आइतबार, साउन ३१, २०८३

‘जेन जेड’ पुस्ता चराका आवाज सुन्न आतुर

नेपालप्लस संवाददाता / फ्रान्स२०८३ साउन ३१ गते ३:५७

Photo Credit-tripjive.com

सामाजिक सञ्जाल र शाजामजस्तै चराको आवाज पहिचान गर्ने एपहरूले युवालाई चराचुरुङ्गी अवलोकनतर्फ आकर्षित गरिरहेका छन्। उनीहरू बाहिरी संसारसँग अझ शान्त र वास्तविक सम्बन्ध खोजिरहेका छन्।

माफ गर्नुहोस्, एलन—यी तपाईंका खालका ‘ट्वीट’ होइनन्। सामाजिक सञ्जालका प्रयोगकर्ताहरू टिकटकमा चराचुरुङ्गीसम्बन्धी भिडियो हेर्न र बनाउन आकर्षित भइरहेका छन्, र यससँगै चराचुरुङ्गी अवलोकन अर्थात् ‘बर्डिङ’ युवा पुस्तामाझ लोकप्रिय हुँदै गएको छ।

इन्टरनेट झन् ध्रुवीकृत, आक्रामक र कृत्रिम बुद्धिमत्ता (एआई) बाट सिर्जित सामग्रीले भरिँदै गएका बेला बेलायतमा मानिसहरू चराचुरुङ्गीका भिडियोमार्फत संसारलाई हेर्ने अझ शान्त र मधुर झ्यालतर्फ आकर्षित भइरहेको देखिन्छ।

टिकटकका अनुसार बेलायतमा पछिल्लो तीन महिनामा बर्ड वाचिङ, बर्ड टक (#birdwatching) र (#birdtok) अन्तर्गतका भिडियो पोस्ट एकतिहाइले बढेका छन्। त्यस्तै, बर्डिङ (#birding )अन्तर्गतका पोस्ट ४० प्रतिशतले बढेका छन्। विश्वभर यी तीनमध्ये कुनै एक ह्यासट्याग प्रयोग गरिएका पोस्टको संख्या अहिले १० लाख पुगेको छ।

‘स्टिभेन’ नामको मानिससँग घुलमिल भएको एउटा समुद्री चरा (सीगल) लाई टेस्कोको काँचो साल्मन माछा खुवाइएको भिडियो मात्रै ५ करोड २० लाखभन्दा बढी पटक हेरिएको छ।

रोयल सोसाइटी फर द प्रोटेक्सन अफ बर्ड्स (RSPB) का पोस्टहरूले पछिल्लो एक वर्षमा झन्डै ९० लाख भ्युज पाएका छन्। तीमध्ये एकतिहाइभन्दा बढी भ्युज २४ वर्षभन्दा कम उमेरका प्रयोगकर्ताबाट आएका छन्।

चराचुरुङ्गी अवलोकनमा संलग्न व्यक्तिहरूका अनुसार यसको बढ्दो लोकप्रियताको पछाडि मर्लिन (Merlin) जस्ता एप, प्राकृतिक संसारप्रतिको पुनर्जागृत जिज्ञासा, परम्परागत वा ‘एनालग’ रुचितर्फको आकर्षण र सामाजिक सञ्जालको प्रभाव प्रमुख कारण हुन्। मर्लिना (Merlin) चराको आवाज पहिचान गर्ने शाजाम’जस्तै एप हो।

३३ वर्षीय ज्याक ब्याडम्स डर्बीशायरमा बस्ने चराप्रेमी हुन्। चरामा ट्याग लगाउने तथा तिनको अनुगमन गर्ने विषयमा उनले बनाएका भिडियोहरू लाखौँ पटक हेरिएका छन्।

यो वास्तविक कुरासँग जोडिन खोज्ने एउटा चाहना हो। र बर्डिङ त्यसतर्फ जाने निकै राम्रो माध्यम हो,” ब्याडम्स भन्छन्।

उनका टिकटकमा करिब ३ लाख फलोअर्स छन्। उनी टेलिभिजन अनुसन्धानकर्ता पनि हुन् र ब्रिटिस ट्रस्ट फर अर्निथोलोजी (BTO) का करिब ३,००० ‘बर्ड रिङ्गर’मध्ये एक हुन्। उनीहरूले चराको खुट्टामा पहिचानका लागि विशेष रिङ लगाउँछन्, जसबाट चराको संख्या, बसाइँसराइ तथा अन्य गतिविधिमा भइरहेको परिवर्तनबारे अध्ययन गर्न सहयोग पुग्छ।

चरामा रिङ लगाउने प्रक्रियाबारे उनले बनाएको एउटा भिडियो मात्रै ७५ लाखभन्दा बढी पटक हेरिएको छ।

ब्याडम्स आफूले पाएको प्रतिक्रियाको स्तरबाट ‘चकित’ भएको बताउँछन्।

म दुर्लभ चरा पहिचान वा ट्याग गरिरहेको छैन। तीमध्ये धेरैजसो सामान्य चरा हुन्। तर जति सामान्य र सजिलै चिन्न सकिने चरा हुन्छन्, त्यति नै बढी मानिसको रुचि देखिन्छ। मानिसहरूको उनीहरूसँग भावनात्मक सम्बन्ध हुन्छ,” उनी भन्छन्।

ब्याडम्सले रिङ लगाएका चरामा ब्ल्याकबर्ड, ब्लु टिट र मेडो पिपिट छन्। मेडो पिपिटलाई चराप्रेमीहरूको भाषामा क्लासिक लिटिल ब्राउन जब’ भनिन्छ—सानो, भँगेराजस्तै खैरो चरा, जुन सुरुमा हेर्दा एकअर्काबाट छुट्याउन निकै गाह्रो हुन्छ।

योर्कका ३५ वर्षीय व्यावसायिक पक्षीविज्ञ टिम जोन्स सामाजिक सञ्जालले सामान्यतया युवा पुस्तासँग जोडिन नसकेको मानिने चराचुरुङ्गी अवलोकनको रुचिलाई नयाँ पुस्तासम्म पुर्‍याउन ठूलो भूमिका खेलेको बताउँछन्।

उनको बिगिन बर्डिङ (Begin Birding) टिकटक खातामा ४८ हजार फलोअर्स छन्। उनले ‘यो साता एउटा चराको गीत सिकौँ’ जस्ता भिडियो बनाउँछन्। इन्स्टाग्राममा भने उनका फलोअर्स २ लाख १० हजार छन्।

इन्स्टाग्राममा लोकप्रिय अन्य बर्डिङ सामग्री निर्मातामध्ये जेकब कोब पनि छन्, जसले संसारका सबै प्रजातिका चरा खोज्ने प्रयास गरिरहेका छन्। त्यस्तै अमेरिकी बर्डर–गायक बोनर ब्ल्याक पनि चर्चित छन्।

केही दशकअघि ४० वर्षभन्दा कम उमेरको बर्डर देखिनु नै असामान्य मानिन्थ्यो। अहिले त्यो तीव्र रूपमा परिवर्तन भइरहेको छ। अहिले त २० वर्ष आसपासका युवादेखि किशोरकिशोरीसम्म बर्डिङमा संलग्न भएको देखिन्छ,” जोन्स भन्छन्।

चराचुरुङ्गी अवलोकनसँग जोडिएको शब्दावलीसमेत परिवर्तन हुँदै गएको छ। युवा पुस्ताले ‘birdwatching’ भन्दा ‘birding’ शब्दलाई बढी रुचाउने गरेको जोन्स बताउँछन्।

‘ट्विचर’ भन्नाले दुर्लभ चरा देखिएको खबर पाएलगत्तै आफ्नो सबै काम छाडेर त्यसलाई हेर्न दौडिने समर्पित बर्डरलाई जनाउँछ। तर अधिकांश चराप्रेमीको गतिविधिलाई ‘ट्विचर’ शब्दले समेट्दैन।

सामाजिक सञ्जालले मानिसहरूलाई यी रुचिहरू रोचक र रमाइला छन् भन्ने देखाएको छ। साथै, उनीहरूले आफूजस्तै अरू युवा पनि यस्ता गतिविधिमा संलग्न छन् भन्ने थाहा पाएका छन्,” जोन्स भन्छन्।

तर आगामी वर्ष बेलायत सरकारले १६ वर्षभन्दा कम उमेरका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने तयारी गरिरहेका कारण ‘बर्डटक’को यो विकासक्रममा असर पर्न सक्ने देखिन्छ।

जोन्सका अनुसार सामान्यतया १० देखि १३ वर्षको उमेरमा मानिसहरू बर्डिङतर्फ आकर्षित हुन थाल्छन्। यद्यपि सामाजिक सञ्जालमा उनलाई पछ्याउनेहरूमध्ये ठूलो समूह ३० वर्ष आसपासका मानिसहरूको रहेको उनी बताउँछन्।

ब्रिटिस ट्रस्ट फर अर्निथोलोजी (BTO) ले युवाका लागि आयोजना गरिने बर्डिङसम्बन्धी कार्यक्रमहरूमा उल्लेखनीय वृद्धि भएको जनाएको छ। ११ देखि २५ वर्ष उमेर समूहका लागि बर्ड क्याम्प, पैदल अवलोकन भ्रमण र छलफल कार्यक्रममा अहिले ठूलो माग देखिएको छ।

BTO को युवा सहभागिता टोलीका सदस्य स्यामुअल लेभी भन्छन्: पहिले युवालाई कार्यक्रममा ल्याउन निकै कठिन हुन्थ्यो। अहिले हामीले आयोजना गर्ने हरेक कार्यक्रममा ठूलो माग देखिरहेका छौँ। जीवनमा पहिलोपटक आफूलाई ‘ट्रेन्डी’ भन्न पाएको छु।”

युवा वन्यजन्तु तथा चराचुरुङ्गी फोटोग्राफरहरू पनि टिकटकमा लोकप्रिय भइरहेका छन्। RSPB ले पनि युवा पुस्तामाझ चराचुरुङ्गी अवलोकनप्रतिको बढ्दो रुचिलाई सकारात्मक रूपमा लिएको छ।

RSPB का सामाजिक सञ्जाल व्यवस्थापक जोशुआ एडवार्ड्स भन्छन्: धेरैभन्दा धेरै युवाले चराचुरुङ्गी र वन्यजन्तुप्रति चासो देखाइरहेको देख्नु अत्यन्त उत्साहजनक छ। यस्तो रुचि प्रकृतिसँग दीर्घकालीन सम्बन्ध निर्माण गर्ने महत्वपूर्ण पहिलो कदम बन्न सक्छ।”

छोटो सार

सामाजिक सञ्जालमा बढ्दो ‘बर्डटक’ संस्कृतिले चराचुरुङ्गी अवलोकनलाई पुरानो पुस्ताको रुचिबाट युवापुस्ताको लोकप्रिय गतिविधिमा रूपान्तरण गरिरहेको छ। टिकटक, इन्स्टाग्राम र चराको आवाज पहिचान गर्ने एपहरूले युवालाई प्रकृतिसँग जोडिरहेका छन्। इन्टरनेटमा बढ्दो एआई सामग्री, विवाद र आक्रामकताबीच युवाहरू प्रकृतिसँगको शान्त, प्रत्यक्ष र वास्तविक सम्बन्ध खोजिरहेका कारण पनि बर्डिङ लोकप्रिय बन्दै गएको विज्ञहरूको बुझाइ छ।

(द गार्डियन दैनिकका ग्लोबल टेक्नोलोजी सम्पादक ड्यान मिल्मोले १५ अगस्ट २०२६ मा Gen Z flocks to BirdTok as birding takes flight: ‘It’s a craving for something real’ शिर्षकमा प्रकाशित गरेको लेखलाई नेपाली भाषामा भावनात्मक अनुवाद गरिएको हो-नेपालप्लस)

तपाइँको प्रतिक्रिया

फेसबुक