आप्रवासीका विविध रङ्ग
उ एक वयस्क हो । विदेश जान योग्य । विदेशलाई अचेल लाहुर भनिँदैन । बाजेको पालोको विदेश “हिन्दुस्तानको” लाहोर सहर थियो र त्यहाँ पुगेर गाउँमा फर्कनेहरूलाई लाहुरे भनिन्थ्यो । अहिलेको पालोको लाहुर यो धर्तीको जुनसुकै कुनो भयो । गैर आवासीय नेपाली संघका अभियन्ताहरूका फेसबुक पेजहरू हेर्दा थाह हुन्छ, नेपाली नपुगेको देश अब कतै बाँकी छैन । उ बेलाको लाहुरे सङ्गीतमा न्याउली चरी, तारा र जुनको माधुर्यता झल्किन्थ्यो । अहिलेको लाहुरे संगीत अग्ला विश्व प्रसिद्ध टावर या नदी नालाका छेउ देखाएर खिचिने टिकटिक मार्फत चिनिन्छ ।
हो उ वयस्क भयो । आमाले गर्भावस्था देखि नै उसलाई या उनलाई बडो जतनले हुर्काइरहेकी छिन् र “ठुलो मानिस” बनाउन सकौँ भनेर प्रार्थना गरिरहेकी छिन् । उनका वरपरका सबै वयस्कको यात्रा विदेश नै छ । उनले पनि एक विदेश जाने बालक जन्माउनेछिन् । यो उनको दोष होइन । हुनपनि आमाका लागि “साला पहाडमा” के थियो र ? पराले गुन्द्री जस्ता बारीहरू, तिनका कान्लामा लटरम्म काँडाले ढाकिएका ऐसेलु र लज्जावती मिश्रित घाँसहरू । तिनका काँडाले छिया पारेका उनका अङ्गुलका टुप्पाहरू । हातका नारी पाछ्ने गैरी पाखाका खरबारी, केही जोर गाईबस्तु र खरले छाएको एउटा घर जहाँ उनले केहि घन्टा रातको निन्द्रा बाहेक एकैछिन सुस्ताउने पनि फुर्सद पाइनन् ।
उनको मनमा स्वतन्त्र हुने चाहना घरी घरी पलाएर आयो । माझ चौताराका बर पिपलका पात हल्लिए झैं मनमा भुलुक्क भुलुक्क गर्ने ति स्वतन्त्रताका लाभाहरू हावामा फिर फिर नाच्थे । सुई सुई गर्ने बतास सँगै तल बेसीतिर दौडिन्थे ।
अहिले पनि गर्भवती कतिपय भाउज्यूहरूको अवस्था यहि छ । उहाँहरुलाई लाग्छ, यो गाउँ भन्दा राम्रो र सुखी गाउँ विदेशमा छ । प्रत्येक आमाले सिकाइरहेकी छिन् सरर गाडी गुड्ने ठाउँमा जीवनयापन गर्नुपर्छ । यस्तो नराम्रो देशमा होइन । आमाको त्यो सपना, आफन्तका टिकटक र फेसबुक हेरेर हुर्केका उसका साथी भाइ “साला पहाड” मात्र होइन देशै छाड्ने लाइनमा उभिएका छन् । काठमाण्डुको विमानस्थलमा विदेशी जहाजले ल्याएको हावाले उसमा रोमान्चकताको पखेटाहरु उमारेको छ । स्कुल र कलेजमा चिल्ला सडक र छुकछुक रेलका सपनाहरूको वर्षा भैरहेको छ । यो वर्षा रोक्ने न छाता छ, न छानो छ । यि यस्ता सपनाहरू हुन् जसलाई न घामले पोल्छ न भोकको त्रासले ।
फ्रान्सेली फोमाज (चीज), बर्गर, पिज्जा, कोकाकोला, रातो वाइनले देश प्रतिनिधित्व गर्छन् भने गुन्द्रुक, ढिँडो, सेलरोटी, अर्स, अनरसा, यि चिजहरूले मेरो मातृभूमिको प्रतिनिधित्व गर्दैनन् ? साँच्चै जन्मदिनमा काटिने केक मिठो कि अर्स ? दाल भात तरकारी मिठो कि पिज्जा ?
गोजीमा मास्टर कार्ड, नाडीमा मुटुको धड्कन नाप्ने घडी, एक चिल्लो गाडी र एउटा चिटिक्क परेको सानो घर र केही जोर “एडिदास” जस्ता ब्रान्डका लुगाहरू, वर्तमानका युवा चाहनाको बाहिरी रूप हो । जसलाई हामी “ठूलो मानिस” हुनुको अर्थ मान्न सक्छौँ । यो अर्थ यति विशिष्ट हुन्छ कि काठमाण्डु छाड्न गैरहेको एक नेपाली युवा त्यही विशिष्ठता प्राप्तिका लागि आफ्नो बाँकी जीवनलाई विदेशी संस्कृति र भाषाको रङ्गमा घुलाउन तयार छ । कार्तिक महिनामा सयपत्री र मखमलीले पुजिने उ आफू पुगेको भूमिमा नपुजिन पनि सक्छ । सयपत्री फूल देख्दा तिहारका सेल रोटी र देउसीको सम्झनामा डुब्न सक्छ । नेपालमा उ फागु पूर्णिमाको “फागु” हो । विदेश यात्राको पहिलो जहाजको पहिलो खुट्किलो सँगै आफ्नो रङ्ग छर्न थाल्छ उ । केही दशक पछि उसँग छर्नका लागि फागु मात्र होइन विदेशी भूमिको सुगन्ध पनि थपिनेछ ।
उमंगमय पखेटा पलाएका बखत उसलाई के थाह हुन्छ र कुन बोतलको पानीमा उ मिसिने छ र फिट हुनेछ । पाइन्टमा एसिडले बनाएको दाग झैँ नयाँ समाजमा उ बकुल्ला देखिनेछ या दुई भाषा र दुई फरक संस्कृतिका रागहरूको इन्द्रधनुष बन्नेछ । हुनसक्छ, उ दुर्घटनामा परेर अस्पतालको बेडमा कयौं वर्ष आफन्तको आगमनको पर्खाइमा बाँच्न पनि सक्छ । वर्तमानमा त उसले देखेको भनेको त्रिभुवन विमानस्थल बाहिरका गुडिरहेका सुटकेसहरु र उडान भरिरहेका सपनाहरू हुन् । लाखौँ सपनाका खातमा एक सुटकेस सपना बोकेर उ सजिलै विदेशको देश खोजिरहेछ जहाँ उसका सपनाहरु साकार हुन सक्छन् ।
उसलाई थाह नहुन सक्छ आफ्नो देश छाड्नु भनेको विदेशी भाषामा पोख्त बन्नु पर्छ भनेको हो । पोख्त भएपनि उताको समाजमा व्याप्त बिदेशका भेदभाव युक्त आँखाहरु र हाउभाउ स्विकार गर्नु हो । विदेशी भाषामा अभिव्यक्त गर्ने, नेतृत्व गर्ने, त्यहाँको रहन सहनमा भिज्ने क्षमता विकास गर्नु पर्छ भन्ने हो । नजाने पनि जानेको जस्तो देखाउनु हो ।
जस्तो कि म फ्रान्समा बसिरहेकी एक बहिनीको उदाहरण दिन्छु । उनलाई फ्रान्सेली भाषा बोल्न आउँदैन । एक दिन उनले काम विशेषले एक फ्रान्सेलीलाई गुगल ट्रान्सलेसन मार्फत तीन या चार दिनमा दिदीसँग भेट हुनेछ भनेर लेखिछन् । तीन या चारका बिच उनले कमा राख्न बिर्सिइन् र उनले लेख्दा ३४ दिन भएछ । अहो ३४ दिन सम्म भनेर फ्रान्सेली रिसाएछन् । मैले बहिनीलाई चाहिने ठाउँमा कमा राख या छोटा बाक्य लेख है गुगल ट्रान्सेलन गर्दा भनेर सुझाब दिएँ । यस्ता गल्ती या कमजोरीहरू त कति हुन्छन् हुन्छन् । अरु जस्तै देखिने बाहना गर्दा यिनि जस्तै नया युवक स्वयंलाई थाह हुँदैन जीवनमा कति पटक कहिलेसम्म उ चुक्नेछ र झुक्नेछ । कतिपटक सम्म उसलाई कुरा बुझे जस्तो लाग्नेछ तर पनि बुझ्न सक्षम हुनेछैन ।
निश्चयनै परदेश पुगेपछि, प्रवासी या आप्रवासी बनेपछि उसले त्यहाँको रङ्गमञ्चमा आफ्नो गच्छे अनुसारको भूमिका निभाउनेछ । त्यो सुखद र दुखद दुवै हुनेछ । बिकसित रङ्गमञ्च अनेकौँ छलकपट र रक्तरञ्जित इतिहासका बिजेताहरुद्वारा सिर्जित हुन्छ । शुरुमा अमृत लाग्ने यो रङ्गमञ्चमा दशकौँ वर्ष पछि पनि उसले आफूलाई जब रोजीरोटीकै लागि बिहान बेलुकाकै यात्रामा दौडिरहेको भेट्नेछ तब उसले “ठुलो मानिस” हुनुको अर्थ खोज्नेछ । उसका लागि “ठुलो मानिस” हुनु भनेको काम र बिदेशको गुलाम हुनेरहेछर कयौँ पटक शोषणमा पनि पर्नु रहेछ भन्ने पर्नेछ । यति श्रम आफ्नै देशमा गरेको भए केही जनालाई रोजीरोटी दिन सक्दो हुँ भन्ने भावना सृजना भएपनि उ न उताको र न यताको बनेको भेट्नेछ ।
फ्रान्समा फुल्ने पारिजात फूल र नेपालमा फुल्ने पारिजात फूलको सुगन्ध एउटै छ । फरक यति हो फ्रान्सको पारिजातको सुगन्ध चिल्ला र सुकिला बोतलहरूमा सजिएर परफ्युमका नाउँमा बिक्री हुन्छ । हाम्रो पारिजात राती फुल्छ र बिहान भुइँभरी हुन्छ ।
उसले प्रष्ट देख्छ, यो रङ्गमञ्चमा आफ्नो क्षमताले सक्ने एउटा अब्बल भूमिका पाउन बडो मुस्किल रहेछ । यस्तो बेला पक्कै पनि, उसले आफ्नो उत्पत्ति स्थललाई “विश्वासघात” गरेको अनुभव गर्छ । आफ्नो मातृभूमिको माया तीन गुना गर्छ । फूल पसलमा जाँदा सयपत्री फूल देख्दा तिहार संझनु, पेरिसको छेउमा रहेको लाशापेल गल्लीमा हिन्दीभाषी देख्दा वीरगञ्जको जस्तो गन्ध पाउनु, गमलामा फुलेको लाली गुराँस सुम्सुम्याउँदा देश सुम्सुमाए जस्तो लाग्नु जस्ता दुविधाका सँकेतहरु उसमा देखिनेछन् । कतै मनाङ र मुस्ताङ लेखिएका साधन या बस्तुहरू देख्दा हिमाली चिसोपन अनुभव गर्नु, पसलमा मेड इन नेपाल लेखिएका कार्पेटहरू देख्दा गर्वको अनुभुति गर्नु भनेको देश छाडेर विदेशी हूँदै गएको लक्षण हो जो सम्झनामा बाँचिरहेको हुन्छ । अनेकौँ दुइ प्रश्नहरूको खानी हो परदेशी, आप्रवासी या प्रवासी ।
फ्रान्सेली फोमाज (चीज), बर्गर, पिज्जा, कोकाकोला, रातो वाइनले देश प्रतिनिधित्व गर्छन् भने गुन्द्रुक, ढिँडो, सेलरोटी, अर्स, अनरसा, यि चिजहरू मेरो मातृभूमिको प्रतिनिधित्व गर्दैन ? साँच्चै जन्मदिनमा काटिने केक मिठो कि अर्स (अनरसा) ? दाल भात तरकारी मिठो कि पिज्जा ? जङ्गलको निउरो मिठो कि टिपेको केही मिनेटमै ओइलाउने सलाद ? मोही मीठो कि कोकाकोला ? पिँडालु मिठो कि आलु ? तीन पाने कोदोको रक्सी मिठो की ह्विस्की ? लेक जाने सिंढी राम्रो कि चिप्लो सडक ? यस्ता अनगिन्ती प्रश्नहरू उसका मनमा आउनेछन् जहाँ उसले दुवै चिजहरूलाई मिठो र राम्रो मान्नेछ ।
निश्चयनै भारी बोक्ने भरिया भन्दा सुटेड बुटेड गाडी चलाउने युवकले हाम्रो ध्यान तान्छ । पक्का यो हो कि विदेश लम्केका सबै वयस्कले गाडी चलाउने छैनन् । यो संसारमा भारी बोक्ने भरिया भइदिएनन् भने मानव सभ्यता माथि संकट आइपर्छ । हरेक मानिसको आफ्नो भूमिका छ संसारमा । तर त्यो भूमिका सुहाउँदो ज्याला प्राप्ति नै समयको माग हो ।
अर्को तरिकाले भन्दा विदेशिएको पुस्ता भन्नु एक मुकुन्डो हो । दुई अनुहार भएको । जो बाहिरबाट हेर्दा चिल्लो र रंगीन देखिन्छ । जुन रुपमा ढालेर बनाएको छ त्यस्तै देखिन्छ । काली देखिन्छ । गणेश देखिन्छ । शिव देखिन्छ । तर उल्टो हेर्यो भने खाल्डा खाल्डी र रङ्ग विहीन फुस्रो देखिन्छ । खोपिल्टा देखिन्छ ।
मूलतः हामी सबैलाई आफ्नो देश महान लाग्छ । आफ्नो देश प्रति हरेक नागरिकको अपनत्व बोध होस भनेर सानै देखि राज्यले विविध सांस्कृतिक विशेषताहरू सिकाएर एक सग्लो नागरिक उत्पादन गर्छ । उसका मनमा मेरो जति कन्चन र बहादुर देश कुनै छैन भन्ने पारिन्छ । यो एक अन्ध राष्ट्रवादको नमुना हो । जस्तो कि कुवाको भ्यागुतो उसलाई पनि त मेरो कुवा जति कन्चन अन्त छैन भन्ने लाग्छ । किनभने उसले बाहिरी संसार देखेको हुँदैन ।
सीमाना विभाजनको अर्थ निश्चित भूगोल भित्र एक देश रहनु हो । बलिया देशहरूले बस्न योग्य र अयोग्य देश भनेर सिमा भित्र पनि सीमा विभाजन गराइएका छन् । सबै देश भित्र मानिसहरू छन् । भ्रष्टाचार, गरिबी, सामाजिक भेदभाव र विकासका पूर्वाधारहरू हेरेर दुनियाँका सामु हरेक देशको हैसियत निर्धारण हुन्छ । जहाँसुकै पुगौँ हाम्रो देशको हैसियत दुर्बल देशको नागरिक हुनु हो । यस्तो देशको मानिस विदेशी भूमिमा पुग्नु भनेको त्यहाँ समायोजित हुने र हात मुख जोड्न पुग्ने अवस्थासम्म पुग्नु हो ।
मैले यो लेखमा जीवनका केहि कुरा बिर्सेर केहि प्राप्ति गरेका केहि « “सफल मानिसहरूको” मनोदशा बारे बोलेकी छैन ।
विश्वका कुना कुनाका भगवानलाई फूल मन परेजस्तै उज्यालो मन परेजस्तै हाम्रा भगवानलाई पनि फूल मन पर्छ । युरोपमा पियानो बज्दा हाम्रोमा बाँसुरी र खैँजडी बज्छ । मतलब संगीत त हाम्रोमा पनि मन पर्छ । जहाँ जाउँ मिल्दा सत्यताहरू बग्रेल्ती भेटिन्छन् । युरोपको संस्कृति विशाल र हाम्रो देशको कम होइन । फरक के हो भने हामीले हाम्रा कुराहरू खुलाएर देखाउन सक्दैनौं र भन्न पनि सक्दैन ।
पृथ्वीको सबै कुनामा रहेका मानिसले श्वास प्रस्वासमा लिने भनेको हावा नै हो । सबै मानिसले खाने भनेको मुख्य गरी गहुँ, चामल, मकै र कोदोकै परिकारहरू हुन् । पकाउने तरिका मात्र फरक छ । फ्रान्समा फुल्ने पारिजात फूल र नेपालमा फुल्ने पारिजात फूलको सुगन्ध एउटै छ । फरक यति हो फ्रान्सको पारिजातको सुगन्ध चिल्ला र सुकिला बोतलहरूमा सजिएर परफ्युमका नाउँमा बिक्री हुन्छ । हाम्रो पारिजात राती फुल्छ र बिहान भुइँभरी हुन्छ । अनि भोलिपल्ट आफू कुहिने जमिन बास्नादार बनाएर आफ्नो अस्तित्व समाप्त पार्छ ।
ग्रीक भाषामा नदीका देवता छन् जसलाई सेफिस्युस (केफिस्सुस्) भनिन्छ । उनको प्रिय फूल नार्सिस्युस हो । मातृभूमिमा “भगवान” शिवलाई मन पर्ने फूल छ जसलाई धतुरो भनिन्छ र औषधीय गुण बोक्ने फूल हो । विश्वका कुना कुनाका भगवानलाई फूल मन परेजस्तै उज्यालो मन परेजस्तै हाम्रा भगवानलाई पनि फूल मन पर्छ । युरोपमा पियानो बज्दा हाम्रोमा बाँसुरी र खैँजडी बज्छ । मतलब संगीत त हाम्रोमा पनि मन पर्छ । जहाँ जाउँ मिल्दा सत्यताहरू बग्रेल्ती भेटिन्छन् । युरोपको संस्कृति विशाल र हाम्रो देशको कम होइन । फरक के हो भने हामीले हाम्रा कुराहरू खुलाएर देखाउन सक्दैनौं र भन्न पनि सक्दैन ।
हामीलाई हामी भनेको अस्थिर मुलुकका केही नजानेका नागरिक हौँ जस्तो लाग्छ । तर होइन । कम्तीमा दुई भाषा बोल्ने हामी कयौँ विदेशी भन्दा अब्बल छौँ । यो कुरा विदेशमा बस्ने नेपालीलाई थाह छ । अझ वास्तविकता यो हो कि विदेशमा काम गरिरहेको नेपाली युवक या युवतीले त्यही देशको नागरिकले भन्दा धेरै गुना त्याग संघर्ष गर्छन् । देश छाड्ने बेला उसले अनुभुति गरेको हुँदैन कि उ चैतको महिनाको रुप्से झरनाको चिसो कन्चन र सङ्लो पानी हो । असारमा बङ्गालको खाडी आइपुग्दा उ धेरै मैलो भैसकेको हुनेछ । कयौँ पहाडी चट्टानहरूमा ठोकिदै घर जाँदा अनेकौं जलचर र बोटबिरुवाका तृष्णा मेट्दै जाँदा उसले आफूलाई नदीका अनेकौँ धार जस्तै परिवर्तित गर्दै लगिरहेको हुनेछ ।
आप्रावासी मानिस समय क्रममा उ कयौँ ठाउँमा ठोक्किनु पर्छ । कयौँ भेलको सामना गर्नुपर्छ । आफू खसेको ठाउँलाई मनमा राखेर उ सदैव बाँचिरहेको हुन्छ । अनि एक दिन उ समुन्द्रको खाडीमा बिलय हुनेछ । यसरी अस्तित्व विलय हुन बस काठमान्डुको विमानस्थलमा उभिएको वयस्कलाई आधा आधी शताब्दी लाग्नेछ । जुन बेला विदेशमा उसको नाति या पनाति पुस्ता जन्मेको हुनेछ । यो सबै कुरा आजको विमानस्थलमा गुडिरहेको सुटकेसमा कहाँ देखिन्छ र ? उसलाई लाग्छ, म बिदेशमा भएपनि मेरो मातृभूमिको सबै कुरा प्राप्त गरिरहेको हुनेछु ।