बुधबार, असार ६, २०८१

सोनामको सिंगाने श्यादे र कुलतमा फसाउने पाँच पोखरी

ईश्वर कँडेल२०८० जेठ १२ गते १४:५४

ईश्वर कँडेल

एक दिन अचानक घर छाडेर केही दिन बाहिरिन मन लाग्यो। भूपिनलाई भनें- कतै जाम हिँड, मिल्छ भने काम बाट बिदा लिउ । उसले आफ्नै पाराले भन्यो- मिल्दैन दाइ, यसपाली। मन हुँदा हुँदै पनि तिमीसँग जान सकिन। सरि दाइ।

अब खासै अन्य मन मिल्ने कोहि नभेटेपछि चन्द्रकलासँग भने- म केही दिनको पैदल यात्रामा जान्छु। धेरै खर्च पनि लाग्दैन। हिमाल तिर जाने हुँदा तिमीलाई पहाड हिँडाईको त्यति धेरै अनुभव नभएकाले म एक्लै जाने भएँ।

उनले पनि एकै सोधाईमा ‘हस’ भनिन् । तत्काल सौराहाबाट काठमाडौं जाने टुरिस्ट बस सेवा प्रयादकहरुलाई फोन गरें। सबै बसका सिटहरु बुकिङ भईसकेका रहेछन्। तैपनि मेरो पैदल यात्रा रोकिने कुरै भएन। सातै बजे भरतपुर बसपार्क नजिक उभिएर काठमाडौं जाने कुनैपनि बसलाई हात हल्लाएर रोक्न खोज्दै थिएँ, त्यसैबेला महेन्द्र नगरबाट काठमाडौं जाने बस रोकियो र मेरो काठमाडौं सम्मको यात्रा शुरु भयो।

बस भित्रका सम्पुर्ण यात्री सुदुर पश्चिमका थिए भने म मात्र चितवनको थिएँ। यात्रुहरुले बेला बखत फोनमा आफन्तहरुसँग गरेका कुराकानि मुस्किलले बुझ्दथें। मेरो सिटको झ्याल तर्फको सिटमा एक जना अधबैंसे महिला थिईन् । उनी प्राय फोनमा दार्चुलाको भाषामा आफन्तहरु सँग कुरा गरिरहन्थिन्। म बुझ्न प्रयास गर्थें तर पूरा वाक्य कुनै बुझ्नसकेको थिईन।

मलेखु पुग्नै लाग्दा एक ठाउँमा बस रोकियो। खलाँसी भाईले भन्यो- ल है दस मिनेट, दस मिनेट। दिशा पिसाप गरौं, अनि हिँडिहाल्नु पर्छ। सबै बसको खलाँसीको उर्दि पच्छ्याउँदै बसबाट झरे। मैले त्यस अधबैंसे महिला लाई सोधें- हजुर बसबाट ओर्लने हो? म उठिदिन्छु, हजुरलाई सजिलो हुन्छ नि।

उनले ‘हो’ भनेर टाउको हल्लाईन्। एक छिन पछि सबै यात्रुहरु फेरि बसमै चढे। बस फेरि काठमाडौं तिर हुईँकियो। अब ती महिलालाई मसँग कुरा गर्न अलिक सजिलो भएझैं लाग्यो। म भने भोलिदेखि शुरु हुने एक्लो हिमाली पदयात्राको बारेमा सोच्दै थिएँ। कुनै समय उत्साहित हुन्थें भने कहिलेकाहिँ डर लाग्थ्यो।

“तिमीले मेरो फोन उठाएनौ भने म पनि मरिदिन्छु” भनेपछि फेरि उसको मायाँ लाग्छ। मन कता कता पोलेर आउँछ। खै मायाँ भन्ने कुरा अहिले पो जान्दैछु त म बड्डा । पहिले त सानैमा बिहे भयो। मायाँ भन्ने पनि त्यति लागेन छ कि के हो बड्डा।

काठमाडौं पुगेर कलंकिबाट बौद्धकालागि पठाओ बुक गरें। बौद्ध पुगेर एक होटलमा एक रातका लागि कोठा बुक गरें। त्यसपछि बौद्धको बिशाल र पुरानो बौद्ध स्तुपमा राति अबेर सम्म घुमिरहें। विशाल स्तूप, थुप्रै बौद्ध भिक्षुहरु एबं अन्य स्वदेशी तथा बिदेशी भक्तहरु आफ्नै लयमा स्तुपलाई दायाँ पारेर घुमिरहेका थिए। म एक छेउमा उभिएर परापुर्वकालदेखि बर्तमानसम्म यसरी “ओम मणि पद्मे हुँ” जप्दै कति भक्तहरुले स्तुपको परिक्रमा गरेहोलान भन्ने बारे सोच्दै थिएँ। आँखा चिम्म गरेर करिव चौधौं शताब्दि वा त्यो भन्दा धेरै अगाडिको समय देखि उत्पन्न र जीवन्त उक्त स्थानमा अवस्थित उर्जा महशुस गर्ने प्रयास गरें। त्यस स्तुपा वरिपरिको भिड र मानव चहलपहल पुर्णरुपमा बिर्सेर एबं आफ्नै शारिरिक उपस्थितिको अनुभवबाट बाहिरिएर उक्त स्थानको शक्तिशाली उर्जा अनुभव गर्दै उभिएँ। यस्तो प्रभावकारी उर्जाले घनिभुत क्षेत्रमा यो बलियो उर्जा महशुस गर्ने म जस्ता कति ब्यक्तिहरु होलान यो भिडमा भन्ने कुरा मनमा आईरह्यो।

करिव ६-७ वर्ष उमेरका देखि पाका बृद्ध भिक्षुहरु उक्त बौद्ध स्तूप वरिपरि घुम्दै थिए। ती स-साना भिक्षुहरुमा बालसुलभ चकचकेपन देखिन्थ्यो। उनिहरु आफैं बुद्ध थिए झैं लाग्थ्यो। उनिहरुलाई यो जन्म-मृत्यु, जरा-ब्याधिको कुनै चलखेल थाहै थिएन।

एक जना भिक्षुणि मेरो नजिकै आउनुभयो र भन्नुभयो- “के तपाई र म यो स्तुपाको तीन फन्को सँगै लगाउन सक्छौं?”

मैले भिक्षुणिलाई भनें- तपाईंको र मेरो मार्ग फरक छ। हजुर स्तुपालाई दायाँ पारेर घुम्नुहुन्छ तर मलाई आज स्तुपालाई बायाँ पारेर घुम्नु छ। ध्यान र योगको मार्गमा म धेरै नै पछाडि छुटेको यात्री हुँ म। कतै अड्किरहेको छु म। म मेरो मोक्षकालागि अझै केही जन्म र मृत्युको यो खेलमा साक्षी बन्न बाँकि नै छ आनी। हजुर सँगको मेरो भेट हुनुनै थियो आज यहि स्थानमा। अब हामी भेटिदैनौं पनि फेरि। एक या दुई भेट हुन पनि सक्छ। तर संभावना धेरै कम छ। मेरो आजको यो समयमा यहि स्थानमा उभिनुको अर्थ थियो र यो पनि पूरा भयो। म जस्तो सांसारिक ब्यक्तिसँगको सामिप्यताले तपाईं जस्ती भिक्षुणीको अटल आस्था र बिश्वास कतै कमजोर हुन सक्छ। जति समय हामी भेट्यौं यो नै आफैंमा पूर्ण भएको छ। अब हामी छुट्टिनु पर्छ। हजुरको बुद्धत्व प्राप्तिको यात्राले गन्तव्य भेटोस्। म मेरो आफ्नै सांसारिक मार्गमा फर्कन्छु – आयुवोआन ।

अर्को दिन बिहानै ६ बजे जोरपाटि, नारायणस्थान पुगेर भोताङ, सिन्धुपाल्चोकको बस समातें। करिव ६ घण्टाको बस यात्रा गर्दै मेलम्ची खोलाको कुनै समयको ताण्डव नाचको अझै बाँकिरहेको असरहरु हेर्दै छिन्ति बस स्टेसनमा ओर्लिएँ। नजिकैको एक होटलमा खाना खाएँ। एक छिन आराम गरें। त्यस दिन पाँच पोखरी यात्रा गर्ने अन्य कोहि रहेनछन्। टुपिडाँडा भन्दा माथीका स्थानहरुमा हिउँ परेका कारण कुनै होटलहरु पनि नखुलेका र होटल ब्यवसायीहरु तल गाउँ तिरै झरेका खबर दिए होटलका दाजुले। तर मलाई पाँच पोखरी सम्मको यात्रा जसरि पनि तय गर्नु थियो। छिन्तिको होटल दाईले एकछिन कसैसँग आफ्नै भाषामा कुरा गरे। भोलि मलाई कोहि एकजना होटलवालाले नै टुपिडाँडाबाट लिएर पाँच पोखरी जाने ब्यवस्था मिलाएको खबर मलाई दिए। दाजुलाई धन्यवाद दिएर म आफ्नो यात्रामा निस्किएँ।

त्यस एकान्त र शान्त मार्गमा हामी दुई मात्र थियौं-म र मेरो डर। म सँग मेरो भन्ने कोहि थियो भने मेरो डर थियो। सायद उ पनि मसँग डराउँदै थियो होला।

अब साँच्चिकै मेरो पैदलयात्रा यहि स्थानबाट शुरु गर्नु थियो। होटल ब्यवसायी दाजुले त्यस दिन मलाई ईन्द्रावती नदिको झोलुङ्गे पुल तरी करिब दुई घण्टा उकालो हिँडेर लाङटाङ राष्ट्रिय निकुञ्जको टुपि डाँडामा बास बस्न सल्लाह दिए। एक घण्टाको बाटो उकालो लाग्दा भोताङ भन्ने गाउँमा केही घरहरु भेटिए। एउटा घरलाईनै होटेलका रुपमा चलाएको त्यस घरबाट एक जना दाईले म तिर हेर्दै “लास्सो” भन्नूभयो। म दाइ तर्फ हेरेर खिस्स हाँसें। त्यस दाईले हातको ईसारा गरेर बोलाउनु भयो र एक लोटा पानी दिनु भयो। पानी पिएँ र एकछिन थकाई मारें। त्यस घरमा केही दाजुभाईहरु गिटार जस्तै तर सानो साईजको सङ्गीत यन्त्रहरु बनाउँदै हुनुहुन्थ्यो। तैयारी यन्त्रहरु भित्तामा सजाएर झुण्ड्याईएका थिए। मैले एउटा सानो आकारको यन्त्रको मूल्य सोधें। उनिहरुले यसको मुल्य १५ हजार भने। महँगो लाग्यो मलाई। तर कला र साहित्यको मुल्यनै अमुल्य हुन्छ। यसको नाम “टुङ्गना” रहेछ।

सबैलाई नमस्ते गर्दै म पुन: आफ्नो यात्रामा अगाडि बढ्न थालें। एक जना दाजुले भन्नुभयो- एक्लो यात्रा गर्न नहुने थियो। कोहि साथी पाएन तिमीले बाजे?

मैले भनें- एक्लै यात्रा गर्न मन लाग्यो दाजु।

उहाँले फेरि भन्नुभयो- हिमाल तिर बिरामी पर्न सक्छ, एउटा साथी खोजेर जाउ, बाजे।

तमाङ समुदायको धेरैनै बाहुल्यता रहेको उक्त क्षेत्रमा बाहुनहरुलाई “बाजे” भनेर बोलाउने चलन हुनुपर्छ र मलाई ती म भन्दा उमेरले जेठा दाजुहरु “बाजे” भन्दै थिए।

बाटोमा अलिक पर दुई जना तामाङ्नी दिदीहरु भेटिनु भयो। एक छिन सँगै हिँड्यौं। मनमनै सोच्दै थिएँ-ती दिदीहरुको घर टुपिडाँडा तिरै भईदिए नि हुन्थ्यो। तर केही समयको यात्रा पछि दुबै दिदीहरु मुल बाटो छाडेर बायाँ तिर लाग्नुभयो। म बाटोका दायाँ बायाँ फुलेका सेता, राता र सेतोमा रातो मिसिएको गुराँसका फूलहरु हेर्दै, फोटो खिच्दै, बाटोमा भेटिने पिउने पानीको धाराहरुमा आफ्नो प्यास मेट्दै हतार नगरी बिस्तारै टुपिडाँडा तर्फ उक्लँदै थिएँ। दिदीहरु पनि मलाई एक्लै यात्रा नगर्न सझाव दिँदै हुनुहुन्थ्यो। तर त्यस दिन पाँचपोखरि सम्मको यात्रामा निस्कने म बाहेक कोहि अरु थिएनन्।

पैदल यात्रामा आफूले आफैंलाई चिन्ने, शरिरमा हुने पिडाहरुसँग साक्षात्कार गर्न पाईने, आफ्ना खुट्टाहरुका क्षमता र सिमाहरु पत्ता लाग्ने, प्रकृतिसँग आमने- सामने हुन पाईने थुप्रै अनुभव र ज्ञानहरुको सिकाई हुँदोरहेछ।

अरु एक-डेढ घण्टा हिँडेपछि म टुपिडाँडा पुगे र मेरो भारी बिसाएँ। त्यो रात टुपिडाँडामा बास बसें। साँझ पर्न अझै केही घण्टा बाँकि थियो। म वाईनोकुलर र क्यामरा झोलाबाट निकालेर वरपर चरा अवलोकन गर्न थालें। चिसो निक्कै बढ्दै गयो। घाम छिट्टै डाँडापारी गयो। छिन्तिमा दिन अझै बाँकि थियो तर टुपिडाँडामा घाम अस्ताईसकेको थियो। होटलकी बैनीले भान्सा कोठामा आगो ताप्ने निम्ता दिईन्। म मनतातो पानी पिउँदै आगो ताप्न थालें। साँझमा दाल, भात, तरकारी खाएर छिट्टै तातो ब्ल्याङकेट भित्र पसेर मस्त निदाएँ।

भोलिपल्ट बिहानै उठें। छिरिङलाई उठाएँ। उ हिजो अबेरसम्म काम गरेर थाकेको थियो । त्यसकारण अलि ढिलाई गरेर उठ्यो। उसकी श्रीमतीले एक कप चिया दिईन् ।

टुपिडाँडा मै चिसो हावा चल्न थालेको थियो। छिरिङले सोध्यो – बाजे, कान ढाक्ने टोपी लगाउनुस्, नत्र बिरामि पर्नुहुन्छ बाटोमा।

काठमाडौंमा कान ढाक्ने उनको टोपी किन्न बिर्सिएछु। भूपिनले भनेको सम्झिएँ। उसले यात्रा गर्नु भन्दा अघिल्लो दिनको चिया गफमा आफूलाई चाहिने तातो कपडा र टोपी लैजान नबिर्सनु भनेको थियो। मैले छिरिङलाई सोधें, “भाइ, तिमीले न्यानो टोपी बेच्न राखेका छौ ?

उसले भन्यो- छैन बाजे, तर म सँग एउटा टोपी छ, सोनामको श्यादे हो, लैजाउ। फर्कँदा फिर्ता गरिदेउ न बाजे। त्यो टोपी छिरिङकै छोराको टोपी थियो र टोपिमा उसको छोराको सिँगानका टाटाहरु थिए। मसँग अर्को उपाए थिएन। म टोपी धुन पनि सक्तिन थिएँ। त्यहि टोपी लगाएँ। बिस्तारै घिनलाग्न छाडिसकेको थियो।

चिया पिउँदै गर्दा छिरिङलाई पाँच पोखरीमा होटल हुने कोहि एक जना खोजिदिन आग्रह गरें। छिरिङले ४-५ जना लाई फोन गर्दै आफ्नै भाषामा होटलवालाहरुलाई होटल खोलिदिन भन्यो। तर असाध्य हिउँ परेकाले कोहि पनि होटलवालाहरु पाँचपोखरी पुगेर होटल खोल्न राजी भएनन्। छिरिङले भन्यो- बाजे, तिमी फर्क अब। पाँचपोखरीमा धेरै हिउँ परेकोले कोहि पनि होटलवालाहरु जान तैयार भएनन्।

हजुर स्तुपालाई दायाँ पारेर घुम्नुहुन्छ तर मलाई आज स्तुपालाई बायाँ पारेर घुम्नु छ। ध्यान र योगको मार्गमा म धेरै नै पछाडि छुटेको यात्री हुँ म। कतै अड्किरहेको छु म। म मेरो मोक्षकालागि अझै केही जन्म र मृत्युको यो खेलमा साक्षी बन्न बाँकि नै छ आनी।

म के गर्ने के नगर्ने बारे सोच्न सकिन। मेरो ईच्छा त्यो दिन साँझ सम्म पाँचपोखरी पुग्ने थियो । छिरिङलाई  भनें- मलाई यहाँको गाबिस अध्यक्षको फोन नम्वर देउ, म वहाँसँग कुरा गर्छु। मलाई जसरि पनि पाँच पोखरी पुग्नु छ आज।

उसले अध्यक्षको नम्बर त दिएन तर एक जना अर्को होटलवाला भाइलाई फोन लगायो र मलाई कुरा गर्न भन्यो। मैले उसलाई भने- भाइ, मलाई पाँचपोखरी जानुछ आज। तिमी आईदेउ न प्लीज।

उसले भन्यो- अङ्कल, तपाईं जाँदै गर्नुस। म तपाईँलाई बाटोमा भेट्छु। म पहाडमा दौडने म्याराथुन धावक हुँ। तपाईलाई बिच बाटोमा भेटाउँछु म।

मैले सोधें- पक्का आउँछौ तिमी ?

उसले भन्यो – आउँछु अङ्कल।

अब म एक्लै पाँच पोखरी जाने भएँ। कहिल्यै नहिँडेको बाटो एक्लै हिँड्नु सजिलो अवश्य थिएन। मन बलियो बनाएँ। केही पटक लामो सास फेरें। झोलामा सामानहरु जाँच गरें। बोत्तलमा पानी राखिदिन भनें। त्यसैबेला एकजना दाजु गोठ जान हिँडेका रहेछन्। छिरिङले त्यो दाजुसँग जान भन्यो। म मेरो दोश्रो दिनको पाचपोखरी सम्मको यात्रा शुरु गरें। बिहानको ७:४८ भएको थियो समय।

दाजुसँग गफ गर्दै हिँड्दै थिएँ। करिव एक घण्टाको बाटो दाजुसँग सजिलै काटें। बाटोमा एउटा गोठ थियो तर गाई र गोठाला थिएनन्। दाजुले ‘गाई गोठाला साँझ मात्र आईपुग्छन’ भने। वरिपरि जताततै विभिन्न रंगका गुराँसहरु फुलेका थिए। गोब्रे सल्लाका अग्ला रुखहरुमा कतै लङ्गुर बाँदरहरु रुखमा फल लागेका झैं लटरम्म देखिन्थे। भुईतिर सुन्दर रङ्गिचङ्गि फूलहरु फुलेका थिए। म यी सबै प्राकृतिक दृष्यहरुमा हराउँदै यात्रामा अगाडि लाग्दै थिएँ। एक्कासि तल कतै खोला सुसाएको आवाज चारैतिर बाट सुनिन थाल्यो। गोठ जाँदै गरेका दाजुले भने अब एउटा खोला तर्नु पर्छ। त्यसमा झोलुङ्गे पुल छ। त्यस पछि ठाडो उकालो चड्नु पर्छ बाजे। उ……..पर माथी हिमाल देख्यो बाजे? त्यहि हिमालमा पुग्नुछ तिमीलाई। मन ढुक्क फुल्यो। केही जवाफ आएन।

खोला तर्‍यौं हामी दुईले। पुल धेरै माथी थियो र खोला धेरै तल । झोलुङ्गे पुलबाट तल खोलामा हेर्ने आँट आएन। मलाई केहि स्थानहरुमा डर लाग्छ तर डराएझैं प्राय गर्दिन। आफ्नो अहंकार (ईगो) मा धक्का लाग्छ कि भनेर होला सायद। पहाडी खोलाका झोलुङ्गे पुल, अति अग्ला भवनहरु र भूमिगत (अन्डरग्राउण्ड) पार्किङहरुमा जब हुन्छु म, लाग्छ; त्यसै बेला बिपत्ति आईपर्छ कि ! त्यसबेला प्राय: हनुमान चालीसा या कुनै दैवि शक्ति सम्झन्छु। मेरो कमजोरी हो कि शक्ति हो थाहा छैन अझसम्म।

म जस्तो सांसारिक ब्यक्तिसँगको सामिप्यताले तपाईं जस्ती भिक्षुणीको अटल आस्था र बिश्वास कतै कमजोर हुन सक्छ। जति समय हामी भेट्यौं यो नै आफैंमा पूर्ण भएको छ। अब हामी छुट्टिनु पर्छ। हजुरको बुद्धत्व प्राप्तिको यात्राले गन्तव्य भेटोस्। म मेरो आफ्नै सांसारिक मार्गमा फर्कन्छु – आयुवोआन ।

खोला तरेपछि उकालो चढ्दै थियौं, गोठ जाँदै गरेका दाजु र म। दाजु डोकोमा केही चिजहरु बोकेका थिए। मैले आफ्नो ट्रेकिङ ब्याग बोकेको थिएँ। दाजुले भने- बाजे, तिम्रो झोला त २० किलो भन्दा धेरै छ, किन यति धेरै सामान बोक्यौ?

मैले भनें- दाजु, मलाई मेरो स्वास्थ पनि परिक्षण गर्नु छ। जीन्दगीमा खाने – नखाने , पिउने- नपिउने थुप्रै कुरा खाएँ, पिएँ। अहिले मेरो शरिरको तागत कस्तो छ भनेर पनि त हेर्न मन लाग्यो नि मलाई। दाजु हाँसे मात्र।

उकालो उक्लँदै थियौं। दाजु अलि अगाडि पुगिसकेका थिए। बाटोमा बिच बिचमा दाजुले “ए बाजे” भनेर बोलाउँथे। म ” हजुर दाजु ” भन्थें।

‘पर्खनुस मलाई दाजु’ भन्थें म। तर दाजुले पर्खेनन्। पछि मैले दाजु भनेर बोलाउँदा जवाफ दिन छाडे। अब अझैं ५ घण्टा म एक्लै यात्रा गर्नु थियो।

खोला तरेर एक घण्टा हिँडेपछि “चकोर डाँडा” पुगें। एक छिन थकाई मारें। तिर्खा लागेकाले पानी पिउन खोजें । टुपिडाँडामा पानी भर्न त बोत्तल दिएको थिएँ तर राख्न बिर्सिएछु। पानी कतै भेटिन। घाँटी झनै सुकेर आयो। अरु कुनै उपाए थिएन। झोला बोकें र फेरि अगाडि बढें।

चुकोर डाँडाबाट आधा घण्टा अगाडि हिँडेपछि हिउँ भेटें। मनभरि डर मात्र थियो। त्यो डर सँगै हिँड्दा हिँड्दै अब डर पनि साथी भैसकेको पत्तै भएन। डर नभएको भए झनै एक्लो हुन्थें होला जस्तो लाग्यो। बाटोमा भालु या कुनै अन्य जनावर भेट हुन सक्थ्यो। वरपर हिउँ नै हिउँ थियो। हिँड्ने बाटोमा हिउँ थियो। म अझैसम्म यसरी हिउँमा हिँडेको थिईन। हिउँमा हिड्ने तरिका थाहा थिएन। एकछिन हिँडेपछि रोकिएँ। अगाडि जाने आँट आएन। झोला बिसाएँ। एक छिन आउँदै गरेको होटलवाला भाईलाई कुरें। मोबाईलमा चार्ज सकिएको थियो। फोन गर्ने उपाए भएन। सोचें-अब टेन्ट लगाउँछु र यतै बस्छु, होटलवाला भाइ आयो भने अगाडि जान्छु नत्र यतै रात बिताउँछु।

टेन्ट लगाएँ। हिउँ जम्मा गरेर हातमा लिएँ। पानी जम्मा गर्ने उपाए थिएन, त्यहि हिउँ खाएँ तर प्यास मेटिएन। घाम पश्चिम तिर ढल्किसकेको थियो। मौषम धुमिल थियो। आकास अँध्यारो हुँदै थियो। हिउँ पर्ला जस्तो थियो। अलि परबाट म तिर एक जना युवक दौडँदै आएका थिए। उनी नजिक आएर भने- अङ्कल मैले तपाईं लाई भेट्टाएँ। उनी होटलवाला भाइ रहेछन्। पहिला उनीसँग मागेर पानी पिएँ। तिर्खा मेटिएन । घाँटी भिजाएँ मात्र।

मलाई केहि स्थानहरुमा डर लाग्छ तर डराएझैं प्राय गर्दिन। आफ्नो अहंकार (ईगो) मा धक्का लाग्छ कि भनेर होला सायद। पहाडी खोलाका झोलुङ्गे पुल, अति अग्ला भवनहरु र भूमिगत (अन्डरग्राउण्ड) पार्किङहरुमा जब हुन्छु म, लाग्छ; त्यसै बेला बिपत्ति आईपर्छ कि !

त्यसैबेला एउटा अमेरिकन आदिवासिको उखान सम्झिएँ- (यात्रामा आफूले बोकेको पानीको कण कणको महत्व रहन्छ। मागेर पिएको पानीले तिर्खा मेटाउँदैन।) टेन्ट खोलेर प्याक गरें र हामी दुबै अब पाँचपोखरी तिर लाग्यौं। भाइ म सँगै हिँड्दै थिए। केही समय पछि उनी पनि म भन्दा अलिक अगाडि पुगे।

उनी मलाई ‘अङ्कल’ भनेर बोलाउँथें अनि सोध्थे- अङ्कल, गार्हो भयो तपाईँलाई?

म टक्क अडिन्थें, लामो सास लिन्थें र भन्थें, ” हैन, ठिकै छ भाइ”। म आफैं देखि हास्थें र सम्झिन्थें- म किन उसलाई मलाई हिँड्न गार्हो भयो भन्न सक्तिन थिएँ? ओहो, म मा कस्तो घमण्ड रहेछ। म साँच्चि घमण्डि रहेछु।

भाईले मेरो मानसिक र शारिरिक अवस्था मजासँग अध्ययन गरिसकेछ। उ रोकियो र मलाई भन्यो, तपाईको ब्यागबाट आधा जति सामानहरु मलाई दिनुस। म बोकिदिन्छु। मलाई गार्हो हुँदैन। म खुसि भएर केही नबोली सामानहरु उसको झोलामा राखिदिएँ। अनि फेरि हामी अगाडि बढ्यौं। बाटोमा टोल्सटोएको “ह्वाट मेन लिभ बाई” भन्ने कथा सम्झें। उक्त कथामा माईकल हाँसे जस्तै केही पटक यात्रामा म पनि हाँसेको छु।

यात्रामा होटलवाला भाईले भन्यो- अङ्कल म अब अलि छिटो जान्छु। तपाईं हिउँमा मेरा पाईला पच्छ्याउँदै होटल सम्म आउनु। यहाँ बाटोमा मेरो बाहेक अरुका पाईला हुने छैनन्। म “हस” बाहेक केही भन्न सक्तिन थिएँ। उसका पाईला पच्छ्याउँदै म हिँड्न थालें।

बिचमा हिमाली भेगमा पाईने काग, डाँफे चरी, पुच्छर लिँडे भएको मुसाको प्रजाती भेटिन्थे। कतिपय ठाउँमा मृगका जस्ता पाईला भेटिन्थ्यो। जति गन्तब्यको नजिक पुग्थें, उति धेरै हिउँ बढ्दै थियो। करिव ५ बजे बेलुकि म होटलवाला भाईको पाईला पच्छ्याउँदै पाँच पोखरीमा होटल पुगें। होटल बन्द थियो। भाईलाई बोलाएँ बाहिर बाट। उसले ढोका खोलिदियो। भित्र आगो बालेर भाइ कोठा तातो बनाएको थियो। हिउँ कित्लीमा राखेर पानी तताएको थियो। जाने बित्तिकै पानी पिएँ। ४-५ दिन अगाडिको बासि भात भुटेर खुवायो र भन्यो- अङ्कल अब तपाईं सुत्नुहोस्, म खाना बनाएर ८:०० बजे हजुरलाई उठाउँछु।

मनभरि डर मात्र थियो। त्यो डर सँगै हिँड्दा हिँड्दै अब डर पनि साथी भैसकेको पत्तै भएन। डर नभएको भए झनै एक्लो हुन्थें होला जस्तो लाग्यो।

म लहरै लगाएका ओछ्यानमा एउटा ओछ्यान छानेर कम्बल ओडेर सुतें। एकै छिनमा बेस्सरि हावा चल्न थाल्यो । हिउँ वर्षिन थाल्यो। ८: बजे उसले उठायो। बाहिर बेजोडले हिउँ पर्दै थियो। बाटो देखिनै सोनामको सिङ्गाने कान ढाक्ने टोपी लगाएकै थिएँ। बाहिर बसेर हिउँ परेको आनन्द लिएँ। खाना खान मन लागेन। टाउको कता कता दुखिरहेको थियो। जति पानी पिए पनि घाँटी सुक्न छाडेन। तै पनि पानी पिउन छाडिन। रात भरि परेको हिउँ र चलेको बतासले निन्द्रा परेन। मोबाईल स्विच अफ थियो। मनमा अनेक कुरा खेलाउँदै बल्ल बल्ल उज्यालो भयो।

बिहानको पाँच पोखरी हेर्न लाएक थियो। थकाई मेटिएको थियो। बिहान उठेर पाँच पोखरीहरु घुमें। जताततै हिउँ मात्र थिए। पोखरि जमेका थिए। शिव मन्दिर नजिक गएँ। करिव २५०० वर्ष अगाडिको मन्दिर भन्ने थाहा पाएँ। बुद्ध संझिएँ। सानो पानी बग्ने खोला रहेछ जुन मन्दिर छेउबाट शुरु भएर बगेको थियो। जताततै हिउँ हुँदा मन्दिर नजिक पानी थियो। होटलको भाईले पनि भगवानको शक्तिले यहाँ हिउँ जम्दैन अङ्कल भन्यो।

केही समय पाँचपोखरीको सौन्दर्य हेरेर ८:०० बजे बिहान अघिल्लो दिनको बासिभात भुट्न लगाएँ । त्यो प्याक गरेर त्यहाँबाट फर्किएँ। हिँजोका हाम्रा पैतालाका डोवहरु रातभर परेको हिउँले पुरिसकेका थिए। होटल भाईले डेढ घण्टाको बाटो खुकुरिले हिउँ काट्दै पन्छ्याउँदै ल्याईदियो र भन्यो- अङ्कल, अब बाटो सजिलो छ, जानुस। भाइ लाई धन्यवाद दिएर म आफ्नै लयमा फर्कन शुरु गरें।

बाटो एक्लै काट्नु थियो। एक्कासि काठमाडौं आउँदा बसमा भेटिएकि सहयात्री संझे। उसका कथा संझिएँ। मैले केही नसोध्दा पनि उनी आफ्ना कथा मलाई सुनाउन लागिन्, म एक असल श्रोता भएर उनिलाई सुनिरहें।

उनले भन्न थालिन- यो मलाई बारम्बार फोन गरिरहने एउटा पुलिसको हवल्दार हो। मैले फोन नगर भन्दा पनि मान्दैन। उ अहिले काठमाडौंमा जागिर खान्छ। मलाई धेरै मायाँ गर्छ।

मैले सोधें- अनि हजुर विवाहित महिला होईन र?

उनले कत्ति दुख नमानि भनिन्- हो, म विवाहित थिएँ। तर मेरो श्रीमान कतारमा कोभिड लागेर बित्नुभयो। मेरो दार्चुलाकै अन्य आफन्तहरुले मेरो श्रीमानको लास उतै जलाईदिनु भयो। हाम्रो एउटा छोरा छ। उ स्कुल पढ्दैछ। उ पढ्नमा पनि टाठो छ।

उनी मलाई ‘अङ्कल’ भनेर बोलाउँथें अनि सोध्थे- अङ्कल, गार्हो भयो तपाईँलाई?  म टक्क अडिन्थें, लामो सास लिन्थें र भन्थें, ” हैन, ठिकै छ भाइ”। म आफैं देखि हास्थें र सम्झिन्थें- म किन उसलाई मलाई हिँड्न गार्हो भयो भन्न सक्तिन थिएँ? ओहो, म मा कस्तो घमण्ड रहेछ। म साँच्चि घमण्डि रहेछु।

मैले सोधें- तपाईं के गर्नु हुन्छ?

उनले भनिन- म आम्दानी हुने केही गर्दिन। केही दिन अगाडि राष्ट्रिय परिचय पत्र बनाएको छु। अब मालदिप्स जाने बिचार गरेको छु। त्यहाँ दार्चुलाका आफन्तहरु छन्। उनिहरुले माछा ब्यवसायमा जागिर लगाईदिन्छौं भनेका छन्।

मैले फेरि सोधें- तलब कति हुन्छ अरे?

उनले भनिन्- ५०-६० हजार। अब दुई- चार वर्ष उतै बसेर कमाएर आउँछु। तर के गर्नु यता त्यो पुलिसको पनि उस्तै मायाँ लाग्न थालेको छ। मैले नमागे पनि मेरो फोन रिचार्ज गरिदिन्छ। महिनामा एक पटक फोन गरेर तिम्रो खातामा ८-१० हजार राखिदिएको छु भन्छ। तिमी नपाए मर्छु भन्छ। म कहिले काहीँ उसको फोन रिसिभ गर्दिन तर पछि उ भन्छ- तिमीले मेरो फोन उठाएनौ भने म पनि मरिदिन्छु। अनि फेरि उसको मायाँ लाग्छ। मन कता कता पोलेर आउँछ। खै मायाँ भन्ने कुरा अहिले पो जान्दैछु त म बड्डा । पहिले त सानैमा बिहे भयो। मायाँ भन्ने पनि त्यति लागेन छ कि के हो बड्डा। उसको बुढीले पनि हाम्रो कुरा थाहापाईसकेकि छे। कहिलेकाहीँ हवल्दार कि बुढीले पनि हामीलाई असजिलो पारिदिन्छे। फेरि छोरा र उसको भविष्य संझिएर बिदेश जान मन लाग्छ। आखिर आफू भन्दा पनि धेरै मायाँ छोराको लाग्ने रहेछ। यसपाली काठमाडौंमा हवल्दार लाई भेट्दिन र बिदेशकै तालमेल (प्रोसेस) गर्छु।

मैले सोधें- दार्चुलाबाट त धेरै मानिसहरु भारत तर्फ काम खोज्न जान्छन् भन्ने सुनेको छु। कि आजकल अलि कम भएको हो र?

उनले भनिन- आजकल कतार, साउदि साथै मालदिप्स नै धेरै जान्छन्। म पनि केही सपना बोकेर मालदिप्स जाने बिचार गरें। त्यसै समय एउटा डाँफे चरा नजिकै बाट तित्रा चरा उड्दाको झैं आवाज गरेर उड्यो। म झसंग भएँ। डाँफे उडेर केही परको एउटा ठूलो पथ्थर माथि बस्यो। मैले आफ्नो झोलाबाट दुरविन निकालें र एकछिनसम्म हेरिरहें। डाँफे म भन्दा टाढा थियो। मेरो क्यामराले डाँफेको फोटो खिच्न सकेन। तर आँखाले खिचेको उक्त चराको उडानको निलोमा अलिकति सेतो रंग र दुरविनबाट प्रष्ट देखिएको डाँफे मन भरीको फ्रेममा उस्तै प्रष्ट छ अझै।

दस मिनेट अरु हिँडेपछि “नोसाङ पाटी” आईपुग्यो। एक पटक फर्केर पाँचपोखरी तर्फ हेरें। सम्पूर्ण दृष्यलाई आफ्नै आँखाका क्यामराले खिंचें। एक छिन सुस्ताएँ। त्यहि बेला टुपिडाँडामा भेटेका दुई भोटे कुकुरहरु देखापरे। मैले आफ्नै लागि बोकेको लन्च (तेलमा भुटेको बासि भात) दुबैलाई अलि अलि खान दिएँ। कुकुरहरु पाँच पोखरीतिर लागे अनि म टुपिडाँडा तिर।

पोखरि जमेका थिए। सानो पानी बग्ने खोला रहेछ जुन मन्दिर छेउबाट शुरु भएर बगेको थियो। जताततै हिउँ हुँदा मन्दिर नजिक पानी थियो। होटलको भाईले पनि ‘भगवानको शक्तिले यहाँ हिउँ जम्दैन अङ्कल’ भन्यो।

एकै छिनमा एक जना ब्यक्ति आफूतिर आउँदै गरेको देखें। हिजो देखि करिव एक्लै यात्रा गरिरहेको मैले बाटोमा कुकुर र एउटा पैदल यात्री भेट्दा सार्है खुसि लागेको थियो। उक्त पैदल यात्री बिराटनगरतिरका रहेछन्। मेरो नजिक आउने बित्तिकै खुसि हुँदै उनले सोधे- दाजु अब पाँचपोखरी कति टाढा छ?

मैले भनें- अब खासै टाढा पनि छैन, बिस्तारै जननुहोला। मेरो पाईलाहरु पच्छाउँदै जानुस, होटलमा पुग्नुहुन्छ।

भाईले धन्यवाद दिए र सोधे- ‘दाजु हजुरसँग खाने कुरा के छ होला? असाध्यै भोक लागेको छ।’

दुई पोका बिस्कुट थिए मसँग। ती कुकुरहरुलाई खुवाउँदै सँगै लिएर आएँ। अब त खानेकुरा केही छैन। मैले आफूसँग भएको ‘बासिभात बाँडेर खाउँ’  भनें।

उनले भने – हजुरको पनि यति लामो यात्रा छ। हजुरलाई पनि बाटोमा भोक लाग्छ। तपाईंसँग अरु खानेकुरा के छ होला? मैले आफूसँग चाउचाउ भएको बताएँ। उनी खुसि भए। मैले दुई पोका चाउचाउ उनलाई दिएँ। हामी फेरि आ-आफ्नो यात्रामा लाग्यौं।

पदयात्रीहरु नभएका र आफू एक्लै यात्रा गरिरहँदा बाटोमा धेरै पटक डर लागेर आयो। डराउँदा डराउँदै डर सँग यति नजिक र आमने सामने भएँ कि डर आफै मेरो साथी बन्न थालिसकेको थियो। त्यस एकान्त र शान्त मार्गमा हामी दुई मात्र थियौं-म र मेरो डर। म सँग मेरो भन्ने कोहि थियो भने मेरो डर थियो। सायद उ पनि मसँग डराउँदै थियो होला।

हिँड्दै गर्दा फेरि कुहिरोले डम्म छेक्यो आकाश र डाँडाकाँडाहरुलाई। एकैछिनमा फुसफुस हिउँ पर्न थाल्यो। मलाई नजानिँदो तरिकाले रमाईलो लाग्न थालेको थियो। बास बस्ने कुनै पाटी पौवा थिएनन् कतै। शरिरभरि हिउँका बालुवाहरुको शासन चल्न थाल्यो। म आफ्नो शरिरबाट हिउँ झार्दै यात्रालाई नियमित राखिरहेको थिएँ।

एउटा अमेरिकन आदिवासिको उखान सम्झिएँ- यात्रामा आफूले बोकेको पानीको कण कणको महत्व रहन्छ। मागेर पिएको पानीले तिर्खा मेटाउँदैन।

केही घण्टाको लगातार हिँडाई पछि म फेरि टुपिडाँडा आईपुगें। झोला बिसाएँ र मोवाईल फोनमा समय हेरें। भर्खर ३ बजेको रहेछ। सोनामको श्यादे फिर्ता गरें। छिरिङलाई धेरै धन्यवाद दिएँ। आधा घण्टा जति टुपिडाँडामै आराम गरें। पानी पिएँ। बोत्तलमा पानी भरें र फेरि यात्रा अगाडि बढाएँ।

ओरालो झर्दै गर्दा एक्कासि खुट्टा अगाडि बढ्न छाडे। घुँडाहरुमा सार्है दुखाई हुन थाल्यो। दुई- चार पाइला हिँड्ने बित्तिकै टुक्रुक्क बस्नुपर्ने हुन थाल्यो। लम्मिएर हिँड्दा पनि अझै डेढ घण्टाको बाटो थियो, छिन्ति सम्मको पैदल यात्रा। जब हिँड्न नसक्ने भएँ तब भुईमा बसेर घिस्रिन थालें। कहिलेकाहीँ उठेर पछाडि फर्किँदै केही पाईला चाल्थें। फेरि आराम गर्थें। फेरि घिस्रिएर अगाडि सर्थें। हिमालबाट तल झर्दै गर्दा डर मेरो साथी थियो भने गाउँ आईपुग्दै गर्दा घुँडाको दुखाई। एक घण्टा घिस्रिएर वा उल्टो हिँडाई पछि म भोताङ गाउँ आईपुगेँ । टुङ्गना बेच्ने होटलमा पुगेर झोला बिसाएँ र होटलको साहुजीलाई आफ्नो हालत अवगत गराएँ। साहुजी सजिला रहेछन्।

छिन्ति देखि भोताङ सम्म मोटर बाटो खन्ने कामको पहिलो चरण पूरा भएको रहेछ। होटेल साहुजीले छिन्तिबाट मोटरसाईकल बोलाईदिए। म त्यहि मोटरसाईकल चढेर २० मिनेटमा छिन्ति आईपुगें र मोटर साईकलको भाडा रू ५००- दिएँ। त्यो भाईलाई धेरै धन्यवाद दिँदै म छिन्तिको एउटा होटलमा कोठा लिएर आफ्नो गरुँगो झोला बिसाएँ। भोक र थकाई एकैपटक लाग्दा कस्तो हुन्छ भन्ने पहिला थाहा पाएको रहेनछु। शरिरमा उस्तै पीडा थियो। छिटो छिटो खाना खाएर सुतें त्यो रात । भोलिपल्ट बिहानैको ६ बजेको पहिलो बस चढेर करिव ११ बजे दिउँसो जोरपाटी आईपुगें।

पैदल यात्रामा आफूले आफैंलाई चिन्ने, शरिरमा हुने पिडाहरुसँग साक्षात्कार गर्न पाईने, आफ्ना खुट्टाहरुका क्षमता र सिमाहरु पत्ता लाग्ने, प्रकृतिसँग आमने- सामने हुन पाईने थुप्रै अनुभव र ज्ञानहरुको सिकाई हुँदोरहेछ। शहरमा यातायातका साधनहरुमा यात्रा गर्दा मानिस साँच्चै ब्रोइलर कुखुरा जस्तै कमजोर र लाचार हुँदा रहेछन्। पैदल यात्रामा यात्रीहरुलाइ भोक, प्यास, थकान, आराम, निन्द्रा के हुन र कति आवश्यक छन् भन्ने ज्ञान हुने रहेछ। उकालो काट्दै जाँदा लाग्ने थकाई र उचाईमा पुगेपछि देखिने सुन्दर दृष्षहरु अवलोकन गर्दै गर्दा आनन्दको अनुभूति उस्तै प्रेमिल हुनुका साथै आफ्ना सोच बिचारका क्षितिजहरु पनि फराकिँदै जाने रहेछन्।

यात्रा पछि समयसँगै जब शरिरका दुखाई कम हुँदै जान्छ, फेरि पदयात्रा जाने लोभ बढेर आउँने रहेछ। आज भोलि खुसुक्क निस्किएर एउटा नयाँ गन्तब्यको पदयात्रा गर्ने रहर पलाएको छ। पदयात्राको नशा कुनै नशालु पदार्थको भन्दा कम हुने रहेनछ। म आजकल पदयात्राको कुलतमा फसेको छु।

ईश्वर कँडेलका अघिल्ला लेखपनि पढ्ने की ?

ठमेलको त्यो सेक्सी बेन्च

चुरोट, चकचक र चिन्तन

तपाइँको प्रतिक्रिया

फेसबुक