मंगलबार, जेठ ८, २०८१

अंग्रेजी बोलिने मुलुकमा भन्दा अंग्रेजी नबोलिने मुलकका नेपाली बच्चाको नेपाली भाषा अब्बल

सरस्वती कार्की / डेनमार्क२०८० वैशाख २४ गते २२:०३

सरस्वती कार्की

युरोपका अरु देशहरुमा भन्दा डेनमार्कमा अलिकति फरकपन भेटिन्छ, त्यो के भने यहाँका ८६ प्रतिशत मानिसले अंग्रेजी बोल्छन् । यसरी सबैले बोल्ने अंग्रेजी शुद्द हुन्छ भन्ने चाहीँ होइन । तपाइ नयाँ समाजमा आइपुग्दा कसैले अंग्रेजी बोलिदियो भने तपाइले आफू कतै हराएको महशुस गर्नु पर्दैन । मैले पनि शुरुका वर्षहरुमा डेनिस भाषा कहाँ जानेको थिएँ र ! अंग्रेजी नै बोलेँ ।

डेनमार्कमा बस्ने मानिसहरु इतिहास देखिनै चिनिएका भाइकिंग जातिका मानिसहरु हुन् जुन समुद्री लडाकुहरु हुन् । यिनिहरुको आफ्नै खालको सभ्यता र परिचय छ । यिनहरुको भाषा उत्तर जर्मन भाषाहरूको पूर्वी स्क्यान्डिनेभियाली शाखासँग जोडिएको छ । डेनमार्कमा जताजतै तपाइ डेनिस भाषा सुन्नुहुनेछ । यद्यपि, अंग्रेजी पनि धेरै महत्त्वपूर्ण छ जसलाई दोस्रो भाषा मान्न सकिन्छ । त्यसपछि विद्यालयहरुमा कसैले फ्रान्सेली कसैले स्पानिस या जर्मन आदी भाषा सिक्छन् ।

मलाइ डेनमार्क आएकै दिन अप्ठेरो पर्यो । विमानस्थलमा झरेर बाहिर निस्केँ तर श्रीमानलाई कतै देखिन । अनि नजिकैको प्रहरीबिटमा गएर अंग्रेजीमा उनीहरुसँग श्रीमान आइपुग्नुभएन भनेँ । उनीहरुले मलाइ अग्रेजीमै जवाफ दिए । यसले गर्दा मलाई आश्वस्त हुन मद्द्त पुग्यो । उनीहरुले श्रीमानलाई फोन गरिदिए । कामका कारण उहाँले मलाइ लिन आइपुग्न ढीला गर्नुभएको रहेछ ।

डेनमार्क आएको शुरु शुरुमा त रमाइलो भयो । शान्त वातावरण । त्यसपछि काम खोज्ने क्रममा कुनै होटलमा कामदारहरु चाहिएको बिज्ञापन देखेँ । निवेदन दिएँ । अन्तर्वाताका लागि उनीहरुले मलाइ बोलाए तर अन्तिममा ‘तिमीलाई डेनिस भाषा आउँदो रहेनछ’ भने । मेरो ठाउँमा अरुलाई लिए । अनि मलाइ अनुभव भयो ‘यो देशमा अंग्रेजी बोलेपनि डेनिस भाषालाई उत्तिकै महत्व दिइने रहेछ ।’

अंग्रेजी बोलिने मुलुकमा भन्दा अंग्रेजी नबोलिने मुलकमा पुगेका नेपाली बच्चाहरुले नेपाली राम्रो बोल्दा रहेछन् । हामी स्थानिय भाषामा दख्खल नभएपछि घरमा बच्चाहरुसँग नेपालीमै बोलिरहन्छौँ ।

जुन देशमा पुगेपनि पहिला मानिस बाँच्न चाहन्छ । बाँच्न सहज भएपछि अरु कुरा सोच्ने हो । बिदेशमा हामी आइपुग्दा हामी माथि कत्तिको जिम्मेवारी छ, बाँच्नका लागि कति दुख गर्नुपर्नेछ भन्ने कुराले भाषा सिक्ने समय निकाल्ने कि ननिकाल्ने भन्ने कुरा निर्भर रहन्छ । त्यसपछि हामी कुन खालको कागजमा छौँ या बैधानिक कागजातमा छौँ या बैधानिक हुने प्रकृयामा छौँ भन्ने कुराले पनि फरक पार्छ ।

मेरो सन्दर्भमा श्रीमान बिद्यार्थी भिषामा हुनुहुन्थ्यो र म उहाँ माथि निर्भर भएर (डिपेन्डेन्ट भिषा) मा आएकी थिएँ । विद्यार्थी भिषामा आएको मानिसले उ बेला डेनमार्कमा स्थायी बसोबास अनुमति पाउँदेनथ्यो । त्यसैले पढाइ सकिएपछि नेपाल नै फर्कनु छ भने किन भाषा सिकेर समय खेर फाल्ने भन्ने भयो । बरु यसको सट्टा दुइ चार पैसा कमाएर फर्कने मनस्थिति थियो । यसैले मैले भाषा सिक्नपट्टी समय दिइन । बरु काम खोज्नतिर लागेँ ।

समय क्रममा डेनमार्कमा सरकार परिवर्तन भएर आप्रावासन कानुन अलि खुकुलो बनाए र विद्यार्थीहरुले पनि डेनमार्कमा स्थाइ बसोबास पाउने नियम भयो । त्यसपछि बल्ल भाषा सिक्ने कुरा प्राथमिकतामा परेकोले मैले निकै ढीलो मात्र भाषा सिकेँ ।

हुन त म डेनमार्क आएको दुइ महिना पछि भाषा कक्षामा भर्ना भएकी थिएँ । पढाइ शुरु गरेकै चार दिनमा पूर्णकालिन काम (फुल टाइम जब) भेट्टाएँ । त्यहि कामलाइ निरन्तरता दिने क्रममै बच्चाहरु जन्मे । त्यसपछि बढो मुस्किलले समय निकालेर यहाँको नौ कक्षा सम्मको भाषा कक्षा पास गरेँ ।

यहाँ भाषा सिक्नका लागि सरकारी र नीजि दुवै स्तरमा पाइन्छ । सरकारी स्तरमा भर्ना भएर पढियो भने निशुल्क पढ्न पाइन्छ । नौ कक्षा सम्मको पढाइ भनेको यहाँको लागि आधारभूत भाषा कक्षा हो । यसपछि कुन क्षेत्रमा जाने हो त्यो अनुसारको तालिम लिन जान सकिन्छ ।

आफ्नो जीवन खुसीले चलेको छ र काम मन परेको छ भने जुनसुकै पेशा गर्दा पनि फरक पर्दैन भन्ने मेरो बिचार छ । त्यसैले नेपालमा म पत्रकार थिएँ, यहाँ आएर यो पेशा गर्न सकिन भनेर म गुनासो गर्दिन । जुन काम गरेपनि समाजमा काम गरेर खाएको छ भने यहाँ इज्जत हुन्छ ।

म अझै पनि पक्कै यतै बस्छु भन्ने छैन । यसो भयो भने भाषालाई अलि तिखार्नु पर्ला भन्ने छ । नत्र भने जीवन यापनका लागि मैले एउटा आधार बनाएको छु । कामकालागि मैले माथि नै भनेँ ८६ प्रतिशत डेनिसको दोस्रो भाषा अंग्रेजी हो । सार्वजनिक काम अर्थात सरकारी कामकाज बाहेक नीजी क्षेत्रमा काम गर्न जाँदा जो कोही अंग्रेजी बोल्ने भएकोले कुनै पनि काम गर्दा अप्ठेरो परिहाल्दैन । फेरि यता युरोपमा जुनसुकै कामको पनि इज्जत र सम्मान छ । राम्रो बिषय पढेर राम्रै दक्षता हासिल गरेकाहरु सबैलाई कम्युटर अगाडि बस्न या टेवुल वर्कमै काम गर्ने इच्छा हुन्छ भन्ने छैन ।

बरु मैले देखेको के हो भने अंग्रेजी बोल्नेहरुले शारिरिक परिश्रम हुने निर्माण या कन्सट्रक्सन या टेक्निकल क्षेत्रमा काम गर्छन् । कतिपय इन्जिनियर वकिल तथा डाक्टरहरुले पनि लाज नमानिकन शारिरीक काम गरेको देखिन्छ । सहज जीवन जिउन पैसा नै कमाउने हो । अब यता आएर शारिरीक काम गर्न पर्यो, आफ्नो क्षमता र विद्वता अनुसारको काम पाइन भनेर हामीले दुख मनाउ गर्नु हुँदैन । शारिरीक काम गर्दा पनि यता नियम कानुन र सुरक्षा नीतिहरु अपनाएर काम गरिने हुँदा गाह्रो काम गरेर जिउ फालियो भन्नु पर्दैन । आफ्नो जीवन खुसीले चलेको छ र काम मन परेको छ भने जुनसुकै पेशा गर्दा पनि फरक पर्दैन भन्ने मेरो बिचार छ । त्यसैले नेपालमा म पत्रकार थिएँ, यहाँ आएर यो पेशा गर्न सकिन भनेर म गुनासो गर्दिन । जुन काम गरेपनि समाजमा काम गरेर खाएको छ भने यहाँ इज्जत हुन्छ । डेनिस भाषा जानिन भनेर दुख मनाउ पनि म गर्दिन र अंग्रेजी मात्र बोल्ने भएँ भनेर मन पनि दुखाउँदिन ।

डेनमार्क भाषाका हकमा उदार देश हो । यहाँका मानिसहरु सहिष्णु र व्यवहारिक छन् ।

अहिले वर्तमानको कुरा गर्दा नेपालमै नर्सिङ सकाएर आउनुभएका कतिपय नेपाली दिदी बहिनीहरु मध्ये केहिले आफ्नै पुरानो पेशालाई निरन्तरता दिनुभएको छ । उहाँहरुले यहाँ आएर डेनिस भाषा थप पढ्नुहुन्छ र यहाँको स्तर अनुसारको नर्सिङ सेवामा छिर्न पुन केहि समयको तालिम लिनुहुन्छ । कसैले औषधी पसलमा त कोही चिकित्सक सेवा उपलब्ध भएका बृद्दाश्रम तिर काम गर्न थाल्नुभएको छ । अबको चार पाँच बर्ष पछि स्वास्थ्य क्षेत्रमा काम गर्ने नेपाली महिलाहरुको संख्या राम्रोसँग बृद्दि हुने देखिदैँ छ डेनमार्कमा । पुरुषहरु अंग्रेजी भाषाले काम चल्ने क्षेत्रमा हुनुहुन्छ भने महिलाहरुको आकर्षण स्वास्थ्य सेवा तिर बढेको छ । पढ्ने समय पुग्छ या आउँदा आउँदै काम गर्नुपर्ने बाध्यता छैन भने भाषा सिक्नु र आफूलाई मन पर्ने काम गर्दा व्यवासायिक सन्तुष्टि मिल्छ ।

अंग्रेजी बोल्नेहरुले शारिरिक परिश्रम हुने निर्माण या कन्सट्रक्सन या टेक्निकल क्षेत्रमा काम गर्छन् । कतिपय इन्जिनियर वकिल तथा डाक्टरहरुले पनि लाज नमानिकन शारिरीक काम गरेको देखिन्छ । सहज जीवन जिउन पैसा नै कमाउने हो ।

डेनमार्क आइपुग्नुभएका नेपाली महिलाहरु जाँघरको हिसाबले पनि अब्बल हुनुहुन्छ । आफूसँगको अँग्रेजी भाषाले जति दिन्छ त्यति उपयोग गर्ने र काम चाहिँ गर्ने मनसाय उहाँहरुको छ । सरकारले दिएको सामाजिक भत्ता खान्छु र घरमै बस्छु भन्ने भावना नेपाली दिदीबहिनीहरुमा छैन । अग्रज दिदी बहिनीहरुले काम गरेर खानुपर्ने जुन वातावरण सृजना गर्नुभएको छ त्यसले पछि आइरहनु भएका अरु नेपाली दिदी बहिनीहरुलाई पनि काम गर्ने उत्प्रेरणा दिइरहेको छ ।

तर यसको मतलब यो होइन कि डेनिस भाषा नबोलेपनि हुन्छ । होइन यहिँको भाषा जान्दा आफूलाई पनि थप सजिलो हुन्छ र यो समाजका थुप्रै कुराहरु सिक्ने अवशर मिल्छ ।

डेनमार्कका नगरपालिकाहरुमा भाषा अनुवादकहरु हुन्छन् । यिनिहरुले नै बिदेशीहरुलाई प्रशासनिक कागजपत्र बनाइदिन मद्दत गर्छन् । यसैले गर्दा भाषा सिक्नैपर्ने भन्ने बाध्यात्मक अवस्था पनि आउँदैन । यसको मतलब नेपालीहरुले भाषा सिक्नु पर्दैन भन्ने होइन । अचेल धेरै नेपालीहरुले डेनमार्कमा आएर डेनिस भाषा सिकेका छन् । भाषा कक्षा पास गर्दा सयमा सय नै अंक पनि ल्याउँछन् । तर भाषा कागजमा चिन्नु र बोल्नुमा पनि फरक हुने रहेछ । कागजमा लेखे भए सुनाउनु परेन । तर बोल्ने बेलामा उच्चारण मिल्दैन भनेर हिचकिचाहटको अनुभव हुनेरहेछ । लज्जाको अनुभव हुनेरहेछ । मैले सहि उच्चारण गरेको छैन अरुले के भन्ला भनेजस्तो चाहिँ हुनेरहेछ । यस्तो भएपछि कागजमा सिकेको भाषा पनि सहि तरिकाले प्रयोगमा आउन नसक्दो रहेछ ।

मैले अर्को के महशुस गरेँ भने हामी नेपाली जिवनयापनका हिसाबले अली सुरक्षित रहन चाहने स्वभाव का वा “कन्फर्ट जोन” मा बस्न रुचाउने रहेछौँ । मेरो सन्दर्भमा यतिका वर्ष नेपाली समुदायमा नेपाली र बाहिरी समुदायमा अंग्रेजी बोलेर चलिरहेकै थियो । पोहोर देखि भने मैले पनि भाषा डेनिस भाषामै कुरा गर्न थालेकी छु । मैले माथि नै भनेँ, स्थानिय भाषा जान्नु भनेको स्थानिय कला र सँस्कृति पनि जान्नु हो ।

अबको चार पाँच बर्ष पछि स्वास्थ्य क्षेत्रमा काम गर्ने नेपाली महिलाहरुको संख्या राम्रोसँग बृद्दि हुने देखिदैँ छ डेनमार्कमा । पुरुषहरु अंग्रेजी भाषाले काम चल्ने क्षेत्रमा हुनुहुन्छ भने महिलाहरुको आकर्षण स्वास्थ्य सेवा तिर बढेको छ ।

बिदेशमा पुगेपछि त जसरी पनि मेहनत मरेर भाषा सिक्नुपर्ने नै रहेछ । यो चाहिँ पक्का हो । मेरो सन्दर्भमा मैले कुरेँ भन्दैमा सबेले कुर्नुहोस भन्ने कुरा भएन । भलै हामी नेपाल देखिनै अंग्रेजी फरर बोलौँ तर अंग्रेजी भाषा बोलिने मुलुकमा पुग्नुभएका साथी भाइले पनि के अंग्रेजी पढिएछ नि नेपालमा भन्नुहुन्छ । नेपालमा सिकेको अंग्रेजी भाषाको स्तर बिदेश पुग्दा अपुग नै हुने रैछ ।

अब हाम्रो देशको कुरा हेरौँ । हामीले स्कूलमा पढ्दा नेपालको राष्ट्रिय भाषा नेपाली भनेर पढियो । त्यसपछि अंग्रेजी पढियो । तर कुरा के रहेछ भने हाम्रो देशमा त अरु जात जातीको पनि भाषा रहेछ र सभ्यता अनि सँस्कृति रहेछ । तर यि भाषाहरु मध्ये कुनै पनि एक भाषा हामीले स्कूलमा सिक्न पाइएन । बरु छिमेकको हिन्दी भाषा बोलचाल गर्दा गर्दै यसै सिकियो । अहिले मलाइ हाम्रै स्थानिय भाषा थप सिक्न पाएको भए हाम्रो दिमाग एक भन्दा बढी भाषा सिक्न सक्ने हुँदो हो । आफ्नै देश भित्रका अरु जात जातिका कला र सँस्कृतिहरु जानिँदो हो भन्ने लाग्छ ।

अचेल त सबैका मनमा अंग्रेजी सिक्न पाए वाहि वाहि हुन्छ भन्ने भइसकेको छ । सबैको रोजाइ बोर्डिङ स्कूल भयो । कसैले अन्तर्वाता दियो भने आधा नेपाली र आधा अंग्रेजी मिसाउने भए । यसलाई पनि हामीले सजिलोसँग लिने भयौँ । हामीलाई थाह छैन कि एक त अरु भाषाको प्रयोगले नेपाली भाषालाई पन्छाउँदै पन्छाउँदै लगेको छ र अर्को कुरा स्थानिय भाषाको प्रयोग हराइरहेको छ । यसरी स्थानिय भाषाको प्रयोग हराउँदा ति मानिसहरुले आफ्नो भाषामा सिकेका अनेकौं अध्ययन अनुसन्धान या शिपहरु नासिएर जान्छन् ।

म अहिलेको नयाँ वर्गिकरण अनुसार प्रदेश एकको नागरिक हुँ । मेरो प्रदेशमा रहेका राइ या लिम्बुको भाषा पढ्न पाउने व्यवस्था भएको भए मैले नयाँ शब्द भन्डार र नयाँ उच्चारण प्रयोग गर्न सिकेकी हुन्थेँ भने राइ या लिम्बु भाषाका सँस्कृतिहरु सँग केहि परिचित हुन्थेँ ।

डेनमार्क एकदमै सानो देश हो । यहाँको भाषा युरोपका अरु देशमा काम लाग्दैन । न त डेनमार्क बाहिर गएर केहि गर्न नै काम लाग्छ । यस्तो भए पनि अरु देशको भाषाले आफू थिचिनुपर्ला या हेपिनुपर्ला भनेर आफ्नो भाषालाई शसक्त बनाउन उति नै ध्यान दिएका छन् । होर्डिङ बोर्डहरुमा देखिने बिज्ञापन डेनिस भाषामै देखिन्छ । बजारका खानेकुरा या अन्य किनमेलमा पाइने स्टिकर डेनिस भाषामै हुन्छ भलै उत्पादन अन्तराष्ट्रिय कम्पनिका किन नहोस । तर हाम्रो नेपालमा त बिडम्बना छ, सरकारी कार्यालय अगाडीको होर्डिङ बोर्ड अंग्रेजीमा भेटिन्छ ।

डेनमार्कमा जो बिदेशी आइपुगेपनि सरकारी सहयोग भत्ता भन्दा काममा कसरी लगाउने भन्ने चिन्ता सरकारलाई हुन्छ । फ्रान्समा जस्तो शरणार्थी मामिला मार्फत सहजै बैधानिक बन्ने या युरोपका अन्य देशमा जस्तो लुकेर काम गर्ने या सरकारको समाजिक सुरक्षा भत्ता कोषबाट सजिलै बाँच्न सक्ने वातावरण डेनमार्कमा छैन ।

डेनमार्कमा जो बिदेशी आइपुगेपनि सरकारी सहयोग भत्ता भन्दा काममा कसरी लगाउने भन्ने चिन्ता सरकारलाई हुन्छ । फ्रान्समा जस्तो शरणार्थी मामिला मार्फत सहजै बैधानिक बन्ने या युरोपका अन्य देशमा जस्तो लुकेर काम गर्ने या सरकारको समाजिक सुरक्षा भत्ता कोषबाट सजिलै बाँच्न सक्ने वातावरण डेनमार्कमा छैन । बिदेशबाट आइपुग्नेहरुलाई जसरी पनि समाजमा समाहित गराउने या काममा लगाउने भन्ने ध्याउन्न डेनिसहरुको हुन्छ । देश सानो छ अनि यहि सानो देशमा मनपरि गर्न बिदेशीलाई छाड्यो भने त आफ्नो अस्तित्व हराउला या मौलिकता हराउला र परिचय नै गुम होला भन्ने उनीहरुको पिर छ ।

डेनमार्क भनेको लामो मानव इतिहास बोकेको देश हो । यो गोलार्दको उत्तरी ध्रुवसँग जोडिएको कुनै देश छ भने यहि डेनमार्क हो । त्यसैले युरोपमा यिनिहरुको आफ्नै खालको चिसो ठाउँमा भेटिने सभ्यता र सँस्कृति छ । जस्तो, गर्मी देशहरुमा मनाइने क्रिश्चमस र युरोपका उत्तरी देशमा पर्ने डेनमार्क नर्वे लगायतका देशहरुको क्रिश्मस सँस्कृतिमा फरकपन भेटिन्छ ।

युक्रेन युद्द र बढ्दो आप्रवासनका बिच अचेल डेनमार्कमा ‘गैर-पश्चिमी’ आप्रवासी शब्दहरु ज्यादै सुनिन थालेको छ । डेनमार्क पनि आप्रवासी समस्याबाट अछुत छैन । तर जाडो देश भएकोले युरोपका अरु देशमा जस्तो डेनमार्कमा आप्रवासी समस्याका कुराहरु कमै सुनिन्छन् ।

मेरो एउटा अनुभव छ-अंग्रेजी बोलिने मुलुकमा भन्दा अंग्रेजी नबोलिने मुलकमा पुगेका नेपाली बच्चाहरुले नेपाली राम्रो बोल्दा रहेछन् । हामी स्थानिय भाषामा दख्खल नभएपछि घरमा बच्चाहरुसँग नेपालीमै बोलिरहन्छौँ । तर अंग्रेजी बोल्ने मुलुकमा पुगेका बुबा आमा भने छोराछोरीसँग अंग्रेजीमै बोल्नाले बच्चाहरुले  नेपाली शब्दहरु धेरै सिक्दारहेनछन् ।

(कार्की नेपाल पत्रकार महासंघ, युरोप शाखाको अध्यक्ष हुनुहुन्छ । नेपालप्लससितको बहसका क्रममा नेपाल प्लस अनलाइनको फेसबुक पेजमा ब्यक्त भैसकेका कार्कीका यि भनाईलाई यस अनलाइनका अतिथि सम्पादक अनुराधा पौडेलले थप सम्पादन गरेर लेखको रुप दिनुभएको हो ।)

तपाइँको प्रतिक्रिया

फेसबुक