सोमबार, वैशाख २४, २०८१

ब्रिटिश आर्मीको ब्रिगेड अफ गोर्खाजभित्र तेक्वान्दो खेल स्थापित गरेका राष्ट्र राईको शोक सभा

नेपालप्लस संवाददाता / बेलायत२०८० असोज २१ गते १३:१८

सन् १९८३ मा ब्रिटिश आर्मीमा भर्ती भएएर ब्रिगेड अफ गोर्खाजभित्र तेक्वान्दो खेल स्थापित गरेका राष्ट्र राईको शोक सभा गरिएको छ ।

एनआरएनए यूकेले संघका पूर्व उपाध्यक्ष तथा वर्तमान स्पोर्टस कोअर्डिनेसन काउन्सिल संयोजक स्वर्गीय राष्ट्र राईप्रति शोक सभा गरेको हो । एनआरएनए यूकेको सन् २०१५–२०१७ कार्यकालका उपाध्यक्ष राई सगरमाथा तेक्वान्दो दोजाङका संस्थापक तथा तेक्वान्दो प्रशिक्षक थिए ।

सन् १९६५ अप्रिल १९ मा खोटाङ दिक्तेल, रुपाकोट मझुवागढी नगरपालिका ९ मा जन्मिएका राईको गत सेप्टेम्बर २१ मा ह्दयाघातका कारण निधन भएको थियो ।

शनिबार अल्डरसटस्थित आफ्नै कार्यालयमा आयोजित शोक सभामा बेलायतस्थित नेपाली संघसंस्था प्रतिनिधि र गोर्खा समुदायको उपस्थिति थियो ।

शोक सभाका सहभागीहरु बेलायतको नेपाली समुदायका एक सक्रिय अभियन्ता राईको असामयिक निधनले समाजमा ठूलो क्षति पुगेको भन्दै भावुक बने । उनीहरुले राईप्रति पुष्पगुच्छा र दीप प्रज्ववलन गरेर श्रद्धान्जली अर्पण गरे ।

एनआरएनए यूकेले आयोजना गरेको शोक सभामा पूर्व ब्रिटिश गोर्खा आकाश सुनुवारले स्वर्गीय राईको व्यक्तिगत तथा सामाजिक जीवनबारे चर्चा गरेका थिए ।

कार्यक्रममा बिजिडब्लुएस् अध्यक्ष मेजर रि। टिकेन्द्रदल देवानले भूतपूर्व गोर्खाहरुले आफ्ना सहयोद्धा र नेपाली समुदायले एक सच्चा राष्ट्रप्रेमी गुमाउनु पर्दा निकै पीडा महशुस गरेको भन्दै श्रद्धान्जली अर्पण गरे । फोनिज यूकेकी अध्यक्ष गोमा रानाले भावुक बन्दै कविता वाचन गरेकी थिइन् ।

कार्यक्रममा निकै भावुक बनेका एनआरएनए यूके अध्यक्ष गाहामगरले मास्टर राष्ट्र राईको निधनले संस्थाले एक निकट सदस्यमात्र नगुमाइ नेपाली समाजले नै एक असल र निष्ठावान समाजसेवी गुमाएको उल्लेख गरे । सो अवसरमा अध्यक्ष गाहामगरले राजेश राईलाई उनका दाई स्वर्गीय राईको तस्विर र शोक पुस्तिका पनि हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा पाइपर धुन र मौनधारण गरि स्वर्गीय राईप्रति श्रद्धान्जली अर्पण गरियो । १३ वर्षीया साया राईले पाइपर धुन बजाउँदा त्यहाँ सन्नाटा छाएको थियो ।

दिवंगत माष्टर राई तेक्वान्दो सिक्स्थ डान (डब्लुटिएफ, आइटिएफ) हुन् । उनले ब्रिटिश आर्मीमा छँदा धेरै प्रतियोगिता जितेर पुरस्कार प्राप्त गरेका थिए ।

नेपाली समुदायमा उनलाई स्पष्ट र खरो बोल्ने व्यक्तिका रुपमा लिइन्थ्यो । उनी चित्र कोर्न पनि सिपालु थिए । उनको एउटा चित्र २० हजार पाउण्डमा विक्री भएको र राईले उक्त चित्रबाट प्राप्त पैसा परोपकारमै खर्च गरेका थिए।

पूर्व बेलायती गोर्खा सैनिक राई परिवारसहित बेलायतको मेडस्टोन बस्दै आएका थिए । उनका श्रीमती सवनम राई, एक छोरा रेस्वन र एक छोरी छन्।

राईको अन्त्येष्टी किराती मुन्दुम संस्कार अनुसार आउँदो अक्टोबर २० तारिख ब्रोम्पटन गिलिङहामको ग्यारिसन चर्चमा गरिने भएको छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक