शुक्रबार, असोज १८, २०८१

‘तिमी नि घरबेटी भएछौ’

निल थापा / कोपेनहेगन, डेनमार्क२०८० भदौ १२ गते १६:४३

एसएलसि सकेर काठमाडौंमा पढ्न बस्दा डेरामा बस्ने कुराले चिन्तित थिएँ । सुरुमा आफन्तको घरमा बसेपनि आफ्नै तरिकाले डेरामा बसेर पढ्ने रहर जाग्यो म भित्र। स्वतन्त्र र आफ्नै तरिकाले डेरामा बस्न मेरो आफ्नै मनले बल पुर्यायो।

काठमाडौंमा डेरामा बस्दा मलाई छुट्टै आनन्दको अनुभव भयो। आनन्द अनुभूति हुनुमा अर्को राम्रो पक्ष थियो, घरबेटी दाइ र घरबेटी भाउजू।

मेरा घरका बाआमा जतिकै थिए मेरो लागि उनीहरु । साह्रै स्नेही अनि दयालु।

पढ्दै जाँदा आईकम पश्चात् स्नातक तहको विधार्थी हुँदै गर्दा एक प्राईभेट कम्पनीमा बजार प्रतिनिधिको रुपमा काम सुरु गरेको थिएँ ।

प्राय : शनिबार कोठा सफा गर्ने, लुगा धुने र सिनेका हेर्ने काम हुन्थ्यो मेरो। कहिलेकाहिँ साथीहरु सँग घुमेर समय बिताउँथें । कहिलेकाहिँ पढेर समय कटाउँथें।

कहिलेकाहिँ घरबेटी दाइ भाउजूको कोठामा गई गफ गरेर वा सिनेमा हेरेर समय कटाउँथें।

शनिबार कहिलेकाहिँ साँझ घरबेटी दाईले बोलाएर आफैं खाजा बनाईवरी खुवाउँथे। घरबेटी दाइ र मेरो सम्बन्ध असाध्यै आत्मीय थियो।

जागिर खानुभन्दा पहिले घरबेटी दाईको कोठामा गएर प्रत्येक शनिबार दिउँसो सिनेमा हेर्थें । शनिबार परिवारै बसेर सिनेमा हेर्ने समय थियो त्यतिखेर।

जागिरे भएपछि तिनै घरबेटी दाईको एउटा टेलिभिजन किनेको थिएँ । उनको घरमा पूरानो एक्काईस ईन्चको रंगिन टिभी थियो। घरबेटी दाईले अलि ठूलो नयाँ टिभी लिएका थिए।

एक्काई ईन्चको त्यो टिभी प्रति महिना एक हजार तिर्ने सर्तमा एक्काईस हजारमा लिएको थिएंँ। उनले त्यतिखेर तीस हजारमा किनेका थिए रे त्यो टिभि भन्थे मलाई।

टिभी किनेपछि मेरो कोठामा साथीहरुको बाक्लो जमघट हुन थाल्यो। भिसिडि र सिडिको जवाना थियो।

चाईनिज सिडि किनेको थिएँ तीन हजार जतिमा। टिभी र डेक (सिडि) भएपछि सिनेमाको सिडिहरु आफैं बोकेर आउँथे मेरो साथीहरु ।

साथीहरु सबैको मनपर्ने सिनेमा एउटै हुन्थ्यो, जो परिवार सँगसँगै बसेर हेर्न नमिल्ने खालका हुन्थे।

कोहि साथीहरु त शुक्रबार लाग्यो कि मासु रक्सि वा बियर बोकेर आउँथे। सुरु सुरुमा मैले कुनैपनि रक्सि वा वियर पिईन । पछि पछि भने बिस्तारै पिउन सुरु गरें । सायद संगतको असर भनौं मैले आफैले आफूलाई नियन्त्रण गर्न सकिन।

मैले पिए पनि आफ्नो विधार्थी जीवन र जागिरे जिवनमा असर पर्ने गरि पिईन। साथीहरु मसँग प्राय पेजर वा घरबेटीको फोन नं मार्फत सम्पर्कमा रहन्थे। पछि भने कम्पनिले मोवाईल दिएको थियो।

मेरो डेरामा पाँच छ जना साथीहरु यति धेरै आउँथे कि घरबेटी दाई र भाउजुलाई उनिहरु सबैजनाको नाम कन्ठ थियो।

घरबेटी दाई सार्है रमाइला अनि सहयोगी पनि थिए। आफूले पढ्न नसकेको कुरा सुनाउँदै पढ्ने मान्छेलाई सार्है माया गर्थे उनी। ‘मैले पढ्न सकिन तैले राम्रोसँग पढ है थापा’ भन्थे बेलाबेलामा।

घरबेटी भाउजुले झन् मलाई छोराको झैं ब्यहार गर्ने। ईमान्दार साथ भन्नू पर्छ जति घरबेटी दाइ भाउजूले म माथि विश्वास गरेका थिए त्यसरी मैले पढ्न सकिन।

मलाई काठमाडौंमा डेराको जीवन (कोठा भाडा लिएर बस्दा) बिताउँदा कोठामा बस्नेलाई त्यतिको मायाँ गर्ने मान्छे हुन्छन् जस्तो लाग्थेन सुरु सुरुमा।

मैले राँगाको मासु पहिलो पटक त्यहि घरमा डेरा बस्दा खाएको हो । घरबेटि दाईले नै जिस्क्याउँथे ‘तँ दुब्लो छस् राँगाको मासु खा, मोटाउँछस् केटा ।’

प्राय घरबेटी दाईको भान्सामा राँगाको मासु छुटदैन थियो। मैले त्यो घरमा राँगाको मासु र साँधेको आलु अनि चिउरा धेरै खाएँ । पछि भने मासु काट्ने ठाउँको फोहोर देखेर नै खान छाडेको थिएँ।

एस एल सि पछाडि सुरुमा अध्ययनका लागि काठमाडौंमा आफन्तकोमा बसेको थिएँ म। छ महिना पछि मलाई आफन्तको घर बोझ झैं भयो। त्यसपछि डेरा खोज्ने क्रममा यो कोठा र यस्ता प्रिय घरबेटी पाएको थिएँ।

कलेज सुरु गरेदेखि स्नातकोत्तरसम्म म तिनै घरबेटी दाईको घरमा बसेर पढाइ सकें।

म आफू मात्र पढिन सुरुसुरुमा उनका छोरा, त्यहि घरमा डेरामा बस्नेका छोराछोरी लगायत अन्य टोलका केटाकेटीहरुलाई समेत पढाउन थालें।

सुरुमा सित्तैमा पढाए पनि पछि यो मेरो पेसा भयो। मेरो विध्यार्थी कालमा केही पैसा आर्जन गर्ने बाटो बन्यो। घरबेटी भाउजूले नै विध्यार्थि खोज्न सहयोग गरिन्। उनै भाउजूले सुरुमा प्रति विध्यार्थि एक सय पचास देखि दुई सयका दरले शुल्क पनि उठाईदिईन् । मैले जागिर सुरु गर्नुभन्दा अगाडि यसरी घरमा बच्चाहरु पढाउँथें।

कोठामा सबै छुट भएपनि हिटर बाल्न दिँदैन थिए। स्टोभले धुवाँ धेरै फाल्ने हुनाले ग्यास सिलिन्डर लिएँ। बच्चा पढाएर उठेको पैसाले घरबेटी भाउजुले नै ग्याँस र चुलो किन्ने सल्लाह दिईन् ।

ग्यास चुलो र सिलिन्डर किन्दा नपुग्या पैसा घरबेटी भाउजूले नि थपिदिनु भएको थियो। मैले पछि कमाएर तिरें त्यो पैसा।

ग्यासको सिलिन्डर बाहिर राख्नुपर्थ्यो सुरुका दिनमा। सिलिन्डर पड्कियो भने सायद घरमा क्षति पुर्याउँछ भनेर होला। अलि डराउँथे दाइ भाउजू नै। काठमाडौंमा ग्यास सिलिन्डर धेरै चोरिन थालेको थियो । त्यसपछि भने भित्रै राख्न दिए।

जागिरबाट अलि पैसा बचाएर किस्तामा नयाँ मोटरसाईकल लिएको थिएँ मैले। घरबेटी दाईले मोटरसाइकल लेको दिनकै साँझ सोधिहाले ‘पार्टी कहिले हो ?

मैले तुरुन्त भनें ‘आजै ।’

भाउजूले मासु र अचार बनाईन् । मैले रोयल स्टेग ह्वस्कि किनें । घरबेटी दाइ, त्यही घरमा डेरामा बस्ने अर्को एक जना दाइ र म भएर पार्टी मनायौं ।

त्यो दिन घरबेटी दाईले भाउजूलाई हेर्दै जिस्काएर भनिहाले ‘थापाले उमेरमै लभ गर्ने भो।’

घरबेटी दाईले सार्है दुख गरेर घरघडेरी जोडेका थिए। मलाई दुखका कुरा सुनाई राख्थे बेलाबेलामा।

घरबेटी दाइ र भाउजूले कहिल्यै घरभाडामा किचकिच गरेनन् म सँग । महिनाको सात सय पचासमा बसेको कोठाको भाडा मैले कोठा छाड्दा १३ सय थियो। अहिले सम्झँदा कथा जस्तै लाग्छ।

एक दिन शनिबार घरबेटी दाईले खाजा खान बोलाए। खाजासँगै चामलको रक्सि दिए। खाजा खाँदै जादा आफ्ना कुरा सुनाउन थाले दाईले ।

सुन् थापा (उनले कहिले काहीँ थापा भन्थे मलाई), मैले पढ्न सकिन। आमाले घिउ बेच्न बजार पठाएकि थिईन् मलाई। घरबाट एउटा सानो टिनको बट्टामा भएको घिउ बेच्न लान्छु भनेर हिँडेको मान्छे म गाउँनै फर्किन भन्दै कुरा सुरु गरे दाईले । ‘घिउ बेचेको पैसा साठी रुपैया लिएर तेत्तीस सालमा काठमाडौं छिरेको हो म।’

मुल घर पाल्पा भएका घरबेटी दाइ घिउ बेच्ने नाऊँमा घर छाडेर साथीहरुसँग काठमाडौं छिरेका रहेछन्।

काठमाडौं पहिलो पल्टआउँदा उनलाई बेस्सरी जाडो लाग्या थियो रे, उनले सुनाउँदै गए।

काठमाडौं छिर्ने बित्तिकै कालीमाटी चोकमा बास बसेँ । पैसा जोगाउन कालीमाटीमा नै भरियाको काम गरें। बाटोमा बसेको देखेर एउटा व्यापारी जस्तो व्यक्तिले सोध्यो ‘भारी बोक्छस् केटा?’ उनले सहजै स्विकारेछन् ।

दुई दिन कालीमाटीमा भारी बोकेपछि अर्को एक ब्यक्तिले घरमा रंग लाउने काम लाईदियो रे । ‘भएको पैसा मासिन्छ भनेर आफ्नो पैसा लुकाएर काम गरें मैले’ भन्थे उनी।

‘घरमा रंग पाउने कामले मेरो जिन्दगी रंग्यायो’ भन्थे। जब रंग लाउने कामले सफलता दियो अनि मात्र सात वर्षपछि गाउँ फर्केर गए रे। सफलताका कुरा सुनाउन पाउँदा उनको अनुहार उज्यालो थियो।

‘रंगको काम गर्ने साहुले कोठा खोजिदिएका थिए । तीनजना साथीहरु एउटै कोठामा बस्थ्यौं हामी’ भन्थे उनी ।

काम गर्ने सिलसिलामा एउटा अफिसमा रंग लाउन पुतलीसडक पुगेछन् । दाईले आफ्ना कथा सुनाउँदै गए।

एकदिन रंग लाएर विचमा खाजा खान जाँदा बाटामा केटी (घरबेटी भाउजू) भेटें। केटी (भाउजू) हेर्दै सोझी लाग्यो रे । एक हप्ता जति रंग लाउन जाँदा आउँदा उनले घरमात्र हैन ती (केटी) भाउजुको मन भित्र पनि मायाको रंग लाएछन्। घरबेटी दाईको भाषामा लभ पर्यो रे। गर्वसाथ सुनाउँथे उनी।

बिस्तारै घरबेटी दाइ र घरबेटी भाउजुको हिमचिम बढेछ। भाउजू काठमाडौंमा जन्मिएकि। जे भए पनि दाईभन्दा धनी परिवारको । जात भने दुवैको नेवार । दाइ भने डेरामा बस्ने फेरि पढाई पनि गतिलो नभएक‍ो। काम पनि घरमा रंग लाउने। त्यहि नि ‘जे होला देखा जाला’ भन्दै नडराई दुबैजना नियमित भेटघाट भयो रे।

एकदिन दुईजना नयाँ रोडको रंजना हलमा सिनेमा हेर्न गएछन्। सिनेमा हेर्दा मध्यान्तरमा भाउजूको आफन्तले देखेर घरमा कुरा लगाईदिएछन्। भाउजूको आमाले थाहा पाएर बेसरी भाउजूलाई कुचोले पिटिन् रे।

नजिकै रहेर हामी दुईजनाको कुरा सुनिरहेकि भाउजूले पनि यो कुरामा सहमति जनाईन् ।

मैले उत्सुकताका साथ सोधें ‘अनि के भो त दाइ ? ‘

घरबेटी दाइले गिलासको रक्सिको चुस्कि लाउँदै कुरा अगाडि बढाए -बिवाह गर्छु भनेर माग्न गएको, दिएनन् । अनि एक हप्ता पछि भगाएँ ।

भाउजू भगाएको भन्दा ओठमाथि जुँगा नभए पनि ताऊ लाएको जस्तो गरेरे घरबेटी दाईले भाउजूतिर हेरे।

भाउजू भने हाँसिन मात्र ।

घरबेटी दाईले कुरा सुनाउँदै गए- भाउजूलाई भगाएर मैले मैतिदेवि लगेर राखें नयाँ डेरामा। छ महिनासम्म पारिवारिक बोलचाल नभए पनि छ महिना पछि भाउजूका आफन्तले स्विकार गरे । त्यसपछि समस्या भएन रे।

बिहेको दुई वर्षपछि भाउजू दुईजिऊकि (बच्चापाउने) भईन। मेरो नि काम राम्रो हुँदै गयो। रंग लाउन छाडेर आफैले घरको रंग लाउने ठेक्का लिन थालें । अनि अरुलाई काममा लाउन थालें।

मेरो सुखका दिन सुरु भए जस्तो लाग्न थालेको थियो । उनले अगाडि कुरा सुनाउँदै गए।

एक जाडोको दिन शनिबार घरमै थिएँ । भाउजुले अलि सन्चो भएन, जाडो भयो भनी। मैले दुईजिउकि श्रीमतीको जिऊ न्यानो होस् भनेर हिटर बालेर छाडें । त्यतिबेला बिजुलिको पैसा तिर्नु पर्दैन थियो। तर हिटर बाल्न दिँदैन थिए घरबेटीले। मैले कहिलेकाहिँ खाटमुनि राखेर लुकाएर बाल्थें।

शनिवार त्यो दिन हिटर के बालेको मात्र थिएँ घरबेटी पो आयो। मलाई के गरम के गरम भो । भाउजू खाटमा पल्टेर बसेकि थिई। मैले घरबेटीले देख्ला भनेर हतारमा नाङ्लोले हिटर छोपें।

ढोकामा उभिएर घरबेटीसँग दुई मिनेट के गफ गर्या थिएँ नाङ्लो त ह्वारह्वार बल्यो। नाङ्लो बलेको देखेर भाउजू आत्तिँदै उठेर बाहिर निस्किई। म पनि डराएँ। हत्तपत्त बाल्टिनको पानी खनाएर आगो निभाएँ। घरबेटि नि आत्तियो, घर आगो लाग्छ भनेर। धन्न केही भएन। आगो निभ्यो। घरका अरुमान्छे नि जम्मा भए।

घरबेटी बेस्सरी रिसायो। म बोल्न नसक्ने भएँ। सबैले मलाई बिजुली चोरेर बालेको पाप निस्कियो भन्दै गाली गरे। भाऊजु रुँदै भर्याङमै बसि। घरबेटीले रिसाउँदै ‘तुरुन्तै कोठा छोड्छस कि पुलिस बोलाउँ’ भन्यो।

म डरले लुग लुग कापेँ। कोठामा सामान भद्रगोल छ । ती माथि नाङ्लो निभाउन हालेको पानीले कोठा पोखरी जस्तो भयो।

मैले ‘कोठा छाड्छु’ भन्दै सामान मिलाएँ। ‘कोठा छा्ड्छु’ त भनें तर अर्को कोठा कहाँ खोज्नु?

एउटा ठेला ल्याएर सामान राखेर मैतिदेवी मन्दिरमा राखें। भाउजू र ठेलामा भएको सामान मैतिदेवीमा राखेर म कोठा खोज्न हिडें।

अब मैतिदेवी तिर कोठा पाईदैन । पाएपनि पछि हल्ला होला, अरुले थाहा पाउलान् भनेर म बिजुली बजार तिर कोठा खोज्न हिडें। तीन घन्टा पछि कोठा पाएँ । अनि ठेला र भाउजूलाई लिएर म नयाँ कोठामा आएँ।

‘मैले तिमीहरुले हिटर बाल्छौ भनेर डराएको हैन। मैले जस्तै ढाँटेर बाल्यौ भने केही दुर्घटना होला भनेर डराएको हो। तँलाई हिटर बाल्न मन छ भने भन, म छुटै मिटर जडान गरिदिन्छु।’

यति भनेर गिलासमा भएको बाँकि रक्सि फेरि घुटुक्क पारे उनले। मैले उनको आँखामा हेरें। उनका आँखा आँसुले रसिला भएका थिए। आँसु भने बाहिर झारेनन्।

मैले उनलाई जवाफ दिएँ ‘सार्है जाडो भए भने भनौला नि दाइ। उनले ठट्टा गर्दै भने ‘सार्है जाडो भए तोङ्वा खानु, नभए यहाँ म कहाँ आईज रक्सि खान।’ उनी हाँसे। म पनि हाँसे।

मलाई अर्ती दिदै घरबेटी दाईले कुरा थपे ‘रक्सि खाएपनि ठिक्क खानु। पढ्न नछाड्नु। प्रगति गर्नु। काठमाडौंमा घर बनाउनु। घरभएन भने काठमाडौंकाले छोरी दिदैनन्’ भन्दै घरबेटी भाउजूतिर हेरे दाईले।

म त्यो घरमा भाडामा बस्दा समेत उनको रंगको ठेक्कापट्टाको काम राम्रै चलेको थियो। म धेरेै पटक पिकनिक गएको छु उनका साथी तथा कर्मचारीसँग।

पछि त मलाई उनका आफ्न्त सबैले थापा भनेर चिन्थे। म सिन्धुलीबाट जुनार ल्याएको बेला त्यो घरमा डेरामा बस्ने र उनका आफ्न्त सबैलाई कोसेली भन्दै जुनार बाँड्थेँ ।

मेरो डेरामा धेरै साथीहरु आउने जाने गर्थे। बेलाबेलामा कलेजबाट केटी साथीहरु पनि आउँथे। केटी साथी आउँदा भने घरबेटी दाईले शंकाले हेर्थे।

म दश वर्ष त्यही घरमा बसें। आई कम पढ्न बसेको म। स्नातकोत्तर सकेर जागिर खान सुरु गरेपछि मात्र उक्त घर छाडें।

बस्ने घर छाडेपनि मनले त्यो घर कहिल्यै छाडेको थिएन। बेला बेला भेट्न गईराख्थें । दशैं र अन्य चाडपर्वमा पनि बेलाबेला भेट्न जान्थें।

पछि म विदेशिएँ । विदिशिए पनि नेपाल जाँदा बेलाबेला भेट्न गईराख्थे। एकपटक रेडलेवल ह्वस्कि बोकेर गएको थिएँ। घरबेटी दाइ खुसि भए। भनिहाले कोसेली सँगै खाने त होलानी।

मैले ‘हैन दाइ आज मिल्दैन पछि खाउला’ भन्ने जवाफ दिएँ । तर त्यो पछि बसेर खाने समय कहिल्यै मिलेन। आउँदा जाँदा भेट्ने क्रम भने जारी नै थियो।

बितेको तीन बर्षमा चार पटक नेपाल गएँ म। तरपनि मेरो कार्यब्यस्तताले घरबेटी दाइसँग भेट हुन पाएन।

यसपाली नेपाल जाँदा घरबेटी दाई बिरामी छन् भन्ने थाहा पाएँ। भित्रबाट भेट्न असाध्यै मन लाग्यो। उनी मेरो बाको उमेरका दौतरी थिए।

एकदिन बिहान नौ बजेतिर घरबेटी दाइलाई भेट्न पुगे। दाइ खाना खाँदै रहेछन्। सुगर र प्रेसरले गलेको अक्सिजन लिई राख्नु पर्ने भएछ घरबेटी दाईलाई ।

मलाई देख्ने बितिकै! ए ! तिमी आएछौ मेरो त अस्पताल जानू छ। डायलोसिस गर्नु छ आज। हप्तामा तीन पटक जानूपर्छ। त्यही भएर चाँडो चाँडो खाना खाएको। हतारमा सबै कुरा एकै पटकमा सुनाउन भ्याए घरबेटी दाईले।

मैले सुनिरहें।

घरबेटी भाउजू चिया पकाउँछु भनेर उठिन् । मैले ‘होस् भाउजू’ भन्दै रोकें।

घरबेटी दाईले सोधिहाले – ‘आमालाई कस्तो छ?

मैले जवाफ नदिँदै उनले कुरा थपे- तिम्रो बा बितेको थाहा पाएको थिएँ आउन सकिन । म आफै थला परें । कोराना भएको थियो फेरि त्यहिबेला। ‘जे भएपनि आमालाई चैं राम्रो गर्नु है’ भन्दै आशिर्वाद दिए।

मैले हुन्छ भन्ने भावमा मुन्टोमात्र हल्लाएँ।

खाँदाखाँदै उनले भनिहाले ‘लाउने खाने उमेरमा रहेछ। रोगले थिचेपछि केही नलाग्ने रहेछ भाइ । अहिले केही खानु हुँदैन। खाएपनि मीठो नहुने।

मैले मसिनो स्वरमा जवाफ दिएँ ज’ति रुच्छ खानु पर्छ नि दाइ।’

घरबेटी दाईले भने ‘मुख सुख्छ बेस्सरी । डाक्टरले पानी धेर नखा भन्या छ।’

‘उमेरमा पाँच लिटर रक्सि खान्थें, अहिले एकलिटर पानी नखा भन्छ डाक्टरले’ उनी डाक्टर सँग रिसाए।

मैले उतर दिएँ ‘सधै एउटै समय हुदैन दाइ । अब बुढेसकालमा फरक हुन्छ नि।’

उनले खाना खानै छाडेर भने- ६८ बर्षको भएँ। अहिले नै थला परें। उमेरमा जे नि मीठो लाग्थ्यो, अब त खाना हेर्न नि मन हुँदैन।

बिस्तारै खाएको थालमै हात चुठ्दै रातो गम्छाले मुख पुछे दाईले। म प्रति हेर्दै घरबेटी दाईले सोधे ‘छोरी कतिमा पढ्छिन?’

मैले जवाफ दिएँ ‘छ कक्षामा दाइ।’

‘अब कहिले आउने त नेपाल?’

‘दशैमा’ ।

उनले भनिहाले ‘छोरी बुहारी लिएर आयौ भने म कहाँ आउनु है यसपाली।’

‘हुन्छ’ जवाफ दिएँ।

घरबेटी भाउजू अस्पताल जाने तयारीमा लागिन्। म पुरानो त्यो घरका कुरा सम्झेर एकछिन भावूक झैं भएँ।

घरबेटी दाईले भनिहाल्नुभयो- तिम्रो घर हेर्न मन थियो, समय नै भएन। तिम्रो बिहेमा आउन पाईन। घरमा को को छ त ?

मैले जवाफ दिएँ ‘तपाईंलाई ठिक भएपछि जाँउला नि दाइ। अहिले त कोई छैन। भाडामा दिएको छु ।’

मेरो कुरा सुनेर खुसिले हाँस्दै उनले जवाफ दिए ‘ए ! ल ! तिमी नि घरबेटी भएछौ।’
उनको कुराले म पनि हाँसेँ।

बिरामी भएपनि आधाघन्टा मसँग खुलेर कुरा गरे घरबेटी दाईले।

मेरो बासँग राम्रो चिनजान थियो उनको। भनिहाले -सार्है असल थिए थापा काजी।
चुरोट बढि पिउने चैं खराब बानी थियो। अलि बेलैमा बित्नु भयो। रोगले आफ्नो र उमेर नभन्ने रहेछ भाइ ।

म चुपचाप बसें।

घरबेटी दाईले आँखाभरि आँसु पारेर कुरा थपे ‘म पनि थला परिहालें । उठ्न बस्न खान हिँड्डुल गर्न मान्छे चाहिने भो। अब धेरै समय बाँच्दिन कि जस्तो लाग्छ।’

उनी एकछिन टोलाए झैं गरे।

मैले ‘सबै ठिक हुन्छ दाइ’ भन्ने जवाफ दिएँ ।

घरबेटी भाउजू अस्पताल जान तयार भएर आईन् ।

मैले ‘ल दाइ अब म जान्छु राम्रोसँग अस्पत्ताल गएर आउनुस ह‌ै’ भनेर बिदा मागेँ ।

उनले मन खिन्न पार्दै भने ‘केही पनि खाएनौं । खाना खाने गरि आउन त भोली पर्सि।’

मैले ‘अर्को पटक आउछु नि दाइ । बरु ! यसपाली म खाली हात आएँ । कोसेली केही भएन’ भन्ने जवाफ दिए।

उनले उत्तर दिए ‘तिमी आयौ भईहाल्यो नि। के ल्याउनु पर्छ र ? तिमीले ल्याएको पुरानो कोसेली त त्यतिकै छ। सँगै खान पाईएन।’

मैले सहानुभुति राख्दै जवाफ दिएँ ‘तपाईंलाई ठिक होस् अनि खाँउला नि दाइ।’

मेरो कुरा सुनेर उनले आँखाभरि आँसु पारे। मैले उनको मनको कुरा बुझें ।

‘म जान्छु दाइ अर्को पटक आउदा भेट्छु है’ म बिदा मागेर हिँड्न लागें।

‘दशैंमा छोरी लिएर नेपाल आए। मेरो घरमा पनि छोरी लिएर आउ है थापा ?’ उनले टाढैबाट कुरा थपे ।

‘हस् दाइ’ मैले बिदा मागें।

घरबेटी दाइ उभिएर कोठाबाट हेरिरहे। घरबेटी भाउजू बाहिर उभिएर मलाई बिदा गर्न आईन् ।

यतिकैमा घरबेटी दाईको आवाज सुनें फेरि ‘म मरिहाले पनि भाउजूलाई सम्झेर भेट्न आउनु है थापा ?’

दाईको कुराले भाउजू रुन थालिन्। दाइले आँखाभरि आँसु पारेर आफ्नै छोरालाई बिदा गरे झैं टाढैबाट हात हल्लाएर मलाई बिदाई गर्दै भने ‘तिम्रो विदेशको यात्रा सफल रहोस्।

मैले घरबेटी दाई भाउजू दुबै जनासँग आँखा जुधाएर हेर्न सकिन। गोजीबाट कालो चस्मा झिकेर लगाएँ । पछाडि नफर्किकन तीन तला माथिको भर्याङबाट छिटोछिटो तल झरें, केही नबोलिकन …..

तपाइँको प्रतिक्रिया