आइतबार, मंसिर २३, २०८१

प्रवाशको नेपाली समुदायमा बिस्तार हुँदै गएको एउटा बिकराल रुप

सुमित्रा बुर्लाकोटी / फ्रान्स२०७९ चैत २५ गते १८:२९

म फ्रान्स आइपुगेपछि सबै कुरा फरक देखेँ । अग्रेजी भन्नु नै विश्वको सर्वमान्य भाषा हो भन्ने सोचाइ मेरो मनमा गढेको थियो नेपालमा हुँदा । बेलायत बाहेक अन्तको देशहरु भएको सिंगो युरोपमा त यस्तो हुँदो रहेनछ । युरोपको कठीन भाषा मध्ये एक फ्रान्सेली भाषा बोलिने देश फ्रान्समा मैले आफुलाई स्थापित गराउनुपर्ने भयो ।

शुरुमा त कस्तो भयो भने साथिभाइले यो ठाउँमा आउनु है भेटम भन्नुहुन्छ । तर त्यो भनेको कहाँ हो भनेर बुझ्नै नसकिने भयो । किनभने त्यो ठाउँलाई कसरी उच्चारण गर्ने थाह नै भएन । होर्डिँग बोर्ड देखि ठाउँको नाम सबै फ्रान्सेली भाषामा लेखेको छ तर उच्चारण हामी अंग्रेजी भाषाको तरिकाले गर्ने । कहाँ मानिसले बुझ्नु हामीले भनेको । तर पनि फ्रान्सेली भाषा नसिकिन्जेल त अंग्रेजी उच्चारणले नै काम चलाउनुपर्यो ।

बजारमा गयो सबै चिजबिज चिनेकै त छु नि जस्तो लाग्यो । देख्दा चिनिन्छ पनि । तर घर आएर के देखेँ भन्दा त नामै थाह छैन । नामै थाह नभएपछि फेरी केहि नचिनेको जस्तो भयो । एक त जे लेखेको छ त्यस्तो उच्चारण गर्न जानिँदैन । अर्को अंग्रेजी तरिकाले उच्चारण गरेपछि हामीले बोलेको कसैले बुझ्ने होइन ।

बिदेश जानु पूर्व हामी सबैले फलानो देश पुग्न सकियो भने यति पैसा कमाइन्छ भनेर हिसाब गर्छौँ । औंला भाच्छोँ । क्यालकुलेटर थिच्छौँ । किनभने हामीले देश छाड्ने भनेको पैसा कमाउनकालागि हो । बिदेश गएपछि त्यो देशको भाषा मैले बोल्न सक्छु कि सक्दिन भनेर बिचार गर्दारहेनछौँ । मलाइ भाषा सिक्न कति समय लाग्ला । मैले कस्तो कामका लागि कस्तो भाषा जान्नुपर्ला भनेर ध्यान पनि दिँदारहेनछौँ ।

म कयौँ पुरुष भन्दा भाषामा दक्ष छु । तर मलाई म भन्दा कमजोर पुरुषले हेप्न खोज्छ । महिलाले आफ्नो क्षमता र दक्षता पुराएर राम्रोसँग तार्किक कुरा गर्यो भनेपनि हाम्रो समाजको पुरुष यस्तो छ कि महिलाले बोलेको कुरानै पत्याउँदैन । पाइला पाइलामा आफूलाई अब्बल साबित गर्दैमा थाकिने पो हो कि जस्तो लाग्छ मलाइ कहिलेकाहीँ । चाहे स्वदेश होस या बिदेश ।

नेपाली र फ्रान्सेलीमा समानता भनेको हामी दुवै मानिस हौँ । रगत हामी सबैको रातो छ । तर मानिसलाई भाषा साहित्य र संस्कृतिले फरक बनाउदो रहेछ । फ्रान्स जस्तो नयाँ ठाउँमा आउँदा पहिलो कुरा भाषा नै नजाने पछि के हुन्छ सोच्नु त । मेरो शरिर स्वस्थ छ तर पाइला पाइलामा मलाइ बोलि नै नभएको मानिस जस्तो अपांगता भएको महशुस भयो । छन त मेरो पनि नि भाषा छ नि ! तर मैले जानेको भाषा त फ्रान्सेली होइन भन्ने अनुभूती भयो।

फ्रान्स कस्तो देश रहेछ भने सामान बेच्नकालागि उ सहजकर्ता बन्दोरहेछ । चाहे बिश्वव्यापी सन्धि सझौता या व्यापारिक डिलहरु हुन् यस्तोमा उसले अंग्रेजीलाई स्विकार गर्दोरहेछ । तर जब यो देशको सेवा कसैले लिन चाहन्छ या सेवा लिने ठाउँमा पुगिन्छ भने यिनिहरुले आफ्नो भाषा खोजिहाल्ने रहेछन् ।

फ्रान्स शुरुको वर्षमा त मलाइ कहाँ हो कहाँ हराएको जस्तो भएको थियो । अनि मैले महशुस गरेँ कि परदेश भनेको त्यो ठाउँ रहेछ जहाँ तपाइ देख्न सक्नुहुन्छ तर भिज्न सक्नुहुन्न । बोल्न कोशिष गर्नुहुन्छ तर बोल्न सक्नुहुन्न । डाक्टरकोमा जानुहुन्छ व्यथा खोल्न सक्नुहुन्न । ‍ तपाइको सट्टा अरुले बोलिदिनु पर्छ । तपाइको दुखाइ अरुले बोलिदिएर तपाइको आवस्यकता हुँदैन नि । यस्तो बेलामा पाइला पाइलामा थाकेको या असहाय भएको महशुस हुनेरहेछ ।

हरेक भाषाको आफ्नै बिशेषता हुन्छ भने हरेक देशको आफ्नै मौलिक सँस्कृति । त्यो सँस्कृति भाषासँग जोडिएर आउँछ । अब कुमारी नाचको कुरा हेरौँ । त्यो हाम्रो देशको मौलिक सँस्कृतिसँग जोडिन्छ र त्यो सँस्कृतिको व्याख्या हाम्रो आफ्नो भाषामा हुन्छ । त्यस्तै हो अरु देशमा पनि । त्यसैले भाषा भनेको बोल्न र पढ्न मात्र होइन बुझ्न र त्यहाँ प्रयोग हुने शब्दहरुको उच्चारण गर्न पनि गाह्रो हुने कुरा हो । इतिहास, भूगोल, ज्ञान बिज्ञान सबै जोडिन्छ भाषासँग ।

उच्चारण भाषा भित्रको एउटा बिधा हो । यसको पनि छुट्टै तरिकाले बिकास भएको छ । अब भाषा सिक्ने क्रममा उच्चारण गर्न गाह्रो भयो भनेर गुनासो गर्न थाल्यौँ भने भाषा सिक्न सकिँदैन । अर्काको देशमा गैसकेपछि उनीहरुका केहि मौलिक सँस्कृतिसँग परिचित हुनैपर्छ । भइएन भने आफु एक्लो भइन्छ । अर्काको देशको भाषा सिक्नु भनेको बिहे भएर घर जानु र श्रीमानको सिन्दुर र पोते लगाउनु जस्तो लाग्छ मलाइ । भाषा सिक्नु कठिन काम हो तर असंभव होइन । जब आधिकारिक रुपमा परदेशमा बसिन्छ, बालबच्चा जन्माइन्छ अनि काम समेत गरिन्छ भने हामीले त्यहाँको भाषा सिक्नैपर्छ । आफू गएको देशलाई पनि माया गर्नुपर्छ र इज्जत गर्नुपर्छ ।

पहिलो कुरो त हाम्रै देशभित्र नेपाली भाषा बोल्नुपरेकोमा हामी नेपालीमा हिनताबोध देखिन्छ। नेपाली भाषा जोगाउनुपर्छ भनेर गरिने स्कूलिङ पर्याप्त छैन ।

नढाँटी भन्दा फ्रान्स आएको शुरुका दुइ बर्ष त मलाइ भाषा सिक्न हिम्मत नै आएन । अब त भो स्कूल जानुपर्छ भन्ने लागेपछि म पढ्न गएकी हुँ । अग्रेजीको ए बि सी डी अक्षरलाई यहाँ आ वे से दे भन्दोरहेछ । नेशनलाई नास्सियोँ भन्दो रहेछ ।

एक दिन मेरो साथीले म पेरिसको गाउँले स्टेशनमामा छु त्यहाँ आउ भने । कहाँ रहेछ त्यो गाउँले स्टेशन भनेर धेरै खोजेँ । शार्ल द गोल भन्ने मेट्रो स्टेशनलाई नेपालीकरण गरेर चार्ल दि गाउले (अंग्रेजी सँग मिल्दो उच्चारण) बनाएछ साथीले । अनि मलाइ भन्दा चाहिँ त्यो चार्ल दि भन्ने आधा वाक्य हटाएर गाउँले मात्रै भनेको रहेछ । शात्लेलाई छतले, रोइई दिद्रोलाई नेपालीकरण गरेर राउदो अनि गोँ कुललाई गोन् कोर्ट बनाएका छन् नेपालीले । फ्रान्सेली शब्दलाई बिगारेर नेपालीकरण गरिदिन्छौँ हामीहरु ।

अब उता नेपालमा तुलज शहरलाई ‘टौलुज’ भनेर लेखिदिन्छन् । लियोँ शहरलाई ‘लियोन’ लेख्छन् । बर्षेनी ठूलो अन्तराष्ट्रिय फिल्म फेस्टिभल हुने फ्रान्सको प्रसिद्द शहर ‘क्यान’ लाई ‘क्यानस’ लेखिदिन्छन् । यसरी भाषा बिगार्नु हुँदैन । किनभने नामको पछाडी मौलिकताहरु जोडिएको हुन्छ । अरुले हाम्रो भाषा पनि बिगार्नु हुँदैन र अरुको पनि । किनभने तपाइले भाषाको राम्रो उच्चारण गर्नु भनेको तपाइले अरुको अगाडि आफ्नो राम्रो र सभ्य परिचय दिनु हो । बिदेशको सँस्कृतिमा अब तपाइ एकाकार भैरहनुभएको छ भनेर देखिनु हो । उसको देश र भुगोलको इज्जत गर्नु पनि हो । यसको अर्थ यो होइन कि तपाइले आफ्नो मातृभाषा बिर्सनुपर्छ ।

यो भाषा सिक्दा म आत्तिएँ । बिचमा त अब मैले छोड्नु पर्छ भनेजस्तो भयो । छोराछोरिलाई समय दिएको जस्तो गरी समय दिनुपर्ने । ए बि सी डि देखिनै पढ्न शुरु गर्नु पर्ने । हिम्मत टुटेर शून्यमै पुगेँ भनेपनि हुन्छ । पछि गहिरिएर सोचेँ-यो भाषाले मलाइ कहाँ पुर्याउला त । भोली नेपाल नै फर्कनुपर्ने दिन आयो भने मैले यो भाषा प्रयोग गरेर गरिखान सक्छु कि सक्दिन भनेर धेरै बिश्लेषण गरेँ ।

कुनैबेला नेपालमा एकल र निरिह महिलालाई बोक्सी भनेर समाजले नानाभाँती आरोप लगाउँथ्यो । बिदेशमा अहिले यस्ता एकल महिलालाई शारिरीक या मानसिक शोषण गर्ने टार्गेट बर्ग बनाएको देखिन्छ । यो समस्या अहिले खाडिका देशहरु हुँदै युरोप र अन्त पनि बिस्तार हुँदै गइरहेको छ ।

यो भाषा बिश्वका ६० भन्दा माथिका देशमा बोलिने रहेछ । सिक्नकालागि दोस्रो कठिन भाषा रहेछ । संयुक्त राष्ट्रसंघमा पनि प्रयोग हुने महत्वपूर्ण भाषा रहेछ । अब मैले आफ्नो पेशागत जीवनमा यहि भाषा मार्फत् फड्को मार्न सक्छु भनेर पक्का भएपछि लगभग चार वर्ष यसकै लागि समय दिएँ ।

अहिले म फ्रान्सेलीलाई नेपाली पढाउँछु । नेपाली भाषाको शिक्षिका हुँ म । तर उनीहरुलाई फ्रान्सेली भाषामा बोलेर नेपाली पढाउँछु । फ्रान्सेली भाषा म अझै सिकिरहेको छु तर पहिला भन्दा निकै सहज हुँदै गएको छ अचेल ।

मैले विद्यार्थीहरुलाई तपाइको भाषामा यो कठिनाइ छ भन्छु र मेरो भाषामा यो कठिनाइ छ भन्छु । अनि यो यो समानता छ पनि भन्छु । यसरी विद्यार्थीहरु र मेरो बिचआदान प्रदान चलेको छ ।

नेपालको सन्दर्भ जोडौं । पहिलो कुरो त हाम्रै देशभित्र नेपाली भाषा बोल्नुपरेकोमा हामी नेपालीमा हिनताबोध देखिन्छ। नेपाली भाषा जोगाउनुपर्छ भनेर गरिने स्कूलिङ पर्याप्त छैन । तिमीले अंग्रेजी जानेनौ भने तिम्रो भविष्य छैन भने जस्तो कहालिलाग्दो परिस्थिति समाजमा जन्मेको छ । समाजले अंग्रेजी भाषामा पोख्त हुन अप्रत्यक्ष दबाब दिइरहेको छ ।

भाषाको अभाव बोकेर जुनसुकै देशमा पुगेको नेपाली होस् उसले नेपाली बाटै सहयोग र प्रोत्साहन पाउनुपर्ने हो । तर यस्तो छैन । फेरी नेपालीले नेपाली ठगिरहेको छ । यो नेपालीहरुको भोगिरहेको जल्दोबल्दो र सारै नै ठूलो समस्या हो ।

मेरो पालोसम्म जसोतसो सरकारी स्कुलमा नेपाली माध्यममा पढाइ हुन्थ्यो । अहिले त सरकारी स्कूलमा पनि अंग्रेजी माध्यमबाट पढाइ हुनथाल्यो । यसरी गरिएको अंग्रेजीकरणले देशको बिकास भएन र युवाहरुलाई देशले आफ्नै भूमिमा रोक्न सकेन । जसोतसो अंग्रेजी पढेर पास गरेको ठूलो युवा पुस्ता अहिले खाडी र युरोपमा आइपुगेको छ । अंग्रेजीमा दख्खल हुने त अष्ट्रेलिया, अमेरिका, क्यानडा पुगेको छ र यो भाषामा दक्षता हासिल गर्नेले त नेपालमै पनि सुखको जागिर खाइरहेको छ ।

भाषाको अभाव बोकेर जुनसुकै देशमा पुगेको नेपाली होस् उसले नेपाली बाटै सहयोग र प्रोत्साहन पाउनुपर्ने हो । तर यस्तो छैन । फेरी नेपालीले नेपाली ठगिरहेको छ । यो नेपालीहरुको भोगिरहेको जल्दोबल्दो र सारै नै ठूलो समस्या हो ।

बिदेशमा स्थापित भैसकेका पुराना नेपालीले एकल महिला र त्यसमा पनि अझ शिक्षाको पहुँचबाट बाहिर पुगेका दिदीबहिनीलाई मद्दत दिनुपर्ने हो । तर मैले उल्टो देखेँ । कुनैबेला नेपालमा एकल र निरिह महिलालाई बोक्सी भनेर समाजले नानाभाँती आरोप लगाउँथ्यो । बिदेशमा अहिले यस्ता एकल महिलालाई शारिरीक या मानसिक शोषण गर्ने टार्गेट बर्ग बनाएको देखिन्छ । यो समस्या अहिले खाडिका देशहरु हुँदै युरोप र अन्त पनि बिस्तार हुँदै गइरहेको छ ।

म सन् २०१५ मा पोर्चुगल पुगेकी थिएँ । मैले त्यहाँ आफूलाई धादिङबाट आएको र केहि पनि नपढेको अनि नजानेको महिलाको रुपमा प्रस्तुत गरेँ । यसो गर्दा मैले दाजुभाइहरुको व्यवहार नियाल्ने मौका पाएँ । उहाँहरुले मलाई गर्नुभएको व्यवहार सुखद थिएन । आफ्ना मानिससँग डराउनुपर्ने देखियो । जब मैले राम्रोसँग लेख्न पढ्न जानेको छु भन्ने भेउ पाउनुभयो तब उहाँहरु हच्चकिन थाल्नुभयो ।

अझ मेरो तितो अनुभव के छ भने म कयौँ पुरुष भन्दा भाषामा दक्ष छु । तर मलाई म भन्दा कमजोर पुरुषले हेप्न खोज्छ । महिलाले आफ्नो क्षमता र दक्षता पुराएर राम्रो सँग तार्किक कुरा गर्यो भनेपनि हाम्रो समाजको पुरुष यस्तो छ कि महिलाले बोलेकै कुरा पत्याउँदैन । पाइला पाइलामा आफूलाई अब्बल साबित गर्दैमा थाकिने पो हो कि जस्तो लाग्छ मलाइ कहिलेकाहीँ । चाहे स्वदेश होस या बिदेश ।

(परदेशमा भाषाको समस्या झेलिरहेका नेपाली दिदी बहिनीले भोगिरहेको अनुभूतीमा आधारित नेपाल प्लसको फेसबुक लाइभमा पूर्व प्रसारित सामाग्रीमा आधारित बुर्लाकोटीको यो  भनाइलाई नेपालप्लसका अतिथि सम्पादक अनुराधा पौडेलद्वारा थप सम्पादित)

तपाइँको प्रतिक्रिया