान्सेली पनि बोलिन्छ । तर म आइपुगेको क्षेत्रमा डच (नेदरल्यान्डको राष्ट्रिय भाषा जुन बेल्जियमको एक क्षेत्रको मुख्य भाषा हो ) नै बोलिन्छ । यता आएर भाषा सिक्दै गर्दा भाषामा निखार ल्याउन कठिन हुन थाल्यो ।

नर्सिङ पेशामा नर्सहरुले मानिसको शरिरका भित्रि र बाहिरी सबै अंगहरुको नाम जान्नै पर्छ । शरिरका सबै नामहरु स्थानिय भाषामा चिन्नुपर्ने र तिनको काम पनि यिनकै भाषामा जान्नुपर्ने भएपछि म अलि तर्सेँ । नर्सिङ पेशा एक संबेदनशिल र जिम्मेवार पेशा हो । यो पेशा अरुको शरिरसँग जोडिएको हुन्छ र बिरामीको शरिर छुनै पर्छ । उनीहरुसँग बोल्नै पर्छ र समुहमा मिलेर काम गर्नुपर्छ । बिरामीले सोधेको कुरा निश्चिन्त भएर जवाफ दिनुपर्छ । यस्तो काम गर्दा भाषा बुझिएन भने अरुको स्वास्थ्यमाथि थप समस्या निम्तिन सक्छ र उस्तै परे ज्यानै जान सक्ने संभावना हुन्छ । त्यसैले मैले जोखिम मोल्न चाहिन । सानो गल्ती भयो भने त जीवनभर आत्मग्लानी हुन्छ भनेर नेपालमा सिकेको शिप र पेशालाई निरन्तरता दिन हिच्किचाएँ ।

अर्को कुरा म अलि उमेर छिप्पिएपछि यता आएँ । उमेर छिप्पिएको मानिसको सिकाइ र युवा अवस्थाको सिकाइमा अलि फरक हुने रहेछ । युवाहरुले भाषामा प्रयोग हुने कठिनखाले उच्चारण छिटो सिक्छन् । धरै शब्दहरु संझन सक्छन् भने तालिममा छिर्दा पढाइ पनि राम्रो सँग सकाउँछन् । युवा अवस्थामै आएको भए मैले पनि लामो पेशागत जीवन बारे सोच्थेँ होला । अनि भाषालाई स्तरिय बनाउन जोड दिने थिएँ होला । यसो हुँदा नेपालको पेशालाई निरन्तरता दिन पनि मन लाग्थ्यो होला ।

म देख्छु संघसंस्था देखि राजनीति पार्टी सबैतिर ज्यादै नै बढी अंग्रेजी प्रेमीहरुको हालिमुहाली छ । अंग्रेजी बोल्नुपर्छ तर अंग्रेजीकरण हुनबाट जोगिनुपर्छ र हामी नेपालीमय बन्न जरुरी छ । अंग्रेजीलाई प्राथमिकता दिँदै जाँदा नेपाली तथा अन्य मातृभाषाहरु माथि अग्रेजी भाषा हावी हुन्छ र हाम्रो पहिचान हराउँदै जान्छ ।

मलाइ लामो समय यता काम गर्ने रहर छैन । नेपाल नै फर्कने मन छ । बच्चाहरुले आआफ्नो बाटो लिएपछि फुर्सदिलो भइन्छ । नेपालमै फर्केर केहि गरौँ भन्ने मेरो भावना छ । एकपटकको नेपाली सधैंको नेपाली भइनेरहेछ । जहाँ गएपनि नेपालकै माया लाग्दोरहेछ भने आफ्नै गाउँ पाखा पखेरा र चौतारी नै सपनामा आउँदा रहेछन् । आफ्नो ठाउँ आफ्नो माटो संझने रहेछ । त्यसैले धेरै दुख नगरौँ भनेर सजिलो पेशा लिएँ । केहि वर्ष पछि फर्कनु नै छ भने किन भाषालाई स्तरिय बनाउन मरी मरीकन पढ्नु भन्ने पनि लाग्यो ।

नेपालबाट आउनुभएका कतिपय नर्स बहिनीहरुले पनि अरु नै पेशा अपनाउनुभएको छ यता आएर । उहाँहरुले मात्र होइन शिक्षकहरु तथा अरुहरुले पनि अरु नै पेशा गर्नुभएको छ । कतिपय व्यापार व्यवसायमा हुनुहुन्छ । कामको इज्जत हुने देशमा जे काम गर्दा पनि फरक नपर्ने भएकोले पेशा परिवर्तन गर्दा त्यति दुखी छैन ।

बेल्जियममा भाषाको स्तर प्रणाली हुनेरहेछ । नर्स जस्तै डिप्लोमा सरहको कोर्श गर्न दुइ दशमलब चार पोइन्ट हुनुपर्दो रहेछ । मैले दुइ दशमलब तीन पोइन्ट गरेर नर्सिङ पेशाकोलागि फाइल भर्दै थिएँ । लेख्न जानेर मात्र भएन, बुझेर मात्र पनि भएन । भाषा राम्रो हुनु भनेको उच्चारण पनि राम्रो हुनुपर्दो रहेछ । बोल्दै जाँदा मनमा राम्रो उच्चारण गरेँ भनेजस्तो लाग्छ तर भाषामा हाम्रो आफ्नै लवज मिसिने भएकोले स्थानियले बोलेको जस्तो नमिल्दोरहेछ । उच्चारण नुबझेपछि त्यो कुरा बुझाउन अर्को उदाहरण खोज्नुपर्यो । अर्को उदाहरण दिँदा ठयाक्कै भन्न खोजेको कुरा बुझाउन गाह्रो फेरी । अनि त्यसले गर्दा झन् बढी मेहनत चाहिने नयाँ नयाँ शब्द खोज्न । बिरामीसँग बोल्दा त यसरी उदाहरण दिएर बुझाउन पनि भएन । एक त हामी बिदेशी अनि उहाँहरु बिरामी हुनुहुन्छ नै । त्यहि माथि उहाँहरुलाई मनोबैज्ञानिक र शारिरिक सहयोग चाहिन्छ । सान्त्वना दिनुपर्छ । भाषामा नै स्पस्टता भएन भने उहाँहरुलाई यो बिदेशीले हाम्रो देशमा के गर्न खोजेको भनेर स्वभाविक रुपमा दिक्क लाग्न सक्छ ।

उच्चारण राम्रो बनाउन बारबार बोलिरहन पर्छ र उच्चारण राम्रो बनाउन बारबार प्रयाश गर्न पर्यो । तर हाम्रो समस्या के रहेछ भने हामी स्थानिय मानिससँग घुलमिल हुन त्यति मन नपराउने । भाषा सिक्दा कफी पसलमा स्थानियहरु सँग बसेर चिया पिउने, सिनेमा हेर्ने, टिभी हेर्ने गर भनेर सूझाब दिन्छन् । तर आफ्नै समुदायमा घुलमिल गर्ने बानी नेपालीको भएकोले भाषा सिक्ने मौका भने गुमाइने रहेछ ।

हरेक भाषाको मौलिक बिशेषताहरु हुन्छन् । भाषा भनेको इतिहास, संस्कृति र पहिचान हो । भाषालाई कति माया गर्नुपर्दो रहेछ भन्ने कुरा युरोप आएर देखेँ ।

मैले माथि नै भनेँ, केहि नर्सहरुले पेशा परिवर्तन गर्नुभयो । तर केहि बहिनीहरुले भने यता आएपछि भाषा राम्रो सँग सिकेर र थप नर्सिङ पढेर काम गर्न थालिसक्नुभएको छ । यस्तै अन्य केहिहरुले पनि आफूले सिकेको कामलाई नै निरन्तरता पनि दिनुभएको छ ।

अचेल भाषा सिक्न सजिलो पनि छ । गुगलबाट नेपालीमा अनुवाद गर्न सकिन्छ र मोबाइलमा तुरुन्त हेर्न सकिन्छ । भन्न खोजेको कुरा दुरुस्त नमिलेपनि मोबाइलमा टापइ गरेपछि गुगलले भन्न खोजेको कुरा देखाउँछ । हाम्रो पालोमा यो सुबिधा थिएन । डचबाट अग्रेजी शब्दकोष अनि अँग्रेजी शब्दकोषबाट नेपाली हेर्नुपर्थ्यो ।

भाषाका कारण मलाइ दैनिक जीवन चलाउन अहिले कुनै समस्या छैन । शुरु शुरुमा किनमेल गर्न जाँदा भने अप्ठेरो पर्यो । घरमा ल्याउने सामानहरु चिनेपछि मैले पछि पछी सामानको नाम लेखेर लग्थेँ । जे जे चाहिन्छ त्यो टपक्क टिपेर टोकरीमा हाल्थें । पैसाको हिसाब किताब त अंग्रेजीमा निकालेपनि उही हो नेपालीमा पनि उही हो । सामान चिन्नुपर्यो । तर के थाह भयो भने सरसामान बेच्ने कुरामा यिनिहरु बाठा रहेछन् । अग्रेजी बोलदिने । यसैगरी काम चलिरहेको थियो ।

एक पटक अचम्मै भयो । मैले एकपटक भने किनमेल गरेपछि पचास युरो दिएँ । पसलेले मलाइ २८ युरो फिर्ता दिनुपर्ने थियो । तर गल्तीले हो या नियतबस उसले मलाइ कम रकम फिर्ता दियो । मैले अंग्रेजी भाषामा ‘तिमिले मलाइ पुरा पैसा दिएनौ’ भनेँ । उसले मलाइ ‘होइन मेरो हिसाब ठिक छ तिमिले नै राम्रो सँग गनिनौ’ भन्यो । म ढिपी गरेर ‘तिम्रो गल्ती छ’ भन्ने उसले ‘होइन मैले गरेको हिसाब ठिक छ’ भन्ने भयो ।

म भन्दा पछाडी बसेको स्थानिय मानिसले यो सबै देखिरहेको थियो । ‘होइन यिनि महिलाको कुरा कुरा सहि हो तिमीले पुरा पैसा फिर्ता दिएका छैनौँ’ भनेपछि उसले पुन हिसाब गरेर पैसा फिर्ता गर्यो । फिर्ता त लिइनै छाडेँ तर मलाइ महशुस भयो कि भाषाको कमी हुँदा हेपिने रहेछ । हामीले जति नै पढेपनि यिनिहरुले दोस्रो दर्जाको नागरिक जस्तो पो ब्यवहार गर्दारहेछन् भन्ने भयो । हामी बिदेशी अनुहार भएकोले हो कि के हो बादविबाद गरेको या छलफल गरेको मन नपराउँदा रहेछन् जस्तो पनि लाग्यो । म माथि बिभेद भयो भनेजस्तो पनि लाग्यो ।

मलाइ लामो समय बेल्जियममा काम गर्ने रहर छैन । नेपाल नै फर्कने मन छ । एकपटकको नेपाली सधैंको नेपाली भइनेरहेछ । जहाँ गएपनि नेपालकै माया लाग्दोरहेछ भने आफ्नै गाउँ पाखा पखेरा र चौतारी नै सपनामा आउँदा रहेछन् । आफ्नो ठाउँ आफ्नो माटो संझने रहेछ ।

कस्ता कस्ता दुखी अनुभुति आए । अनि यहि बेला थप महशुस भयो कि मैले त यहाँको भाषा सिक्नै पर्छ र जान्नै पर्छ । कमसेकम यो गल्ती हो भन्न सक्ने हुनैपर्छ । त्यसो त सबैले अंग्रेजी नबुझ्न पनि सक्छन् ।

बिभेदको कुरा त कति हुने रहेछ भने कोरोनाको समयमा त झन प्रसस्तै अनुभव गरियो । हामी जनजातीको अनुहार चाइनिजहरु सँग मिल्दो जुल्दो देखिन्छ । किनमेल होस या मेट्रो अनि बस लगायत सार्वजनीक सवारी साधन चढ्दा होस सबैले हाम्रो अनुहारमा हेर्ने । त्यो बेला त झनै बिभेद गरिएको अनुभूती भयो ।

नेपालमा पनि बहुभाषा छन् । म गुरुङ परिवारमा जन्मेकी हुँ। मेरो मातृभाषा गुरुङ हो र नेपाली दोस्रो भाषा हो । म गुरुङ भएको कारणले मैले बोल्ने नेपाली भाषामा अहिले पनि प्रष्टता आउँदैन र छैन पनि । जति नेपाली भाषीहरु प्रष्ट र शुद्द बोल्नुहुन्छ म त्यो गर्न सक्दै सक्दिन । किनभने म मेरै भाषामा अभ्यस्त छु ।

नेपालमा अहिले सँघियता छ र सातै प्रदेशहरु छन् । म चाहन्छु कि सबै प्रदेश सरकारले प्रदेश अनुसारको मातृभाषामा अध्ययन गर्ने अवसर जुटाओस् । यसो भयो भने सानै देखि बालबालिकाहरुले थप नयाँ शब्द र नयाँ आवाजहरु उच्चारण गर्न सिक्छन् । हाम्रोमा भाषाहरुलाई प्रयोगमा ल्याउन ढिला भैसकेको छ ।

म देख्छु संघसंस्था देखि राजनीति पार्टी सबैतिर ज्यादै नै बढी अंग्रेजी प्रेमीहरुको हालिमुहाली छ । अंग्रेजी बोल्नुपर्छ तर अंग्रेजीकरण हुनबाट जोगिनुपर्छ र हामी नेपालीमय बन्न जरुरी छ । अंग्रेजीलाई प्राथमिकता दिँदै जाँदा नेपाली तथा अन्य मातृभाषाहरु माथि अग्रेजी भाषा हावी हुन्छ र हाम्रो पहिचान हराउँदै जान्छ । हामीले हाम्रा बालबालिका मात्र होइन बिदेशबाट आउने जो कोहिलाई पनि नेपाली सिक्नुपर्ने बनाउनुपर्छ । हाम्रोमा उल्टो अंग्रेजी सिकाएर हाम्रो देशको जनसंख्या बाहिर पठाउने काम भइरहेको छ ।

हरेक भाषाको मौलिक बिशेषताहरु हुन्छन् । भाषा भनेको इतिहास, संस्कृति र पहिचान हो । भाषालाई कति माया गर्नुपर्दो रहेछ भन्ने कुरा युरोप आएर देखेँ । तर हाम्रो नेपालमा हाम्रै मातृभाषाहरुमाथि जानेर नजानेर इतिहासमा दमन भयो र दवियो । अर्को तिर अहिले नेपाली भाषा पनि सुरक्षित छैन । मलाइ लाग्छ सबै मातृभाषालाई संरक्षण र सम्बर्धन गर्न जरुरी छ भने नेपाली भाषालाई पनि अझ बिकसित बनाउनुपर्छ ।

(नेपाल प्लसकालागि अनुराधा पौडेल सितको कुराकानी र फेसबुक लाइभमा आधारित लेख ।)

तपाइँको प्रतिक्रिया