सोमबार, फागुन १४, २०८०

हर्कका आँसुको मूल्य

ददि सापकोटा२०८० जेठ ३१ गते १५:४२

‘यदि आफ्नो बच्चा रुँदा कसैकी आमा हाँस्छिन भने त्यो बच्चा जन्मिँदाको हर्षले हो’। कुनै लेखक वा साहित्यकारको यो भनाई धेरै पटक उल्लेख गरेका छन् धेरैले । धरानका नगरप्रमुख हर्क साङपाङ राईले त्यसलाई सोचनिय बनाइदिएका छन् । खासमा रोएको त नगरप्रमुखलाईपनि सुहाउने पो रहेछ । त्यसैले हर्कका आँसुको अहिले सर्वत्र चर्चा छ । मेडियाहरुले हर्ककै आँसुको चर्चा गरेका छन् । स्थानिय मानिसहरु त्यहि हर्कका आँसुकै सेरोफेरोमा गफिईरहेका छन् । सामाजिक सञ्जाल हर्ककै आँसुले ढाकिरहेको छ । हर्क साङपाङ रुँदा उनका आँसुले एक खाले बाढीनै ल्याइदिएको छ । आखिर के छ त्यस्तो हर्कका आँसुमा ?

धरान नगरपालिकामा लुखुर लुखुर साईकल चढेर मत माग्न जाँदा आखिर हर्कलाई धराने बाहेकले चिन्दैनथ्यो । त्यसैले हर्क साङपाङ धरानेको मनमा सिमित थिए । बाहिरि जगतले चिन्ने हाईफाईवाला थिएनन् । त्यसैले आम नेपाली मेडियालेपनि हर्क निर्वाचित नभएसम्म पत्याएन । चिनेन । पत्याउने ल्याकतनै राखेन । हर्कलाई बाहिरी जगतले चिन्नुपर्नेपनि थिएन । किनभने हर्कलेनै बाहिरि जगतसित चासो राखेका थिएनन् । उनको चाख, चासो र स्वार्थपनि थिएन । जसले चिन्नुपर्ने थियो उसले चिनेको थियो । यसैमा उनी ढुक्क थिए ।

जब हर्क साङपाङ चुनिए, धराननगरपालिकाको प्रमुखमा त्यसपछि अखबारका पाना भरिन थाले ‘साईकल चढेरै जनताका घरघर, साईकल चढेरै मेयर ।’

ठूलाबडाले नचिनेर के भो ? राष्ट्रिय पार्टीका नेताले नपत्याएर झन के फरक पर्‍यो ? गाउँबस्ति पैदल र साईकलमा चहार्दा हर्कले गाउँको खास समस्या बुझेका थिए । जनतालाई नभैनहुने के हो त्योपनि खुट्याएका थिए । जनताको भोटसित उनको माया गासिएको थिएन, जनताका दुखसित गाँसिएको थियो । त्यसैले उनले जनताले जे खोजेका थिए त्यसैमा चाख दिए ।

धरानका जनता पानीको अभावमा काकाकुल बनेका थिए । ४२ किमी परबाट विशाल नदी बगिरहेको थियो । तर यता जनता पानी नपाएर आजित थिए । हर्कले सपना देखे- त्यो पानी ल्याएर काकाकुल जनताको आँत रसाउने । उनले त्यहि योजना बनाए । तर पत्याउने कसले ? करोडौंको बजेट कहाँबाट ल्याउने ?

उनले जहाँबाट पानी ल्याउने योजना बनाएका थिए आर्थिक हिसाबले त मुस्किल छँदै थियो। त्यो भौगोलिक हिसाबलेपनि सजिलो थिएन । कठिन पहाडी भुभाग थियो, त्यसैले हर्कलाई पत्याएनन् । पहाडी बाटो, पथ्थर फोरेर पानी पहिले पहाडमा उकाल्ने र फेरि धरानमा खसाउने । यसलाई धेरैले असंभव देखे। त्यसैले हर्कलाई पागल भने । हावादारी बनाए । ४२ किमी पर आफैंले खनेर, ढुंगा बोकेर पानी ल्याउने ? हाहाहा ! सहयोग गर्नसक्ने र गर्नुपर्नेहरुले समेत उल्याउने र उडाउने गरेरै समय बिताए ।

उनले सरकारसँग सहयोग नमागेका होइनन् । पार्टीका कार्यकर्तासितसमेत श्रमदानको याचना गरेकै हुन् । तर उनलाई सहयोग गर्नुको साटो केहिले खुइल्याउने दुस्साहससम्म गरे । सार्वजनिकरुपमै उनले भने ‘मलाई अरु केहि सक्नुहुन्न भने एक दिन आएर श्रमदान गरिदिनुस् ।’ तर उनलाई सरकार, राष्ट्रिय भनिएका पार्टी र देश बनाउन हिँडेका पार्टी कार्यकर्ताले पत्याएनन् ।

तर हर्क साङपाङ गलेनन् । अहँ हार मानेनन् । उनले त्यो योजना त्यागेनन् । उनलाई खिसिट्युरि गर्नेमाथि सामाजिक सन्जालमापनि लडिरहे, उता ढुंगामाटोसितपनि खेलिरहे । किनभने हर्कलाई बाहिरी जगतले नचिनेपनि धराने जनताले चिनेका थिए । केन्द्रिय सरकार, ठुलाबडा, राजनितिको गफ हाँक्दै भोटको लागि मात्रै राजनिति गर्नेले नपत्याएर के भो ? नचिनेर के बिग्रियो ? उनलाई साथ दिन धरानका जनताको ठूलो जमात तयार थियो । तिनैको बलमा हर्क लागिरहे, लडिरहे। उनका सहयोगिले हर्क साङपाङ सहयोग अभियाननै चलाए ।

धरानमा खाने पानी ल्याउन श्रमदान अभियान शुरु गरे। श्रमदान गर्नेहरुले दिनदिनै ढुंगा र माटो बोके । हर्क साङपाङ तिसँगै लागेर गिट्टी कुटिरहे । छोडेनन् । श्रमदान अभियान शुरु गरेको ९८ औं दिनमा पानी ल्याइछोडे । धरानमा खसेको पानीले हर्क साङपाङमाथिको खिसिट्युरी, चुनौति र आलोचना सबै भेललेझैं बगाएर लग्यो । हर्कका आँसुसित सारा धराने र धरानलाई माया गर्नेका आँसु आएर मिसिए ।

हर्कका आँखाबाट खसेका आँसुला ढिक्का सारा धरानेका आँसु हुन् । धरानलाई माया गर्नेका हुन् । त्यो भन्दाबढी जनतालाई माया गर्ने जनप्रनिधिप्रतिको मायाको चिन्ह हो । विकासको प्रतिक हो । अथाह संघर्ष र विश्वास, आशा र भरोसाको विशाल संकेत हो । त्यो आँसु हर्क साङपाङको एक्लो हुँदैहोइन ।

जुलुस लिएर, पजेरोमा हुइँकिँदै रेस्टुरेन्टमा भोज गरेर चुनावपछि सत्तामा पुगेकाले कहाँ हर्क जस्तो साईकल चढ्ने, आटोढिंडो खाने र ढुंगा बोक्नेलाई पत्याउँछ त ! तर नपत्याएर के भो ? ४२ किलोमिटर भिर,पाखाहरुमा पाइप बोकेरै झारिछोडे पानी । पानी नखसालेसम्म कति रात हर्क साङपाङ आफ्ना सहयोगिसित खोलैमा सुते, घरै नफर्किकन खटिए ।

सरकारले नदिएर के भो ? नपत्याएपनि के योजना भत्कियो ? अपुरै छोड्नुपर्‍यो ? काम गर्नेलाई पत्याउने रहेछन् नी नेपाली, ४ करोड भन्दा बढी त बाहिरबाटै सहयोग दिएछन्, प्रवाशी नेपालीले । मंगलवार धरानमा पानी खसेको दिन हर्क साङपाङ राई हर्षका आँसु खसालेर रोए । उनी यस्तरि रोए दुनियाँ हाँस्यो । उनका आँसुले धेरैलाई जगाएको छ, जनप्रतिनिधि कस्तो हुनुपर्छ । उनको आँसुले धेरैलाई पोलेकोपनि छ, वर्षौंदेखि देश विकासका नाममा सत्ताको रस चुस्दै आएकाले सिन्को भाँच्न नसक्दा एक्लो हर्कले कसरि यत्रो योजना सफल बनाए ! यसले वर्षौं वर्ष देखि खरबौं कुम्ल्याएका, अनेक योजना बनाउँदै तुहाउँदै गरेका योजनाकार, दल, नेतामाथि चुनौतिको औंलो उठाइदिएको छ ।

त्यसो त, हर्क साङपाङ सफल हुनुका अरु केहि कारण छन् । उनी माटोलाई प्रेम गर्छन् । आफ्नो थातथलो र त्यहाँका जनतानै उनकालागि सर्वथोक हुन् । उनी माओ, मार्क्स, स्तालिन, बिपी, गणेशमान, राजा महाराजाका गाथा पढेर आदर्शका कुरा खोक्दै हिँड्दैनन् । उनी स्थानिय जनताका दुखसुखका गाथा केलाउँछन् । आदर्शका महान उक्तिहरु सुनाउने र पार्टीका विधान र नेताका बादमा अल्झिएर पदमा टिकिरहने नेता बन्न खोजेनन् ।

उनले हाईफाई, ठूला नेता, शहरिया र मेडियाले पत्याइने बन्न नखोज्नुनै उनको सफलताको अर्को पाटो हो । यदि हाईफाई, शहरिया, आदर्शका गफ चुट्ने, ठूला पार्टीको नेता बन्न चाहेको भए हर्क साङपाङ अहिलेका सम्मानित, गौरव महसुस गर्ने नगरप्रमुख हर्क साङपाङ बन्न सक्ने थिएनन् । सुकिलामुकिला र ठूलो, आदर्शवान नेता बन्ने रहर छोडेर जनताको दुखको सारथी जनताकैबिचमा रहेर बन्न खोज्नुनै हर्क साङपाङको खास चिनारी हो । सफलतापनि त्यहि हो ।

हर्क यस्ता पात्र हुन् जो रिसाउँदापनि कामकै बिचमा रिसाए । आइलाग्नेहरुमाथि जाई लाग्दापनि काम छोडेनन् । हरेक आरोप र खिसिट्युरि गर्नेलाई ‘ईटका जवाफ पथ्थर से’ दिए। तर आफ्ना हात खालि राखेर होइन, सयौं जनतालाई साथ लिएर श्रमदानकै बिचबाट । त्यसैले उनले हार्नु परेन । शिर झुकाउनुपनि परेन । बरु उनी रुँदा सारा जगत हाँस्यो । उनले यस्तो आँसु बगाए जसले सारा जगतलाई हँसाउने बनायो । उनका आँसुले जनप्रतिनिधिहरुमा चेतना, विकास र जनप्रतिनिधि कस्तो हुनुपर्छ भन्ने सन्देश बाँड्न सफल भयो ।

उनी स्थानिय जनताका उदाहरणिय पात्र बनेका छन् । कुनै ठूलो पार्टी र नेताको छाहारीबिनापनि जनताको सेवा गर्न सकिन्छ । जनताका चाहना अनुसारका काम फत्ते गर्न सकिन्छ । यदि जनप्रतिनिधिमा इच्क्षाशक्ति र जनताको साथ छ भने उसले विकासका काम गर्न सक्छ, केन्द्रिय सरकारकै आँखा ताकिराख्नुपर्छ भन्ने छैन भन्नेपनि उनले देखाइदिएका छन् । स्थानिय जनताले खोज्ने जनप्रतिनिधि कस्तो हो भन्ने उदाहरण खोज्दा ‘हर्क साङपाङ’ को नाम लिने बनेका छन् ।

हामीलाई खासमा चाहिएको बिदेशी डिग्रीवाल हुँदै हैन । बिदेशी स्वार्थ, तिनका भाषा र लय बुझ्ने होइन। हाम्रै स्थानिय स्तरका गाउँलेहरुको दुखसुख, खाँचो र चाख बुझ्ने सरकारी स्कूलकै हर्क साङपाङ जस्ता जनप्रतिनिधि हुन् ।

हर्क साङपाङले जस्तै अन्य नगरपालिका, गाउँपालिकाका जनप्रतिनिधिले हरेक आफ्ना आफ्ना क्षेत्रमा साना तहकै भएपनि एक एक वटा परियोजना सफल पार्ने हो भने देशको अनुहार फेरिन बेर नलाग्ने रहेछ ।

तपाइँको प्रतिक्रिया