मंगलबार, साउन १९, २०८३

म्हेन्दोमाया समाज यूकेको वार्षिक साधारणसभा सम्पन्न, बम ब्लेन्देनको नेतृत्वमा नयाँ कार्यसमिति चयन

नेपालप्लस संवाददाता / लण्डन२०८३ साउन १९ गते १८:०२

म्हेन्दोमाया समाज यूकेको वार्षिक साधारणसभा शनिबार (अगस्ट १) सम्पन्न भएको छ। समाजका अध्यक्ष हरिसिङ वाइबाको अध्यक्षतामा सम्पन्न सभाले बम ब्लेन्देनको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो।

सभालाई सम्बोधन गर्दै संयुक्त तामाङ घेदुङ यूकेका केन्द्रीय अध्यक्षसमेत रहेका हरिसिङ वाइबाले गत वर्ष जुलाई १३, २०२५ देखि बेलायतमा क्रियाशील तामाङ संस्थाहरूबीच सुरु भएको एकता अभियानलाई नवनिर्वाचित कार्यसमितिले अझ सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो। उहाँले बेलायतस्थित तामाङ समुदायको एकतालाई तार्किक निष्कर्षमा पुर्‍याउन नयाँ नेतृत्वले महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा व्यक्त गर्नुभयो।

नवनिर्वाचित अध्यक्ष बम ब्लेन्देनले एकता कुनै एक दिनको कार्यक्रम नभई निरन्तर अभियान भएको बताउनुभयो। उहाँले प्रवासमा रहे पनि तामाङ समुदायको धर्म, संस्कार, संस्कृति र पहिचानको संरक्षण गर्दै भावी पुस्तामा आफ्नो मौलिक पहिचान हस्तान्तरण गर्नु सबैको साझा दायित्व भएको उल्लेख गर्नुभयो।

संयुक्त तामाङ घेदुङ यूकेका महासचिवसमेत रहेका ब्लेन्देनले नवगठित कार्यसमिति तामाङ समुदायबीचको एकता अभियानलाई सफल बनाउन पूर्ण रूपमा प्रतिबद्ध रहेको धारणा व्यक्त गर्नुभयो।

वरिष्ठ सल्लाहकार राम वाइबाको अध्यक्षतामा गठित निर्वाचन मण्डलले चयन गरेको नयाँ कार्यसमितिमा प्रथम उपाध्यक्षमा पूर्ण पाख्रिन, द्वितीय उपाध्यक्षमा थामु वाइबा, महासचिवमा कृष्ण पाख्रिन, सचिवमा शेर पाख्रिन तथा कोषाध्यक्षमा दलबहादुर ब्लेन्देन चयन हुनुभएको छ।

त्यसैगरी सदस्यहरूमा प्रेममाया तामाङ र ईश्वरीदेवी तामाङ तथा मनोरञ्जन तथा सञ्चार सदस्यमा धनु तामाङ र मनु तामाङ चयन हुनुभएको छ। समितिका सल्लाहकारहरूमा हरिसिङ वाइबा, रामबहादुर वाइबा, गोलबहादुर तामाङ र बुद्धि तामाङ रहनुभएको छ।

अल्डरशटस्थित ओम रेस्टुरेन्टमा आयोजित कार्यक्रमको सञ्चालन नवनिर्वाचित अध्यक्ष बम ब्लेन्देनले गर्नुभएको थियो।

तपाइँको प्रतिक्रिया

फेसबुक