सन् २०२६ भित्रै डेनमार्कमा नेपाली सांस्कृतिक केन्द्र बनाउने महत्वाकांक्षी अवधारणा
डेनमार्कमा नेपाली डायस्पोराको उपस्थितिको इतिहास लामो छैन। फरक संस्कृति, फरक भाषा र फरक भूगोलबाट डेनमार्क आइ आफ्नो पहिचान खोजि गरिरहेका नेपालीहरु छन् । ति अरु बेला व्यस्त भए पनि सप्ताहान्तमा भेटघाट गर्छन्। फुटबल, भलिबलका साथै अन्य खेलहरु खेल्छन्। गर्मीयामको बिदामा पारिवारिक जमघटका कार्यक्रम गरेर रमाइला रमाइला नेपाली मौलिक गीतहरू गाउने र पन्चे बाजा बजाउने गर्दै आएका छन् । नाचगान गर्ने, नेपाली मौलिक परिकारहरू मम, सेलरोटी, अचार, चटनी, खीर आदि बनाउने र खाएर रमाईलोसित समय बिताउँछन् ।
कुनै जमघट होस् वा कुनै नेपाली बालबालिकाको अन्नप्रासन् । वा गुन्युचोलो वा ब्रतबन्ध नै, कुनै सौखिन नेपालीको बैवाहिक महोत्सव वा कुनै उत्सव । वा बिवाहको २५ वर्ष पुगेको वर्षगाठनै किन नहोस सबै अट्ने, नेपाली भेषभुषा र संस्कृति निर्धक्कसँग गर्न पाइने थलोको अभाव भने यहाँका नेपालीमा खड्कीरहेको छ ।
डेनमार्कमा नेपाली संस्कार र संस्कृतिलाई थप सशक्त र सम्बर्धन गर्न विभिन्न राजनैतिक, गैरराजनीतिक तथा सामाजिक र साहित्यिक संस्थाहरूले महत्त्वपूर्ण योगदान दिएका छन् । यसै प्रसंगमा यी सबै कार्यहरु एकै थलोबाट होस् र यी कार्यहरुमा सहभागी हुन कोहिपनि बन्चित हुन् नपरोस भन्ने मनसायले डेनमार्कमा बस्ने नेपालीहरु बिच डेनमार्कमा नेपाली सांस्क्रितिक केन्द्र (नेप्लिज कल्चरल सेन्टर इन डेनमार्क) को अवधारणा अघि सारिएको छ ।
डेनमार्कका लागि नेपालका महामहिम राजदूत प्रा. डा. रामस्वार्थ रायलाइ नेपाली राजदुताबास डेनमार्कका नियोग उपप्रमुख तीर्थ अर्यालको सहभागितामा डेनमार्कस्थित नेपाली राजदुतावासमा डेनमार्कमा बस्ने नेपाली समुदायका प्रतिनिधिहरुले नेप्लिज कल्चरल सेन्टर इन डेनमार्कको अवधारणापत्र हस्तान्तरण गरेर सार्बजनिक गरे ।
डेनमार्क-नेपाल दौत्य सम्बन्ध स्थापनाको ईतिहास र नेपालीहरुको डेनमार्क आगमन सम्मका कुराहरु राखेर नेपाली कल्चरल सेन्टर डेनमार्कमा स्थापनाको आवश्यकता, हुनसक्ने चुनौती र सम्भावनाहरुको विश्लेषण गरी कसरी सबै नेपालीलाइ कल्चरल सेन्टरको स्थापना गर्न सकिन्छ भन्ने अवधारणा सहित लेखिएको अवधारणापत्र बुझ्दै महामहिम राजदूत रायले डेनमार्कमा यस्तो कल्चरल सेन्टर नेपालीहरुको आवश्यकता भैसकेको र यसको लागि राजदुतावासले सक्दो सहयोग गर्ने बताउनुभयो ।
करिब ६ महिना अगाडी दुतावाससँगको छलफलपछि विभिन्न चरणको अनुसन्धान, आपसी भेटघाट, बिज्ञसँगको छलफल र डेनमार्क जस्तै नेपाली बसोबास गर्ने अन्य देशहरुको यस्तै कार्यमा भएका सफल-असफल चरणहरुलाई समेत अध्ययन गरि तयार गरिएको अवधारणा पत्रमा यसका लिमिटेसन, मेथाडोलोजी र उपलब्धिहरु बारे लेखिएको छ । डेनमार्कमा बसोबास गर्ने अन्य देशबाट आएका आप्रबासीहरुको यस्तो कल्चर सेन्टर के कस्ता छन् र ति कसरी बने, कसरी चलेका छन् भन्ने समेत अध्ययन यस अवधारणापत्रमा उल्लेख गरिएको छ ।
अमेरिका, नर्बे, बेल्जियम जस्ता देशहरुमा भएका प्रयासको बिस्तृत ‘केस स्टडी’ गरेर बलियो पक्ष, कमजोरी, अवसर र चुनौती बारे समेत लेखिएको यस अवधारणापत्रमा डेनिस सरकारले यस्ता समुदायलाई गर्ने सहयोग र नेपाल सरकारको भूमिका बारे समेत खुलाइएको छ।
यसैगरी कुन मोडलमा संचालन गर्न सकिन्छ र डेनमार्कको कुन क्षेत्रमा भवन निर्माण गर्दा कति सम्म खर्च हुनसक्छ भनेर प्रारम्भिक बजेट अनुमान समेत गरिएको छ ।
विभिन्न ६ चरणमा निर्माणकार्य सम्पन्न गर्ने लक्ष राखेको यस अवधारणापत्रले पहिलो चरणको सुरुवात २०२३ को अगस्तलाइ मानेको छ भने २०२६ भित्र सम्पूर्ण निर्माण कार्य सम्पन्न गरिसक्ने खाका प्रस्तुत गरेको छ । यसको दोश्रो चरणमा यसै वर्षको डिसेम्बर सम्ममा डेनमार्कमा बस्ने प्रत्येक नेपालीहरुको घर घरै गएर छलफल गर्ने, समुदायका प्रत्येक संघ, संस्थासँग छलफल चलाउने, सहकार्य गर्ने र बिज्ञ सहितको एउटा निर्माण कमिटी बनाउने नीति यस अवधारणापत्रले लिएको छ ।
कस्तो हुन्छ त तपाइहरुले बनाउने नेपाली कल्चरल सेन्टर ? महामहिम राजदूत प्रा. डा. रामस्वार्थ रायको प्रश्नमा अवधारणापत्र लेखनका एक सदस्यले माहामहिमलाइ बुझाउँदै भने “हुन त यी कुराहरु अवधारणापत्रमा बिस्तृत लेख्न सकिएन । तर सारांशमा नेपालको प्रवर्धन गर्न सहयोग गर्ने नेपालीपन झल्किने भवन सहितको सुबिधा सम्पन्न भौतिक संरचना नै नेपाली कल्चरल सेन्टर हो।”
भवनलाई नेपाली बास्तुकलाले सुसज्जित गरि नेपाल चिनाउने, नेपाली मौलिक कला संस्कृतिहरुको प्रवर्धन गर्ने, नयाँ पुस्ताहरुमा नेपाल चिनाउँदै नेपालसँग जोडिराख्ने र समाज हितकर सेवा प्रदान गर्ने लगायतका उद्देश्य सहितका योजनाहरु चन् । जस्तै यहिँ जन्मेका दोश्रो पुस्ताका नेपाली बालबालिकाहरुलाई नेपाली भाषा सिकाउने भाषा स्कूल, नेपालबाट डेनमार्क घुम्न आउनुभएकाहरुलाई बातचित तथा भेटघाट गर्ने थलो, नेपाली भाषा चौतारी, नेपाली भाषा साहित्यका किताबहरु, पत्रपत्रिकाहरु संग्रह गरेर राखिने नेपाली पुस्तकालय, बोलिनु पर्ने नबोलिएका कुराहरु तथा खोलिनुपर्ने नखोलिएका कुराहरु माथिको अनौपचारिक वहसको साझा खुल्ला मंच, सार्वजनिक सरोकार तथा महत्वका सबै विषयवस्तुहरुको छलफल गर्ने डवली वा औपचारिक विषय वस्तुहरु माथिको अनौपचारिक मन्थन गर्ने मजेरी जस्तो हो नेपाली कल्चरल सेन्टर ।
नेपाली सामाग्रीहरुको संकलन गरेर राख्ने नेपाली म्युजियम, प्रौढ हुनु भएका अग्रजहरुलाई नेपालीपनको चिया चमेना गफ गर्ने थलो, नेपाली बिहे ब्रतबन्ध लगायतका परम्परागत शैलीका कार्यक्रमको लागि उचित व्यवस्था गर्ने, मन्दिर र गुम्बाको स्थापना गर्ने, नेपाली संघ संस्थाहरुलाई सहज हुने गरि कार्यक्रम तथा सभाहल व्यवस्था गर्ने, योगा, ध्यान केन्द्र, पूजापाठ लगायत नेपाली नाचगान, समय समयमा पन्चेबाजा, मादल, खैंजडी घन्काउने देखि लाखेनाचसम्म देखाउन सकिने लगायतका धेरै योजनाहरुको एकमुस्ट परिकल्पना नै समस्टिमा नेपाली कल्चरल सेन्टर हो।
नेपाली कल्चरल सेन्टरको निर्माणमा चाहिने आर्थिक स्रोत कसरी जुट्छ त ? डेनमार्कमा नेपाली समुदायको उपस्थिति त्यति बाक्लो पनि छैन भन्ने नेपाली राजदुताबास डेनमार्कका नियोग उपप्रमुख तीर्थ अर्यालको जिज्ञासालाई अवधारणापत्र लेखनमा रहेका सदस्यहरुले नेपाली सांस्क्रितिक केन्द्र (नेपाली कल्चरल सेन्टर) को आर्थिक पाटोबारे बिस्तृत धारणा राखेका थिए ।
डेनमार्कको सामुदायिक भवनको स्तर अनुरुप बनाउँदा करिब ४०० मानिस अट्ने हल र अन्य सुविधाका साथै दुइ तल्ले यस्तो खालको भवन करिब ४५० बर्गमिटर बराबरको चाहिन्छ । अवधारणापत्रले कल्पना गरे बमोजिमको भवन बनाउँदा डेनमार्कको स्तर अनुसार आजको बजारमूल्यमा ७० लाख डेनिस क्रोनर भवन तथा यसले चर्चने जग्गाको लागि पर्दछ । बाँकि सौन्दर्य तथा अन्य फर्निसिंगको लागि ३० लाख डेनिस क्रोनर पर्दछ । यसरी कुल मूल्य एक करोड डेनिस क्रोनर लागत भएको यस नेपाली कल्चरल सेन्टर बन्न लाग्ने आर्थिक स्रोत जुटाउन जटिल भएपनि असम्भव नभएको सदस्यहरुले बताए ।
उनीहरुका अनुसार डेनिस सरकार र नेपाल सरकारबाट आर्थिक सहयोग हुने सम्भावना न्यून देखिएकोले त्यतातर्फ आआफ्नै तरिकाले लबिङ्ग गर्ने योजना भए तापनि पुरा आश्रित चाहिँ डेनमार्कमा रहेका नेपाली समुदाय र नेपाल बाहिर विभिन्न देशमा रहेका नेपाली समुदायसँग रहने छ ।
एक अनौपचारिक जानकारी अनुसार डेनमार्कमा स्थाई बसोबासका लागि दर्ता भएका नेपालीहरु करिब ६ हजारको आसपासमा रहेको बताईन्छ। यो भनेको करिब एक हजार परिवार हो । एक परिवारबाट करिब २० हजार दुइ किस्तामा (१० हजार र १० हजार) मात्र संकलन गर्न सकियो भने नेपाली कल्चरल सेन्टर डेनमार्कमा स्थापनाको कार्यको लागि पुरै आर्थिक ब्यवस्था हुन्छ।
त्यस्तै अवधारणापत्र सार्वजनिक गर्ने क्रममा आज यस अवधारणापत्र लेखनका सदस्यहरुले गैरआवासीय नेपाली संघ डेनमार्कको कार्यसमितिका पदाधिकारीहरुसँग छलफल गरेका छन् ।
यो त अवधारणापत्र मात्र हो र अब डेनमार्कको नेपाली समुदायले एक जुट भइ यो अवधारणापत्रलाई मुर्तरुप दिन लाग्नुपर्ने छ । त्यसैले अब हामी ब्यक्ति ब्यक्ति भेट्ने छौं । हर घर, हर समुदायमा जान्छौं। र यही समुदायका अग्रज, बिज्ञहरुको समुहबाट एउटा कार्यकारी समिति बनाउने छौं र कार्य सुरु गर्ने छौं । यो महत्वाकांक्षी परियोजना हामी सबै नेपालीको हो र सबै नेपालीको साथले यसलाई सफल पार्नेमा हामी ढुक्क छौं ।
यस समितिले पहिलो चरणमा समाजका दिग्गज व्यक्तित्वहरुसँग सर-सल्लाह, सम्बन्धित बिज्ञसँग विचार बिमर्शका साथै डेनमार्क स्थित कानुनी परामर्श दाता, नगरपालिकाका मेयर, कम्युन लगायत, बैंकका साथै यस योजनासँग प्रत्यक्ष परोक्ष सम्बन्ध राख्ने सरोकारवालाहरुसँग गहन छलफल गरेर आयोजनाको मोडल तयार गर्ने छ । र तोकिएको समय अवधि भित्रनै कार्यान्वयनमा जानेछ ।