आइतबार, वैशाख १६, २०८१

बार्सेलोनालाई एक रात

अनुराधा पौडेल / फ्रान्स२०८० जेठ १६ गते १५:३४

यात्रा गर्नु नै थियो । संयोगले यो यात्रा अप्रिल १४ अर्थात नेपाली नयाँ वर्ष २०८० को पहिलो दिन थियो । नेपालमा नयाँ वर्षको चहलपहल भएपनि फ्रान्स भर्खर लामो चिसो रातहरुबाट व्युँतिदै थियो । पातबिहिन रुखहरुमा हरियालीको लाली भेटिँदै गर्ने यो मौसममा हुन लागिरहेको यो छोटो मिठो यात्रा बार्सिलोना सम्मको थियो ।

यात्राका माध्यमहरु युरोपमा अनेकन छन् । आफ्नै सवारी, जहाज, रेल, बस या अरुको सवारीमा इन्धन खर्च व्यहोर्ने गरी जाने । हिउँदे छुट्टीको यो समयमा जहाजको टीकटको मूल्य आकाशिएको रहेछ र पेरिस बार्सिलोना सीधा रेल सम्पर्क पनि रहनेछ । आफ्नै गाडिमा जानु हुने थियो तर एकै दिन झन्डै ११ सय किमी यात्रा गर्न हच्केँ । यो भन्दा अगावै पनि मैले एकैदिन यति नै समय गाडि गुडाएकी थिएँ । राती घर आइपुगी ओच्छ्यानमा पल्टिँदा पनि दिमागले गाडि नै गुडाइरह्यो । त्यहाँ निन्द्राको बास भएन । अनि मेसो पाएँ, लामो समय गाडी चलाउँदा दिमाग नै एकोहोरो हुनेरहेछ । अरु विषयमा रुपान्तरण गर्न दिमागलाई निकै घन्टा आराम चाहिने रहेछ ।

पेरिसबाट कविन्द्र कायस्थ दाइ ‘म पनि जाने’ भन्दैहुनुहुन्थ्यो । तर समयमै निधो नभएपछि मैले फ्रान्सेली कम्पनी ब्ला ब्ला कार भन्ने बसको टिकट काटेँ । यात्रा रहेछ १४ घन्टाको । एकतर्फी यात्राको दुइ जनालाई ९० युरो पर्दोरहेछ । तीन कम्पनीका तीन थरी बस पेरिसबाट बार्सिलोना पुग्दै गर्दा मेरो छनौट फ्रान्सेलीहरु द्वारा सन्चालित यो बस पर्यो ।

शुक्रबारको रात थियो यो । मैले आफ्नो कार्यालयको काम बेलुका सात बजे सकाएँ । घर आइवरी बेलुका हामी जोइपोइ दुइ शुटकेशहरु साथमा लिएर पेरिसको बेर्सी भन्ने अन्तराष्ट्रिय बस स्टेशन पुग्यौँ । हाम्रो बस बेलुका साढे १० बजे छुट्नुपर्ने थियो । बस भने मध्य रात नभै आइपुगेन । अलमलिएर बस्नु भन्दा हामी दुइ पालै पालो सुटकेश कुर्ने र छेवैको सेन नदी वरपरको दृष्य हेर्न गरेर चिसो साँझको डेढ घन्टा कटायौँ ।

बसको यात्रा गरेपनि म कहिल्यै बेर्सी स्टेशन आइपुगेकी थिइन । सन् २००९ तिर युरोलाइन्स भन्ने कम्पनीको सेतो बस चढेर पहिलो पटक बेल्जियमको ब्रसेल्स यात्रा गरेकी थिएँ । यो बस पेरिसको पूर्व उत्तर दिशाको बोबिनी क्षेत्रबाट लाग्थ्यो । सन् २०१७ मा इटालीको पादुवा भन्ने शहर पुगेँ । त्यो भने भर्खर शुरु भएको जर्मनी स्वामित्वको फ्लिक्स बस थियो जुन हरियो थियो । र निकै लामो यात्रा अर्थात २४ घन्टामा म इटालीको भेनिस नजिकको पादुवा पुगेकी थिएँ । यो बस चाहीँ पेरिसको पोख्त द माइयो भन्ने ठाउँबाट लाग्थ्यो ।

सन् २०१५ मा वर्तमान फ्रान्सेली राष्ट्रपति एमानुएल माख्रोँ अर्थमन्त्री थिए । यिनैले फ्रान्स देखि युरोपका बिभिन्न देशहरु पुग्ने अन्तराष्ट्रिय बसहरु बेर्सी पार्कमा रहेको पुल मुन्तिरको खालि ठाउँबाट चल्ने भनेर निर्णय गरिदिए । त्यसैलाई अलि अलि सिँगार पटार र मर्मत संभार गरि सबै बसहरुको गन्तव्य यहि ठाउँलाई बनाइयो । तर अहिले यो बस पार्क यति साँघुरो र अव्यवस्थित छ कि युरोपको यो बस स्टेशन अरु देशका तुलनामा निकै कम सुविधाबाट गुज्रिएको छ ।

बेर्सी स्टेशनको कुरा लेख्दै गर्दा मलाइ नेपालको साझा बसको जस्तै इतिहास बोकेको युरोलाइनका सेता बसहरुको संझना आयो । ‘कोभिड क्राइसिस’ का कारण युरोलाइन बस सेवा बन्द भयो भनेर बाहिरी हल्ला चलाए र खासमा यो बसको सेवा जर्मनीको स्वामित्व रहेको फ्लिक्स बसका कारण बन्द भएको थियो । किनभने यो बसले युरोलाइन भन्दा निकै कम मूल्यमा टिकट बेच्न थाल्यो । यसैले गर्दा ४५ वर्ष लामो इतिहास बोकेको फ्रान्सेली स्वामित्वको बस ‘युरोलाइन’ सन् २०२० देखि अस्तित्वबिहिन भयो र यसमा काम गर्ने ड्राइभरहरु तथा अन्य कर्मचारीहरुको जागिर गयो ।

नेपालका हरिया साझा बसहरुको जस्तै फ्रान्सेली स्मृतिमा अहिले युरोलाइनका बसहरु गुडीरहेका छन् । पाठकहरुले कुरा बुझिहाल्नुभयो, फ्रान्सेली सरकारलाई कर तिर्ने मैले किन ब्ला ब्ला कार बस सेवा छनौट गरेँ भन्ने कुरा । फ्रान्स भित्रका लामा गन्तब्यहरुमा ब्ला ब्ला कम्पनीको एकछत्र राज छ भने जर्मनी भित्र फ्लिक्स बस र स्पेन भित्र आल्सा । यि तिनै कम्पनीका काउन्टर बेर्सीको बस स्टेशनमा भेटिन्छन् ।

मैले माथि नै लेखेँ, यो स्टेशन फोहर र साँघुरो छ । यति मात्र होइन भित्ताहरु जथाभावी ग्राफिटी पेन्टिँगले रंगिएका रहेछन् भने यात्रु अटाउने ठाउँमा बिजुलीको उज्यालो पनि चहकिलो नदेखिने । हामी पुगेको दिन त जाडोले ढोका खोल्न नमिल्ने भएर होला यात्रु कक्ष धुम्म परेको गुम्सिलो थियो । त्यसमाथि यसो ढोका बाहिर चुरोट पिउनेहरुको चुरोटको गन्धले त वाक वाकी नै पारेको थियो । बाहिरका भित्ता तथा पर्खालका कुनाकानीबाट कडा पिसाबको गन्ध आइरेहको थियो। फोहर फ्याँक्ने डस्टबिनहरु भरिएर भूँइभरी उरुङ लागेको देखेर मन नमिठो भयो ।

ठूला राता र सेता डोरा भएका प्लाष्टिकका झोलाहरु, मैला सुटकेश, चिन्तित अनुहार, ससाना बालबालिका बोकेका अफ्रिकी मुलका आमाहरु र फाटेका जुत्ता लगाएका संसारभरका थरी थरी अनुहार । र तिनकै भाषा बोल्ने बिदेशी यात्रुहरुको सम्मिश्रणपनि रहेछ बेर्सी स्टेशन । हामी नेपालमा हुनेले धेरे बिदेशी यात्रु देख्दैनौँ र उनीहरुको दुख बुझ्न सक्दैनौँ । तर युरोप बसाइ हिँड्नेको ताँतीहरुको भू भाग हो । संसारभरका मानिस भेटिन्छन् यहाँ ।

उकुसमुकुस गुम्स्याइलो वातावरण बस्न नसकेर हामी भित्र बाहिर गरिरह्यौँ । रमाइलो के थियो भने स्टेशन बाहिर एक बिदेशी सेट मार्फत अंग्रेजी, फ्रान्सेली, अफ्रीकी, अरबी, हिन्दी लगायतका अहिलेका चल्तीका गीतहरु घन्काइरहेको थियो । ‘ओपन डिस्को क्लब’ को त्यो माहोलमा केहि रमितेहरु जिउ हल्लाइरहेका थिए ।

बेल्जियमको ब्रसेल्सबाट आउने हाम्रो बस बिचमा प्रहरी जाँचका कारण ढीला भएको रहेछ । केहि यात्रु त्यहाँ झरे र केहि उक्ले । कूल ३६ जना यात्रु बोकेर बस गुड्यो । सवारी चालकले माइकमा दुइ घन्टा ढिला भएकोले बाटोमा रोकिने छैनौँ भनेँ र बसमा ट्वाइलेट सुबिधा उपलब्ध भएको जनाउ दिए ।

मध्यरातमा आफू पनि थाकिएकै थियो । निदाउने प्रयत्न गरियो । तर बच्चाहरुको रुवाइ र यात्रुहरुको मोबाइलमा खुसुखुसु अनि बस भित्र मोबाइल चार्जका लागि राखिएका युएसवी चार्जर प्लगबाट निस्केको नीली उज्यालोले निन्द्रा बारबार भंग गरे । कोही कोही मानिस कति बाठा रहेछन् भने दुइ जनाको सीटमा एक्लै मजाले सुतेका थिए ।

बेर्सीबाट साढे दुइ घन्टामा ओक्सेयर भन्ने ठाउँमा आइपुगेपछि बस रोकियो । यो ठाउँमा ब्ला ब्ला बसका सबै ‘गन्तब्य’ का चालकहरु परिवर्तन हुने रहेछन् । ब्रसेल्सबाट पेरिस हुँदै आएका दुइ बस चालकहरु त्यहाँ झरे । एक अरवी मुलका र अर्का रुसी मुलका गरी दुइ ड्राइभर त्यहाँ चढे । यसरी परिवर्तन हुँदा बस भित्रको ट्वाइलेट सरसफाइ र कागजात बुझ बुझारथ हुनुपर्नेमा ट्वाइलेट सफा नगरिकनै बस कुद्यो । शुरुमै माइकमा यि दुवैले हामी यो बसका क्याप्टेनहरु हौँ भनेर माइकमा परिचय दिए । ‘हामी लगभग डेढ घन्टा ढीला छौँ त्यसैले बाटोमा कतै पनि चिया पानीका लागि रोकिने छैनौँ’ भने ।

फ्रान्सको लियोँ शहर आइपुग्दा बिहानको साढे सात भयो । त्यहाँ केहि यात्रु झरे, केहि उक्ले । ब्रसेल्स देखिको यात्रा गरेकी एक महिला यात्रुको सुटकेश बिच बाटोको कुनै एक स्टेशनमा निकालिएछ । चालकले, ‘तिम्रो शुटकेश झुक्किएर कसैले झारेको हुन सक्छ र कम्पनीले फिर्ता पाउन सक्छ’ भने । उनलाई थामथुम पारेर पठाएपछि अचकल्टो निन्द्रा सँगै प्रत्येक स्टेशनमा झर्ने र सुटकेश परिक्षण गर्नुपर्ने थप तनाब थपियो । किनभने हाम्रा सुटकेश नयाँ थिए र दुवै सुटेकशमा हाम्रा कम्युटर र किताबहरु थिए ।

…क्रमश

तपाइँको प्रतिक्रिया