मंगलबार, साउन १९, २०८३

पेरिसमा २१३औँ भानुजयन्ती मनाइयो

अनुराधा पौडेल / फ्रान्स२०८३ साउन १९ गते २:१६

नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती फ्रान्सको राजधानी पेरिसमा पनि मनाइएको छ । फ्रान्सको राजधानी पेरिस स्थित नेपाली दूतावास र अन्तर्राष्ट्रिय साहित्य समाज (अनेसास) फ्रान्सको संयुक्त आयोजनामा सोमबार बेलुका एक विशेष साहित्यिक कार्यक्रम गर्दै मनाइएको हो ।

पेरिसस्थित नेपाली राजदूत सुधीर भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा युरोप भ्रमणमा रहेका वरिष्ठ साहित्यकार दिनेश अधिकारीको विशेष उपस्थिति रहेको थियो। नेपाली आधुनिक कविता जगतका एक धरोहर मानिने अधिकारीले कविता, गीत, गीति–काव्य, महाकाव्य, बाल–नाटकदेखि संस्मरणसम्मका विधामा निरन्तर लेख्दै आउनुभएको छ । अतिरिक्त अभिलेख कृतिका लागि मदन पुरस्कार प्राप्त गरिसक्नुभएका अधिकारीले गाउँघरको पीडा, सामाजिक यथार्थ, मानवीय आकांक्षा, देशप्रेम, प्रणय तथा बिछोडका विषयवस्तु समेटिएका आफ्ना केही चर्चित कविता तथा गीतहरूको एकल प्रस्तुति गर्नुभयो।

प्रस्तुति अघि अधिकारीले लेखनप्रति आफ्नो दृष्टिकोण व्यक्त गर्दै भन्नुभयो— “लेखन मेरो एकोहोरो प्रेम हो। व्यवसायमा कहिलेकाहीँ सम्झौता गर्नुपर्ने हुन्छ, तर मैले लेखनसँग कहिल्यै सम्झौता गरेको छैन। कविता मेरा लागि स्वतन्त्र अभिव्यक्तिको उच्चतम बिन्दु हो। म यसलाई कुनै पनि वादको झ्यालखानाभित्र थुन्न रुचाउँदिन। विषय त नयाँ केही छैन, तर पुराना कुरालाई फरक ढङ्गले प्रस्तुत गर्ने प्रयास नै मेरो मौलिकता हो।”

कार्यक्रममा अनेसास फ्रान्सका तर्फबाट राम पान्डे तथा हरिहर अर्यालले भानुभक्त आचार्यको जीवन, कृतित्व तथा नेपाली भाषाको विकासमा पुर्‍याएको योगदानबारे प्रस्तुत गर्नुभयो।

अनेसास फ्रान्सकी प्रतिनिधि सुमित्रा बुर्लाकोटीको स्वागत मन्तव्य रहेको कार्यक्रममा पेरिसस्थित विभिन्न नेपाली संघ–संस्थाका प्रतिनिधिहरू, अनेसास फ्रान्सका सदस्यहरू तथा दूतावास परिवारको उपस्थिति थियो। कार्यक्रमको सञ्चालन निश्चल रिमालले गर्नुभएको थियो भने सभापतित्व संस्थाका अध्यक्ष प्रसान्त उप्रेतीले गर्नुभएको थियो। कार्यक्रममा रिमालले दिनेश अधिकारीको व्यक्तित्व र कृतित्वमाथि पनि प्रकाश पार्नुभयो।

कार्यक्रममा हरिहर अर्याल, प्रसान्त उप्रेती, ओम शेरचन र निश्चल रिमालले आफ्ना रचनाहरू वाचन गर्नुभयो। साथै गायनको क्षेत्रमा ख्याति कमाउँदै आउनुभएका गायककार रण बराइलीले गीतकार अधिकारीका दुई गीतहरू गाएर सुनाउनुभयो।

कार्यक्रमको अन्तिम तिर पेरिस स्थित नेपाली राजदूत सुधीर भट्टराईले भानुभक्त आचार्यले संस्कृतमा रहेको वाल्मीकि रामायणलाई पहिलोपटक सरल, सुबोध र काव्यमय नेपाली भाषामा अनुवाद गरी नेपाली भाषालाई साहित्यिक प्रतिष्ठा दिलाएको उल्लेख गर्दै फ्रान्सस्थित नेपाली समुदायलाई भाषा–साहित्यको संरक्षण तथा पुस्तान्तरणमा सक्रिय भूमिका खेल्न आग्रह गर्नुभयो। उहाँले पेरिसस्थित कुनै संस्था वा समूहले नेपाली भाषा कक्षा सञ्चालन गर्न चाहे दूतावासले आवश्यक पाठ्यक्रम उपलब्ध गराउन सक्ने जानकारी पनि दिनुभयो।

 

तपाइँको प्रतिक्रिया

फेसबुक