शनिबार, साउन ५, २०८१

महतन्त्रमा मह जोडी: सफलता काट्दै फुर्सद छैन, कुरा किन काट्नु

नेपालप्लस संवाददाता / पोखरा२०८० फागुन ५ गते ९:३४

कलाकारितामा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको जोडी नयाँ होइन । उनीहरूको जोडी ४४ वर्षदेखिको हो । शालीन, भद्र स्वभावका मदनकृष्ण र चञ्चले स्वभावको हरिवंशको जोडीलाई दर्शकले मह जोडी उपमा दिएका छन् ।

तिनै मह जोडी अर्थात् मदनकृष्ण र हरिवंश शुक्रवार पोखरा फेवा ताल किनारमा गफिए । बुकवर्म फाउन्डेसनले आयोजना गरेको ११औँ लिटरेचर फेस्टिभलको महतन्त्र सत्रमा मह जोडी मदनकृष्ण र हरिवंशलाई वसन्त बस्नेतले सहजीकरण गरेका थिए । कार्यक्रम अवधिभर मदनकृष्ण र हरिवंशले एक अर्काको सम्मानमा शब्द खर्चिए । मदनकृष्ण र हरिवंशको सहकार्य चार दशक लामो भइसकेको छ । तर, हालसम्म उनीहरुबीच न खोट देखिन्छ न खटपट नै । अझै पनि उनीहरू सधैँ भन्ने गर्छन्, ‘मह जोडी भन्ने नामलाई जीवनको अन्त्यसम्म कायम राख्ने हो ।

स्वभाव अनुरूप ठट्यौली शैलीमा प्रस्तुत भएका हरिवंशले आफू बिरालो र मदनकृष्ण दूध भएको बताए । ‘मदनलाई बिरालो भनौँ भने चित्त दुखाउनुहुन्छ होला । मदन दाइ दूध हो । म बिरालो हो । अनि दूधको साथी बिरालो,’ उनले भने ।

फेवा किनारमा गफिँदै मदनकृष्णले हरिवंशलाई बदलाको भावना नलिने गरेको बताउँछन् । ‘५ ७ वर्ष उमेर कान्छो छ । म उसलाई एकदमै सम्मान गर्छु । म गुरु जस्तो व्यवहार गर्छु हरिवंशलाई । कहिले गुरु जस्तो, कहिले छोरा जस्तो, कहिले भाइ जस्तो मायालु व्यवहार गर्छौँ हामी,’ हरिवंशलाई हेरेर मुस्कुराउँदै मदनकृष्णले भने, ‘एकआपसमा बदलाको भावना कहिले नलिने । हरिवंशले कहिले बदलाको भावना लिएको छैन । मैले पनि जेसुकै गरोस् हरिवंशलाई बदलाको भावना लिँदैन भन्ने मेरा अठोट छ ।’

कामका क्रममा इगो आउँदैन भन्ने प्रश्नमा मदनकृष्णले काममा इगो आए एक मनलाई अर्को मनले सम्झाउने गरेको बताए । ‘इगो आउँछ हो । आए पनि एउटा मनलाई अर्को मनले सम्झाउँछ । हरिवंशलाई फुर्ती गरेर मदनकृष्ण बन्न सक्दिनँ । इगो गरेर केही फाइदा छैन । इगो नगर्दा फाइदा हुन्छ भने कसले इगो गर्नतर्फ लाग्छ,’ उनले भने ।

हरिवंशले मदनकृष्णलाई कसैले केही भन्दा आफ्नो चित्त दुख्ने बताए । उनले पनि मदनकृष्णलाई फुर्काउँदै भने ‘म त चोर्छु पनि झुट पनि बोल्छु । सबैलाई माया गरेर साध्य पनि हुँदैन । गाली पनि गर्छु कतिलाई चित्त पनि बुझाउँछु । तर, मदन दाइको कहिले पनि चोर्दिनँ । र उहाँको हृदय मेरो जस्तो छ । कसैले केही भन्दियो भने मलाई चित्त दुख्छ । मैले पनि मदनलाई मै सम्झिन्छु ।’

एकले अर्कोलाई सफलताको कारण जस दिने गरेको मदनकृष्णले बताए । ‘पद र पैसामा लोभ नगर्ने । पद र पैसामा लोभ हुन सक्छ । हामीमा पनि लोभ छ । तर, हामी लोभिएका छैनौँ । अर्को कुरा एकले अर्कोलाई सफलताको कारण जस दिन्छौँ,’ उनले भने, ‘मेरो सफलताको जस हरिवंशलाई दिन्छु । हरिवंश तिमीले गर्दा यो राम्रो भो भनेर ।’

चित्त नबुझेको कुरा मासमा बसेर होइन । दुई जना बसेर निस्ताउने अनि सबैको अगाडि एकले अर्कोको प्रशंसा मात्र गर्ने । कुनै पनि समुदाय तथा अपाङ्गता भएका व्यक्तिहरूमा मनमा चोट पुग्ने शब्दहरू नबोल्नका लागि सचेत हुने । मह जोडी भन्ने नामलाई जीवनको अन्त्यसम्म कायम राख्ने । यसलाई जीवनको कमाई भनेर सम्झिने । यसका लागि सबै नेपालबाट सहयोग पाएका छौँ ।

मदनकृष्णको मित्रतापछि आफूहरूलाई फलिफाप भएको हरिवंशले बताए । ‘म मदन दाइ किन इमानदार हुन्छ भने मेरो आफ्नो स्वार्थले पनि हो । म स्वार्थी पनि छु । मदन दाइसँग मित्रता गरेर फलिफाप भएको छ । घाटा केही पनि छैन,’ उनले भने ।

सहकार्यपछि कहिले पछाडि फर्केर हेर्नु नपरेको हरिवंशले बताए । उनले भने, ‘यस्ता चाहिँ पेसागत स्वार्थ पनि छ । सबैभन्दा ठुलो स्वार्थ भनेको पेशागत स्वार्थ । हामी दुई जना मिलेर सहकार्य गरेपछि कहिले पनि पछाडि फर्केर हेर्नुपरेन । र सफलताको सिढि उक्लिँदै उक्लिँदै यहाँसम्म आइपुगिन् । अब यो भन्दा तल नखसोस् भन्ने पनि अर्को स्वार्थ छ ।’
‘आर्थिक उपार्जन गर्ने प्रवृत्तिले मित्रता टिक्दैन ।’

मदनकृष्ण र हरिवंश दुवैले आफूहरू दुवै अध्यक्ष जस्तो भएको बताउँदै आएका छन् । आर्थिक उपार्जन गर्ने प्रवृत्ति भएकाले मित्रता नटिक्ने गरेको हरिवंश बताउँछन् । तर, आफूहरूमा सात पुस्तालाई कमाउने प्रवृत्ति नभएको उनी सुनाउँछन् ।

उनी भन्छन्, ‘हामीलाई अथाह अर्थात् सात पुस्तालाई कमाउने त्यो प्रवृत्ति छैन । राजनीतिक पार्टीमा केही नेताहरू बाहेक अरुअरुलाई चाहिँ दण्डहीनताको केहि पनि सीमा छैन । जसले जति कमाए पनि जे गरे पनि त्यो मान्छे जेलमा बसेको इतिहास भर्खर भर्खर सुन्न पाइएको छ । जसरी आउँछ खल्तीमा राख्यो । आर्थिक उपार्जन गर्ने प्रवृत्ति भएकाले मित्रता टिकेन ।’

आफूले मदनकृष्णलाई कहिले जित्न नखोज्ने हरिवंशले बताए । ‘मदन दाइलाई कहिले म जित्न खोज्दै खोज्दिन । मदन दाई सँगसँगै आम्दानी पनि कमाइराखेको छु । नाम पनि कमाई राखेको छु । जब एक्लै कमाउँछु भनेर हिँड्यो भने इगो बढ्यो भने यो चिजहरू सकिएर जान्छ,’ उनले भने ।
मदनकृष्णले पञ्चायतकलामा घुमाउरो ढङ्गले हास्यव्यङ्ग्य गर्नुपर्ने बाध्यता बताए । ‘पञ्चायतकलामा घुमाउरो ढङ्गले हास्यव्यङ्ग्य गर्नुपर्ने बाध्यता थियो । त्यसरी भन्दा कलात्मक हास्यव्यङ्ग्य हुन्थ्यो । अहिले जस्तो सिधै भन्ने परिस्थिति थिएन । सकेसम्म सिधै नभनौंजस्तो लाग्छ । अहिलेका नयाँ कलाकारको व्यङ्ग्य राम्रो छ । घुमाएर साहित्य मिसाएर भन्दा रमाइलो लाग्छ मलाई,’ उनले भने ।

तपाइँको प्रतिक्रिया