शनिबार, साउन १२, २०८१

युरोप स्तरिय गायन र नृत्य प्रतिस्पर्धाका लागि ईनास युरोपेली भेला पेरिसमा शुरु

नेपाल प्लस२०८१ वैशाख २९ गते १६:२०

अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) युरोप तथा फ्रान्सद्वारा आयोजित “नवौं इनास युरोपियन एकल नृत्य तथा छैठौँ एकल गायन प्रतियोगिता र ईनासको युरोपेली भेला आजै शनिवारबाट पेरिसमा शुरु भएको छ ।

नेपाली कला र संस्कृतिलाई उत्थान गर्ने र विदेशमा यसको बिस्तार तथा विकास गर्ने उद्देश्यले गठित इनासको यस कार्यक्रममा युरोपका नौ देशबाट सहभागिता छ ।

ऐतवार एकल गायन विधा तर्फ आठ देशका नौ जना प्रतिस्पर्धीले आफ्नो स्वरको जादु देखाउने छन् भने एकल नृत्य विधामा नौ देशका दश प्रतिस्पर्धीले आफ्नो नृत्य प्रस्तुती दिनेछन् ।

शनिवार ईनासका भावी योजना र युरोपेली भूमिमा नेत्रित्व तथा भाबी एजेण्डाका बारेमा विशेष छलफल हुने छ ।

फ्रान्स, जर्मनी, पोल्यान्ड, निदरल्यान्ड, डेनमार्क, बेल्जियम, बेलायत, चेक रिपब्लिक र स्पेनको सहभागिता हुने यस कार्यक्रममा भाग लिन सबै देशका प्रतिनिधिहरू पेरिस आइपुगेका छन् ।

पेरिस स्थित सबैजसो नेपाली सङ्घसंस्था तथा स्थानीय नेपाली तथा नेपाली भाषी व्यवसायिहरूले साथ सहयोग गरेर्का छन् । ति सबैको बलियो आर्थिक समर्थन रहेको यस कार्यक्रमको पहिलो दिन अर्थात शनिवार क्षेत्रिय भेला तथा स्थानीय संघ संस्था सँगको परिचयात्मक कार्यक्रम हुँदै छ । यो कार्यक्रम पेरिस नजिकैको शहर ओवेरभिलिएमा एक प्रदर्शन हलमा सम्पन्न हुँदैछ ।

आजको कार्यक्रममा प्रवेश निशुल्क रहेको छ भने साँझ खानाको व्यवस्था गरिएको छ ।

भोलि आइतबारको मूल कार्यक्रम भने पेरिसको १० नम्बर वडामा रहेको मेरी बेल जिम्नाजियम थिएटरमा हुँदैछ । दुई शय वर्ष पुरानो यस ऐेतिहासिक थिएटरका चारवटा तलाहरू छन् जहाँ चार हजार दर्शकहरू अट्ने क्षमता रहेको छ । यति भब्य नृत्यशालामा नेपाली तथा नेपाली भाषीहरूले आयोजना गरेको यो प्रमुख कार्यक्रम हो जसलाई पूर्वीय तथा पाश्चात्य शैलीको सम्मिश्रणको रुपमा व्याख्या गरिएको छ ।

यस कार्यक्रममा सहभागि हुन बिभिन्न देशका प्रतिस्पर्धीहरूले आआफ्नै देशमा समेत गायन र नृत्यका लागि कलाकार छनौटमा परेर आएका हुन् । हरेक प्रतिस्पर्धीले दुइ पटक आफ्नो प्रस्तुती दिनुपर्ने नियम छ। यस कार्यक्रममा भाग लिन एकल भए प्रवेश शुल्क तीस युरो र जोडी भएमा ५० युरो लाग्नेछ । तर आठ वर्ष मुनिका बाल बालिकाहरूको लागि प्रवेश निशुल्क रहेको छ ।

‘हाम्रो कार्यक्रमको सम्पूर्ण तयारी सकिएको छ । बढी भन्दा बढी पेरिसबासी नेपालीको सहभागिता रहनेछ भन्ने हाम्रो अपेक्षा छ’ संस्थाका सचिव नवीन परियारले नेपाल प्लसलाई जानकारी दिए ।

तपाइँको प्रतिक्रिया