मंगलबार, फागुन १५, २०८०

हिमनदीहरू पहिलेभन्दा छिटो पग्लँदै, महत्वपूर्ण पानीको स्रोत खतरामा : वैज्ञानिक चेतावनी

नेपालप्लस संवाददाता / काठमाडौं२०८० असार ६ गते ९:४०

जलवायु परिवर्तनका कारण झण्डै दुई अर्ब मानिसलाई महत्वपूर्ण पानी उपलब्ध गराउने हिमनदीहरू पहिलेभन्दा छिटो पग्लन थालेका छन् । यसले समुदायलाई अप्रत्याशित र महँगो प्रकोपमा पार्दै लगेको वैज्ञानिकहरूले मंगलवार चेतावनी दिएका छन् ।

इन्टरनेशनल सेन्टर फर इन्टिग्रेटेड माउन्टेन डेभलपमेन्ट (ईसिमोड) को प्रतिवेदन अनुसार गत दशकको तुलनामा २०११ देखि २०२० सम्म हिमनदी ६५ प्रतिशतले छिटो हराएका छन्।

“मौसम न्यानो हुँदै जाँदा, बरफ पग्लिनेछ, जुन अपेक्षा गरिएको थियो । तर के अप्रत्याशित र धेरै चिन्ताजनक छ भने त्यसको गति हो,” प्रमुख लेखक फिलिपस वेस्टरले एएफपीलाई भने “यो हामीले सोचेको भन्दा धेरै छिटो गइरहेको छ।”

‘हिन्दुकुश हिमालय क्षेत्रका हिमनदीहरू पहाडी क्षेत्रका करिब २४ करोड मानिसका लागि र तलका नदी उपत्यकाहरूमा रहेका अन्य एक अर्व ६५ करोड मानिसका लागि पानीको महत्वपूर्ण स्रोत हो’, रिपोर्टमा भनिएको छ।

हालको उत्सर्जन प्रक्षेपणका आधारमा शताब्दीको अन्त्यसम्ममा हिमनदीहरूले आफ्नो वर्तमान मात्राको ८० प्रतिशतसम्म गुमाउन सक्ने नेपाल स्थित ईसिमोडले जनाएको छ । यो सदस्य राष्ट्र अफगानिस्तान, बंगलादेश, भुटान, चीन, भारत, म्यानमार र पाकिस्तानको खासगरि हिमाल र तय्ससित संवन्धित अध्ययन, अनुसन्धान र संरक्षणकोलागि काम गर्ने एक अन्तरसरकारी संस्था हो ।

हिमालयबाट बग्ने हिमनदीहरुले गंगा, सिन्धु, येलो, मेकोंग र इरावदी सहित विश्वको सबैभन्दा महत्त्वपूर्ण नदी प्रणालीहरू मध्ये १० लाई पानी पुर्‍याउँछ । र प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा अरबौं मानिसहरूलाई खाना, ऊर्जा, स्वच्छ हावा र आय प्रदान गर्दछ।

ईसिमोडका उपप्रमुख इजाबेला कोजिएलले भनिन्, “एशियाका दुई अर्ब मानिसहरू यहाँका हिमनदीहरू र हिउँले दिने पानीमा निर्भर भएकाले, यो क्रायोस्फियर (फ्रोजन जोन) गुमाउनुको नतिजा सोच्नै नसकिने छ।”

‘पेरिस जलवायु सन्धिमा सहमत भएअनुसार पूर्व-औद्योगिक स्तरबाट ग्लोबल वार्मिङ १ दशमलव ५ देखि २ दशमलव शुन्य डिग्री सेल्सियसमा सीमित गर्ने भनिए पनि, हिमनदीहरूले २१०० सम्ममा आफ्नो आयतनको एक तिहाइदेखि आधा गुमाउने अपेक्षा गरिएको छ’, समीक्षा रिपोर्टमा उल्लेख छ ।

“यसले तत्काल जलवायु कार्यको आवश्यकतालाई जोड दिन्छ,” वेस्टरले भने “हरेक सानो वृद्धिले ठूलो प्रभाव पार्नेछ र हामीले वास्तवमै, जलवायु न्यूनीकरणमा काम गर्न आवश्यक छ … यो हाम्रो बिन्ती हो।”

सन् १८०० को मध्य देखि संसार लगभग १ दशमलव २ डिग्री सेल्सियसले बढी न्यानो भएको छ । मौसमले चरम रुप लिएको छ । अधिक गर्मीको लहरहरु आएका छन् । कि अधिक मात्रामा गम्भीर खडेरी र आँधीहरु आएका छन् तिनले समुद्रहरुको सतह बढाइदिएको छ ।

सबैभन्दा बढी मारमा परेकामा सबैभन्दा कमजोर मानिसहरू छन् । संसारका गरिब देशहरू बढी मारमा परेका छन्, जसले तापमान बढाउने जीवाश्म इन्धन उत्सर्जनमा नगण्य योगदान गरेका छन् ।

ईसिमोडको जीविकोपार्जन र बसाइँसराई विशेषज्ञ अमिना महर्जनले समुदायसँग आफूलाई आवश्यक पर्ने सहयोग नभएको बताइन्।

(स्रोत-ए एफ पी)

तपाइँको प्रतिक्रिया

फेसबुक