शुक्रबार, असोज १८, २०८१

अगाडि बढ्न पहिले आफूलाई चिनौं

डिपी शर्मा मैनाली / नेदरल्याण्ड्स२०८० मंसिर २१ गते १९:३२

मेरा केही उद्धरणहरू छन् । ति मध्ये एक “शिक्षादूवारा सामाजिक रूपान्तरण र सशक्तिकरणको आवश्यकता” हो । आफ्नै उद्धरणलाई नै विषयवस्तु बनाएर लेख लेख्न मन लाग्यो। त्यसैले शिक्षा र सामाजिक रूपान्तरणको विषयवस्तुमा केन्द्रित हुन चाहें ।

शिक्षा प्राप्त गर्न पाउनु सबै मानिसहरूको प्राकृतिक अधिकारको कुरा हो। यो राज्यको परम दायित्व पनि हो। म लामो समयदेखि शिक्षा क्षेत्रमा संलग्न छु। त्यही भएर पनि ज्ञान सशक्तिकरणको मुद्धामा म सधैं केन्द्रित छु र रहन्छु ।

शिक्षाको माध्यमबाट सामाजिक रूपान्तरण र सशक्तिकरणको आवश्यकतामा विभिन्न संस्था र विद्वानहरूले प्रदान गरेका धेरै परिभाषा छन्। मेरो बुझाईमा ज्ञान सशक्तिकरण भनेको व्यक्ति वा समुदायलाई सूचना, शिक्षा र सीपहरूमा पहुँच प्रदान गर्ने प्रक्रिया हो जसले तिनीहरूलाई सूचित निर्णयहरू लिन, समस्याहरू समाधान गर्न र जीवनका विभिन्न पक्षहरूमा प्रभावकारी रूपमा सहभागी हुन सक्षम बनाउँछ। यसले सान्दर्भिक विषयवस्तुहरुमा पहुँच सुनिश्चित गर्ने, शिक्षा र डिजिटल साक्षरताको प्रवर्द्धन गर्छ । शिक्षाले आलोचनात्मक सोच र समस्या समाधान गर्ने सीपहरूको विकास गर्ने, र स्वास्थ्य, वित्त र नागरिक संलग्नता जस्ता क्षेत्रमा ज्ञान बढाउन सयोग पुर्‍याउँछ।

ज्ञान सशक्तिकरण व्यक्तिगत र सामाजिक विकास, असमानता कम गर्न, र दिगो प्रगति प्रवर्द्धनको एक प्रमुख चालक हो। यसले व्यक्तिहरूलाई जीवन जिउन र उनीहरूको समुदाय र समाजमा योगदान गर्न आवश्यक उपकरणहरू प्रदान गर्दछ।

यो विषय शिक्षाको महत्त्व के हो र हामीलाई सामाजिक रूपान्तरण किन आवश्यक छ भन्ने आधारभूत प्रश्नसँग पनि जोडिएको छ। किनकि सामाजिक रूपान्तरण र सशक्तिकरणको आवश्यकता कुनै निश्चित क्षेत्र वा देशमा सीमित छैन। यो एक विश्वव्यापी चिन्ताको जल्दोबल्दो विषय पनि हो, जसलाई विश्वव्यापी स्तरबाटनै सहयोगी प्रयासहरूको आवश्यकता छ।

माथि उल्लेखित उद्धरणले पनि विश्वव्यापी समुदायहरूमा शिक्षाको माध्यमबाट सामाजिक रूपान्तरण र सशक्तिकरणको लागि जोड दिन्छ। यसले असमानता, भेदभाव र अवसरको अभाव जस्ता समस्याहरूलाई सम्बोधन गर्नको लागि एक शक्तिशाली उत्प्रेरकको रूपमा शिक्षाको महत्त्वलाई प्रकाश पार्छ। यो अवधारणाले सन्देश दिन्छ- शिक्षा एक विश्वव्यापी उपकरण हो जुन साझा चुनौती र आकांक्षाहरूलाई सम्बोधन गर्न, अझ समतामूलक र न्यायपूर्ण समाज निर्माण गर्न विश्वव्यापी रूपमा जायजपूर्ण तरिकाले लागू गर्न सकिन्छ भन्ने मान्यता राख्छ ।

तर अझै पनि विशेष रूपमा अविकसित र विकासोन्मुख देशहरूमा शिक्षाको माध्यमबाट सामाजिक रूपान्तरणको आवश्यकतालाई कमजोर बनाइएको छ। अधिकांश जनता विशेषगरी महिलाहरु अझै पनि शिक्षाबाट वञ्चित छन् । शिक्षाको रूपमा मूल्यमान्यता र समग्र दृष्टिकोणले ज्ञानको अभावका कारण शासक समुदाय आफैं पीडित छन्। जबसम्म न्यायोचित र समतामूलक समाज निर्माण गर्ने उद्देश्यका साथ सामाजिक संरचना, मूल्य मान्यतामा आधारभूत र दिगो परिवर्तन गर्ने इच्छा शासक समुदायलाई बुझाउन सकिँदैन, तबसम्म सामान्य जनस्तरमा परिवर्तन ल्याउन धेरै गाह्रो हुनेछ।

२१ औं शताब्दी सम्मको अवस्थालाई हेर्दा शासक समुदायहरू नै यसको लागि चुनौती र बाधक जस्तो देखिन्छ। विश्वव्यापी आवश्यकतालाई स्वीकार गर्नु भनेको सामाजिक रूपान्तरण र सशक्तिकरणका चुनौति र अवरोधहरूलाई पनि पहिचान गर्नु हो। यसमा पर्याप्त शैक्षिक स्रोतहरू, सांस्कृतिक पूर्वाग्रहहरू, आर्थिक असमानताहरू र प्रणालीगत समानताहरू समावेश हुनपर्छ । यसो गर्ने सके मात्र यि सन्देशले समुदायमा शिक्षा मार्फत सामाजिक परिवर्तन र सशक्तिकरणको महत्त्वलाई बुझाउन सक्छन्। यसले समुदायका सदस्यहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउँछ र उनीहरूको आत्म-शासन, जीवनमा स्थान लिन सक्ने क्षमता र आत्म निर्णयका साथ सशक्त बनाउँछ।

अझ हाम्रो जस्तो समुदायमा शिक्षाको माध्यमबाट सामाजिक रूपान्तरण र सशक्तिकरणको आवश्यकता निकै महत्वपूर्ण छ। पिछडिएको भन्नाले हाम्रो समाज सामाजिक वा राजनीतिक रूपमा, प्रगतिको प्रक्रियामा वा तुलनात्मक रूपमा अघि बढेको छैन। यसको अर्थ सामाजिक, आर्थिक र राजनीतिक दृष्टिकोणबाट लिन सकिन्छ। पिछडिएको समाजमा सामाजिक प्रगति, आर्थिक समृद्धि र राजनीतिक विकासका लागि पनि ज्ञान र व्यावहारिक शिक्षा सामाजिक रूपान्तरणको लागि अनिवार्य आवश्यकता हो। तर यस क्षेत्रमा कसैको नजर छैन।

राजनितीज्ञहरु आफ्नो शक्ति जोगाउन व्यस्त छन्। तथाकथित मानवअधिकारवादीहरू लोकप्रियता र झुट्टा प्रचारबादको खोजीमा व्यस्त छन्। सामाजिक रुपान्तरण, उचित र समान शिक्षाका लागि उनीहरू आफैंलाई कुनै ज्ञान छैन। जबसम्म यस्ता झूटा सामाजिक गतिविधि र राजनीति गर्ने अयोग्य मानिसहरुको हुङ्कारले काम गर्छ तबसम्म हाम्रो जस्तो समुदायको अवस्था यथावत रहने देखिन्छ। हामी पछाडि पर्नुको कारणहरु यस्तै हुन्।

हामी अन्योलमा छौं। हामी सधैं भावनामा तैरिरहेका छौं। एक्काइसौं शताब्दीमा यी चीजहरूको अर्थ छैन। जबसम्म हामी आफूलाई चिन्दैनौँ, २१ औँ शताब्दीका युवा बन्दैनौँ र अगाडि बढ्दैनौँ तबसम्म हामी पछाडि पर्ने नै छौँ । हाम्रा सन्तानहरू पनि पछि पर्नेछन्। यो नै कटु सत्य हो त्यसैले “आफैंलाई शिक्षित बनाउनु आफ्ना पुस्ताको लागि अमूल्य लगानी हो” भन्ने मेरो अर्को उद्धरणलाई यहाँ जोड दिन चाहन्छु।

हाम्रो जस्तो समाजमा सबै भन्दा पहिला नेतृत्व सशक्तिकरणको नितान्त आवश्यकता छ। त्यसैले शिक्षाको माध्यमबाट हाम्रा युवा नेतृत्वलाई सशक्तिकरणमा ध्यान केन्द्रित गर्न अति आवश्यक छ ।

वैज्ञानिकहरू अन्य ग्रहहरूमा मानव बासस्थान खोज्दै गर्दा हामी अझै पनि राजनीतिक र भौगोलिक सिमानामा झुन्डिएका छौं। हामीले आफ्नो स्वार्थ जोगाउन अरुको पहिचान भत्काउन खोजिरहेका छौं। हामी अनावश्यक बढाइचढाइ गरेर आफ्नो आक्रोशलाई निर्दोष पुस्तामा हस्तान्तरण गर्ने प्रयास गरिरहेका छौं। हामी अनावश्यक कारणहरूमा लडिरहेका छौं, जुन कुराहरू हामीलाई आवश्यक नै छैन।

कोही गलत इतिहास सृजना गर्नमा व्यस्त छन् त कोही इतिहासकार बन्न खोजिरहेका छन्। कतिपयलाई स्वघोषित नेता बन्न छ त केही युवा पुस्तालाई आफ्ना बनावटी योगदानको पहिचान गर्न बाध्य पारिरहेका छन्। आफैं बोक्सी र आफैं झाँक्री, कस्तो बिडम्बना।

मिशन पत्रकारिता र फेसबुके पत्रकारको त झन कुरै नगरौं । उनीहरुलाई यति पनि थाहा छैन कि इतिहास जित्नेले लेख्छ, हार्नेले होइन। स्वघोषित नेता अस्थायी हुन्छ भनेर पनि हेक्का छैन। कतिले त हिजो जे हैन भनेर हिँडे आज त्यही हो भन्दै छन। आफैंले भन्दा वा गर्दा सहि तर अरुले गर्दा वा भन्दा गलत बुझने शिक्षा पनि गलत नै छ हामीमा।

अहंकारी दिमागले कहिले पनि आफ्नो समस्या आफैं पहिचान गर्दैन। अरुले उसको आँखा खोल्ने प्रयास गरेमा उसले सामाजिक सञ्जालमा झूटा समूह बनाएर आक्रोश प्रकट गर्छ। जवाफी हमला गर्छ। यी सबै परिणामहरुको कारण व्यावहारिक शिक्षाको अभाव नै हो।

मानिसहरु आफ्नो अहंकारी स्वार्थका लागि हाम्रो दूरदर्शी दृष्टिकोण सुन्न चाहँदैनन् जसका कारण हामीले आफ्नो पहिचान गुमाउँदैछौं। स्वार्थी र सुखद विचलनकै कारण हाम्रो मौलिक पहिचान हराउनु हुँदैन। विलुप्त पार्न खोजिएको हाम्रो पहिचानलाई सच्याउन ढिला गर्नुहुँदैन ताकि कालान्तरमा पुनर्स्थापित गर्न हाम्रा भाबी पुस्ताले ठूलो नोक्सान बेहोर्नु नपरोस्। त्यसैले “शिक्षा मार्फत सामाजिक रूपान्तरण र सशक्तिकरणको आवश्यकता” हाम्रो समाजका लागि अति आवश्यक दखिन्छ।

अन्तिमा यो लेखको मूल सन्देश भनेको समुदायको समृद्धि र सशक्तिकरणका लागि शिक्षाको महत्त्व प्रमुख छ भन्ने हो । साथै यसका लागि सबैले समय सान्दर्भिक शिक्षा प्राप्त गर्न र सिक्दै जाने प्रतिबद्ध हुनैपर्छ जसले समुदायको समृद्धि र सशक्तिकरणमा महत्त्वपूर्ण भूमिका खेल्छ भनेर स्मरण गराउनुपनि हो । यसका लागि तपाई आफ्नो समुदायका सदस्यहरूको विकासमा अनुकूलित गर्न आधुनिक वैज्ञानिक समय अनुकूल तपाई हामी तयार हुनुपर्छ तब मात्र यि सान्दर्भिक विषयले न्याय पाउँछन्। यदि होइन भने, परिस्थिति झूटा मानवअधिकारवादी, स्वार्थी र हरुवा राजनीतिज्ञहरूका वरिपरि रहिरहनेछ । समाजको अर्को पुस्ता पनि यस्तै द्विविधामा रहने छ। त्यसैले सक्षम युवा सम्भाव्यताबाट परिवर्तन सुरु हुन जरुरी छ। सुरु गर्नुपर्छ र अगाडि बढ्ने समय यो नै हो। हामीले हाम्रो समुदायलाई गर्व गर्न लायक बनाउनु पर्छ र हामी पनि २१ औं शताब्दीका सक्षम विश्वव्यापी नागरिकको रूपमा गर्व गर्न सक्ने बन्नुपर्छ।

(लेखक नेपाली मूलका डच नागरिक हुन्। हाल उनी द हेग युनिभर्सिटी, नेदरल्याण्डमा सहप्राध्यापकको रूपमा कार्यरत छन्। नेपाल, नेपाली साहित्य, संगीत र पूर्वी दर्शनमा कलम चलाउनुका साथै मैनाली वरिष्ठ सामाजिक अभियन्ता, नेदरल्याण्ड्सको नेपाली भाषी इन्जिनियर्स एसोसिएसनका संस्थापक अध्यक्ष तथा अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजको विश्व संजालका सल्लाहकार पनि हुन्।)

तपाइँको प्रतिक्रिया