डायस्पोराका नेपाली मिडियाको ब्लाइन्ड स्पट : कृष्ण लामिछाने मृत्यु प्रकरणबाट के सिक्ने ?
अमेरिकामा भएको कृष्ण लामिछानेले गत मार्च २१ तारिख बेलुका आफ्नै घरमा झुण्डिएर मृत्युवरण गरेको भन्ने विषयमा सञ्चारमाध्यमले निर्वाह गरेको भूमिकाका बारेमा विश्वभरि छरिएर रहेका नेपाली डायस्पोरा र खासगरी उत्तर अमेरिकी नेपाली समुदायमा विभिन्न किसिमका चर्चा, टिप्पणी र आलोचनाहरू भए । चर्चा यस अर्थमा कि अमेरिकामा नेपालीभाषीहरूबीच राम्रो जनसम्पर्क भएको र सामाजिक योगदानबाट चिनिएको व्यक्तिको अस्वाभाविक मृत्यु भएको थियो । टिप्पणी यस अर्थमा कि नेपालीभाषीले सञ्चालन गरेका विभिन्न सञ्चारमाध्यममा आंशिक तथ्य र व्यक्तिगत दृष्टिकोण सहितका समाचार र विश्लेषण प्रकाशन/प्रसारण भए । आलोचना यस अर्थमा कि कुनै पनि सञ्चारमाध्यमलाई लगातार पछ्याउँदा पनि स्वर्गीय लामिछानेको मृत्यु हत्या थियो कि आत्महत्या? कसरी भयो ? आत्महत्याको त्यो अवस्थासम्म धकेल्न के वस्तुस्थिति र बाध्यता आइपर्यो जस्ता अनेक प्रश्नहरू अनुत्तरित थिए ।
अपूर्ण समाचारले जगाएको हुटहुटी
पत्रकारितामा कुनै पनि समाचारमा छ प्रश्नहरू (जसलाई नेपालीमा छ‘क’ अर्थात के, को, कहाँ, कहिले, किन, कसरी, र अंग्रेजीमा ‘फाइभ डब्ल्यु वान एच’ भनिन्छ) को उत्तर खोज्ने प्रयास गरिन्छ । किन र कसरी जस्ता तत्कालै उत्तर लेख्न नसकिने प्रश्नहरूका बारेमा पनि पाठक/श्रोताका जिज्ञासा सम्बोधन गर्ने किसिमले समाचारमा सम्बोधन गरिन्छ । तर, कृष्णजीको मृत्यु प्रकरणमा त्यसो भएन । सबैले त्यो घटना ‘आत्महत्या’ भएको जनाए र त्यो मृत्युको निर्णय लिने बाध्यता कसरी सिर्जना भयो भन्ने पाठकको स्वाभाविक जिज्ञासा मेट्ने गरी समाचार दिन जरुरी ठानेनन् । मानौं, त्यो स्वाभाविक मृत्यु थियो । त्यसबेला म पनि अमेरिकाबाट सञ्चालित नेपाली साथीहरूले चलाएका अनलाइनहरू चाहारीरहेको थिएँ । कुनै पनि समाचारले मेरो सूचनाको प्यासलाई बुझाउन सकेनन् ।
कुनै पनि घटनामा आत्महत्याको कुरा आउँछ भने सबै पाठकका मनमा स्वाभाविक रूपमा किन र कसरी भन्ने प्रश्नहरू उठ्छन्। सम्झनुस् त, स-साना बालबालिकालाई तपाइँले कुनै कथा भन्दै गर्दा बिचैमा टुंग्याइदिनु भो वा कुनै चलचित्र हेर्दाहेर्दै नायकको अश्वभाविक मृत्युभयो र चलचित्र सकियो, वा कुनै उपन्यासमा नायिकाले आत्महत्या गरी अनि पाठकलाई किन त्यसो गरी भन्ने जानकारी दिइएन भने अपूरो लाग्दैन ? ठिक त्यसैगरी कुनै पत्रकारले आत्महत्याको समाचार लेख्छ तर किन र कसरी भन्ने प्रश्नहरूलाई सम्बोधन नगरिकन समाचार टुंग्याउँछ भने त्यो पाठकप्रतिको बेइमानी हो । कृष्णजीको मृत्युवरणसम्बन्धी समाचारले पाठकलाई झन् उद्वेलित र थकथकी बनायो । तर समाचारको पूरा विवरण दिएर पाठकको हृदयमा उब्जिएको हुटहुटीलाई थुम्थुम्याउने काम गरिएन ।
जसरी एउटा जहाज दुर्घटनामा परेपछि मरेको पाइलटलाई दोषी देखाउने प्रयत्न हुन्छ, त्यसैगरी मरेकालाइनै दोषी देखाइदियो भने बाँच्नेलाई सहज हुन्छ भन्ने दृष्टिकोण राख्नु पनि पत्रकारिताको सही उपयोग होइन । यो सजिलो पत्रकारिताको दूरुपयोग हो ।
यसको असर सामाजिक सञ्जालमा देखियो । पाठकहरूले पत्याएका सञ्चारमाध्यमले समाचारको प्यास मेटाउन नसकेपछि उनीहरूले सामाजिक सञ्जालमा सूचना चाहर्नु स्वाभाविक हो । त्यसबेला कृष्ण लामिछाने माथि चोटपटक देखिने फोटोहरु पनि सामाजिक सञ्जालमा घुम्न थालेका थिए । अनि भिन्नभिन्न किसिमका अडियो र भिडियो क्लिपहरू सार्वजनिक भए । तिनीहरूको रेकर्ड मिति र सन्दर्भको पत्तो थिएन । पहिलो प्रभाव दीर्घकालीन हुन्छ भन्ने त उखानै छ । सामाजिक सञ्जालमा सुरुमा जे देखियो, पाठकहरूले त्यसकै आधारमा धारणा बनाउन सुरु गरे । समाचारले अतृप्त मानिसहरू मृतकको परिवारका सदस्यहरूमाथि निर्मम किसिमले खनिए । उता सामाजिक सञ्जालको सनसनीलाई निस्तेज पार्नु पर्ने दायित्व भएका सञ्चार संस्था र पत्रकारहरू ‘पर्ख र हेर’ को स्थितिमा थिए । उनीहरूले अमेरिकाको गोपनीयतासम्बन्धी कानुनको डर मानेको देखियो । अर्थात् एकातिर सोसल मिडियामा एक किसिमको टिकाटिप्पणी आइरहेको थियो अर्कातिर सञ्चारमाध्यम स्वय चाहिँ रमिते जस्तो थियो । समाचार त आइरहे तर पाठकको मनमा उब्जिएको प्रश्नको जवाफ आएन, खोज्ने दुःख गरिएन, तथा कसैले पनि समाचार प्रकाशित भए पछि हुनसक्ने जोखिम लिन चाहेनन् । तथ्यमा टेकेर लेख्दा/बोल्दा अमेरिकाको कानुनले केही गर्ने थिएन तर त्यो झन्झट कसले गर्ने?
यसले नेपाली डायस्पोराको पत्रकारितामा हुने दुई चरित्र सतहमा ल्यायोः पहिलो, ‘आर्मचेयर जर्नलिजम’ अर्थात सुविधाभोगी पत्रकारिता । यसको अर्थ हुन्छ— घरैमा बसेर कुर्सी नछोडिकन जे जति सूचना भेला पार्न सकिन्छ, त्यसको आधारमा गरिने पत्रकारिता । यो चरित्र स्वाभाविक पनि छ किनभने नेपाली डायस्पोरामा पूर्ण पत्रकारितामा लागेर जिविकोपार्जन गर्न मुस्किल छ । फेरि हाम्रो किमिसको पत्रकारिताको भाषा र पाठक मूलतः नेपाली हुन् । दोस्रो, ‘स्पाइरल अफ साइलेन्स’ अर्थात पर्ख र हेर । जोखिम नमोल । आफ्नो वरपरको वस्तुस्थिति हेरेर आफूलाई अप्ठेरो नपर्ने समाचार मात्रै प्रकाशन/प्रसारण गर । अर्थात् भोलि हुने परिणामको डरले आफूलाई सुरक्षित स्थानमा राखेर गरिने पत्रकारिता । यी दुई चरित्रले भरिएको पत्रकारिताभन्दा कहिलेकाँही सामाजिक सञ्जाल नै बढी कामयावी हुन्छ । कुनै पत्रकार भोलि अरुले के भन्ला, कस्तो परिणति आउला भन्ने डरले सत्य सूचना सार्वजनिक गर्न डराउँछ भने त्यस्तो पत्रकारिताले समाजमा कुनै उल्लेख्य योगदान गर्न सक्दैन ।
सन् १७७६ मा बेलायती उपनिवेसबाट मुक्त भएयताको संयुक्त राज्य अमेरिका विश्वभरिकै आधुनिक लोकतन्त्रको महत्वपूर्ण आधारशीला हो । सन् १७९१ मा अमेरिकाको संविधानमा पहिलो संशोधन भयो, जसमा प्रेस स्वतन्त्रतालाई संकुचित पार्ने गरी कुनै कानुन बनाइने छैन भनेर लेखियो । यो स्वतन्त्र प्रेसका लागि संसारमै पहिलो कानुनी प्रत्याभूति हो । नेपालबाहिर नेपालीमूलका धेरै पत्रकार कहिँ छन् भने त्यो अमेरिकामै छन् । त्यहाँ पत्रकारका ठूलाठूला संस्थाहरू पनि छन् । तिनले बेलाबेला राम्रै जमघट सहितका सभा-सम्मेलन आयोजना गर्दछन् । नेपालभित्र र बाहिर विभिन्न देशमा रहेका नेपाली डायस्पोराका पत्रकारहरूले पनि अमेरिकाका नेपाली समकक्षीहरूबाट ठूलै अपेक्षा गरेका हुन्छन् — व्यावसायिक पत्रकारिताको अभ्यास र शीपका बारेमा । तर, कृष्णजीको ‘आत्महत्या’ पछिका दुई-तिन दिनसम्म पनि पूर्ण समाचार आउन सकेन । पत्रकार भनेका ‘वाचडग’ हुन् । तर समाचार पुरानो भइसक्दा पनि चुपचाप हेरेको हेर्यै हुनु भनेको ‘वाचडगिङ’ होइन ।
प्रकाशन या प्रसारण गर्दा अमेरिकी कानुन लाग्ने अनि लेख्न नुहुने कुरा लेख्दा चाहीँ अमेरिकी कानुन लाग्दैन । यसको अर्थ पत्रकारहरू ‘आत्महत्या’ जस्ता संवेदनशील घटनामा रिपोर्टिङ गर्न कस्तो तयारी गर्ने भन्ने विषयमा पर्याप्त जानकार हुनुहुन्न भन्ने देखियो ।
समाचारको ‘ब्लाइन्ड स्पट’का तीन कारण
समाचारको महत्वपूर्ण पक्षलाई सम्बोधन नै नगरी बाँकी समाचार प्रकाशन/प्रसारण गर्ने कामलाई समाचारमा ‘ब्लाइन्ड स्पट’ भनिन्छ । त्यहाँ केही चिजबस्तु छ भन्ने थाहा छ तर त्यो देखिन्न । जसरी वि.सं. २०५८ को राजदरबार हत्याकाण्डमा राजपरिवारका सदस्यहरू मारिए भन्ने सूचना बाहिरियो । समाचार प्रकाशन/प्रसारण पनि भयो । तर कसरी भन्ने कुरा अनुत्तरित रह्यो । त्यसैगरी कृष्ण लामिछानेजीको घटनामा त्यही चरित्र दोहोरियो । यसका तीन मुख्य कारणहरू छन्ः
पहिलोः अमेरिकाको पारिवारिक गोपनीयता कानुन निर्मम छ । समाचारका कारणले फस्न सकिन्छ भन्ने भय । माथि नै भनिसकियो — यो सोचले ‘स्पाइरल अफ साइलेन्स’लाई बढावा दियो । अरुबेला धेरै जटिल विषयमा समेत समीक्षात्मक टिप्पणी लेखिहाल्ने वर्गसमेत हच्कियो । एकातिर कृष्ण लामिछानेको मृत्युवरणलाई गोपनीयताको विषय भन्दै चूपचाप बस्न मन पराउने पत्रकारहरूका अनलाइनमा समेत लामिछानेले लेखेको भनिएको ‘आत्महत्या-पत्र’ प्रकाशित भयो । यद्यपि त्यसमा मिति थिएन, त्यो पूर्ण थिएन, त्यसले आफ्नो अपराध कबोलेको थिएन । कसैको ‘सुसाइड नोट’ छाप्नु गोपनीयताको उल्लङ्घन होइन ? अवश्य हो । आत्महत्याका घटनालाई कसरी समाचार बनाउने भन्ने बारेमा विश्व स्वास्थ्य सँगठनले एउटा निर्देशिका बनाएको छ । यसको ‘के गर्नु हुँदैन’ शीर्षक खण्डको पहिलो बुँदामा ‘सुसाइड नोट’ छाप्नु हूदैन भनेर लेखेको छ । पाठकलाई भन्नै पर्ने कुरा प्रकाशन/प्रसारण गर्दा अमेरिकी कानुन लाग्ने अनि लेख्नै नहुने कुरा लेख्दा चाँही अमेरिकी कानुन लाग्दैन? यसको अर्थ पत्रकारहरूमा ‘आत्महत्या’ जस्ता संवेदनशील घटनामा रिपोर्टिङ गर्न चाहिने आवश्यक तयारी र जानकारी छैन भन्ने अनुमान गर्न सकिन्छ ।
दोस्रो, महिलाले पुरुषमाथि आत्महत्या दूरूत्साहन गर्न सक्छन् ? अथवा महिलाबाट पुरुषमाथि घरेलु हिंसा हुन्छ कि हुन्न ? भइहाले भने त्यसलाई समाचारकै रूपमा प्रकाशन/प्रसारण गर्न सकिन्छ कि सकिन्न भन्ने विषयमा समेत हिचकिचाहट भएको हुनसक्छ । जतिसुकै विकसित मुलुकमा बसेपनि हाम्रा मनमस्तिष्कभरि नेपाली शैलीमै बुझ्ने वा विश्लेषण गर्ने परिपाटी छ । त्यसैले कतिपय सञ्चारमाध्यम स्वर्गीय कृष्णले ‘आत्महत्या’ गरेकै हो भन्ने पुष्टि गर्न लागे । त्यसका लागि कृष्णको आर्थिक लेनदेनको भनिएको अडियो सार्वजनिक गरियो । त्यसकै सिलसिला भनौं अन्तिम संस्कारमा परिवारजनले कस्तो शोक प्रकट गरे भन्ने विषयको भिडियो सहितको बेलिबिस्तार र कृष्णको भनिएको ‘सुसाइड नोट’ । टेक्सास र वरपरका धेरैजसो नेपालीभाषीलाई मृतकको घरको कथाव्यथा पहिल्यै थाहा रहेछ । त्यसलाई समाचारका रूपमा प्रकाशन गर्ने भन्दा पनि घरझगडा मिलाउनेतर्फ गुपचुप प्रयासहरू भए । बरु, उपलब्ध घरझगडाको अडियो वा भिडियोमा आधारित भएर कसैले समाचार प्रकाशन गरिदिन पाएको भए यो घटना रोकिन सक्थ्यो । समाचारका कारणले पत्रकारको भइरहेको जनसम्पर्क बिग्रेला कि भन्ने हिच्किचाहटले पनि यसमा भूमिका खेलेको हुनुपर्छ ।
आत्महत्याका घटनालाई कसरी समाचार बनाउने भन्ने बारेमा विश्व स्वास्थ्य संगठनले एउटा निर्देशिका बनाएको छ । यसको ‘के गर्नु हुँदैन’ शीर्षक खण्डको पहिलो बुँदामा ‘सुसाइड नोट’ छाप्नु हूदैन भनेर लेखेको छ । तर अमेरिका भने त्यो सुसाइड नोट त छापियो ।
तेस्रो, सजिलो पत्रकारिताको उपयोग । माथि नै उल्लेख गरिसकियो- डायस्पोराको नेपाली पत्रकारिताको ठूलो हिस्सा आंशिक पत्रकारिताको रूपमा जिवित छ । दैनिक गुजारा गर्न अरु नै काम गरेर साँझबिहान बचेको समयमा रहरका लागि गरिने पत्रकारिता, जसका दुई उद्देश्य छन्— सजिलै भेला पार्न सकिने सूचना समाजलाई दिने र आफूलाई सामाजिक दृश्यमा सक्रिय राख्ने । त्यसले गर्दा व्यावसायिक पत्रकारिताको कसीमा डायस्पोराको नेपाली पत्रकारितालाई राख्न मिल्छ कि मिल्दैन ? त्यही आलोकमा समीक्षा वा टिप्पणी गर्न मिल्छ कि मिल्दैन? डायस्पोराका नेपाली पत्रकारहरूबाट व्यावसायिक गहिराइ र नैतिक उचाइ अपेक्षा गर्न मिल्छ कि मिल्दैन ? यी प्रश्नहरूमा छलफल गर्न सकिन्छ । तर, जसरी एउटा जहाज दुर्घटनामा परेपछि मरेको पाइलटलाई दोषी देखाउने प्रयत्न हुन्छ, त्यसैगरी मृतकलाई नै दोषी देखाइदियो भने बाँच्नेलाई सहज हुन्छ भन्ने दृष्टिकोण राख्नु पनि पत्रकारिताको सही उपयोग होइन । यो सजिलो पत्रकारिताको दूरुपयोग हो । तथ्यमा टेकेर कुनै पनि घटनालाई निर्मम समीक्षा गरौं तर सजिलो पत्रकारिताको दुरूपयोग नगरौं ।
अब के सिक्ने, के गर्ने ?
आत्महत्याका समाचार लेख्दा अपराध कसरी भयो भन्ने कुरा विस्तरामा लेख्न मिल्दैन किनभने त्यसले ‘कपी–क्याट क्राइम’ जन्माउँछ, जसले अपराधको नक्कल गर्न सिकाउँछ र त्यस्तै अपराध बढ्न सक्ने जोखिम रहन्छ । त्यसबाहेक सामान्यतः अन्य सूचना प्रकाशन गर्न मिल्छ । कृष्णजीको ‘आत्महत्या’ प्रकरणमा घरायसी द्वन्द्व वा अन्य पृष्ठभूमिका कारणहरू खोतल्न सकिन्थ्यो । त्यसले पाठकलाई किन र कसरीको अप्रत्यक्ष रूपमा भए पनि जवाफ दिनसक्छ । आखिर यो घटना हुनुअघि छरछिमेक वा कृष्णजीको परिवारलाई नजिकबाट चिन्नेहरू झगडा मिलाउन गएकै रहेछन् । तर घरभित्रको कुरा भन्दै पत्रकारहरूले यस विषयलाई समाचारमा ल्याउन चाहेनन् । यही कुरा स्थानीय सञ्चारमाध्यमले ‘सफ्ट एन्गल’बाट प्रकाशन/प्रसारण गर्दिएको भए यो अवस्थासम्म पुग्दैनथ्यो भन्ने मलाई लाग्छ ।
हामी जति पनि प्रेस स्वतन्त्रताको कुरा गर्छौं, सामाजिक उत्तरदायित्वको सिद्धान्तको कुरा गर्छौ, व्यावसायिक मापदण्डको कुरा गर्छौं वा आचारसंहिताको उदाहरणहरु लिन्छौं, अमेरिकालाई कहिल्यै भुल्दैनौ । त्यसैले अमेरिकामा बसेका पत्रकारबाट नेपालका पत्रकारले पनि सिक्नुपर्ने हो खासमा । तर कृष्णजीको मृत्यु प्रकरणमा खास के भएको हो भन्ने जान्न नेपालका मिडियाको भर पर्नु पर्ने स्थिति आयो । आत्महत्या गरेको मानिसले जे गर्यो, ठिकै गर्यो भन्ने वा त्यसलाई पुष्टि गर्ने चेस्टा पत्रकार वा जो कोहीले पनि गर्नु हुँदैन । कुनैपनि अपराधभन्दा जीवनको मूल्य बढी हुन्छ । अब त्यस्तो नहोस् भन्ने अपेक्षा गरौं।
हिजोआज विश्वव्यापीकरण वा प्रवासीकरणका कारणले सामाजिक संरचनामा फेरबदल भइरहेको छ । सँगसँगै घरेलु हिंसाको प्रकार र कारणहरू परिवर्तन भैरहेका छन् । यसबारे सोचौँ, मनन गरौँ । वैदेशिक रोजगारीले गर्दा हाम्रो पारिवारिक मूल्य र मान्यताहरूमा परिवर्तन आइरहेको छ । त्यसैले अलि खुला दिमाग लगाएर सोचौं । कृष्णजीको घटनामा सञ्चारकर्मी, सञ्चार संस्था र पत्रकारका विभिन्न संस्थाले समयमै बोलेनन् भन्ने गुनासो छ । आगामी दिनमा हुने परिघटना वा भवितव्यहरूमा सञ्चारकर्मीले समयमै बोलुन् । कुरा नचपाइ बोलुन् । समाचारमा कुनै पनि ‘ब्लाइन्ड स्पट’ नछाडुन् ।
(भानुभक्त आचार्य क्यानडाको युनिभर्सिटी अफ ओटावामा सञ्चार र पत्रकारिता विषयका प्राध्यापक हुन् ।)