आइतबार, वैशाख १६, २०८१

दुखबाट मुक्ति पाउने बुद्धका चार सिद्धान्त र विपश्यना ध्यानको साधना

रामबहादुर गुरुङ / वेल्जियम २०८० माघ १२ गते ३:५६

विपश्यना ध्यानको अभ्यास पछि मैले हरेक घटना र वस्तुलाइ विपश्यनाकै दृष्टिकोणबाट हेर्ने गरेको छु । राजनितीलाइ पनि । विपश्यनाको सिद्धान्त हामी तथाकतिथ भौतिकवादी भन्नेहरुले सोचे भन्दा ठिक उल्टो छ ।

भौतिकवादले धेरै समयसम्म वस्तुलाइ प्रधानता दियो । वस्तुबाटनै विचारको उत्पादन भयो विचारबाट वस्तु उत्पादन हुँदैन भन्ने सिधा कुरा थियो । यो त अण्डा पहिलेकी कुखरी भन्ने जस्तो रहेछ । वास्तवमा विचार वा मननै प्रमुख रहेछ । वस्तु वा घटनालाइ कस्तो बनाउने वा कता मोडने भन्ने त विचार नै हो । विचार भनेको मननै हो । असल विचार असल मनबाटनै उत्पन्न हुन्छ । जन्मने बित्तिकै मनमा राग र द्धेष उत्पन्न हुने रहेछ ।

आमाको गर्भमा शिशु रहँदा उसलाइ चाहिने सबै कुरा आमाबाट प्राप्त गरिरहेको हुन्छ । तर आमाको गर्भबाट त्यो शिशु निस्कँदाको जुन घडी हुन्छ त्यतीबेला उसको आमासँगको सम्वन्ध विच्छेद हुन्छ अनि सबभन्दा पहिले उसलाइ आवश्यकता अक्सीजनको हुन्छ र जोरले चिच्याउँछ । गर्भ भित्र रहँदा त उसले सबै आवश्यक चिज आमाबाटनै पाउथ्यो । गर्भशायबाट बाहिरी दुनियाँमा आएपछि त्यो काटियो । अब सुरु भयो-चाहियो चाहियो । सबभन्दा पहिले उसलाइ प्राणवायु चाहियो । अनि निस्सासिँदै बेस्कन चिच्यायो ।

सबैभन्दा पहिले अक्सिजन चाहियो ।अनि दुध चाहियो । न्यानो चाहियो । आमाको स्पर्स चाहियो आदि चाहियो । यसरी उ चाहियो चाहियोले व्याकुल हुन्छ अनि राग र द्धेष पैदा भइहाल्यो । चाहिएको कुरा पुरा हुन्जेल चुप हुन्छ । आनन्द मान्छ । राग उत्पन्न भइहाल्यो । तर फेरी केही समयमा यो सकिन्छ फेरी उसलाइ दुख भइ हाल्यो ।  उ व्याकुल हुन्छ । फेरी आवश्यकता पूर्तीको लागि रुन्छ द्धेष पैदा भइहाल्यो । शिुशुको वृद्धिसँगै उसको आवश्यकता पनि बढदै जान्छ । यौवनकालसम्म आइपुग्दा त यो अन्तहिन आवश्यकताको शिलशिला त कता पुग्छ कता । यसैलाइ वुद्धले दुख भनेका हुन ।

दुखबाट कसरी मुक्त हुने वा राग र द्धेषबाट उत्पन्न हुने व्याकुलता जसले दुख उत्पादन गरिरहेको हुन्छ त्यो अवस्थाबाट कसरी मुक्त हुने मार्गनै वुद्धले लामो अनुसन्धानबाट पत्ता लगाएको चार आर्यसत्य,अष्टांगमार्ग र प्रतित्यसमुत्पाद अथवा कार्यकारणको सिद्धान्त हो । यसैको अभ्यास विपश्यना ध्यान साधनामा गरिन्छ ।

विपश्यना ध्यान साधनाको मुख्य जग शिलको पालन अथवा अनुशासनको पालन हो । त्यो पनि गृहस्थी र भिक्षुको लागि अलग अलग छ । अथवा भिक्षुको अनुशासन अझ कडा र धेरै छन । अनुशासनमा रहेर मात्र विपश्यना ध्यान साधना गर्न सकिन्छ । सारांसमा आठ वटा मार्ग अर्थात अष्टांगमार्गको यात्रा गर्नुपर्ने हुन्छ यसलाइ शिल,समाधी र प्रज्ञामा भनी छुट्याइएको छ । शिल भनेको यो जीवनमा आइपर्ने विविध कार्य गर्दा पालन गर्नुपर्ने अनुशासन हो भने यो जग पनि हो । यो जग बलियो भएमानै असल चित्त अथवा कुशल चित्तको उत्पाद हुन्छ र कुशल चित्तलेनै एकाग्रता वढाउँदछ जसलाइ समाधी भनिन्छ । चित्तको एकाग्रता बढदै गएपछी आफु भित्र भइरहेको सारा प्रपंचको ज्ञान हुन्छ । चित्तमा संचित विकारहरु हटदै जाँदा चित्त निर्मल हुँदै जान्छ । यस्तो निर्मल चित्त अथवा मन भए पछि प्रज्ञा अथवा विवेकको विकास हुन्छ र ज्ञानको सर्वोच्च शिखरमा पुगिन्छ भन्ने वुद्धको मान्यता हो । माथी उल्लेख गरिएको चार आर्यसत्य,अष्टांगमार्ग र प्रतित्यसमुत्पाद सिद्धान्तको याहां व्याख्या गर्दा लामो हुन्छ । त्यसैले त्यसको छोटो चर्चा मात्र गरियो । यो ध्यान साधनमा आउनु भयो भने विस्तारै यी सबै बुझ्दै गइन्छ ।

अर्को प्रसंग । हामीले भन्दै आएका छौं की निद्रावाट ब्युँझिएपछि हामी सचेत भइन्छ । यसलाइ सचेत चित्त भन्छौं । तर सचेत चित्त त सधैँ जागो रहन्छ । यो पार्थिव शरिर रहेसम्म । वास्तवमा सवकन्सस माइन्ड जसलाइ भनिन्छ त्यो त झन कहिल्यै निष्कृय रहँदैन । हामीले बन्द हो भनेर बन्द हुँदैन । हाम्रो शरिर भित्र रहेको लाखौं करोडौं कोष र अनेक ईन्द्रियहरु चलिरहेकै हुन्छ । चाहे हामी निदाउँ वा जागो बसौं । र त्यो भीत्रको मन पनि चौबिसै घन्टा सचेत रहन्छ । अहिलेको विज्ञानले यसलाइ अवचेतन मन भन्छ । हाम्रो मन भित्र अको मन छ अवचेतन । मन भन्नाले अवचेतन तर यो सधैं जागरुक भइरहन्छ अथवा योनै कनसस माइन्ड हो । तपाइ निद्रामा छँदा शरिरको कुनै भागमा कुनै कारणले चिलायो भने निद्रामै हातले कन्याउन पुग्छ । निद्रामा छँदा लामखुट्टेले टोक्यो भने आफसेआफ हात लामखुट्टे धपाउन पुग्छ । विउँझन पर्दैन । भोलिपल्ट विहान हातमा रातो रगतको टाटा देख्दा थाहा हुन्छ, राती लामखुट्टेले मलाइ टोकेछ । यसरी हाम्रो अवचेत मन अथवा सवकन्सस मन वास्तवमा जुन सधैं कन्सस वा जागरुक छ । यसले चौविसै घन्टा काम गरिरहेकै छ । मनको त्यो अवस्थालाइ समेत कसरी ठिक स्थानमा राख्ने भन्ने अभ्यास विपश्यनाले गराउँछ ।

विपश्यना ध्यान साधना चित्त वा मनलाइ निर्मल गर्दै जाने साधना हो । विपश्यनाको सिद्धान्तले भन्छ, यो सारा संसार मनोमय छ । मनबाटनै चलेको छ । यसकारण हाम्रो जीवनलाइ सही ढंगले जिउने र सही ढगले यो जीवनलाइ विसर्जन गर्ने भन्ने व्यवहारिक विधी सिकाउने विधीनै २६ सय वर्ष पहिले गौतम वुद्धले प्रतिपादन गर्नुभएको विपश्यना ध्यानको अभ्यासनै हो । यसकारण विपश्यना ध्यान साधनाको अभ्यास जीवन जिउने कला र निर्धक्क सँग मर्ने कला पनि हो । विपश्यनाको मुख्य कडी मनलाइ समतामा राख्ने विधी पनि हो । समता भनेको तठस्थतानै हो । मध्यमा रहनु । यसको पनि लामो व्याख्या छ । छोटोमा भन्दा मनलाइ समतामा राख्ने अभ्यास गर्दै गएमा हामी राग र द्धेषको चक्करमा पर्नबाट जोगिन सक्छौं ।

हरेक वस्तु ,घटना परिवर्तनशिल छ अस्थायी छ । तर हाम्रो मन यसो भन्नमा वा बुझ्नमा अभ्यस्त छैन । सुख प्राप्ती हुँदा यो पनि अस्थायी हो भन्ने लाग्दैन । वास्तवमा त्यो अवस्था त अस्थायीनै हो अनि त्यो सुख सकिए पछि मन व्याकुल हुन्छ । सुख हुँदा पनि मन व्याकुलनै हुन्छ । किनभने उ त्यतीमै सन्तुष्ट हुँदैन अझ बढि सुखको आकांक्षी हुन्छ र त्यो प्रात्ती नहुँदा फेरी व्याकुल । यो पनि अन्तहिन शिलशिलानै हो । मतलव फेरी दुख शुरु भइ हाल्यो । योनै दुख सुखको अन्तहिन शिलशिला हो ।

विपश्यना ध्यान साधनाकौ अभ्यासद्धारा यस्तो भइरहने अवस्थामा समताको विकास भइ मनलाइ काबुमा राख्न सकिन्छ । जती मन समतामा बलियो हुँदै जान्छ त्यतीनै यो सांसरिक घटना र वस्तुको प्रभावबाट हुने व्याकुलता घटदै जान्छ र सुन्यमा पुग्छ । सुन्यमा पुर्याउन सक्नुनै सबैभन्दा ठुलो सुख हो भन्ने विपश्यना साधनाको अभ्यासले सिकाउँछ । आउनुस हामी सवैले विपश्यना ध्यानको वैज्ञानिक अभ्यासलाइ अपनाऔं र जीवनलाइ सार्थक बनाउने मार्गमा अघि बढौं ।

(यहाँ अभिव्यक्त भएका सबै विचार मैले अभ्यास गर्दै गरेको विपश्यना गुरु स्वर्गिय सत्यनारायण गोयन्काज्यूको प्रवचन र उहाँको निदेर्शनमा गरिएको विपश्यना ध्यान साधनाबाट केही थोरै जानेर त्यसलाइ मैले बुझेको शैलीमा प्रस्तुत गरेको मात्र हुँ -लेखक) ।

तपाइँको प्रतिक्रिया