शनिबार, साउन १२, २०८१

‘भुइँमान्छेहरूको प्रतिनिधित्वका लागि एनआरएनए अध्यक्षमा मेरो उम्मेदवारी’ आर के शर्मा

नेपालप्लस संवाददाता / पेरिस२०८० असोज २७ गते २०:२६

राजेन्द्र कुमार शर्मा (आर के शर्मा) मध्यपूर्वका नेपालीमाझ त चिनिएकै छन्, तर फ्रान्सका उच्चस्तरीय नीतिनिर्माणकर्ता, राष्ट्रपति जस्ता अब्बल राजनीतिज्ञहरूले अध्ययन गर्ने विश्वविद्यालयका विद्यार्थीपनि थिए र युरोपको भरपुर ज्ञान लिएका छन् भन्ने चाहिँ कमैलाई जानकारी छ । कतारमा बसेर व्यवसाय र पेरिसको विश्वविद्यालयमा स्नातकोत्तर एकैसाथ सकाएका उनी केही दिन पहिले पेरिसमा चुनावी दौडानका क्रममा भेटिएका थिए । गैर आवासीय नेपाली संघको केन्द्रिय अध्यक्षमा उम्मेदवारी दिएका उनलाई नेपाल प्लसका लागि अनुराधा पौडेलले उम्मेदवारीको औचित्यबारे जिज्ञासा राख्नासाथ भने “मेरो उम्मेदवारी भुइँमान्छेका समस्या सम्बोधन र नाति पुस्ता पनि विदेशमै श्रम गर्न हिँड्न नपरोस् भनेर देशलाई समृद्ध पार्ने एजेण्डाका लागि भएको हो ।’ हेर्नुस् आर के शर्मा सितको अन्तर्वार्ता-

गैर आवासीय नेपाली संघको उपाध्यक्ष हुनुहुन्छ । अध्यक्षनै हुनुपर्ने खाँचो किन पर्‍यो ?

आर के शर्मा

गैर आवासीय नेपाली संघ (एनआरएनए) को अभियान सन् २००३ मा रुसबाट शुरु भयो । यस संस्थाको पहिलो शाखा रुस थियो भने दोस्रोमा कतार थियो । यो अभियान अहिले ८० राष्ट्रमा फैलिएको छ र अहिले यो संघ २० वर्षको भयो । शुरुमा यो सङ्घलाई धनी नेपालीहरूको क्लब भनियो । गएको १० ओँ महाधिवेशनमा पदहरूको छिनाझप्टीमा परेर यो संघ विभाजित भयो ।

म सङ्घमा सन् २००६ देखि आवद्द छु र अहिले म केन्द्रिय उपाध्यक्ष पदबाट अध्यक्ष पदमा जान खोजिरहेका कारणहरू धेरै छन् । तर म दुई तीनवटा कुरालाई अली बढी ध्यानमा राखेर आएको छु ।

म सन् २००३ मा कतारमा श्रमिकका रुपमा आइपुगेँ । ५० डिग्रीको तातो घाममा काम गरेँ । हिजो म जुन अवस्थाको श्रमिक बनेर देश छाडेको थिएँ अहिले पनि त्यही अवस्थाको श्रमिक बनेर देश छाड्ने क्रम जारी छ । हिजो देशमा रोजगारी नभएकोले बुबा विदेसियो  ।आज छोरो पनि बिदेशिएको छ र भोलि नाति पुस्ता पनि बिदेसिने क्रममा छ । हरेक दिन त्रिभुवन विमानस्थलमा देखिने आँशु र दुखले मलाई चिमोटिरहेको छ ।

वर्तमानमा मोटामोटी ७० लाख नेपाली देश बाहिर छौँ र ठुलो हिस्सा श्रमिकका रुपमा नेपालीहरू मध्यपूर्व अर्थात खाडी राष्ट्रका बिभिन्न मुलुक हुँदै जापान, कोरिया, अफ्रिका र पछिल्लो समयमा युरोपमा पुगेको छ । हामीले ‘गैर आवासीय नेपाली संघ सबैको साझा हो’ भन्दै गर्दा मैले नेपाली श्रमिकहरूको ठूलो बसोबास भएको मुलुकको नेतृत्व यो संघमा भएको छ कि छैन भनेर हेरेँ । मैले सन्तोषजनक र सम्मानजनक उत्तर भेट्न सकेको छैन । मलाई अब यि मुलुकमा काम गरेर देशमा रेमिटेन्स पठाइरहेका र भुँई मानिसहरू भनेर भनिएकाहरूको पनि नेतृत्व हुनुपर्छ भन्ने लागेको छ । यसको लागि म तयार छु र सक्षम पनि छु ।

श्रमिकका हितलाई अझ ध्यानमा राखेर काम गर्नुपर्छ भन्ने दृढ उद्देश्य बोकेर अध्यक्ष पदको दावी गर्न आइपुगेको हुँ । हाम्रो देशबाट श्रमिक बनेर बाहिर जाने क्रम केही दशकपछि रोक्नुपर्छ भन्ने मान्यतामा म छु । यो रोक्ने उपाय भनेको देशमा आर्थिक क्रान्ति गर्नु हो । मसँग गैरआवासीय नेपाली सङ्घलाई देशको आर्थिक क्रान्तिसँगै जोड्ने र विदेशिएका नेपालीको लागि भनेर व्यवस्थित र न्यायिक खालको सामाजिक कोषको विकास गर्ने एजेन्डाहरू छन् ।

तपाइले एजेन्डाका कुरा गर्नुभयो । अध्यक्ष पदका सबै उम्मेदवारले आआफ्ना एजेन्डा लिएरै मैदानमा आएका छन् । उहाँहरूका भन्दा कुन चाहिँ विशेष योजना तपाइसँग छ जसले गर्दा मतदाताले तपाईलाईनै भोट हालुन् ?

हामी सबैले मन अमिलो बनाउँदै बाध्य भएर देश छाड्नुपर्ने अवस्था छ र सँगसँगै नेपाल छिटै समृद्ध बनोस भन्ने हाम्रो चाहना पनि । यि दुई कुरा तब मात्र सफल हुन्छ जब हामीसँग देश विकासको स्पष्ट चित्र हुन्छ । संघ बनेको २० वर्षको अवधिमा हामीले धेरै मानवीय काम गर्यौँ र केही हजार दाजुभाइ स्वरोजगार र व्यवसायी भयौँ । यो त हामीलाई भयो । तर देश र आम मानिसलाई भएन । तर देश माथि उठाउन त आर्थिक क्रान्ति नै गर्नुपर्छ । यसका लागि गैर आवासीय नेपाली संघ जति लाग्नुपर्ने हो त्यति लाग्न सकेको छैन । यसमा विभिन्न कारण थिए र संघ पनि हुर्कंदै थियो । अब भने यसरी हुँदैन जस्तो मलाई लागेको छ ।

नेपाली दाजुभाइको आर्थिक अवस्था तलैबाट उकास्न सामाजिक सुरक्षा कोषलाई बलियो बनाउनु पर्छ । लगानी र विकासका नयाँ उपायहरू खोज्नुपर्छ र सरकारको सहयोगी बन्ने गरी विशेष भूमिका खेल्नुपर्छ । परिस्थिति विषम छ । पाखुरीमा बल हुन्जेल कमाएको पैसा  अनुत्पादक कुरा या तडकभडक जीवनशैली या कतिपय अवस्थामा जीवन निर्वाह गर्नमा खर्च भएको छ । अंगभंग या दीर्घ रोगी या उमेर कटेपछि देश फर्केँदै गर्दा रित्तो हात हुने  अवस्था छ श्रमिकहरूको । यो ठूलो समस्या हो । यो कुरालाई  अन्त्य गर्न म सामाजिक सुरक्षा कोष बलियो बनाउन र सामूहिक लगानी प्राधिकरण कोष निर्माण हुनुपर्छ भन्नेमा छु । त्यसका लागि नीतिगत तहमा सरकारसँग मिलेर काम गर्न चाहन्छु ।

त्यसो त मेरा २४ महिना २४ वाचाका कुराहरू छन् । श्रमिकहरूको अवस्थाप्रति अलि बढि किन केन्द्रित छु किनभने मेले विगत एक वर्षमा चालीस मुलुक घुमेँ र नेपाली श्रमिकहरूका दुख देखेँ । सबैको भावना र समस्याहरू बुझ्न मौका पाएँ । अब त देशलाई उँभो लगाउने काम गर्ने बेला आएको छ भन्ने महसुस मलाई प्रत्येक मिनेट हुन्छ र मेरो तर्फबाट देशलाई दिने योगदान भनेपनि सेवा भनेपनि यही गैरआवासीय सङ्घलाई बलियो बनाएर नयाँ द्रिष्टिकोणका साथ काँधमा काँध मिलाएर अगाडि बढ्ने हो भन्ने भएको छ ।

सामूहिक लगानी प्राधिकरण कोष निर्माणको अवधारणा धेरैले बोलेका छन् । खासगरि धनीमानीहरुले । आम गैर आवासीय नेपालीलाई यसको के फाईदा ?

झन्डै वार्षिक १३ खर्ब रेमिट्यान्स वैधानिक माध्यमबाट नेपाल भित्रिएको छ र दुखको कुरा यसको ठूलो हिस्सा अनुत्पादक क्षेत्रमा खर्च भैरहेको छ । माथि नै भनें, रुँदै बिदेसिने बाध्यतालाई हामीले आगामी १० वर्षमा अहोरात्र खटिएर न्यूनिकरण गर्न जरुरी छ । नत्र त देशबाट युवाशक्ति बाहिर गएको गयै हुनेछ । अध्ययनहरूले नेपालमा वार्षिक २६ देखि ३० खर्ब रेमिट्यान्स भित्रिनुपर्ने भन्छ । तर विडम्बना यो सबै पैसा बैकिँग च्यानलबाट भित्री राखेको छैन । यसरी बिच बाटोमा पैसा हराउने कामले देशको अर्थतन्त्रमा ठूलो घाटा पुर्‍याएको छ । यो कामलाई निरुत्साहित गर्नुपर्ने चुनौती हामीमा छ भने जति बैकिँग च्यानलबाट भित्रिएको छ उसलाई केही प्रोत्साहित पनि गर्नुपर्ने छ ।

मैले सामूहिक लगानीलाई अवसर र चुनौती दुवै रुपमा हेरेको छु । सामान्य मजदुरले दुख गरेर कमाएको पैसा कुनै प्रोजेक्टमा लगानी हुँदै गर्दा उहाँहरूको लगानीको सुरक्षाको ग्यारेन्टी गरिनुपर्छ र सही अर्थात नाफामूलक क्षेत्रमा लगानी हुनुपर्छ । विश्वमा यस्ता लगानीहरू प्राधिकरण कोष मार्फत भएका छन् । सरकारले यस्तो लगानीमा ग्यारेन्टी दिनुपर्छ । यसको एउटा बोर्ड अफ डाइरेक्टर हुनुपर्छ जसमा सबै पक्षको अर्थात श्रमिकका प्रतिनिधि, सरकारी प्रतिनिधि, लगानीकर्ताका प्रतिनिधि र विदेशका विज्ञ रहून् । किनभने यो सबैको पैसा हुनेछ र यसबाट आएको नाफा नै श्रमिकहरू देश फर्केपछिको पेन्सन जस्तो हुनेछ । अर्थको कुरा संवेदनशिल कुरा हो ।

अब म पूँजी जम्मा कसरी गर्ने भन्ने तर्फ लाग्दैछु । नेपालमा वैधानिक च्यानलबाट भित्रिरहेको १३ खर्ब रेमिटेन्समा १० प्रतिशत रकम मात्र पनि यो प्राधिकरण कोषमा वार्षिक रुपमा जम्मा गर्न सकियो भने वार्षिक एक खर्ब ३० अरब रकम बराबरको पूँजी जम्मा हुन्छ । यो पूँजी भनेको राष्ट्रिय विकास बजेटको ३० प्रतिशत भन्दा बढी हो । देशको सम्पूर्ण विकास बजेटको ३० प्रतिशत कल्पना गर्नुस त । हामीले विदेशी सहयोग नमागिकन यो रकम जम्मा गर्न सक्छौँ । दश वर्षको योजना ल्याउँदा यो पैसाले नेपालमै हजारौँको रोजगारी सृजना गर्न सकिन्छ । विश्वमा स्वच्छ उर्जाको कुरा आइरहेको छ । स्वच्छ उर्जामा अनुसन्धान र लगानी गर्न सकिन्छ । नेपालमा ४० हजार मेगावाट बिजुली उत्पादन गर्न सकिने क्षमता छ । यो १० वर्षको अवधिमा यस्तै प्रोजेक्टमा लगानी गर्न सकियो भने झन्डै ६ हजार पाँच शय मेगावाट बिजुली थप उत्पादन गर्न सकिन्छ । यति बिजुली हामीसँग भयो भने विदेशबाट वर्षेनी खाना पकाउने ग्यासका लागि खर्च भैरहेको ७० अरब रुपैयाँलाई पुरै बिस्थापित गर्न सकिन्छ ।

अरु बाँकी चार हजार मेगावाटले इन्धनको आयात न्यूनिकरण गर्न सक्यौँ भने झन्डै अर्को एक खर्ब रकम बचाउन सकिन्छ । यो भनेको देशको २५ देखि ३० प्रतिशत जीडीपी रकम बच्ने हो । बिजुली छेलोखेलो हुनासाथ हामीले विद्युतीय सामाग्रीहरूको प्रयोगलाई बढावा दिन सक्छौँ र नेपालको राष्ट्रिय आविष्कार केन्द्र जस्ता अरु पनि अनुसन्धान केन्द्रहरू खोलेर अनुप्राग (स्टार्ट अप) हरूलाई नयाँ नयाँ प्रविधि (टेक्नोलोजी) आविष्कारका मौका दिन सक्छौँ ।

ए, भनेपछि, सामूहिक लगानी प्राधिकरण कोषले अब एआरएनए फाउन्डेसनको उद्देश्यलाई बिस्थापित गर्छ ?

एआरएनए फाउन्डेसन च्यारिटी प्रकारको हो भने प्राधिकरण भनेको लगानी गरेर नाफा प्राप्त हुने कामको लागि हो । यसमा नझुक्किनुहोला ।

नेपाल त यसै पनि अबको केही वर्षमा पूर्ण रुपमा बिजुलीमा आत्म निर्भर बन्दैछ । तपाइले पुन बिजुलीकै कुरा गर्नुभयो ।

नेपालमा कृषि लगायत अन्य क्षेत्रमा लगानी गर्न सकिने सम्भावना छैन र जबकी अहिले स्टार्ट अपहरुको जमाना छ । सानो सानो आइडियाहरुमाथि पनि लगानी हुनसक्छ । मेरो बिचार भनेको आम जनताको आर्थिक अवस्था तलैबाट उकास्नु पर्छ भन्ने हो । सामाजिक आर्थिक अवधारणा (सोसल इकोनोमिक कन्सेप्ट) मा मैले धेरै रुचि राखेको छु । कुनैपनि प्रोजेक्टहरू अल्पकालीन र दीर्घकालीन हुन्छन् । जस्तो नेपालमा पनि डिजिटल क्षेत्रमा सानो सानो स्तरमा कामहरू शुरु भएको छ । कृषिमा पनि सामूहिक लगानीहरू गैरहेको छ । मैले पेरिसको एच ई सी भन्ने ‘व्यापारिक विद्यालयहरूको र्‍याङ्किङमा प्रभुत्व’ जमाएको प्रसिद्ध विश्वविद्यालय पढ्ने अवसर पाएँ र यसै वर्ष मैले यो विद्यालयबाट एमबीए सकाएँ । जहाँ ‘मेकअपको क्षेत्रमा प्रसिद्ध ‌ओरियाल’को कम्पनीको पूर्व सीओ र पूर्व फ्रान्सेली राष्ट्रपति फ्रन्स्वा ओलन्द लगायत संसारका दश प्रसिद्ध राजनीतिज्ञहरू, स्टार्ट अप कन्सेप्टमा काम शुरु गर्नुभएका नामी उद्यमशील व्यक्तिहरू पढ्नुभएको थियो ।

त्यहाँ पढ्दै गर्दा मैले पेरिसमा रहेका दुई तीन वटा ‘इन्क्युवेसन सेन्टरहरू’ घुमें । उहाँहरूले कसरी स्टार्ट अपलाई प्रोत्साहन दिनुभएको छ भनेर जान्ने मौका पाएँ । जता गएर जे हेर्छु मलाई नेपालमा लगानी भित्राउने हो भने बिओपी मोडेलमै जानुपर्छ भन्ने हुन्छ । यो भनेको देशले वस्तु तथा सेवा आयत गर्दा त्यस बराबरको देशको कोषमा भुक्तानीको पनि सन्तुलन हुनुपर्छ भन्ने हो । नेपालको अवस्थामा निर्यात भन्दा आयात बढी छ । यसरी सधैँ देश चलाउन सकिँदैन । त्यसैले गैर आवासीय नेपाली संघले अबको मार्ग फरक बनाउँदै लग्नुपर्छ भन्ने मलाई लाग्छ ।

मैले माथि ग्रीन इनर्जीको एउटा उदाहरण दिएको हुँ। नेपालमा तरकारी र अन्नबालीमा मात्रै विदेशबाट झन्डै वर्षको दुई खर्बको आयात हुन्छ । नेपालमा अर्गानिक जडिबुटी र फलफूल उत्पादन सजिलै हुन्छ । त्यसमा वैज्ञानिकीकरण, विस्तृत योजना सहितको लगानी र बजार व्यवस्थापनको कमी भैरहेको मात्र हो । हाम्रो छेउमा रहेको तिब्बत तरकारी र फलफूलको बजार हो । यसैगरी नेपाल भनेको डिजिटल डाटा अर्काइभको लागि एक उत्कृष्ट भूमि हो । गुगल र आइक्लाउड जस्ता डाटा अर्काइभ कम्पनीहरूका लागि चिसो ठाउँ चाहिन्छ र यसको लागि धेरै बिजुली पनि चाहिन्छ । यिनका मात्र एक दुई वटा प्लान्ट लग्न सकियो भने यसले पनि अर्थतन्त्रमा योगदान दिन्छ ।

नेपाल भनेको विश्वको पहिलो या दोस्रो र्‍याङ्किङमा पर्ने देश चीन र तेस्रो रेकिँगमा उदय भैरहेको भारतको बिचमा पर्ने मुलुक हो । यी दुई मुलुकहरू दुई या तिन दशकसम्म पनि स्टेबल अवस्थामा रहन्छन् । हामीले शिक्षा स्वास्थ्य विकास निर्माणकलाको लागि चाहिने सामाग्रीहरू वातावरण आदिका क्षेत्रमा लगानी गर्न सकिने ठाउँहरू प्रशस्त छन् । तर अल्पकालीन प्रोजेक्ट भनेको ग्रीन इनर्जी र सामाजिक सुरक्षा कोष विकासको अवधारणा हो । म गैरआवासीय नेपाली सङ्घमा अध्यक्ष हुने मौका पाएँ भने मेले यिनै मुद्दाहरू बोक्नेछु ।

गैरआवासीय नेपाली संघमा राजनीति नछिराउने भन्दा भन्दै पनि छिरेको छ । तपाइनै माओवादी पार्टीको प्रस्तावित उम्मेदवार भनेर चिनिनुभएको छ । कसरि यो संस्था गैर राजनितिक रहन्छ ?

गैर आवासीय नेपाली संघका मुद्दाहरूमा नेपालका राजनीतिक दलहरूको संलग्नता हुनैपर्छ । सामाजिक सुरक्षा कोषको कुरा होस या गैरआवासीय नागरिकताको कुरा, विदेशमा रहेका नेपालीलाई मत दिने मताधिकारको कुरा होस । यस्ता सबै मुद्दाहरूमा राजनीतिक दलहरूसँग छलफल र संवाद निरन्तर जारी रहन्छ र उहाँहरुसँग सहकार्य गर्नुपर्छ । किनभने नीति बनाउन मद्दत त उहाँहरूले नै गर्ने हो । अब आउने एजेन्डाहरूलाई पनि सम्मानित सबै राजनीतिक दलहरूको सहयोग नभै अगाडि बढाउन सकिंदैन ।

व्यक्तिगत कुरा गर्दा म आजसम्म कुनैपनि सम्मानित दलको सक्रिय सदस्य छैन । सबै राजनीतिक दलहरूसँग मैले १७ वर्ष यता निकट रहेर काम गरेको छु । म सबै राजनीतिक दलको साझा उम्मेद्वार हुँ भन्न रुचाउँछु । नेपालमा उदाइरहेका नयाँ राजनीतिक दलहरूका मध्य पूर्व तथा मलेसियामा रहनुभएका समर्थकहरूको पनि म साझा उम्मेद्वार किन हुँ भने मध्यपूर्व र मलेसियामा रहेका श्रमिक नेपालीहरूका मुद्दाहरू उठाइरहेको छु । त्यहाँ तीस लाख श्रमिक हुनुहुन्छ । श्रमिकको कुरा उठाउने उम्मेद्वार माओवादीको मात्र हुने कुरा भएन । विभिन्न देशमा साथीहरूले मेरा मुद्दाहरू देखेर खुसीले प्रचार प्रसार गर्नुभयो र गरिरहनुभएको छ । यो प्रचारको एउटा पाटो हो । अरु उम्मेदवारहरूको पनि यस्तै अवस्था छ । तर पनि म सबैको साझा उम्मेद्वार हुँ । गैर आवासीय नेपाली संघ र सबै राजनीतिक दलको उद्देश्य समृद्ध नेपाल बनाउने हो र सबै नेपालीको उद्देश्य समृद्ध देशमा फर्कौँ भन्ने हो । मलाई कुनै पनि राजनीतिक दलका सम्मानित नेताले फलानो ठाउँमा यति नेपाली बसेका छन् र यस्ता नेपाली छन् त्यसैले यसकै आधारमा फलानो मानिसले चुनाब जित्नुपर्छ भन्नुहुन्छ जस्तो लाग्दैन ।

तपाईंहरू अहिले पाँच जनाको बिचमा अध्यक्ष पदका लागि लडिरहनुभएको छ । तपाइहरूको बिचमा एकजना मात्र सर्वसम्मत उम्मेद्वार बन्ने सम्भावना छ कि छैन ?

यो अभियानमा यस पदका लागि धेरै आकांक्षीहरू हुनुलाई मैले राम्रो मान्छु किनभने यो ठाउँमा लिनुभन्दा पनि दिन जाने हो । राष्ट्रिय विकास र विदेशमा रहेका नेपालीका हकहितका मुद्दालाई लिएर नेतृत्वमा जान चाहनुहुने सबैलाई मैले सम्मान गर्छु । यदि सर्वसम्मतको नेतृत्व चयन हुने अवस्थामा न्यायसङ्गत र सम्मानजनक प्रस्ताव या तर्क हुन्छ भने म यसको बाधक होइन । तर कुरो किन र कसका लागि छाड्ने भन्ने कुरो न्याय संगत हुनुपर्यो । अर्को कुरा मैले जोड्न चाहेँ, दशौँ महाधिवेशनमा नेतृत्वको लुछाचुँडीले गर्दा जुन फुट आयो त्यसलाई एउटै मालामा गाँसेर पवित्र ढंगले अघि बढ्ने एजेन्डा म सँग पनि छ । म मिल्ने कुराको विरोधी होइन ।

चुनावमा जानुभयो भने चार हजारको हाराहारीमा भएका मतदाताहरू मध्येबाट कति मत ल्याउँछु जस्तो लागेको छ ?

मत दिने या नदिने भन्ने कुरा त सम्मानित मतदाताहरूले नै निर्णय गर्ने कुरा हो । म जति पनि समर्थकहरूको देशमा या ठाउँमा पुगेको छु र बुझेको छु मलाई आधा भन्दा बढी मत आउनेछ भन्ने कुरामा विश्वस्त छु । मसँग अब चुनाब प्रचारको लागि समय सकिएको छ ।  मैले भन्न चाहेको के भने मैले भुँई मानिस लगायत सबैका एजेन्डा बोकेको छु । देश अनुसारका समस्या बुझेको छु र भोलि अध्यक्ष हुँदा र समाधानका उपाय खोज्दा म अलमलिने ठाउँ कतै छैन । दोस्रो पुस्ताको कुरा बुझेको छु । दोस्रो पुस्तालाई यस सङ्घमा कसरी जोड्न सकिन्छ भनेर हेरेको छु, देखेको छु ।

चुनावी प्रसङ्ग भन्दा बाहिरको कुरा गरौँ । तपाइले ४० देश घुमेँ र नेपालीका दुख बुझेँ भन्नुभयो । कस्ता दुख देख्नुभयो त ?

नेपालीहरू जहाँ सुकै पुगेपनि सबैको साझा समस्या भनेको भाषा र स्वास्थ्य रहेछ । मानसिक स्वास्थ्य विकराल छ । यो १० वर्षको अवधिमा १० हजार भन्दा बढी नेपाली कामदारहरूले कि त अंगभंग हुनुपरेको छ कि त ज्यान गुमाउनु परेको अवस्था छ । भाषा र कानुनको अज्ञानता छ । खाडीमा नेपाली कामदारहरूले यही कुरा नजानेर फाँसीमा चढ्नु परेको छ । उहाँहरूको सुरक्षित भविष्यको चिन्ताले मलाई सताउँछ । गैर आवासीय नेपाली संघको उपाध्यक्ष बन्दै गर्दा मलाई अब अध्यक्ष पदमा जानको लागि हौसला र आधारशिला यिनै श्रमिकका कारण बनेको हो । गैर आवासीय नेपाली ऐन, अनलाइन श्रम स्वीकृति, गैर आवासीय नेपाली नागरिकताको निरन्तरता र समृद्ध नेपाल जस्ता मुद्दामा सबै नेपालीको एउटै धारणा रहेको भेटेँ । भाषा नजानेकोले अनाहक कानूनी झन्झटमा पर्ने समस्या मध्यपूर्व, अफ्रिका र युरोपमा पनि देखेँ । अवैधानिक च्यानलबाट पैसा पठाउने र लुटिने जस्तो भयावह समस्या पनि देखेँ ।

क्षेत्रगत हिसाबमा कुरा गर्दा युरोप अमेरिका र अन्य बिकसित मुलुकमा बस्नेले दोहोरो नागरिकताका कुरा उठाउनुभएको छ । साथसाथै उहाँहरूले विद्यार्थी भाइबहिनीहरूलाई पनि एनआरएनएमा समेट्नु पर्छ भन्नुभएको छ । मध्यपूर्वका देशहरू इजरायल, मलेशिया, कोरिया, जापान र खाडीका अन्य राष्ट्रहरू बाहेक श्रम सम्झौता मार्फत श्रमिक भएर बाहिर जानुभएका युवाहरूले सामाजिक सुरक्षा कोषका कुराहरू उठाउनुभएको छ र देश फर्कँदा पेन्सन पाइने एउटा कोष बन्नुपर्यो भन्नुभएको छ । पोर्चुगल लगायत इष्ट युरोपका देशहरूमा शब व्यवस्थापन गर्न हम्मे हम्मे परेको देखेँ । नेपाल सरकारसँग म लगायत गैर आवासीय नेपाली संघका मित्रहरूले अहोरात्र आवाज उठाउँदै गर्दा अहिले १० हजार भन्दा धेरै नेपाली भएका करिव सात आठ देशमा नेपाली दुतावास खोल्ने कुरा भएको छ । जसमा माल्टा, रोमानिया, पोर्चुगल, पोल्यान्ड लगायतका देश परेका छन् ।

तपाइको व्यक्तिगत कुरा तर्फ लागौँ । पेरिसको प्रसिद्ध विश्वविद्यालयको एचईसीको विद्यार्थी हुनुहुँदो रहेछ । कस्तो अनुभव हुँदो रहेछ यस्तो विद्यालयमा पढ्न पाउँदा ?

कोरोना कालमा काम ठप्प हुँदा मैले अध्ययनलाई जारी राखेँ र यसै वर्ष ‘उद्यमशीलतामा’ एमबीएको पढाइ पुरा गरेँ । आफ्नो काम, व्यवसाय र पढाइ मिलाउनुपर्ने चुनौती थियो । यो विश्वविद्यालयबाट मैले अहिलेको श्रम बजार भू-राजनीति लगायत धेरै विषयहरूमा जानकारी लिने र ज्ञान हासिल गर्ने मौका पाएँ । यो पढाइले मलाई मेरो नेतृत्व क्षमतामा निखार ल्याउन मद्दत गरेको छ र अहिलेको विश्व श्रम बजार बारे बुझ्न धेरै सजिलो भएको छ ।

यस विश्वविद्यालयका पुराना विद्यार्थीहरूको एक अल्मुनाई छ । फ्रान्स लगायत बिभिन्न राष्ट्रका राष्ट्र प्रमुख बाहेक संसार प्रसिद्ध कम्पनीका सिईओहरु लेक्चर क्लासका लागि आउनुहुन्छ । यस्ता खालका विश्वविद्यालयहरूमा अबको २० वर्ष पछिको दुनियाँ र अबको ५० वर्ष पछिको दुनियाँ कस्तो हुनेछ भनेर त्यही अनुसारको पढाइ हुन्छ । यसरी पढ्न पाउनु त मेरो लागि बडो गर्वको विषय थियो । यस विश्व विद्यालयको अल्मुनाई एसोसिएसन मार्फत संसारका ठूला कम्पनीका सिईओहरु लगायत युरोपियन युनियनका आर्थिक सल्लाहकारहरूसँग भेट हुन्छ । फ्रान्सका पूर्व राष्ट्रपति र फ्रान्सका प्रसिद्ध राजनीतिकर्मीहरू पनि यस अल्मुनाईका सदस्य हुनुहुन्छ । उहाँहरूले नेपाललाई धेरै माया गर्नुहुन्छ । नेपाललाई कसरी विकास गर्न सकिन्छ भन्ने बारेमा पनि मैले धेरै छलफल गर्ने र उहाँहरूको बिचार लिने मौका पाएको छु । उहाँहरूको प्रेरणाले मलाई नेपालमा आर्थिक लगानी भित्राउन हामी नेपाली बसेका देशहरूबाट पनि कोशिश गर्न सक्दा रहेछौं भन्ने जानकारी मिल्यो । हामी जुन देशमा छौँ त्यहाँ बसेका देशहरूका बिभिन्न कम्पनी तथा सरकारी स्तरमा बिभिन्न सहयोग कोषहरू र राशिहरू छन् । ति कोषहरूबाट नियमित सहयोग प्रातिका लागि नीतिगत र भाषामा पोख्त हुने तयारीहरू गर्नुपर्छ  ।

एनआरएनएको चुनावमा असाध्यै धेरै पैसाको चलखेल हुन्छ । बिभिन्न समुह तथा गुटहरू हुन्छन् जो मेरो पकेटमा यति भोट छन् तपाइले मलाई यति पैसा दिनुस् भनेर सबै उम्मेदवारसँग बार्गेनिङ गरेर पैसा खान्छन् । तपाइले कति खर्च गर्नुभयो अहिलेसम्म ?

यो कुरालाई यसरी बुझ्नुपर्छ भन्ने मलाई लाग्छ । गैर आवासीय नेपाली संघको चुनाब निकै भड्किलो र खर्चिलो बनाइएको सत्य हो । अब यो हुनुहुँदैन र यो संस्थामा प्रोफेसर श्रमिक र या कुनैपनि नयाँ भिजन भएको मानिस नेतृत्वमा पुग्न पाउनुपर्छ र सक्नुपर्छ भन्ने मेरो मान्यता हो । जसले पैसा खर्च गरेर नेतृत्व हत्याउन खोज्नुभएको छ या कसैको नाम उच्चारण गरेर पैसाको प्रलोभन देखाउनुभएको छ भने यो गलत हो । यो पटकका मतदाताहरू तथा उम्मेदवारहरूले पैसा तिरेर भोट किन्न सकिन्छ या जित्न सकिन्छ या जिताउन सकिन्छ भन्ने सोच्नुभएको छ जस्तो मलाई लाग्दैन । अघिल्ला चुनाव भन्दा यो चुनाब निकै सफा देखिएको छ । गैर आवासीय नेपाली संघ भित्र स्वच्छ प्रतिस्पर्धाको अभियानमा अहिले मतदाताहरू र उम्मेदवारहरू पनि सचेत हुनुहुन्छ ।

अब आयो चुनाबको लागि मैले पैसा खर्च गरेको कुरा । हो मैले विश्वका धेरै मुलुक घुमेँ र धेरै ठाउँमा खाँदा बस्दाको मैले मेरो गोजीको पैसा खर्च गरेँ । कतै कुनै साथी भाइले हार्दिकतापूर्वक गरेका निमन्त्रणाहरु भनेका अलग कुरा हुन् । कतै कुनै मानवीय काम गर्ने संघ संस्थालाई सानो तिनो सहयोग गरियो होला । मैले यो काम त वर्षौ देखि गरिआएकै हो । चाहे चेपाङ बच्चाहरू पढाउने होस्, चाहे बाढी पैह्रो भुइँचालो जस्तो बेलामा होस्, चाहे खाडीका दाजुभाइहरूले गाँस काटेर गरेका सहयोगहरूमा म मार्फत पठाइएको अवस्था होस्, यस्तो बेला मैले पनि सकेको व्यक्तिगत सहयोग गरेको छु । मेरी आमाले कसैको आँटी (पेट) चर्किएर कसैको छाक अड्कने के हो यस्तो भन्नुहुन्थ्यो र सकेको बाँडिचुँडी गर्नुहुन्थ्यो । आमाको त्यो बानी मसँग छ । तर मत प्राप्त गर्ने प्रयोजनका लागि भनेर मैले पैसा खर्च गरेको छैन र खर्च गर्नु हुँदैन भन्ने पक्षको मानिस हुँ म ।

म कतार जाँदा  दुई सपना बोकेर गएको थिएँ । मेरो बुबाको उपचार गर्ने र छोरीलाई राम्रो ठाउँमा पढाउने धोको थियो मेरो । मैले संघर्ष गरें र सफलता प्राप्त गरें । म जस्तै अरु संघर्ष गरिरहेका साथीहरूको घाउमा मलम लगाउनु पर्छ र नेपाल दीर्घकालीन रुपमा समृद्ध हुनुपर्छ भनेर म नेतृत्वमा आउन खोजेको हो । चुनावी अभियानमा मैले कसैलाई पैसा खुवाउने काम गरेको छैन । म गैर आवासीय नेपाली संघको युवा भनेपनि या पहिलो पुस्ता भनेपनि मैले यो पुस्ताको प्रतिनिधित्व गर्छु ।

अहिले पनि देख्छु, विदेशमा रहेका ९८ प्रतिशत नेपाली श्रमिक नै हुनुहुन्छ भलै उहाँहरु पेशागत रूपमै जागिरे हुनुहोला या आफ्नै सानो तिनो व्यापार व्यवसाय गर्नुभएको होला । यसको साथै अर्को कुरा के हो भने अब विदेशमै रहेका नेपालीहरू मध्ये कतिपय नेपाली अर्थशास्त्री, वैज्ञानिक, अनुसन्धानकर्मी या निर्माणकर्मी या व्यवसायका क्षेत्रमा विज्ञता र दक्षता हासिल गरेका व्यक्तिहरू हुनुहुन्छ । उहाँहरूको ज्ञान र सीप नेपाल भित्राउने कुरा हो र सरकारसँग मिलेर काम गर्ने कुरा हो । त्यसैले यो अभियान सँग हामी निरन्तर जोडिने मानिसले केही गुट या उपगुटहरूलाई पैसा खुवाउने भन्ने कुरा हुँदैन । राम्रो कुरा के छ भने यो पटकको निर्वाचनमा मतदाताहरूले विना त्रास भोटिङ गर्न सक्ने मौका मिलेको छ । भोटिङकालागि काठमाण्डु आइरहनु पर्दैन र तपाइको हातको मोबाइलबाटै संभव हुन्छ । बरु जति पनि पार्षदज्यूहरू हुनुहुन्छ कृपया भोट हाल्न नभुल्नुहोला ।

तपाइँको प्रतिक्रिया