सोमबार, वैशाख १०, २०८१

युरोपमा नेपालीको जीवन : अँध्यारोमा चितुवा लखेट्न ढुंगा हाने जस्तो

माया खरेल / पोर्चुगल२०८० वैशाख १८ गते ११:३५

माया खरेल

२०१२ को अप्रिलमा मा म नर्वे आइपुगेँ । थोरै रहर र धेरै बाध्यता थियो देश छाड्नुपर्ने । उमेरले मलाइ रोकेन । तीन दशकमा हिड्नु पूर्व नै देश छाड्ने निधो गरेँ । म झरेको नर्वेको विमानस्थल झलमल उज्यालो र व्यवस्थित थियो । नयाँ ठाम, रमाइलो वातावरण र उज्यालो संसारमा म आइपुगेकी थिएँ । विमानस्थलको चित्ताकर्षक दृष्यसँगै मैले जताततै नयाँ शब्दहरुमा व्यक्त सूचनाहरु देखेँ । ति शब्दहरु यस्ता थिए जसलाई मैले नेपालमा सुनेकी थिइन । अनि मलाइ प्रथम क्षणहरुमै आभाष भयो, बाहिर झिलीमीली यो संसार मेरो लागि अँध्यारो पनि छ । यति सम्म कि विमानस्थलबाट बाहिर निस्कने बाटोलाई के भनिन्छ र कसरी संकेतहरु राखिएको हुन्छ भन्ने पनि थाह थिएन । भाषा सँगै संकेतहरु पनि हुँदोरहेछ । बाहिर निस्कने गेट माथि हरियो वाण चिन्ह र बत्तिको संकेत हुँदोरहेछ । त्यो चिन्न पनि मुस्किल भो ।

रहँदा बस्दा मैले नर्वे छाड्नपर्ने भयो । कुरो बैधानिक हुनुपर्ने थियो । कता गएर बैधानिक बन्ने भनेर सोच्दा पोर्चुगल अगाडी आयो र मैले पोर्चुगल आउने निधो गरेँ । पोर्चुगलमा पनि स्थानिय भाषा बोल्नुपर्छ भन्ने कुरा नर्वेको बसाइले सिकाएको थियो । तर नर्वेमा पोर्चुगिज भाषा सिक्ने समय थिएन । पोर्चुगलमा मलाइ स्वागत गर्नुहुने परिवारले जता साइदा (बाहिरिने ठाउँ) लेखेको छ त्यतै आउनु भन्नुभएको थियो । मैले त्यहि साइदा मात्रै हेरेर बाहिर निस्केँ ।

त्यहाँबाट मेट्रो लिनुपर्ने थियो । फेरी अब कता जाने र कसलाई सोध्ने अलमल भो । म अंग्रेजी बोलेर बाटो सोध्ने तर उनीहरुले आफ्नो भाषामा जवाफ दिने भयो । तैपनि पछि मलाइ गाह्रो पर्दा अंग्रेजी बोलिदिएर मद्दत दिए । अनि मेट्रो चढ्दै गर्दा मलाइ उनिहरुको भाषा नसिकेकोमा पुन गल्ती महशुस भैगो । नेपालमा मैले स्नातकोत्तर सकाएर १२ कक्षा (प्लस टु) लाई चार बर्ष पढाएँ । नेपालको लागि मेरो शिक्षाको स्तर राम्रो थियो र छ । तर यहाँ आउँदा नेपालमा सिकेको शिक्षाले काम गरेन ।

नेपालमा युरोपेली मुलुकका मानिसले पनि अंग्रेजी बोलिहाल्छन् नि भनेर हल्का सोचेका हुन्छौं हामीले । यो सोचाइ गलत रहेछ भन्ने कुरा त यता आएकै दिन थाह हुँदो रहेछ । शुरुवाती दिनमै मैले महशुस गरेको के भने भाषा भनेको हरेक सिकाइको शुरुवाती बिन्दु रहेछ । भाषा भनेको शिक्षा र शिक्षा भनेको भाषा रहेछ ।

म दुइ वर्षको बच्चा छाडेर बिदेशीएँ । जहिले बात गरेपनि मेरो छोराले मलाइ ‘कहिले आउने ममी ?’ भन्न छाड्दैनथ्यो । मैले कहिले “तिम्रो जन्मदिनमा आउँछु” त कहिले “दशैंमा आउँछु” भन्थें । यसो भन्दा भन्दै ६ सात वर्ष यत्तिकै बिते । चाहेर पनि फर्कन सकिन । उसलाई ममी भनेको कुरा नाम मात्र रहेछ भन्ने लाग्न थालेछ । एक दिन मैले ‘अब पक्का आउँछु’ भनेकी थिएँ । उसले मलाइ “ममी हाम्रो घरमा कति दिन बस्नुहुन्छ ?” भन्यो । उसको कुराले मेरो छाती चिरा चिरा भयो ।

पोर्चुगलको कुरा गरौँ न, अचम्मै लाग्यो । अंग्रेजी बोल्न जानेका हुन्छन् तर कागजपत्रको काम देखि अनेक प्रसाशनिक काम गर्ने ठाउँमा भने आफ्नै भाषा बोल्छन् । अस्पताल जान पर्दा पनि त उनीहरुकै भाषा बोल्नपर्यो । भाषा नजानेपछि मनको कुरै अभिव्यक्त गर्न सकिंदैन । भन्न खोजेको कुरा नै अरुलाई बुझाउन नसकेपछि सन्तुष्टि मिल्ने कुरै भएन । अनि भाषा नजानेपछि त यहाँ बिचरा पात्र भैहालियो । अनि यहाँका मानिसले हाम्रो कमजोरी जान्ने मौका पाइहाल्छन् र हामी माथि हेर्न दृष्टिकोण नै फरक बनाउँछन् ।

म नेपालबाट आउँदा एक्लै आएकी थिएँ । एक्लै आउने महिला र पारिवारीक भिषामा आउने महिलाका समस्या अलग अलग हुने मैले देखेँ । पारिवारिक भिषामा आउँदा परिवारको मद्दत मिल्छ तर एक्लै आउँदा एक्लै गर्नुपर्छ सबै । प्रशासनिक काममा गयो कुरा बुझ्दिन भनिदिन्छन् । अनि गुगल अनुवाद गरेर देखायो कतिले बुझ्ने प्रयत्न गरदिन्छन् कतिले बोल्ने मानिस ल्याएको भएपनि हुन्थ्यो नि जस्तो गर्छन् ।

एकपटक म अस्पताल गएकी थिएँ । यहाँ दुख्छ यसरी दुख्छ भन्न नजानेर मेले इशाराले देखाएँ । यो बेला चिकित्सक नै रिसाउनुभयो । कठिनाइ पर्यो कि आफ्नै देश संझिईँदो रहेछ । ला मेरो देशमा भएको भए मैले कुरा बुझाउन सक्थेँ भन्ने लाग्यो ।

फेरी पनि रिसाएर त भएन, आफूले काम लिनु छ । मैले भन्न खोजेको यस्तो हो भनेर फेरी बुझाउनु पर्छ । आफ्नो गल्ती नभएपनि सरी भनेर काम सल्टाउने तिर म लाग्छु अचेल । स्थानिय भाषा बोल्यो भने ए यो त यतैको भइसकिछ भन्छन् । तर जब कुरा बुझाउन गुगल या अरु शब्द या अर्को भाषा प्रयोग हुन्छ तब उहाँहरुले ध्यानपूर्वक नियाल्न थाल्नुहुन्छ । शायद उहाँहरुलाई पनि हाम्रा कुरा धैर्य गरेर सुन्नपर्छ होला । घोइरेर हेर्दा या अलि बुझिन भन्दा चाहीँ हत्तेरीका भने जस्तो हुन्छ । भाषा नभएपछि यसैपनि राम्रो, सजिलो काम भेटिंदैन ।

नेपालको पढाइ भन्दा तलको स्तरको काम गर्नुपर्ने बाध्यता हुन्छ । यस्तो बाध्यताले आफूलाई जहिल्यै पनि दोस्रो दर्जाको नागरिक भएको अनभूती हुन्छ । भाषाको यो दुखलाई न्युनिकरण गर्न नेपाल छाड्नुपूर्व नै हामीले केहि तयारी गर्नुपर्दो रहेछ भन्ने मलाइ लाग्छ ।

अँध्यारोमा चितुवा लखेट्न ढुंगा हानेझैँ अहिले युरोपमा छिरेका नेपालीको अर्को समस्या छ । त्यो हो, उहाँरुलाई आफूहरु आइपुगेको देशमा बैधानिक बन्न सकिन्छ कि सकिंदैन भन्ने थाह हुँदैन ।

अँध्यारोमा चितुवा लखेट्न ढुंगा हानेझैँ अहिले युरोपमा छिरेका नेपालीको अर्को समस्या छ । त्यो हो, उहाँरुलाई आफूहरु आइपुगेको देशमा बैधानिक बन्न सकिन्छ कि सकिंदैन भन्ने थाह हुँदैन ।

पोर्चुगलको सन्दर्भमा के छ भने धेरैजसो नेपाली दाजुभाइ दिदी बहिनीलाई यो देशमा जम्मा पाँच देखि सात बर्ष बस्ने त हो भन्ने लाग्छ । यहाँ आएका नेपालीको मुख्य उद्देश्य पाएको काम गर्ने र पोर्चुगलको राहदानी लिने । अन्य देशको तुलनामा कमाइ कम हुनेभएकोले यहाँको राहदानी लिएर युरोपका अरु देशमा काम गर्न जाने उहाँहरुको उद्देश्य हुन्छ । त्यसैले भाषा सँस्कृति सिक्ने तिर ध्यान हुँदैन ।

अर्को कुरा देश छाड्दा टाउको माथि ऋणको भारी र परिवारको अपेक्षा हुन्छ । यो दुवै परिपूrती गर्न तिर ध्यान जाने भएकोले जसरी पनि कामै खोज्नेतिर मन जान्छ । जति बर्ष पोर्चुगल बसेपनि हामीले न्यूनतम आधारभूत आवस्यकता त पुरा गर्नुपर्छ । ति आवस्यकता पुरा गर्न पनि भाषा त जान्नै पर्छ ।

परिवार भएपनि एक्लै आएका महिलाका हकमा मैले के देखेकी छु भने भाषा नजानेपछि दाजुभाइको सरसहयोग लिनुपर्छ । यहि सरसहयोग दिने क्रममा दाजुभाइले शारिरीक र मानसिक शोषण गरेको देखेकी छु । म एक सँस्थाको अध्यक्ष पनि हुँ .  त्यसैले मेरो सँस्थामा यस्ता गुनासा आइरहेका छन् ।

भाषा नजानेपछि त यहाँ बिचरा पात्र भैहालियो । अनि यहाँका मानिसले हाम्रो कमजोरी जान्ने मौका पाइहाल्छन् र हामी माथि हेर्न दृष्टिकोण नै फरक बनाउँछन् ।

पोर्चुगलको सानो कुरा थपिहालौं, यहाँ चालिस हजार नेपाली भएको अनुमान छ अहिले। धेरै नेपालीहरु गैरकानुनी हुनुहुन्छ । कतिपयको साथमा पासपोर्ट नै छैन । १५ देखि २० हजार नेपाली महिलाहरु हुनुहन्छ भन्ने हाम्रो अनुमान हो र यसमा पनि पाँच देखि सात हजार परिवार भएपनि एक्लै बसोबास गर्ने महिला हुनुहुन्छ ।

यि एक्ला महिलाहरुको दुखको कुरा गरिसाध्य छैन । उहाँहरुले सबै कुरा नेपालमा छोडेर आफ्नो जीउ मात्र लिएर यता आउनुभएको छ । संघर्षको नयाँ कथा शुरु हुन्छ उहाँहरुको । साथमा रहेको पैसा सकिइएको हुन्छ । कागज पत्र हुँदैन । पासपोर्ट हुँदैन । भाषा हुँदैन । बस्ने ठाउँ मिलिरहहेको हुँदैन । यि सबै मिलाउन जसरी पनि काम त गर्नैपर्ने हुन्छ । जसरी पनि काम गर्दा कतिपय ठाउँमा दिदी बहिनीलाई बाध्यतामा पारेर शोषण गरिएको छ भने कतिपय ठाउँमा उनीहरु आफैं बाध्यतामा परेका छन् । यि सबै समस्याको जड भाषा नजान्नु हो ।

भाषाका साथसाथै नेपालमै सिक्नुपर्ने कुरा अर्को पनि रहेछ, जीवन जिउने कला । यसले तपाइलाई कसरी जुनसुकै कुरालाई पनि कसरी सकारात्मक लिने र अप्ठेरो परिस्थितिमा कसरी बाँच्ने भन्ने ज्ञान सिकाउँछ ।

नर्वेमा आउँदा कागजात मिलेन भनेर त्यहाँको प्रहरीले मलाइ लग्यो र तीन रात कष्टडिमा राख्यो । यो मेरो दुखको क्षण थियो । म अरुलाई यस्तो नहोस भनेर यो कुरा बाँड्न चाहन्छु । म त्यो बेला तिनथरी समस्याबाट एकैपटक गुज्रेँ । नेपालमा दुइ साना बच्चाहरु । उनीहरुको अति न्यास्रो लाग्थ्यो । परिवारको न्यानोपन र माया । अनि त्यहाँ बस्नकालागि कागजातको समस्या र त्यसपछि मलाइ भाषा नजान्नुको पिडा । मेरो नेपालको पढाइले यस्तो बेला काम गरेन । मेरो नेपालीपनले काम गरेन । म सँग भएका कुनै शैक्षीक योग्यताले काम गरेन । पहिलो कुरा त यस्तो बेला त उनीहरुकै भाषा चाहियो । भाषा जानेकी थिइन त्यसैले अनुवादक चाहियो । तर पनि यो बेला मैले नेपालमा लिएको जीवन जिउने कला र जस्तोसुकै परिस्थितिमा पनि सकारात्मक सोचाइ कसरी राख्ने भनेर लिएको कक्षाले धेरै मद्दत दियो । मलाइ यति कुरा सिकेर जाउ भनेर श्रीमानले नै प्रेरणा दिनुभएको थियो । मानिसको जीवनमा अनेकौँ सजिला र अप्ठेरा परिस्थितिसँग सामाना गर्नुपर्छ । यस्ता परिस्थितिले तपाइलाई अनुभवहरु दिएर जान्छन् । ति अनुभवहरुले तपाइलाई परिपक्क र जिम्मेवार बनाउँछन् ।

नेपालमा युरोपेली मुलुकका मानिसले पनि अंग्रेजी बोलिहाल्छन् नि भनेर हल्का सोचेका हुन्छौं हामीले । यो सोचाइ गलत रहेछ भन्ने कुरा त यता आएकै दिन थाह हुँदो रहेछ ।

म दुइ बर्षको बच्चा छाडेर बिदेशीएकी हुँ । यो विषय भावनात्मक छ । जहिले बात गरेपनि मेरो छोराले मलाइ कहिले आउने ममी भन्न छाड्दैनथ्यो । मैले कहिले “तिम्रो जन्मदिनमा आउँछु” त कहिले “दशैंमा आउँछु” भन्थें । यसो भन्दा भन्दै ६ सात वर्ष यत्तिकै बिते । चाहेर पनि फर्कन सकिन । उसलाई ममी भनेको कुरा नाम मात्र रहेछ भन्ने लाग्न थालेछ । एक दिन मैले ‘अब पक्का आउँछु’ के भनेकी थिएँ । उसले मलाइ “ममी हाम्रो घरमा कति दिन बस्नुहुन्छ ?” भन्यो । उसको कुराले मेरो छाती चिरा चिरा भयो । बिदेशमा रहेका एक्ला आमालाई थाह हुन्छ बच्चाको यस्ता भनाइहरुले कति मन निचोर्छन् भन्ने कुरा ।

यिनै केटाकेटीहरुले हाम्रो जस्तो अन्यौलतामा बाँच्न नपरोस भनेर र घरपरिवारलाई केहि भएपनि आर्थिक टेवा दिउँ भनेर कामको खोजीमा हामी बिदेशीएका हुन्छौँ । हामी जुन उद्देश्यले बाहिरिएको हो त्यसलाई पुरा गर्न हामी आत्तिएर हुँदैन । अझ युरोप आइपुगेका दिदी बहिनीका हकमा । कठिनाइका बाबजुद हामीहरु मानवअधिकारको सम्मान हुने देशमा आइपुगेका छौँ । हामीले बाध्यात्मक परिस्थितिसँग जम्काभेट हुनुपर्ला तर तपाइले ‘नो’ भन्ने क्षमता बिकास गर्नुभयो भने कसैले केहि गर्न सक्दैन । अर्को कुरा भाषा जानियो भने त कानुनी सहायता लिन सजिलो हुन्छ । दविएका, थिचिएका महिला या बालबालिकाका विषयमा राज्यले नै तपाइलाई मद्दत दिन्छ ।

मैले माथि भाषा र हाम्रो समस्याको कुरा लेखेँ । तर मलाइ नेपाल सरकारको दायित्वको पनि कुरा गर्न मन लाग्छ । बिदेशमा हामी नेपालीले कमाएको रकमले देश चलेको छ । राज्यका निकाय पालिएका छन् । अनि हामी बिदेशीलाई के छ त । बल्ल तल्ल दलाल मार्फत हन्डर खाएर आएको एउटा भिसा । हुन त कतिपयले दलाल नलागइकनै आउनुहुन्छ । उहाँको कुरा नगरौँ । यसरी देश छाड्न आतुर मानिसको एक हातमा भिसा र अर्को हातमा न्यूनतम बाँच्न चाहिने भाषा कक्षाको व्यवस्था राज्यले गर्नुपर्छ । जुन देशमा नेपाली पुगेका छन् ति देशको भाषा सिक्ने अवशर नेपाल भित्रै भएदेखि मानिसले कमसेक आधारभूत कक्षा त लिने थियो । यसमा चाहिँ सरकारले सोच्नै पर्छ । राज्य उत्तरदायित्वबिहिन बन्न पाउँदैन ।

(खरेल महिला समाज पोर्चुगलको अध्यक्ष हुनुहुन्छ । नेपालप्लससँगको फेसबुक लाइभ र पुन कुराकानीको आधारमा यस अनलाइनका अतिथि सम्पादक अनुराधा पौडेलद्वारा संपादित)

तपाइँको प्रतिक्रिया

फेसबुक