बिहीबार, मंसिर ६, २०८१

दक्षिण–पूर्वी एशियाकै चमक “सिंगापुर” को यात्रा

हरिकुमार श्रेष्ठ (पीएचडी)२०८० जेठ १८ गते ११:०८

कुशल र सक्षम नेतृत्व नै देश विकासको आधार ।
भ्रष्टाचार र कुशासनले देशलाई आर्थिक भार ।।

डा. हरि कुमार श्रेष्ठ

विकासको एक पर्यायवाची शव्द बनेको छ “सिंगापुर” । नेपालका केही नेतृत्व तहमा रहेका व्यक्तिहरुले जनतासामु दिने आश्वासनको एक पोको हो “सिंगापुर” । सानो देश भइकन पनि विकासको लागि विश्वको केन्द्र बिन्द हुनपुगेकोले पनि यो देश कस्तो होला भन्ने कौतुहलता मेरो मन तथा मस्तिष्कभरी झांगिएर बसेको थियो । त्यसैले, मौका मिलेमा र आर्थिक चाँजोपाँजो मिलाउन सकेमा सपरिवार यो देशको यात्रा गर्ने मेरो इच्छाशक्ति पनि प्रगाढ बन्दैगइरहेको थियो । “तँ आँट म पुर्‍याउँछु” भने झैँ परिस्थिति सकारात्मक बन्दै गयो र जुर्‍यो, यही २०८० जेष्ठ महिनाको ८ देखि १० गते सिंगापुरको यात्रा ।

म, मेरी श्रीमती लक्ष्मीमाया श्रेष्ठ, डा। केशववावु कोईराला र उनकी श्रीमती सकुन्तला कोईराला २०८० जेष्ठ १ देखि १० गतेसम्म मलेशिया, भियतनाम हुँदै मिति २०८० जेष्ठ ८ गते सिंगापुरको यात्रा तय भइसकेको थियो । भियतनामको लागि छुट्याइएका ती शुन्दर र रमाइला दिनहरुलाई बीट मारेर जेष्ठ ८ गते भियतनामको हनोईबाट बिहानै सिंगापुर जानुपर्ने भयो । यसरी छाडेर जानुपरे तापनि भियतनामको होचिमिन्ह र हनोई मेरो मथिङ्गलमा कहिल्यै नओइलाउने मखमली फूल बनेर बसेको छ ।

निर्धारित कार्यक्रम तथा अघिल्लो दिन गाइडसँग भएको कुराकानिअनुसार हामी ७ः४५ बजे बिहान होटलबाट निस्किसक्नुपर्ने भयो । हामी पनि बिहान चाँडै नै उठी आफ्ना नित्य कार्य सकेर हतारमै खानपिनलाई बिट मार्‍यौँ ।

त्यतिखेरसम्म हामीलाई हनोईको अन्तर्राष्ट्रिय विमानस्थलमा लैजानको लागि गाडी पनि आइसकेछ । किनकि, बिहान करिब ९ः३५ बजे हामी भियतनामको राजधानी शहर हनोईबाट सिंगापुरको लागि भियतजेटमा उड्नु थियो । अध्यागमन जाँच समयमै सकियो । फ्रान्स र अमेरिकासँगको करिब १२२ वर्ष युद्धले थलिए तापनि भियतनामको आर्थिक अवस्था जुरुक्क उठिसकेको थियो । त्यहाँको विमानस्थलको अवस्थाले पनि यसको छनक दिइरहेको पाइन्थ्यो ।

विमानको गेटमा बसेर उज्यालो रङ्गले चम्किएका सुन्दरीहरुले स्वागत गरेका थिए । केही समयपछि उनीहरुको छनकमनक विमानभित्र फैलियो । हाम्रो चीलगाडिले पृथ्वीलाई छाड्दै आकाशमार्ग समातेर उचाईतिर आफ्नो वेगलाई तीब्रता दियो । केही समयमा नै हनोई शहर यी आँखाहरुबाट टाढा हुँदै बिलाए । त्यतिखेरसम्म हामी बादलको शहर माथि उडिरहेको हुनाले बादलको शहर र आकाशको दृश्य बाहेक अरु केही देखिएको थिएन ।
करिब ३ घण्टा र २० मिनेटको यात्रापछि ओर्लने बेलामा सिंगापुरका रङ्गहरु जस्तै गगनचुम्वी भवनका गुजुल्टाहरु, हरिया जंगलहरु, काला, सफा र चम्किएका सडकहरु, समुद्री किनारमा पानीजहाजको लहर र समुद्रको एक किनारमा अवस्थित विशाल र सुन्दर विमानस्थल देखिन थाले । विमान जतिजति पृथ्वीको नजिक चहार्न पुग्दथ्यो, सिंगापुर निकै नै चम्किरहेको हुन्थ्यो एक रङ्गिन पुतली बनेर । किनकि, सिंगापुर दक्षिण–पूवी एशियाकै एक चमक थियो ।

सिंगापुरमा पाइला टेकी स्पर्श गर्न निकै नै उत्साहित थियौँ हामी । किनकि, हाम्रो लागि यो पहिलो ऐतिहासिक भ्रमण थियो । स्थानीय समय अनुसार दिउँसो करिब १ बजेर ५५ मिनेट जाँदा जहाज सकुसल सिंगापुरको अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भयो ।

विमानस्थल निकै नै विशाल र शुन्दर देखिन्थ्यो । ठूला ठूला जहाजका लावालस्कर र वरिवरिका मनमोहक विरुवाहरुले लोभ्याएको हुन्थ्यो । विमानस्थल विस्तार तथा विकासको काम पनि नियमित रुपमा बढिरहेको देखिन्थ्यो । खाली जमीन भने देख्नै नपाइने जम्मै रङ्गिबिरङ्गि बिरुवाले भरिएको वा सजिएको थियो । जब हामी अध्यागमनतिर बढ्दै थियौँ हामी हिँड्ने बाटो वा भुइँ त सफा पानीको ताल तलैया जस्तै लाग्दथ्यो टल्केर । आफ्नो छायाँले आफैँ झुक्किने बाटो हिड्न पनि । बाटोमा बिच्छ्याइएका गलैँचा पनि यति सुन्दर र सफासुग्घर देखिन्थ्यो कि हाम्रै मैला सर्ला जस्तो  । त्यहाँको ड्युटिफ्रि पसलहरु झन् निकै नै विशाल, व्यवस्थित र आकर्षक थियो ।

वरिवरिका मनमोहक दृश्यसहित हामीलाई पनि क्यामरामा कैद गर्दै हाम्रो यात्रा नियमित रुपमा अध्यागमनतिर बढाइरह्यौँ । अध्यागमनको नजिकै पुगेका के थियौँ एक पुरुष आएर हामीलाई “केही सहयोग गर्न पर्छ कि ? अध्यागमनको अनलाइन फाराम भर्‍यौ?” भन्दै केही प्रश्नहरु सोध्न थाले । मलाई मनमनै लाग्यो कि विमानस्थलभित्र पनि दलाल हुँदारहेछन् भन्ने । त्यसैले ‘केही छैन’ भन्दै हामी अगाडि बढ्दै गयौँ । किनकि, हाम्रो देशमा त जहाँ गयो त्यहिँ दलालीतन्त्रले आजित थियौँ । तर हाम्रो सोचाईले पल्टा खायो । वास्तवमा, उनीहरु यात्रीहरुको सहयोगको लागि खटेका त्यहिँका कर्मचारीहरु रहेछन् ।

केही कदम अगाडि बढ्दै के गएका थियौँ तिनै व्यक्ति आएर फेरि कम्युटर देखाउँदै अध्यागमन चेकिङ्गको लागि डिजिटल फाराम भर्नुपर्छ भनेपछि हामी उनको पछि लाग्यौँ । म आफ्नो सोचाइको कमजोरीले मनमनै नतमस्तक भएँ । उनले हामीलाई डिजिटल फाराम भर्ने तरिका सिकाए । हामीले भर्न थाल्दै थियौं फेरि एक चाइनिज मुलकी महिला आएर ‘प्रगति के छ ?’ भन्दै अनुगमन र सहयोग गर्न थालिन् । उनीहरुसँग चिनीया भाषामा वार्तालाप गर्न पाउँदा खुशी पनि लाग्यो, तर धेरै त बिर्सेको पो हो कि जस्तो अनुभूति भयो ।

हामी होटेल जाने गाडिको लागि कहाँ भेट्ने भन्दै केही अल्मलिँदै बाहिर निस्क्यौँ । सूचना कक्षमा गाडी पार्किङ्ग स्थल सोध्यौँ र गयौँ निदिष्ट स्थानतिर । तर हामीलाई दिएको जानकारी अनुसार हामीले हाम्रो लागि आएको गाडी भेट्न सकेनौँ र फेरि फर्केर उही स्थानमा पुग्यौँ । फ्रि वाईफाई जोड्यौँ र ह्वाट्सएपमा त्यहाँका सम्बन्धित ट्राभल एजेन्सीलाई फोन गर्‍यौँ । उनीहरुको अनुरोधअनुसार हामीले हाम्रो फोटो खिचेर पठायौँ । छिनभरमा गाडी ड्राईभर हामीलाई खोज्दै हामीतिर आईपुगे, एक जवानीले भरिएको लहलहाउँदो गोरो अनुहारको टाठो ठिटो । उनी निधारित समयमै गेट बाहिर आएर हामीलाई कुरेर बसेका रहेछन् । उनलाई भेटेपछि हामी लाग्यौँ उनकै पछिपछि लिफ्ट उक्लँदै उनको गाडितिर ।

विमानस्थलबाट बाहिर चिल्ला सडकमा जति अगाडि बढ्दै जान्थ्यौं, सडकको दायाँ बायाँ किनारामा त्यति नै आकर्षित बगैँचाहरु अनि व्यवस्थित ट्राफिक । सडकमा जाममा परिन्छ कि जस्तो लागेको थियो तर सरर अगाडि बढ्दै एकैछिनमा जिन सुल्तानमा अवस्थित बोस होटलमा पुग्यौँ, जहाँ हाम्रो कोठाहरु पहिले नै बुक भइसकेको थियो ।

हामी गाडिबाट झरेर होटलको गेटतर्फ जानलाग्दा फेरि विमानस्थलको अध्यागमनतिर जस्तै मानिसहरुको लावालस्कर र भिड देख्दा त के हामी अध्यागमनतिरै त छैनौँ भन्ने आभाष मिल्दथ्यो । लाइनमा बसेर लाग्यौँ कोठातर्फ । लिफ्टमा पनि आफ्नो कोठाको साँचो सेन्सरमा छुवाएपछि मात्र आफ्नो कोठा भएको तलाको नम्बर थिचेर जान पाइने नत्र नपाइने । यसपटकको यात्रामा यो प्रणाली हाम्रो लागि नयाँ भयो । मलेशियाको ईबिस होटेलमा पनि यस्तै प्रणाली थियो ।

हामी दुई परिवारको लागि बाह्रौँ तलामा दुई कोठा थिए । म बसेको कोठाको झ्यालको पर्दा अलिकति मात्र खुलेको थियो । कोठामा कुम्लो बिसाउने बित्तिकै झ्याल खोलेर बाहिर हेर्न हात सकसकाउन थाल्यो । विस्तारै झ्यालको छेउमा तुन्द्रुङ्ग झुण्डिएको डोरी तान्न थालेँ । झ्यालको पर्दा खुल्दै गयो । सेतो सिसाको झ्यालबाट बाहिरपट्टि तलतिर हेर्दा कहालिलाग्दो दृश्य थियो । बाहिरपट्टि भीमकाय महलहरु अटसमटस गरेर आकाश छुने होडबाजीमा ठिँग ठडिएका थिए । हरियालीको बीचमा कालो रङ्गमा टल्केको सडक लमलन्न थियो । नीलो विशाल समुद्रमा डुङ्गा र पानी जहाज तैरिरहेको देखिन्थ्यो समुद्रको शोभा बढाउँदै । एकछिन हामी दुबैजना एकतमासले हेरेको हेर्‍यै भएछौँ । झल्याँस्स भयौँ । घडी हेरेको त समय गुर्किसकेको रहेछ । हतारमा तयार भयौँ बाहिर जान ।

सिंगापुरको बसाई डेढ दिनमात्र भएकोले हामी एकैछिनको बिश्रामपछि बाहिर घुम्नजाने निधो गरेका थियौँ । किनकि, दोस्रो दिनको घुमाइ त प्याकेजमै थियो । हामीले होटलबाट सिटी म्याप लियौँ र सोधपुछ गर्दै करिब २० मिनेटको पैदाल यात्रापछि बजारतिर लाग्यौँ । बजारको सौन्दर्यता, सरसफाई र व्यवस्थापनको व्याख्या गरेर साध्य नै छैन । केहि छिनको बजार घुमाईपछि केही सामान किन्नको लागि डलर साट्न सटही काउण्टरमा गयौँ । त्यो दिनको १ युएसडी बराबर १।३४७ सिंगापुर डलर थियो । त्यहाँ केही सामान किनेपछि हामी फेरि डा। कोइराला परिवारको ईच्छाअनुसार जापानिज साडी किन्नको लागि लिटिल ईण्डियातिर बाटो सोध्दै लाग्यौँ । भारतीयहरुको जमघट चर्को थियो । लिटिल ईण्डिया सिंगापुरको अपवादको रुपमा ठडिएको जस्तो भान भयो हामीलाई । किनकि, त्यहाँको बाटो साँघुरो, फोहर, अस्तव्यस्तको व्यवस्थापनले हामी सिंगापुरमा पनि छैनौँ कि जस्तो लाग्यो ।

एउटा विशाल पसलमा पुग्यौँ । चाहिएको सबै सामग्री उपलव्ध छ जस्तो लाग्दथ्यो तापनि आफ्नो समय अभावको कारण धेरै घुम्नसक्ने अवस्था पनि रहेन । सिधै साडी पसल खोज्दै गयौँ । उनीहरुले केही पिस साडी किनेर के भ्याएका थियो घाम अस्ताउन लागकोले हामी होटलतिर नै लाग्यौँ ।

भोकले शरिर पनि लल्याङ्लुलुङ् भइसकेको थियो । त्यसैले, सर्वप्रथम हामीले पेट पूजा गर्नु नै थियो । हामी बस्ने होटलको भुईँ तलाको बाहिरपट्टिको होटलमा लाइनमा बसेर बल्ल होटेलभित्र बस्ने स्थान पाइयो । होटेल बन्द गर्ने समय भइसकेकोले त्यहाँ खाना अर्डर गर्ने र खाने समय जम्मा ४५ मिनेट बाँकी थियो । हतारमा जुन खाना उपलव्ध हुनसक्छ खाना अर्डर गर्‍यौं । खानपिनपछि हामी आ–आफ्नो कोठातिर लाग्यौँ भोली निधारित समयमै उठ्ने गरी ।

दिउँसो २ बजेदेखि करिब ६ घण्टाको गर्मीको हिंडाइले हामी त बफाएको कर्कलो जस्तै लल्याङ्लुलुङ् भएर निकैनै गलिसकेका थियौँ । कहिले बिछ्यौनामा गएर पल्टौँ जस्तो मात्र लागेको थियो । त्यसैले, हामी कोठामा पुग्ने बित्तिक्कै बिछ्यौनामा पल्टेको मात्र के थियौँ निन्द्रादेवीको शरणमा पुगिहालेछौँ । एक्कासी मध्यरातमा ब्युँझदा त सबै चिज भद्रगोल अवस्थामा यत्रतत्र । सबै चिज सम्हालेर पुनः बिछ्यौनामा पल्टेँ ।

बिहान उठ्दा ५ बजिसकेको थियो । बिहानको खानपिनपछि हामी एकछिन बाहिर घुमफिरको लागि निस्कियौँ तर टाढा जान सकिएन । किनकि, १० बजेदेखि सो दिनको यात्रा शुभारम्भ गरी बेलुकीसम्म सिंगापुर सिटी टुर, केबलकारबाट सेन्टोसाको यात्रा, सिंगापुरको ईमेज, मेडम टुस्साउदस, बोट राइडिङ्ग, विङ्स अफ टाइम हेर्नुथियो ।

हामी बिहानको ठीक १० बजे होटलमा गाडि प्रतिक्षा गर्दै थियौँ । त्यतिखेरै ताईवानको झण्डा बोकेका भरखरका कलिला भाइबहिनीहरु पनि देखेकोले एकछिन गफगाफ भयो र एक फोटो खिची विदावादी भयौँ ।

गाडी आएको जानकारी पायौँ तर त्यो दिन त ठूलो बस थियो । एक दिन बाहेक हिजोका दिनहरुसम्म त हामी चारजनाको लागि मात्रै सानो गाडिको व्यवस्था थियो । त्यसैले, हामीले ठूलो बसको अपेक्षा गरेका पनि थिएनौँ । चाईनिज मूलकी गोरी, हसिली, पातली र अन्दाजी ५० वर्षकी गाईड थिइन हामीलाई बिहानीको समयमा सिंगापुर शहर घुमाउने ।

सर्वप्रथम हामीलाई ११ समुहमा विभाजन गरेर समुह नम्बर दिइन् ताकि उनलाई समुहअनुसार हाम्रो रेखदेख गर्न सजिलो होस् । समुहअनुसार हाजिरी बोलाइन समुह एक, दुई गर्दै एघारसम्म । हामी चारजना भने समुह आठमा थियौँ । बसका अन्य व्यक्तिहरु भारतका विभिन्न स्थानहरु (प्रायजसो दक्षिण भारत) बाट आएका थिए । बस निकैनै सफा र चम्किलो थियो । दाग र धब्बा कतै थिएन । सिटहरु पनि कालो रंगको सर्लक्क परेको आकर्षक थियो । गाडिमा बसेर पानी बाहेक अन्य खानाहरु खान नपाइने रहेछ । त्यसैले, फोहर फाल्ने झण्झट पनि रहेन ।

गाडी विस्तारै होटल नजिकैबाट दक्षिणतर्फ मोडिएर शहरी दृश्यावलोकन गर्दै एकैछिनमा हरियो चउरमा अवस्थित नेशनल ग्यालरी अगाडि पुगेर रोकियो । गाइडबाट हामीले त्यहाँ भ्रमण गर्ने स्थानहरुको वस्तुस्थितिको बारेमा जानकारी गराईको थियो । हामीलाई त्यहाँ करिब ४५ मिनेट जतिको समय दिइएको थियो । हामीलाई नौलो संसारको नौलो अनुभूति भइरहेको थियो त्यहाँ । त्यहाँका सफा नील आकाशलाई स्पर्स गरेजस्तो देखिने मनमोहक गगनचुम्वी महलहरु, सफा र हरिया चउर, बगैँचा, सफा र चमकदार सडक, शुन्दर पुलको दृश्यहबाट औधि मोहित भएका थियौँ । जुन अविश्मरणीय र अवर्णणीय क्षण रह्यो ।

त्यहाँ गाडिहरु आउने जानेक्रम जारी थियो, त्यसैले मानिसहरुको चहलपहल ह्वात्तै बढेको थियो । चर्को घामको राप र तापले तालुनै पग्लेला जस्तो थियो भने सम्पूर्ण शरीरनै हपहप्ति बाफिएको थियो । त्यसैले, वर्षादमा पहाडको कन्दरा तथा गह्राको कुनाबाट पानीको मुल फुटेझैँ, शिरबाट पसिनाका मुल पनि ह्यालह्वाल्ति फुट्दै शरीरका खोल्सा खाल्सी र कापबाट बग्दै पुछार छिचोल्दै थियो । सम्पूर्ण शरीरनै एक नदी तथा खोलाको जलाधार क्षेत्र जस्तै बनेको थियो । तर ओँठहरु खडेरीको खेतझैँ सुख्खा भई कलेटी पर्दो थियो । पानी प्यास त्यतिकै जागेको थियो । त्यतिखेर वास्तवमै महशुस भयो कि पानी जीवनको आधार भएकोले पानी विना जीवनका ईञ्जिनहरु पनि चल्दैनन् । हामीमा मात्रै नभएर सम्पूर्ण व्यक्तिहरुमा यस्तै अनुभूति भएको महशुस गरेका थिएँ मैले त्यहाँ ।

उफ कति सास्ति थियो त्यतिखेरको यात्रा । तर पनि यसको कुनै प्रवाह थिएन हामीमा । जति अगाडि बढ्दै जान्थ्यौँ, अनि त्यतिनै मनोरम दृश्यको चुम्बकीय आकर्षणले तानिरहेको हुन्थ्यो हामीलाई । हामी अझै हौसिँदै रमाएका हुन्थ्यौँ । हामी विस्तारै अगाडि बढ्दै एउटा सानो सुन्दर पुल तरेर “मेर्लिअन पार्क” पुग्यौँ, जुन “मेरिना बे” को समिपमा थियो ।
मैले यात्राको तयारीमा नेपालमै त्यहाँको एक भिडियो हेरेको थिएँ । जस्ले मलाई त्यहाँको दृश्य पहिचान गर्न सहज पनि भएको थियो । त्यहाँको मुख्य आकर्षण विन्दु आधा शरीर टाउको तिर सिँह र पछाडिको बाँकी भाग माछाको सेतो मूर्ति थियो । सिँहको मुखबाट पानीको फोहोरा निरन्तर निस्किरहेको थियो । त्यो ठाउँ समुद्रको एक किनार भाग भएकोले समुद्रको भागमा वरिपरिका दृश्यहरुको प्रतिविम्बले त्यहाँको चमक झनै बढाएको थियो । त्यहाँको अन्य ठाउँहरु जस्तै मरिना बे स्ट्याण्डस्, गार्डेन बाई द बे, सिंगापुर फ्लेयर, स्प्लाण्ड थियटर, आर्टस् साइन्स म्युजियम जस्ता अतिनै लोभलाग्दो दृश्यहरुले त्यो क्षेत्रको सुनमा सुगन्ध थपिरहेको हुन्थ्यो र पो मानिसहरुको भीड हुन्थ्यो त्यहाँ ।

चिम्सिलादेखि पोटिला, होँचादेखि अग्ला, गोरादेखि काला, बालकदेखि बृद्धासम्मका व्यक्तिहरुको चहलपहल र उनीहरुको विभिन्न रङ्गिचङ्गि पहिरनले मेर्लिअन पार्कको शुन्दरता जुरुक्कै उचालिएको थियो (फोटो २) । कतिपय मानिसहरु भिडियो क्यामरा, हात्तीको सुँडजस्तो लामो जुमलेन्स भएको क्यामरा, मोवाइल क्यामराबाट उनीहरु विभिन्न पोजमा फोटो तथा भिडियो खिच्न व्यस्थ देखिन्थे । हामी पनि त्यसमध्येकै सदस्यहरु थियौँ । कोहिभने दुर्विन तेर्स्याएर टाढा टाढाको दृश्यावलोकन गर्दै रमाएका हुन्थे ।

त्यसपछि हामी गाडी भएतिर लाग्यौँ । मैले साथमा लगेको पानी सकिएको थियो । पानीको तिर्खा उर्लेर आइरहेको थियो । पानी छ र पो जीवनका हरेक ईन्द्रियहरु नियमित चल्छन् । त्यसैले, पानीको खोजीमा नजिकैको ७११ (सेभेन इलाभेन) पसलमा गएँ । पानीको मूल्य औधि महङ्गो । एक बोत्तल (३५० एमएल) पानीको ३ सिंगापुर डलर (करिब २४० नेपाली रुपियाँ) तिरियो । हामी सबै बसमा गयौँ । हाम्री गाइडले पुनः हाम्रो हाजिरी लिइन् । बसमा पनि ड्राईभरले सस्तो मूल्य, एक बोत्तल पानीको १ सिंगापुर डलर, मा व्यापार गरिरहेको रहेछ ।

हामी विस्तारै अर्को गन्तव्य चाइना टाउनतिर लाग्यौँ । बाटोमा जाँदै गर्दा गाइडले त्यहाँको एक ठाउँ अर्थतन्त्रको हव भएको बारे बताउँदै स्वीजरल्याण्ड बैंक पनि देखाइन्, जहाँ विश्वका धनाढ्य व्यक्तिहरुले पैसा जम्मा गर्दा रहेछन् । मैले पनि मनमनै सोचें कि हाम्रा पनि भ्रष्ट नेता तथा व्यक्तिहरुले यहाँ पनि पैसा जम्मा गरेका होलान् ! किनकि, नेपालमा स्वीस बैंकमा पैसा जम्मा गर्नसक्ने धनाढ्य भनेकै उनीहरु नै पर्दछन् ।

एकैछिनको यात्रामा हामी चाईना टाउनमा नजिकै अवस्थित एक “थियान होक केङ्ग बौद्ध ट्याम्पल” मा पुग्यौँ । सडक अलि साँघुरो भएकोले जहाँपायो त्यहाँ बस रोक्न पनि नपाइने रहेछ । हतारमा मन्दिरको अगाडि बसबाट तल ओल्र्यौँ । यो मन्दिर सन् १८४२ मा फलामको किला विना तेलक अयर स्थानमा स्थापना भएकोले सबभन्दा पुरानो मन्दिरहरु मध्येकै पर्दोरहेछ । त्यहाँ पूजाआजा गर्ने अन्य मानिसको भने त्यति भिड देखिएन । बरु हाम्रै उपस्थितिले त्यहाँको भिड बाक्लिएको थियो ।

सायद म धार्मिकभन्दा पनि कलाप्रेमी भएकोले मन्दिरको कलाले निकै नै आकर्षण गर्‍यो मलाई । मन्दिरको कलाबाट के झल्कन्छ भने चिनीयाहरुमा अद्भूत धार्मिक कला शक्ति पनि पाइन्छ । त्यहाँ वरिपरि घुमियो, मन्दिर तथा आफैलाई फोटोमा कैद गरियो र समयको अभावले अन्य बुद्ध मन्दिरतिर नलागि लाग्यौँ बसतिर । त्यसपछि हामीलाई गाइडले बजार क्षेत्रतिर लगिन् । समय अभावको कारण मुश्किलले दुई प्याकेट चक्लेट किन्न भ्याइयो, जुन एक प्याकेट किन्दा अर्को एक प्याकेटको पैसा नलाग्ने रहेछ । किनकि, यो प्रोडक्टको बिक्रीवितरण बढाउन प्रबर्धन कार्यक्रमअन्तर्गत राखिएको रहेछ ।

त्यसपछि हामी सेन्टोसा टापु र अन्यत्र जाने गरी दुई समुहमा विभाजित भइयो । सेन्टोसा जानेजतिलाई दिउँसो २ बजे सेरङ्गुन सडकनजिकै लिन आउने गरी दिउँसो १ः१० बजे त्यहिँ छाडेर गए भने अन्यत्र जाने व्यक्तिहरुलाई भने बोस होटेलमै लगेर छाडिने भयो । बिहानी सिफ्टकी गाइड पनि त्यहिँबाट बिदावादी भइन् हामीसँग । बिहानको ब्रेकफास्टले त्यति लामो समयसम्म थेग्नसक्ने कुरा पनि भएन । त्यसैले, हाम्रो पेट दापिएर सारङ्गी बनेको थियो । आकाशमा कालो बादल मडारिए जस्तै पेटमा पनि वायु मडारिएको आवाज सहजै सुनिन्थ्यो र भित्री अङ्गप्रत्यङ्गमा कम्पन आइरहेको हुन्थ्यो । त्यसैले, हामी अब खानाको लागि होटलको खोजीमा लाग्यौँ । हाम्रो आँखा नजिकै सेरङ्गुन सडकको एक भारतीय होटल (एबीसीः नासी कान्दर) परिहाल्यो र सुइकियौँ त्यतैतिर ।

चर्को तापको कारण अत्ताल्लिएर बसेका हामी होटेलभित्र छिरेपछि भने शितल वातावरणले निकै नै राहत मिल्यो । केही मानिसहरु खानपिनमै व्यस्त थिए, केहा खाना अर्डर गर्न, केही ठिङ्ग उभिरहेका, केही भरखर होटेलतिर आउँदै र जाँदै गरेका । होटेलका कर्मचारीहरु मेनु तथा खाना लिएर टेबुल टेबुल चहारेका हुन्थे । खाना खाएका प्लेट तथा कपहरु तुरुन्त हटाइएका हुन्थ्यो ।

हामी पनि रित्तिएको पेट उकास्दै प्राणवायु धान्न विस्तारै साकाहारी खाना अर्डर गर्‍यौँ । गर्मीले धामिएकोले अरुलाई केरा लसी र मैले भने सुन्तलाको रस मगाएँ । खानाको सयौँ परिकार भए तापनि हामीले हाम्रो स्वाद अनुसारको पराठा सेटको व्यवस्था गर्‍यौँ । दक्षिण एशियाको स्वादिलो खानपिनमा निकै रमायौँ पनि ।

खानापछि पनि समय निकै नै बाँकी रह्यो । त्यसैले, हामीलाई छाडेको स्थानमा दिउँसो २ बजे बस आउने भएकोले गाडी कुरेर बस्न एक भवनको आडमा शितल छहारीमा गयौँ । तर गर्मीको तातो हावाले उकुसमुकुस भइरहेका थियौँ । त्यहाँ बस्न पटक्के मन थिएन ।

केहीछिनमा गाडी आयो । बसमा यात्रीहरु चढ्न शुरु भयो, तर भारतीय बन्धुहरुलाई कुर्दैमा एक घण्टा बिताउनुपर्‍यो । भियतनाममा पनि एकपटक भारतीयहरुसँग सँगै भइएको थियो । त्यहाँ पनि उनीहरुलाई कुर्दाकुर्दा आधाघण्टा बितेको थियो । त्यसैले, समय व्यवस्थापनमा उनीहरु निकै नै कमजोर हुँदारहेछन् भन्ने लाग्यो ।

करिब ३ बजेतिर हामी सेन्टोसातिर जानको लागि केबलकारतिर प्रस्थान गर्‍यौँ । बाटोमा दुईवटा छोटाछोटा सुरुङ्ग मार्गहरु पार गरेर जानुपर्ने रहेछ केबलकार । लक्ष्मीको लागि यो एक नयाँ आयाम थपियो । किनकि, यो नै उनको लागि पहिलो सुरुङ्ग मार्गको अनुभव रह्यो । उक्त स्थान एक मनोरम सानो पहाडी इलाकामा पर्दोरहेछ जहाँबाट समुद्र र सिंगापुर शहरको अति शुन्दर दृश्यहरु अवलोकन गर्न सकिने रहेछ । हामी बसबाट झर्‍यौँ, तर केबलकारको लागि टिकटको टुङ्गो भएन । टिकट लिन भनी काउण्टरमा गएको प्रतिव्यक्ति ३० सिंगापुर डलर तिर्नपर्ने भयो । टुर प्याकेजमा त सबै खर्च समेटिएको छ भनिएको थियो तर त्यसको जानकारी भएन ।

स्थानीय ट्राभल एजेन्सीसँग कुरा गर्न हामीसँग स्थानीय फोन र ईण्टरनेटको सुविधा थिएन । त्यसैले, त्यहाँको एकजना युवासँग सहयोगको लागि अनुरोध गरी त्यहाँको ट्राभल एजेन्सीलाई खबर गर्‍यौँ । उनीहरुले त टिकट डा। कोईरालालाई ह्वाट्स एपमा पठाइसकेका रहेछन् । तर उनले त्यो समाचार हेर्न भ्याएका रहेनछन् । त्यसैले, ती व्यक्तिले सहयोग गरेर त्यो दिनको सम्पूर्ण स्थानको टिकट निकालिदिए । केही त मैले पनि फोटोमा कैद गरें, कथंकदाचित हराइहालेमा जानकारीको लागि । त्यसपछि, हामी केहीछिनमै केबलकार चढ्न खचाखच लाइनमा बस्यौँ । दिन घर्किँदो थियो । घुम्नुपर्ने स्थानहरु धेरै नै बाँकी थिए । सबैजना हतारमा थिए ।

अरुसँग टिकट हातहातमा थियो । गेटको सेन्सरमा त्यहि सुँघाएर भित्र पस्दथे । तर हाम्रो हातमा भने एक चिट्ठी मात्र थियो । तर त्यहाँको क्युआर कोडको कुनै हेक्का गरेका रहेनछौँ । हामीले मोबाइलमा प्राप्त चिट्ठी गेटमा चेक गर्न बसेकी एक शुन्दरी केटीलाई देखायौँ । उनले एक यन्त्र हाम्रो चिट्ठीको क्युआर कोडसँग चुम्बन गराइन् । त्यसैबाट हाम्रो जानकारी लिइन् । बिना झण्झट कति छिटो काम सकिने । हुन त यो प्रणालीबारे म अनभिज्ञ त थिइन ।

हामी केबल कारमा चढ्ने बेलामा सिलिङ्गमा बडेमानको पंखा घुमेको थियो यात्रीको लागि गर्मीमा शितलता दिन । हामीलाई अनौठो लाग्यो । एकैछिनमा हामी केबलकारको डब्बाभित्र पस्यौं सेन्टोसाको लागि । हामी बाहेक अन्य दुईजना व्यक्तिहरु पनि त्यहि डब्बामा सँगै पसे । शुरुमा त केबलकार ओरालो लाग्दा तलतिर नजर पुग्दा कहालिलागे जस्तो हुन्थ्यो । केबलकार सुस्त गतिमा अगाडि बढ्दै गयो । अगाडि अजङ्गका भवनहरु दाँतका पंक्ति जस्तै मिलेर बसेका थिए । जंगलहरु निकै रमणीय देखिन्थ्यो । नीला समुद्र, समुद्रमा यत्रतत्र पानीजहाज, डुङ्गाहरु छरिएर चलायमान थिए ।

हामी चढेको केबलकारको डब्बा पनि एकैछिनमा अर्को स्टेशनमा पुगी एक ठूलो भवनको आडमा टक्क रोकियो । अघिल्लो डब्बाबाट एकजना व्यक्ति फुत्त त्यहिँ झरे । हाम्रो ढोका भने बन्दै रह्यो र फेरि अगाडि बढ्दै गयो । ओरालो झरेर फेरि कहालीलाग्दो उकालो लाग्नपर्ने रहेछ । यसले हामीमा अलौकिक आनन्दको एक नयाँ मुल फुटिरहेको थियो । वास्तवमा दिनभरिको थकाई त्यहिँ बिसाउन पाइयो । सबैजना बाह्य दृश्य हेर्न र कैद गर्नमै व्यस्त भएकोले एकआपसमा त्यति धेरै कुराकानि भएन । मैले पनि चिन्तन गर्न थालेँ कि, हाम्रो देशमा पनि पर्यटकीय स्थल नजिकका नदी किनार तथा विभिन्न अग्ला पहाड र हिमाली श्रिङ्खलाका किनारतिर यस्तै विकास गर्नसके पर्यटकहरु कति खचाखच हुन्थ्यो होलान् ? जुन रोजगारी तथा आयआर्जनको दरिलो स्रोत पनि बन्दथ्यो ।

एकैछिनमा हामी सेन्टोसा टापुमा पुग्यौँ, जुन आजको बाँकी समयको गन्तव्य स्थान । केबलकार स्टेशनको गेट बाहिर के निस्केका थियौँ, उही गर्मी, उही पसिना । तर त्यहाँको प्राकृतिक दृश्य, रमझमले सजिलै बिर्साइदिन्थ्यो यी सबै पीडाका पोकाहरु । बाहिर निस्केपछि बाटो धेरैतिर भएकोले दोधारमा पर्‍यौँ वास्तविक बाटो कतातिर भनेर । स्वयंसेवकहरुलाई सोधेर लाग्यौँ म्याडम टुसाउदस् लेखिएको भवनतिर । भवनबाहिर बीच भागमा उनकै स्ट्याचु राखिएको रहेछ, सँगै बसेर फोटो खिचियो ।

हामी भित्र प्रवेश गर्नको लागि त्यहि पहिला देखाएको चिट्ठी देखायौँ । फेरि उही क्युआर कोडमा एक मेशिनले चुम्बन गराएर हाम्रो जानकारी लिए । विस्तारै अगाडि बढ्दै गयौँ । विभिन्न व्यक्तित्वहरु जस्तै भारतका नायक अभिताभ बच्चन, सर थोमस स्ट्याण्डस् राफेल्स, माओत्सेतुङ्ग, नेल्शनमण्डेला, बाराक ओवामा, महात्मा गान्धी, वेलायती रानी एलिजावेथ द्वितीय, चीनको राष्ट्रपति सि चिन फिङ्ग र उनकी धर्मपत्नी, सिँगापुरका राष्ट्रिय व्यक्तित्व, कलाकार तथा खेलाडीहरुको मूर्ति सजाएर राखिएको । वास्तविक मानिस जस्तै लाग्ने । विश्वास नलागेर हातले छोएर अनुभूति पनि गरियो । त्यस्ता कलाकारहरु जसले ती बस्तुहरु निर्माण गरे उनीलाई सलाम नदिई बस्न पनि सकिन ।

मानिसहरु लाइनमा खचाखच थिए । यहाँ पनि भारतीय मुलका केही उछ्रिङ्खल ठिटाहरुले ती मुर्तिहरुको गालामा प्याट्ट प्याट्ट हान्थे । हामीलाई भने खल्लो महशुस हुन्थ्यो । नयाँ ठाउँ किन हानेको भनेर भन्न मन भए तापनि मनलाई कुँड्याउँदै खुम्च्याएर अगाडि बढ्नु सिवाय केही थिएन ।

त्यहिँ भित्र सिँगापुरको विगत झल्कने चिजबीच र बस्तुहरु जस्तै केटाकेटी खेलेका, किसानहरुको जीवन, संचार साधन (टीभी), यातायात साधन (साईकल), घरायसी अवस्था तथा खानपिन झल्कने बस्तुहरु पनि राखिएको थियो । त्यसले के देखाउँदथ्यो भने, सिँगापुर नेपालभन्दा पनि एक दर्दनाक, समस्याग्रस्त तथा दयनीय अवस्थाबाट गुज्रेर यो अवस्थामा फड्को मारेको सहजै आकलन गर्न सकिन्छ ।

तर आज यो देश आर्थिक सम्पन्नताको हिसाबले विश्वको दोस्रो तथा एशियामा पहिलो देशमा पर्दोरहेछ, जहाँ सन् २०२३ मा प्रति व्यक्ति जीडीपी (कूल ग्राहस्थ उत्पादन) यूएसडी १३१,४३० रहेको पाइन्छ । यसको मुख्य कारक तत्वहरुमा खुल्ला बजार अर्थतन्त्र, न्युन भ्रष्टाचार, शिक्षित जनशक्ति, राष्ट्रिय उत्पादनमा जोड, व्यवसायमैत्री वातावरण पर्दाेरहेछ । यसको श्रेय त्यहाँको नेतृत्व सम्हालेका संस्थापक राष्ट्रपति ली कुआन यू रहेछन् जसले त्यो देश विकासको लागि देशप्रतिको गाढा माया, दृढ संकल्प र ईच्छाशक्तिका साथ दूरदृष्टि राखेर प्रभावकारी प्रणालीको विकास गरी कार्यान्वयन गरेछन् । भनिन्छ, यिनले सिंगापुरको नेतृत्व सम्हाल्दा सिंगापुरको राष्ट्रिय ढुकुटिमा जम्मा १५ डलर थियो। त्यतिखेर सिंगापुरे जनताले उनलाई “पागल” भन्थे। तर त्यहि पागलले आज सिंगापुरलाई विश्वको अग्रपंक्तिमा पुर्‍याउने काम गरे । सिंगापुर पत्थर बीचको अक्कर बाट उम्रेको बिरुवा हो, जसले सम्पूर्ण सिंगापुरेलाई अर्थतन्त्रको गहिरो छहारी दिइरहेको छ ।

त्यसैले नेपालमा पनि देश विकासको लागि कि त यस्तै पागलको जन्म हुनु पर्‍यो वा भएका असल र सक्षम नेतृत्व एकपटक यस्तै पागल हुनै पर्‍यो । भाषण, उखानटुक्का, फट्याई, दम्भ, घमण्ड र राजनीतिक धुर्त्र्याईले देश बन्दैन भन्ने कुराको हेक्का राख्न जरुरी छ । यसरी दृढसंकल्पका साथ भ्रष्टाचारबिहीन भएर देश विकासमा होमिएका नेतृत्वलाई घेराबन्दी पारेर खुइल्याउने कार्य गर्नुभन्दा पनि रचनात्मक टिकाटिप्पणी र सहयोग गर्न आवश्यक छ ।

सिंगापुरको झलकहरु हेरेपछि हामी करिब ३ मिनेटजति डुङ्गामा सवार भयौँ । हामीले सोचेका थियौँ कि डुङ्गामा समुद्री सयर निकै नै रमाइलोसँग गर्न पाइने भयो भन्ने । तर हाम्रो पासा उल्टो पल्टियो । त्यो त केबल केटाकेटीहरु भुलाउनको लागि घरभित्रै पानीको सानो कुलोमा ६ जना अट्ने डुङ्गा सवार रहेछ ।

यो दिनको अन्तिम गन्तव्य भनेको “विङ्स अफ टाइम” थियो, जुन आजको र सिंगापुरकै एक आकर्षण पनि थियो । यो सामुद्रि तटमा पानीमाथि मानव निर्मित मनोरञ्जन गर्ने स्थल रहेछ । दर्शकहरु बस्न भने समुद्री किनारमा हार मिलाएर बस्ने बेञ्चहरु थिए । केही बेञ्चहरु भने सभ्रान्त वर्गको लागि बढी पैसा तिरेर बस्न सुरक्षित राखिएको थियो ।

हामी दिउँसै पुगियो । पानीको म्युजिकल नाच पनि देखियो । सोच्योँ कि यस्तै त देखाउने होला पछि पनि भनेर । त्यसपछि हामी शहर फर्कने निधो गर्‍यौँ र ट्राभल एजेन्सीलाई गाडी व्यवस्थाको लागि कुरा गर्दा त बेलुकी ७ः२५ बजेदेखि वास्तविक कार्यक्रम शुरु हुनेरहेछ । गाडी त त्यहाँबाट होटेलको लागि ८ः३० बजे मात्र छुट्ने रहेछ । बुलुकीको समय भएकोले गाडी छुटेमा होटेल जान समस्या पर्ने भएकोले गाडी नछुटाउन दिउँसोनै गाइडले जानकारी गराएकी थिइन् ।

हामी बेलुकीको कार्यक्रम हेर्न बस्ने निधो गर्‍यौँ । सात बजेतिर त्यहाँभित्र पस्नको लागि खोजेको बाटो त बन्दाबन्दी भइसकेछ र टिकटविना पस्न पनि नपाइने । हामीले फेरी त्यही चिट्ठी देखाउँदै भित्र पस्नको लागि प्रयास गर्‍यौँ तर बेला भएको छैन भने । त्यहाँ पनि कहिले कुनै गेट त कहिले कुनै गेटतिर दौडाए । बिहानदेखिको व्यस्तता र हिँडाइले थकित थियौँ । त्यसमाथि लक्ष्मीको गोडा दुखेर धेरै हिँडडुल गर्नसक्ने अवस्थामा पनि भइनन् । जेष्ठ नागरिकको लागि चाँडो गएर बस्न पाइन्छ कि भनेर सोधेको तर त्यहाँ त्यो सुविधा रहेनछ । त्यसैले, भित्रपस्ने गेट पहिचान गरी लामबद्ध भई समय कुरेर बस्यौँ । हामी शुरुमै थियौँ । समयमा गेट खुल्यो । सरर लाइनमा भित्र पस्यौँ र आफ्नो ईच्छाअनुसारको सिटमा गएर बस्यौँ कार्यक्रम हेर्न ।

धेरैजनाको उपस्थितिले हल्लाखल्ला चर्को थियो । कार्यक्रम अलि ढीला शुरु हुने हुँदा बिचबिचमा आयोजकले धैर्यतापूर्वक बस्नको लागि अनुरोध गर्दै क्षमा याचना पनि गरिराखेका थिए । किनकि दर्शकदीर्घाको आउने क्रम जारिनै थियो । करिब करिब सिट पूरा भएपछि उद्घोषकले जानकारी गराए २,५०० जनाको उपस्थिति भएको बारे । निधारित समयभन्दा आधा घण्टापछि कार्यक्रम शुरु भयो ।

“विङ्स अफ टाइम” एक कथामा आधारित रात्रीकालीन श्रव्यदृश्य थियो । कथा हल्लाको कारण त्यति स्पष्ठ रुपमा बुझ्न नसके तापनि यसको मुख्य आसय ब्रिटिस औद्योगिकरण युद्ध, सिल्करोडको युग, अफ्रिकन सभान्ना र मायान पिरामिडहरुसम्बन्धी जानकारी प्रकाशको ज्वाला र पानीको फोहराहरुलाई आश्चर्यजनक तथा रङ्गिचङ्गि तरिकाले संयोजन गरी लेसरको माध्यमबाट देखाइएको थियो, जुन निकैनै रोचक र रमणीय थियो । शहवाज चरा तथा राचेल र फेलिक्सको मित्रता तथा साहसको प्रदर्शनी पनि नमुनायोग्य थियो । सिंगापुरमा यसरी मनोरञ्जन दिने यो मात्रै एक थलो २० वर्षभन्दा बढी भइसकेछ ।

करिब ८ः०० बजे हामी त्यहाँबाट निस्कियौँ । हामी जाने बस कता छ अत्तोपत्तो थिएन । गाडी छुट्छ कि भन्ने पीरले कन्चट चिट्चिटिएको थियो, टाउको कस्सिएर भारी भएको थियो । गाडिपार्कतिर हस्याङफङ् गर्दै उकालो लाग्यौँ । गाडिपार्क वरिपरि २, ३ चक्कर लगाउँदा न त गाडी भेटियो न त हामीसँगै गएकाहरु कसैलाई । बल्लतल्ल केही व्यक्ति भेटियो । दिउँसोको गाडी पनि फेरिएछ तर गाडिको पत्तो लगाउन सकिएन । घुम्दै थियौँ बिहानको गाइड टुप्लुक्क गाडिपार्कमै भेटिइन् । त्यसपछि त मन ढुक्क भयो । मजबुत गाँठोझैँ कस्सिएर तातिएको दिमाग एकैछिनमा खुला र शितल भयो । गाडी आउनै ढिला भएको रहेछ ।

गाडी आएपछि सबैजना गाडीमा चढ्यौँ । गाइडले फेरी हाजिरी बोलाइन् । तर हामीसँगै गएका दुईजना सम्पर्कमा आउन नसकेकोले धेरै बेर प्रतिक्षामा बस्यौँ । उनीहरु सम्पर्कमा नआएपछि हामी पनि हुईँकियौँ होटेलतिर । तर मनमनै सोचेको थिएँ कि यदि हामीमध्ये कोही यसरी छोडिन परेको भए कति पिडा हुन्थ्यो होला हामीलाई । विचाराले कति दुःख पाए होलान् ? बाटोमा होटेल फर्कँदै गर्दा रात्रीकालीन झिलिमिली उज्यालोले गर्दा बेहुली जस्तै सिंगारिएर जुरुक्कै उचालिएको थियो सिंगापुर । सिंगापुरको यस्तो उत्कृष्ट विकास र मनोरम दृश्यले कस्को पो मन चुम्दैन होला र !

भोक र थकाईले लम्पट परेका थियौँ । नौनाडी गलिसकेका थिए । हिँड्न पनि लुट्पुटिएका थिए गोडाहरु तापनि खानाविना रात काट्न पनि त गाह्रै थियो हामीलाई । त्यसैले, हामी एकैछिनमा करिब १५ मिनेटको पैदलयात्रा गरी मुताफा केन्द्रतिर खानाको लागि गयौँ । बाटोमा डिस्को र पवको चर्को म्युजिकको हल्ला र चहलपहल थियो । बाहिरतिर केही युगल युवायुवतिहरु रक्सी तथा चुरोटको नशामा लट्ठ झुमेका देखिन्थे । उनीहरुको मुख र नाकबाट निस्केको धुवाको मुस्लोले धुवामय बनेको थियो तिनीहरुको वरिपरि वातावरण । हामी चुरोट नखाने हुँदा उक्त गन्धको कारण मुख र नाक मोहोलाले ढाकेका थियौँ तापनि के छेकिन्थ्यो र ।

त्यहाँको डिस्को तथा पवको कस्तो स्थिति रहेछ भनेर बुझ्न र हाम्रा परिवारजनलाई एक अनुभव गराउन एउटा डिस्कोका यसो ढोका खोलेर मात्र के हेरेको थिएँ, त्यहाँको हल्लाले श्रीमति झसंग झस्किईन् र भित्र नजाने भन्न थालिन । हामी सबै खानाको लागि अगाडि बढ्यौँ । ईच्छाअनुसारको शाकाहरी र मांशहारी खानाको साथै नरिवल पानी टन्न कोचिसकेपछि बजारको चहलपहल हेर्दै करिब ११ बजेतिर फिर्ताभयौँ होटेल । त्यहाँको बजार भने रातभरी नै खुल्ला हुने रहेछ ।

थकाईले लत्रिएको शरीर त्यहिमाथि रात्र छिप्पिँदै गएको र भोलीपल्ट बिहानै मलेसिया हुँदै काठमाडौँ जानुपर्ने भएकोले धेरै अलमल नगरी बिछ्यौनातिर पल्टङ्ग पल्टिएको मात्र के थियौँ तीनभुष भइएछ । एकैचोटि बिहान ४ बजे ब्युँझिन पुगेछु ।

बिहानको नित्य कर्मपछि खानपिन गरेर मात्र के भ्याएका थियौँ निर्धारित ठीक समय (७ः४५) बजे हामीलाई त्यहाँबाट विमानस्थल लैजान उही पहिलो दिन आएको ड्राईभर भाइनै आएछन् । एकैछिनमा गाडी विमानस्थल पुग्यो । हामी ती भाइसँग विदावादी भयौँ । तर त्यहाँबाट पनि धेरै टाढा जानुपर्ने रहेछ हाम्रो जहाजतिर पुग्नको लागि । निधारित समयमै सहज रुपमा जाँच गरी बोर्डिङ पास लियौँ । समय बाँकी रहेकोले विस्तारै घुम्दै डिपार्चर गेटतिर गयौँ । निधारित समयमा जहाज चढियो । जहाज विस्तारै आकासियो र हाम्रो नजरबाट टाढा हुँदै बिलायो सिंगापुर एक दिमागी नक्शा बनेर । यसरी बित्यो दक्षिण–पूर्वी एशियाकै चमक सिंगापुरको यात्रा ।

मलेसियाको अन्तर्राष्ट्रिय विमानस्थलमा निकै नै पीडा भयो । किनकि, हामी १०ः३० बजे पुगेका थियौं । त्यहाँबाट नेपाल १्ः३० बजे प्रस्थान गर्नुपर्ने थियो । तर हाम्रो नेपाल जाने बाटिक विमानभने बेलुकी ६ः०० बजे मात्र उड्यो । जहाजमा एकचौथाई मात्र यात्रुहरु थिए होलान् । त्यसैले कतिपय सिटका यात्रीहरु भने तीन सिटनै कब्जा जमाएर लमलन्न सुतेका हुन्थे । जहाजमा खानपिनको केही व्यवस्था थिएन । त्यसैले, भोकले बत्तिएको थियो शरीर । राति करिब १०ः०० बजे काठमाडौँ अवतरण गरियो र ट्याक्सीबाट लागियो घरतिर ।

काठमाडौँ शहर त झिलिमिलिनै थियो तर अन्य देशहरुको तुलनामा त्रिभुवन विमानस्थल भने सानो बालक बबुरो जस्तो र अस्तव्यस्त । ड्युटि फ्रि पसलहरु पनि निकै नै थोरै, साना तथा दुब्ला देखिन्थे । अहिलेको अवस्थामा मा।मन्त्री सुदान किराँतीले अवस्य यस्को स्तरोन्नति गर्छन् कि जस्तो लाग्छ ।

यात्रा समयावधि निकैनै छोटो भएकोले सम्पूर्ण सिंगापुर घुम्न त सकिएन । तर जति घुमियो निकै नै सुविधायुक्त, विकसित, रमणीय, रोचक, उत्साहवर्धक र ज्ञानवर्धक रह्यो । सिंगापुर विश्वकै अर्थतन्त्रको मात्र हव नभई पर्यटकहरुको पनि हव रहेछ । कोही व्यक्ति त्यहाँ घुम्न जाने योजना बनाएमा कम्तिमा पनि तीन पूर्णदिन बिताउने गरी जाँदा उपयुक्त हुन्छ । ट्राभल एजेन्सी विना पनि सहज, सरल र किफायतिमा गर्न सकिन्छ सिंगापुरको भ्रमण ।

तपाइँको प्रतिक्रिया