शुक्रबार, वैशाख २८, २०८१

केन्द्रिय नेतृत्वमा एनआरएनएको रस्साकसी : कोहि प्यानल बनाउँदै, कोहि ‘पर्ख र हेर’

नेपालप्लस संवाददाता / काठमाडौं२०८० भदौ १ गते १८:३३

(फोटो मिश्रण स्रोत-घटना र बिचार)

आगामी अक्टोबर १७ देखि २० सम्म काठमाडौंमा हुने गैर आवासीय नेपाली संघ (एनआरएनए) को ११ औं महाधिवेशनमा केन्द्रिय नेत्रित्वकालागि भित्रभित्रै तयारि शुरु भएको छ । केन्द्रिय विधानले कुनै राजनितिक दल, जाति वा कुनैपनि बिचारका आधारमा प्यानल बनाएर निर्वाचनमा जान नपाइने उल्लेख गरेपनि त्यो लागु हुने गरेको छैन । त्यसैले आगामी नेत्रित्वका लागिपनि केन्द्रिय नेत्रित्वका आकांक्षीहरुले राजनितिक दलको समर्थन, समुहगत वा राजनैतिक आस्थाका आधारमा प्यानल बनाइरहेका छन् ।

निर्वाचनमा सबैभन्दा प्रमुख पदनै अध्यक्ष र त्यसपछि महासचिवको रहेकाले हालसम्म मुलत त्यसैको सेरोफेरोमा उम्मेदवार छान्ने प्रक्रिया चलिरहेको छ । बाहिर उति चर्चा नभएपनि एनआरएनएका वर्तमान कार्यकारी अध्यक्ष (तीन अध्यक्ष मध्येका एक) डा. बद्रि केसी फेरि एकल अध्यक्ष बन्ने आकांक्षामा छन् । उनले भित्रभित्रै आफ्नो प्यानलसमेत तयार गर्दै लगेका छन् ।

केसीले आफ्नो प्यानलमा उपाध्यक्षमा अष्ट्रेलियाका धर्मराज अधिअकरी र बेलायतका डा. हेमराज शर्मालाई रोजेका छन् । त्यसैगरि महिला उपाध्यक्षमा सउदी अरेबियाकी यासमिन बेगम सायदलाई राखेका छन् । अधिकारी र शर्मा हालपनि उपाध्यक्ष छन् भने सायदपनि हाल महिला उपाध्यक्षनै हुन् । टिमको छलफलमा उनीहरुले ति पद दोहोर्‍याउने र डा. बद्रि केसीलाई अध्यक्ष बनाउने सल्लाह गरेका हुन् ।

महासचिव पदपनि टिम बद्रिका तर्फबाट दोहोरिने भएको छ । बद्रिको टिमबाट उक्त पदमा अमेरिका निवासी गौरिराज जोशीनै उठ्ने भएका छन् । उप महासचिवमा बेलायतका रामशरण सिंखडाले फेरि दोहोर्‍याउने भएका छन् । जर्मनीका सन्तोष भट्टराईको नाम सचिवमा अगाडि सारिएको छ । हाल उनी एनआरएनए युरोप संयोजक छन् ।

सबैभन्दा बढि प्रभाशाली मानिने र सबैभन्दा बढी भोट भएको युरोप क्षेत्रको संयोजकमा बद्रि केसीको टिमका तर्फबाट चिरन्जिवी खड्काको नाम लिईएको छ । त्यस्तै एनआरएनए युरोप उपसंयोजकमा पोर्चुगलका रोबर्ट लिम्बु र अष्ट्रियाका बिनोद चौलागाईको नाम चर्चामा छ ।

केन्द्रिय युवा उपाध्यक्षमा जाम्बियामा बसेर ब्यापार गर्दै आएका रोशन थापाले दोहोर्‍याउने भएका छन् । उनी यस अघिपनि युवा उपाध्यक्षमै थिए ।

सर्सर्ति हेर्दा यो पक्षमा खासगरि नेकपा एमाले समर्थित पक्ष बढि देखिएपनि यसलाई समावेशी पक्ष भनिएको छ । बामपन्थि बैचारिक पक्षका भनिएपनि यसमा नेपाली कांग्रेसमा आस्था राख्नेहरुपनि छन् । त्यसैले यसलाई बद्रि टिमले ‘समावेशी’ भनेको छ ।

हालकालागि उनीहरुले सर्सर्ति नाम बाहिर चर्चामा ल्याएपनि यो अन्तिम निर्णय भने होइन । यसलाई थपघट गराउने पक्षमा उनीहरुको गृहकार्य चलिरहेकै छ । अर्को पक्ष, राजनितिक दल, परराष्ट्र मन्त्रालय, नेपालका राजनितिक नेताहरुको दबाब, आग्रह र आफ्ना मान्छेहरुलाई स्थान दिनकालागि जेजस्तो दबाब, आग्रह र अनुरोध आउँछ त्यसका आधारमा एनआरएनएको कुनैपनि टिमको उम्मेदवार थपघट भैहाल्छ ।

डा. बद्रि पक्षले यसरि शुरुवातीको तयारि गरिरहेकै बेला नेपाली कांग्रेसका तर्फबाट गत साता एउटा जम्बो टोलीनै काठमाडौं पुगेर पार्टी, नेता, मन्त्रीहरुसित गम्भिर बहस गरेको थियो । उनीहरुले नेकपा एमालेका तर्फबाट अध्यक्षमा डा. बद्रि केसीलाई अघि सार्दै उमेदवारहरुको टोली बनाउन लागेको कांग्रेसका प्रभावशाली नेता पूर्णबहादुर खड्का, गगन थापा र परराष्ट्र मन्त्री एन पी साउतसम्म पुर्‍याएका थिए ।

छलफलमा अध्यक्षका प्रत्यासी महेश श्रेष्ठ, राज रेग्मी, कुल आचार्य, डा. केशव पौडेल, बुद्धिसागर सुबेदी, दिपक गौतम लगायतका करिब एक दर्जन एनआरएनए अभियन्ता थिए । लामो छलफलका क्रममा महेश श्रेष्ठले नेपाली कांग्रेसले पहिलेझै झैं एनआरएनएमा प्रभावकारि तरिकाले राजनितिक हस्तक्षेप हुन नहुने तर्क राखेको छलफलमा सहभागि एक कांग्रेस नेताले नेपालप्लसलाई बताए ।

छलफलका क्रममा महेश श्रेष्ठलाई सर्वसम्मत तरिकाले अध्यक्षमा उठाउनुपर्ने तर्क धेरैले अघि सारेका थिए । अघिल्लो दशौं महाधिवेशनमा श्रेष्ठले एनआरएनएको एकताकालागि धेरै प्रयास गरेको, कोषाध्यक्ष रहेका बेला करोडौं घाटामा पुगेको एनआरएनएको ऋण तिरेरपनि दुई करोड भन्दा बढी नाफा गराएको, सबैलाई मिलाएर लैजान सक्ने क्षमता भएको, पूर्व अध्यक्षहरु डा उपेन्द्र महतो, जिवा लामिछाने, भवन भट्ट लगायतलेपनि एनआरएनएको एकताकालागि महेश श्रेष्ठलाईनै रुचाएको तर्क पेश गरेका थिए ।

उनीहरुले एनआरएनएमा एकताको खाँचो रहेकाले अझैपनि सबैलाई मिलाएर लैजान सक्ने महेश श्रेष्ठ भन्दा अर्को उपयुक्त पात्र हुनै नसक्ने तर्क गरेका थिए । उनीहरुको तर्कपछि महेश श्रेष्ठ अध्यक्षका अर्का प्रत्यासि केशब पौडेलबिच एक्लाएक्लै छफल भएको थियो । छलफलमा महेश श्रेष्ठले ‘ठिक छ, तपाईले मलाई छोड्नुहुन्छ भने भन्नुस् तपाईका एजेन्डा के के हुन् म तिनलाई संवोधनको प्रयास गर्ने छु । नछोड्ने भए म तपाईलाई छोड्न तयार छु’ भनिदिएपछि पौडेलले महेश श्रेष्ठलाई छोडिदिने बचन दिएका थिए ।

डा. केशब पौडेलले अध्यक्षमा महेश श्रेष्ठलाई छोडिदिएपछि आफ्नो टिम बनाउनुपर्ने सल्लाह भएको थियो । तर उनीहरुले अन्तिमसम्मपनि महेश श्रेष्ठलाई सर्बसम्मत अध्यक्ष बनाउन लागिपर्नुपर्ने र तत्कालै टिम बनाउन नहुने सुझाव दिएका छन् ।

यस्तो छ सर्वसम्मतिको प्रयासको तर्क

दशौं महाधिवेशनमा बखेडा हुनुका केहि कारण मध्ये एक डा. बद्रि केसी पनि थिए । शेष घले पक्ष कुनैपनि हालतमा बद्रि केसीलाई स्विकार्ने पक्षमा थिएन । उता केसीले अध्यक्षमा कुल आचार्यलाई नस्विकार्ने र कुल आचार्यले केसी र रबीना थापालाई नस्विकार्ने स्थिति बन्यो । एनआरएनएमा कुल आचार्य, बद्रि केसी र रबिना थापा मध्ये कोहिपनि फेरि नेतृत्वकालागि आएमा फेरि किचलो हुनसक्ने संभावना धेरैले औंल्याएका छन् । त्यसैले यि तीन जनानै आगामी नेतृत्वमा आउन नहुने तर्क तिनको छ ।

तर बद्रि केसीले भने शुरुदेखिनै ‘मेरो गाँसैमा आएको अध्यक्ष पद गुम पारियो, म फेरि एकल अध्यक्षका लागि निर्वाचनमा जान्छु’ भन्दै आएका थिए । गत महाधिवेशनमा नेपाली कांग्रेस सिंगो पार्टी, देशको प्रधानमन्त्री, परराष्ट्र मन्त्रालयनै कुल आचार्यका पक्षमा लागेर एनआरएनए नेतृत्व, महाधिवेशन बिगारेको भन्दै बद्रि केसी पुन अध्यक्षमा लड्नुपर्ने तर्क केसी पक्ष र बामखेमाबाट आएको हो । माओवादी र कांग्रेसको संयुक्त सरकार र नेपाली कांग्रेसकै तर्फबाट परराष्ट्र मन्त्री भएपनि दशौं महाधिवेशनमा झैं सरकार, सिंगो पार्टी र परराष्ट्र मन्त्री नांगोरुपमा प्रस्तुत नहुने आँकलन धेरैको छ । त्यसैले बद्रि केसी पुन अध्यक्षमै लड्ने तयारिमा छन् ।

तर परिस्थितिले कोल्टो फरेमा वा परिस्थिति पूर्णरुपमा बिग्रिएमा केसीले डा. हेमराज शर्मालाई अध्यक्षका रुपमा अगाडि सार्न सक्ने संभावना छ । केसीनै अध्यक्षमा रहेमा आगामी १२ औं महाधिवेशनमा डा. हेमराज शर्मा अध्यक्षमा लड्ने र त्यसमा डा. बद्रि केसी पक्षले सहयोग गर्ने चर्चा  छ ।

यता महेश श्रेष्ठ पक्षको भने बद्रि केसी अध्यक्षमा उठेमा रबीना थापा, बिनय अधिकारी, आर के शर्मा कसैलेपनि नछोड्ने तर महेश श्रेष्ठलाई छोड्न सक्ने स्थिति भएकाले केसीले छोड्नुपर्ने तर्क गर्छन् । संस्थालाई फेरिपनि पहिलेझैं बिबाद र भाँडभैलो हुने नदिने बरु सबै पक्षलाई मिलाएर लैजान सक्ने ब्यक्तिको खाँचो रहेको र त्यो काम महेश श्रेष्ठबाट हुनसक्ने तर्क तिनको छ ।

डा. बद्रि केसीलाई प्रमुख संरक्षकमा स्थान दिएर उनले महेश श्रेष्ठलाई छोडिदिएमा हालका बलिया दाबेदार आर के शर्मालेपनि श्रेष्ठलाई छोडिदिने भनाई श्रेष्ठ पक्षको छ । शर्माले कुनै हालतमा नछोडेपनि माओवादीको तर्फबाट अध्यक्षमा लड्न लागेका आर के शर्मासित खासै टक्कर नपर्ने र केसीले छोडेमा सहजै जित हातलाग्ने आँकलन उनीहरुले गरेका छन् ।

नेकपा माओवादी र कांग्रेस सम्मिलित सरकार रहेकाले एनआरएनएको दशौं महाधिवेशनमा झैं यो पटक पनि साझा उम्मेदवारी हुने आशा माओवादी पक्षको छ । तर नेपाली कांग्रेस पक्षका अभियन्ताहरुले त्यसो गर्न नहुने भन्दै कांग्रेस नेता, पार्टीलाई पटक पटक जानकारि दिईसकेका छन् । अघिल्लो महाधिवेशनमा परराष्ट्र मन्त्रालय, मन्त्री, प्रधानमन्त्री र पार्टीलाईनै अत्यधिक बिवादमा तानेकाले यस पटक कांग्रेस पार्टी, नेता, परराष्ट्र मन्त्रालय र मन्त्री सबै झस्किएका, सतर्क बनेका छन् ।

एकातर्फ डा. बद्रि केसी पक्ष आर के शर्माको टिम कस्तो बन्छ भनेर हेरिरहेको छ । तर उति चिन्तित भने देखिन्न । उता महेश श्रेष्ठ पक्षकाहरु आर के शर्माको भन्दापनि डा. बद्रि केसीलाई कसरि मनाएर सर्वसम्मत बनाउने, कुनै हालतमा नछोडेमा के गर्ने, कस्तो टिम बनाउने, केसीको टिम कस्तो बन्छ भनेर हेरिरहेका छन् । उनीहरु सकेसम्म बद्रि केसीलाई प्रमुख संरक्षकमा प्रस्ताब गरेर महेश श्रेष्ठको पक्षमा समर्थन, सर्वसम्मति लिने अधिकतम प्रयासमा छन् । केसी पक्षले नछोड्नेगरि उत्रिएमा तिनको टिम हेरेर आफ्नो रणनिति बनाउने ‘केहि समय पर्ख र हेर’ पक्षमा छ ।

उता आर के शर्माले भने पार्टीको तर्फबाट समर्थन लिईसकेको चर्चा छ । माओवादी अध्यक्ष र प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ लेसमेत समर्थन दिएको चर्चा छ । उनले टिम बनाउन उति ध्यान दिएका छैनन् बरु आफ्नो पक्षमा माहोल बनाउन बिभिन्न देशको दौडाहामा छन् ।

तपाइँको प्रतिक्रिया