बुधबार, असोज २३, २०८१

गंगा जस्ती ‘नयना’

निल थापा / कोपेनहेगन, डेनमार्क२०८० चैत ६ गते ११:१९

काठमाडौंमा डेराको जिन्दगी रमाईलो थियो। एक्लो अनि स्वतन्त्र म । अविभावकबाट टाढा भएपनि आर्थिक अभाव थिएन। गाऊँ तथा घरपरिवारको याद भने आईरहन्थ्यो बेलाबेलामा।

खर्च घरबाट आएपनि आफ्नो लागि अतिरिक्त खर्च आफैं जोहो गर्थें। बच्चाहरूलाई पढाएर कहि पैसा आर्जन गर्थें। बच्चाहरूलाई पढाउने कामको बारेमा भने घरपरिवारमा थाहा दिएको थिईन। मस्तको थियो मेरो त्यो जिन्दगी।

अघिपछि कलेज जाने तथा पढाउने कामका लागि दौडधुप भएपनि शुक्रबार आएपछि गज्जब रमाईलो लाग्थ्यो।

शुक्रबार आयो कि साँझमा सिनेमा हेर्थें। कहिले सिनेमा हलमा गएर हेर्थें। कहिले घरबेटीकोमा गएर हेर्थें।

घरबेटी दाई पनि खुब फिल्म हेर्थें। कहिलेकाहीँ कोठामा सिनेमा भाडामा ल्याएर हेर्थें। कोठामा हेर्ने सिनेमाका विधा भने फरक फरक थिए।
सानै भएनी टिभि थियो कोठामा ।

घरबेटी दाईको भान्जा दुबईमा बस्थे। एकपटक उनले नेपाल आउँदा हिटाचि कम्पनिको डेक लिएर आएका थिए। त्यो डेक मैले १२ हजारमा किनेको थिएँ त्यसबेला।

त्यो १२ हजार तिर्न मैले एक धनाढ्य परिवारको घरमा गएर तीन र चार कक्षा पढ्ने दुई जना केटाहरुलाई प्रत्येक साँझमा दुई घन्टा पढाएँ । छ महिना सम्म ।

पढाउने ठाउँमा साँझको खान पनि दिन्थे। मेरो लागि त्यो फाईदाजनक भयो। पैसापनि भयो। साँझ कोठामा आएर पकाउनुपनि नपर्ने।

मेरो आफ्नो पढाइ भने ठिकै थियो। अब्बल नै नभए पनि खराब थिईन म । सधैं पढ्नुपर्छ भन्ने कुराले कता कता बास गरिरहनथ्यो मेरो मनमा।

गाउँघरका आफूभन्दा अग्रजहरु ठूला पदमा जागिरे थिए । कोहि डाक्टर थिए त कोई ईन्जिनियर। त्यहि देखेर होला सायद पढाइ प्रतिको झुकाव सधैं बसिरह्यो म भित्र।

सिनेमा हेर्ने लत भने सानै देखि थियो। गाउँमा हुँदापनि सिनेमा हेरिराख्थें। कलाकार हुने सोच बालककालदेखि थियो। आजका दिन सम्मै त्यो सोच मरेको छैन ।

बच्चालाई पढाउने पेसा शुरु गरेपछि भने अर्कै रमाईलो तरिकाले हिँड्न थालेँ म। साथमा पैसा हुँदै गयो। पैसा भएपछि साथीभाई त पनि यही अनुसार थपिँदै गए।

शुक्रबार आयो कि रमाईलो गरिहाल्नु पर्थ्यो। प्राय साथीभाईसँगको जमघट हुन्थ्यो। कहिले एक्लै रमाउँथें ।

एकदिन शुक्रबारको साँझ पसल बन्द होला भनेर म दौडदै सिनेमा (भाडामा भिडियो) लिने पसल पुगें। त्यहाँ विभिन्न सिनेमाहरु भाडामा लिन पाईन्थ्यो। सिनेमा पसल मेरो डेराबाट नजिकै थियो। पसले दाइसँग राम्रै चिनजान थियो।

पसले दाइलाई देख्ने बितिक्कै सोधिहालेँ- “मन” फिल्म को भिडियो दिनुस त दाइ । अमिर खान, मनिषा कोईरालाले अभिनय गरेको त्यो हिन्दी सिनेमा भरखरै सार्वजनिक भएको थियो ।

मेरो कुरा सुनेर दाइले हाँस्दै प्रश्न तेर्साए ‘आज दिउँसै लाईयो कि क्या हो भाइ ?  गन्ध त राम्रै आको छ त मुखबाट ।’

शुक्रबारको साँझ थियोे । केही समय अगाडि मैले खाएको गिलमेरीको गन्धले पसले दाईको नाक खोलि दिएछ ।

म हाँसे मात्र ।

त्यतिबेला गिलमेरी नामक ह्वस्कि पाईन्थ्यो। कहिलेकाहीँ साथीभाई हामी त्यही खान्थ्यौं। त्यो दिन पनि मैले त्यही खाएको थिएँ । साथीहरुको लहैलहैमा लागेर मैले पिउन भर्खर सुरु गरेको थिएँ। मेरा केही साथिहरु भने निर्धक्क पिउँथे।

“मन” सिनेमाको भिडियो चक्का लिँदै गर्दा मैले पसले दाईलाई सोधिहालेँ ‘छिमेकमा मासु पसल खुले छ नि दाइ ।’ नजिकै रहेको मासु पसलतिर देखाउदै ईशारा गरें मैले। जहाँ मेरै उमेरकि एक केटी मासु पसल अगाडि उभिएर बसेकि थिई। त्यो भन्दा अगाडि त्यहाँ मासु पसल थिएन।

मेरो कुरा सुन्ने बितिक्कै पसले दाईले जिस्काउँदै भने ‘नयाँ पसल हो। छिमेकिको मासु चाख्ने भए लिएर जानुस ।’ हाँस्दै पसले दाईले द्वि अर्थी शब्द प्रयोग गरे।

फेरि दाईले अगाडि कुरा थपिहाले ‘भोलि बिहानै फिर्ता ल्याउनु है यो फिल्म जसरी पनि । धेरैले माग गरेका छन् ।’

‘हुन्छ’ जवाफ दिएँ ।

पसले दाईको कुराले मनमा केही नभए जस्तो गरेपनि मासु किनेर लाने विचार गरें।

मासु पसल छिरेर मासु मागिहालें ‘कुखुराको मासु दिनुस त।’

मासु पसलमा उभिएकि केटीले सोधिहाली ‘कति ?’

आधा किलो।

उसले मासु जोखी । काटेर दिई।

ऊसले मासु काटुन्जेल मैले हेरिरहेँ उसलाई । मासु लिँदै मैले ३५ रुपैया दिएँ । उसले पैसा लिँदै गर्दा आँखा जुधाएर हेरि। मैले पनि त्यसै गरि आँखा जुधाएर हेरेँ। मानौं हामी दुई आँखाले मात्रै कुरा गर्न चाहन्छौं ।

असाध्यै राम्रा थिए उसका आँखा । तल्लो ओठ मुनि सानो कोठी देखें। आँखामा गाजल लगाएकी। कोरिबाटि चिटिक्क परेर बसेकी। कुर्ता सुरवाल बाहिर रातो कपडा बेरेरे उभिएकि थिई ऊ। बेरेको कपडामा मासुका छिटा र रगत प्रष्ट देखिन्थ्यो।

मैले सिधा उसको आँखामा आँखा जुधाएर हेरें। मेरो सिधा हेराईले होला उसले अलि लजाए झै दायाँबायाँ हेरी। मैले पसलको भितातिर हेरेँ।

एउटा क्यालेन्डर झुन्डिएको थियो। क्यालेन्डर सँगै सानो रेडियो पनि झुन्डिएको थियो। रेडियो आफ्नै तालमा बजिरहेको थियो।

एक हातमा सिनेमाको चक्का र अर्को हातमा मासु बोकेर हिड्न मात्र के लागेको थिएँ मासु पसलमा झुन्डिएको रेडियोमा बजेको गितले मेरो मन खायो।
गितको भाका यस्तो थियो ।

“फुलको थुङ्गा बगेर गयो गंगाको पानीमा
कहिले भेट होला है राजै यो जिन्दगानीमा”

म पसल छाडेर हिँडे पनि माधव प्रसाद घिमिरेले लेखेका शब्दहरु र तारादेविको स्वरको यो गित पर सम्म गुन्जिरह्यो मेरो कानमा।

कोठामा पुगेर गिलमेरी थपें। मासुभात पकाएर खाएँ। “मन” सिनेमा हेरेँ। मनले नि पुगेन । अनि लाएँ अर्को सिनेमा। अर्को सिनेमा हेर्दा भने टिभिको आवज बन्द गरें।

बन्द कोठामा बत्ति निभाएर आवज बन्द गरेको सिनेमाले मेरो आँखा कतिखेर बन्द गरेछ थाहै पाईन। भोलि पल्ट बिहान उठ्दा पो थाहा भो टिभि त खुल्लै रहेछ।

भोलिपल्ट शनिबारको दिन सिनेमाको चक्का पुर्याउन जाँदा मासु पसल तिर हेरें। मासुपसलमा त अरु नै देखें । अन्दाजी पैंतालीस वर्ष जतिको महिला कुर्सिमा बसेकि थिईन । म पसल तिर नहेरी हिँडें।

अघिल्लो दिन तारादेवीको गितले मन खाएको थियो । मासु पसलमा त्यो दिन ।ती केटीलाई नदेख्दा। अघिल्लो दिनको उसको हेराई र ओठ मुनिको कोठीले झनै मन खायो।

उमेर हो वा आकर्षण । साँच्चै त्यो केटीले मलाई बेचैन बनाई।

त्यस दिनपछि प्राय साँझतिर सधैँ भिडियो पसल जान थाले म ताकि उसलाई मासु पसलमा भेटन् सकुँ।

पाँच छ दिन जाँदा पनि नभेटे पछि एकदिन भिडियो पसलको दाईलाई सोधें ‘दाई मासु पसलको केटी देखिँदैन नी आजकल ?’

दाईले हाँस्दै मलाई नै प्रश्न सोधे ‘मासु खोज्न आको कि केटी?’
मैले हास्दै उत्तर दिएँ ‘दुबै’ ।

पसले दाईले जवाफ दिए ‘दुई तीनवटा पसल छरे भन्ने सुनेको छु। अब कता बस्छन्। कता !’

म साँझमा निरन्तर त्यो पसल हुँदै भिडियो पसल जान्थें तर पनि भेटिन उसलाई ।

दुई हप्ता पछि साँझ एकदिन तरकारी पसलमा उसलाई देखें। उसँग अर्को पनि केटी थिई। बोल्ने बिचारले पछि लागें । मलाई देखेर ऊ हाँसिमात्र । अर्कि केटीले बरु फर्केर हेर्या जस्ती गरि। अर्को केटी उ भन्दा अलि सानी थिई।

मनमा डर भएपनि हिम्मत लिँदै नजिकै गएर सोधें ‘चिन्यौ मलाई? म तिम्रो पसलमा धेरै आएँ । देखिन तिमीलाई ।’

उसले ‘किन आको त ?’ भन्दै हाँसि मात्र। मैले ठाडो भाषामा छोटो उत्तर दिएँ ‘तिमीलाई हेर्न नी ।’

उसँगकि केटीले सोधी ‘को हो र तपाई?’

मैले उमेरको हिसाबले ठट्यौली उत्तर दिएँ “मान्छे” ।

उसले हाँस्दै पो भनी ‘त्यो त मैले नि देख्या छु नि। कसले बाँदर भनेको छ र ?’

मैले उसको कुरा सकिनै बित्तिकै नाम भनें ‘म “अमिर” । यहि गणेश मन्दिर पछाडिको घरमा बस्छु ।’

आफ्नो परिचय दिँदै बुद्दनगर गणेश मन्दिर निरको डेरा देखाएँ ।

‘तिम्रो नाम केहो नि?’ सोधें उसलाई।

“मान्छे” दुबैले एकसाथ बोलेर नाम नभनि आफ्नो बाटो लागे।

बाटोमा अरु मान्छेहरु पनि थिए । मैले पछि लाग्न आवश्यक ठानिन् । तरकारी किनेर कोठामा फर्किएँ । मनमा भने बेचैनी छँदै थियो। एकदिन भेटिएला सायद । मन बुझाएँ ।

समय बित्दै गयो। अकस्मात ! एकदिन म कलेज जाने समय उसलाई बुद्दनगरको बस बिसौनीमा भेटेँ।

चिटिक्क सजिएर हिँडेकि थिई ऊ । दौडिँदै गएर बोलाएँ ‘के छ खबर ? चिन्यौ मलाई?’ नाम थाहा थिएन उसको ।

फेरि सोधें ‘अस्ति नाम भनिनौ। आज त भन्छौ होला नी !’

बिस्तारै लजाए जसरी भनी “नयना” नामको अर्थ थाहा नभए आहा कस्तो राम्रो नाम भन्ने लाग्यो। मनमनै आफैँभित्र रमाएँ ।

‘मलाई त चिन्यौ नि?’ सोधें उसलाई।

“मान्छे” के त !

मैले जिस्क्याउँदै सोधेको उत्तर दिई उसले “अमिर” भन्या हैन अस्ति आफैले ।
म हाँसे मात्र।

मैले प्रश्न गरें ‘किन अस्ति नाम नभनेको त तिमीले चैं ?’
उसले अप्ठ्यारो मानेर जसरी जवाफ दिई ‘बहिनी सँगै थिई नि त । त्यो दिन म संग हिड्ने। मेरो कान्छी बहिनी हो के ।’

मैले सोधें ‘कतिजना दिदी बहिनी छन् र?’

उसले हाँस्दै जवाफ दिई ‘चार जना । म भन्दा साना तीन जना छन्। एउटा भाइ पनि छ।’

मैले कुरा मोड्दै सोधीहालें ‘कता हिँडेको त तिमी अहिले ?’

उसले जवाफ दिई ‘पसल । हाम्रो मासु पसल छ खिचापोखरीमा अर्को पनि।’

जवाफ सकिनासाथ प्रतिप्रश्न गरि मलाई तपाईं चै कता नी ?’

‘मिनभवन कलेज जानुपर्ने मान्छे म ।’

उसको प्रश्नको उत्तर दिएँ ‘अफिस ।’ जागिर नभएपनि अफिस जान हिँडेको भने।

‘अफिस कहाँ छ नि ?’ फेरि सोधि उसले।

मैले फेरि जवाफ दिएँ ‘जमल।’

मैले उसलाई ‘तिमी’ सम्बोधन गरेँ। उसले भने मलाई ‘तपाईं’ ।

ट्याम्पो आयो । हामी दुबै ट्याम्पो चढ्यौं। म कलेज जानुपार्ने मान्छे उसको पछि लागेर रत्नपार्क जाने ट्याम्पोमा चढें । हामी आमने सामने भएर बस्यौं।मैले उसलाई अगाडि बसेर नजिकबाट हेर्ने मौका पाएँ।

असाध्यै गोरी थिई ऊ । ठूला र गाजलु आँखा थिए उसका। कपाल भने कुर्लुङ कुर्लिङ परेका (कर्ली) थिए। दुईतिर कानमा टप लगाएकि। घाटीमा सुनको सिक्रि थियो।

सेतो सुरुवाल माथि बुट्टे हल्का बैजनी रंगको कुर्ता र सेतै सल थियो उसको । सलले छोपेपनि छाती भने बाहिरबाटै पुष्ट देखिएका थिए। एकदम सुडौल शरिरकि धनी थिई ऊ।

एकछिन त म हेरेको हेर्यै भएँ मानौ म उसको शरीर नियाल्न मात्र अगाडि उभिएको छु।

मैले कुरा अगाडि बढाउने सुरमा थपें ‘कति बजे फर्किन्छौ नि पसलबाट ?’

उसले जवाफ दिई ‘चार पाँच बजेतिर । पसलमा बुवा भाइ बहिनी र म पालो पालो बस्छम।’

ट्याम्पोभरि मान्छे थिए ।

‘ए भन्ने बाहेक मसँग सोध्ने कुरा धेरै केही भएन ।

ट्याम्पो आफ्नो गतिमा दौडिईरह्यो। केहिबेरमा ट्याम्पो सुन्धारा पुग्यो। उ सुन्धारामा झरी।

ट्याम्पोबाट झरेर ‘जान्छु है’ भन्दै ट्याम्पो भाडा तिरेर आफ्नो बाटो लागि ऊ ।
मैले ‘ल बाई’ भन्दै हात उठाएँ ।

मैले पछाडिबाट उसको आकर्षक नितम्ब हेरिरहें । अलि अगाडि पुगेपछि भिडमा हराई ऊ।
मेरा आँखाले भने उसलाई खोजिरह्यो । म रत्नपार्क पुग्नु पर्ने हुनाले ट्याम्पु मै थिएँ।

मैले उसलाई एकछिन मासु पसलमा देख्दा जुन आकर्षण थियो त्यो आकर्षण कयौं गुणा बढेर आयो म भित्र ।

मासु किन्दा मातेको आँखाले हेरेको उसलाई। आज उसको आँखाको हेराईले मातेको छु म।
तरपनि खुट्टा नलरबराई भुइँमा टेकें ।

“नयना” सँगको भेटले शरिरमा थप नयाँ उर्जा थप्यो। म रत्नपार्क झरेर हुँदै नभएको अफिसतिर लागें ।
क्रमशः

तपाइँको प्रतिक्रिया