शुक्रबार, असार २०, २०८२

स्वास्थ्यका लागि दूध कि दही ?  

नेपालप्लस संवाददाता / काठमाडौं२०८२ असार १९ गते १५:२६

मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिल भन्छन्– स्वास्थ्यका लागि यो हो उत्तम “दूध र दहीमध्ये स्वास्थ्यका लागि कुन बढी फाइदाजनक छ भन्ने आम जिज्ञासालाई वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिलले वैज्ञानिक तथ्यसहित स्पष्ट पार्नुभएको छ। आफ्नो युट्युब च्यानल ‘ओम मूर्ति अनिल पोडकास्ट’ मार्फत उहाँले दूध र दहीको तुलना गर्दै अधिकांश वयस्कका लागि दही दूधभन्दा उत्तम विकल्प भएको बताउनुभएको छ।

पोषणमा समानता, तर दहीमा विशेष गुण

डा. अनिलका अनुसार प्रोटिन, फ्याट, कार्बोहाइड्रेट र क्यालोरी जस्ता प्रमुख पोषक तत्वको मात्रा दूध र दहीमा लगभग समान हुन्छ। तर, दही बन्ने प्रक्रिया (फर्मेन्टेसन) ले यसमा केही विशेष गुणहरू थपिदिन्छ, जुन दूधमा पाइँदैन।

उहाँले भन्नुभयो, “दूध दहीमा परिणत हुँदा यसमा भएका राम्रा ब्याक्टेरियाले दूधको ल्याक्टोज (चिनी) लाई ल्याक्टिक एसिडमा बदलिदिन्छन्। यसले गर्दा दूध पचाउन नसक्ने (ल्याक्टोज इन्टोलेरेन्स) समस्या भएका व्यक्तिहरूले पनि दही सजिलै पचाउन सक्छन्।” विश्वका करिब ७०-७५ प्रतिशत वयस्कमा यो समस्या देखिने हुँदा दही उनीहरूका लागि अमृतसमान भएको उहाँको भनाइ छ।

दही ‘प्रोबायोटिक’ को खानी

दहीको सबैभन्दा ठूलो विशेषता भनेको यसमा पाइने ‘प्रोबायोटिक’ अर्थात् राम्रा ब्याक्टेरिया हुन्। यी ब्याक्टेरियाले हाम्रो आन्द्राको स्वास्थ्यलाई सुधार्न महत्त्वपूर्ण भूमिका खेल्छन्।

डा. अनिलले थप्नुभयो, “स्वस्थ आन्द्राले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ, पाचन प्रणालीलाई बलियो बनाउँछ र विभिन्न दीर्घ रोगहरूबाट बचाउन मद्दत गर्छ। नियमित दही सेवनले आन्द्रामा राम्रा ब्याक्टेरियाको सन्तुलन कायम राख्न सहयोग पुग्छ।”

मुटु स्वास्थ्य र तौल व्यवस्थापनमा पनि फाइदाजनक

मुटुरोग विशेषज्ञका नाताले डा. अनिलले दहीको सेवनले मुटु स्वास्थ्यमा पार्ने सकारात्मक असरबारे पनि प्रकाश पार्नुभयो। अध्ययनहरूले देखाएअनुसार नियमित रूपमा कम चिल्लोयुक्त दहीको सेवनले उच्च रक्तचाप र कोलेस्ट्रोल नियन्त्रणमा मद्दत पुग्छ। दही खाँदा पेट भरिएको महसुस हुने भएकाले अनावश्यक खानपानबाट बचाउँछ र तौल व्यवस्थापनमा समेत सहयोगी हुन्छ।

दही खाँदा यी कुरामा ध्यान दिनुहोस्

दहीको पूर्ण फाइदा लिनका लागि केही सावधानी अपनाउनु जरुरी रहेको डा. अनिल बताउनुहुन्छ:

चिनी र नुन नमिसाउने: दहीमा चिनी वा नुन मिसाउँदा यसको प्राकृतिक गुण र फाइदा कम हुन्छ। यसलाई सकेसम्म प्राकृतिक रूपमै खानु उत्तम हुन्छ।

आफ्नो शरीरलाई सुन्ने: यदि दही खाँदा कसैलाई चिसो लाग्ने, एलर्जी हुने वा जोर्नी दुख्ने जस्ता समस्या देखिन्छ भने जबरजस्ती खानु हुँदैन।

कम चिल्लोयुक्त दही रोज्ने: मुटुका बिरामी र तौल घटाउन चाहनेहरूका लागि कम चिल्लो (लो फ्याट) भएको दही बढी फाइदाजनक हुन्छ।

(kriShi press)

 

तपाइँको प्रतिक्रिया