शुक्रबार, वैशाख २१, २०८१

आइफल टावरबाट प्यारासुटमा हाम्फाल्ने व्यक्ति पक्राउ

नेपालप्लस संवाददाता / फ्रान्स२०८० भदौ १ गते १५:५९

फ्रान्सको विश्व प्रसिद्द आइफल धरहराबाट प्यारासुट लिएर हाम्फाल्ने ब्यक्तिलाई बिहीबार पक्राउ गरिएको प्रहरी र स्मारक सञ्चालकले बताएका छन् ।

प्यारासुट लिएर धरहराबाट हाम्फाल्ने मानिस एक अनुभवी आरोही थिए । उनी आइफल धरहरा औपचारिक रुपमा खुल्नु अघिनै विहान ५ बजे पछि टावरको परिधिमा प्रवेश गरेका थिए ।

साइटका अपरेटर सेतेका अनुसार उनलाई गार्डहरूले तुरुन्तै पत्ता लगाएका थिए । तरपनि कसैले उनलाई रोक्नु अघिनै झोलामा प्यारासुट बोकेर धरहराको माथि पुग्न सफल भए ।

३३० मिटर अग्लो संरचनाको टुप्पो नजिक पुगेपछि उनी हाम्फाले र नजिकैको स्टेडियममा अवतरण गरे । उनलाई अरूको जीवन खतरामा पारेको आरोपमा पक्राउ गरिएको प्रहरीले बताएको छ ।

“यस्तो गैरजिम्मेवारपूर्ण कार्यले टावरमा वा तल काम गर्ने मानिसहरूलाई खतरामा पार्छ,” सेतेले एक विज्ञप्तिमा भने ।

आइफल धरहरा फ्रान्सेली राजधानीको शीर्ष पर्यटक स्थल हो, जसले २०२२ मा ५९ लाख आगन्तुकहरूलाई आकर्षित गरेको थियो । करिब १५ लाख पर्यटक वर्षेनी यहि धरहरा हेर्नैकालागि मात्रै पनि आउने गर्छन् ।

उक्त प्यारासुट घटनाले गर्दा सामान्यतया बिहान ९ बजे खोलिने धरहरा ढिलाई भएको थियो । उक्त व्यक्ति विरुद्ध फौजदारी मुद्दा दायर गरिएको छ । ति ब्यक्ति को हुन् भन्ने परिचय भने गोप्य राखिएको छ ।

गत हप्ता, होक्स बम घटनाको हल्लापछि आइफल टावर एकै दिनमा दुई पटक खाली गरिएको थियो । सोमबार मादक पदार्थ सेवन गरेर लठ्ठ परेका दुई अमेरिकी पर्यटकहरू टावरको उचाइमा सुतिरहेका भेटिए । अघिल्लो रातको सुरक्षालाई चकित पारेर उनीहरुले त्यहाँ रातभर बिताएको खुलासा भयो।

तपाइँको प्रतिक्रिया

फेसबुक