ल्हा म्हेन्दो तामाङ समाज लण्डन एकीकृत तामाङ घेदुङ यूकेमा आबद्ध, अध्यक्षमा विशाल स्याङ्बो तामाङ
बेलायतस्थित ल्हा म्हेन्दो तामाङ समाज लण्डनको वार्षिक समर भेलाले विशाल स्याङ्बो तामाङको अध्यक्षतामा नयाँ ९ सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। भेलाले समाजलाई औपचारिक रूपमा एकीकृत तामाङ घेदुङ यूकेको केन्द्रीय समितिको शाखाका रूपमा आबद्ध गर्ने ऐतिहासिक निर्णयसमेत गरेको छ।
नवगठित कार्यसमितिमा अध्यक्षमा विशाल स्याङ्बो तामाङ, उपाध्यक्षमा सुमन वाइबा, महासचिवमा सुदीप लोप्चन, सचिवमा सुरज स्याङ्बो र सुरज ग्लान तथा कोषाध्यक्षमा विपना पुन तामाङ निर्वाचित भएका छन्। त्यसैगरी सदस्यहरूमा हरि नेगी, विशाल योञ्जन र सुसा पन्नाचन तामाङ रहेका छन्।
समर भेलाका क्रममा एकीकृत तामाङ घेदुङ यूकेसँग आबद्ध हुने विषयमा विस्तृत छलफल गरिएको थियो। त्यसपछि आयोजित लघु जनमत सङ्ग्रह (मिनी रेफरेन्डम) मा सहभागी सदस्यहरूले स्पष्ट बहुमतका साथ एकीकृत तामाङ घेदुङ यूकेमा आबद्ध हुने पक्षमा मतदान गरे। जनमतको सम्मान गर्दै समाजले औपचारिक रूपमा एकीकृत तामाङ घेदुङ यूकेको केन्द्रीय समितिको शाखाका रूपमा रहने निर्णय गरेको हो।
बेलायतजस्तो विकसित लोकतान्त्रिक मुलुकमा नेपाली समुदायले संस्थागत एकता, लोकतान्त्रिक अभ्यास र सामूहिक निर्णय प्रक्रियालाई आत्मसात् गर्दै जनमतमार्फत महत्वपूर्ण निर्णय गर्नु सकारात्मक उदाहरणका रूपमा हेरिएको छ। समुदायका अगुवाहरूका अनुसार यसले बेलायतस्थित तामाङ समुदायबीचको सहकार्यलाई थप मजबुत बनाउनुका साथै अन्य नेपाली संघ–संस्थाका लागि पनि प्रेरणादायी सन्देश दिएको छ।
यो निर्णयलाई बेलायतभर छरिएर रहेका तामाङ समुदायका संस्था तथा अभियन्ताहरूले लामो समयदेखि अघि बढाउँदै आएको एकता अभियानको महत्वपूर्ण उपलब्धिका रूपमा समेत लिइएको छ। तामाङ समुदायलाई एउटै साझा छातामुनि ल्याउने उद्देश्यका साथ विगत केही वर्षदेखि औपचारिक तथा अनौपचारिक छलफल, अन्तरक्रिया, भेला र विषयगत बहसहरू सञ्चालन हुँदै आएका थिए। अभियानमा संलग्न व्यक्तिहरूका अनुसार ती निरन्तर प्रयासकै परिणामस्वरूप यो ऐतिहासिक निर्णय सम्भव भएको हो।
यसअघि समाजका अध्यक्ष आइतसिंह मम्बा तामाङको अध्यक्षतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा लण्डन बरो अफ हाउन्स्लोका पूर्व मेयर विष्णुबहादुर गुरुङ तथा विशेष अतिथिका रूपमा नेपाल तामाङ घेदुङका पूर्व केन्द्रीय कार्यवाहक अध्यक्ष कुमबहादुर तामाङ सहभागी थिए।
प्रमुख तथा विशेष अतिथिहरूले शुभकामना मन्तव्य दिँदै ल्हा म्हेन्दो तामाङ समाज आकारका हिसाबले सानो संस्था भए पनि बेलायतस्थित तामाङ समुदायको भाषा, संस्कृति, परम्परा, पहिचान र सामाजिक एकताको संरक्षण तथा प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्याउँदै आएको बताए। उनीहरूले समाजले एकीकृत तामाङ अभियानमा खेलेको नेतृत्वदायी भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा पनि यही एकतालाई थप सुदृढ बनाउन आग्रह गरे।
कार्यक्रममा कलाकार शिवदास गुरुङले सांस्कृतिक प्रस्तुति दिएका थिए। साथै राफल ड्र, बिङ्गो लगायतका मनोरञ्जनात्मक कार्यक्रमले सहभागीहरूलाई उत्साहित बनाएको थियो। उल्लेखनीय सहभागिताका साथ सम्पन्न समर भेला आपसी सद्भाव, सहकार्य र समुदायप्रतिको प्रतिबद्धतालाई अझ सुदृढ बनाउँदै सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ।
विशाल स्याङ्बो तामाङको भूमिकाले एकता अभियानलाई गति
नवनिर्वाचित अध्यक्ष विशाल स्याङ्बो तामाङ बेलायतमा मात्र नभई युरोपमा रहेका तामाङ समुदायबीच संस्थागत एकताको पक्षमा निरन्तर सक्रिय रहँदै आएका व्यक्तित्वका रूपमा परिचित छन्। उनी इटालीको मिलानस्थित मितेरी मञ्चका पूर्व अध्यक्षसमेत हुन्। उनले बेलायतका यी दुई संस्थासहित अन्य तामाङसम्बन्धी संस्थाहरूलाई साझा मञ्चमा ल्याउने प्रयास लामो समयदेखि गर्दै आएका थिए।
विगत करिब तीन वर्षदेखि उनले अनलाइन माध्यममार्फत एकीकृत तामाङ समुदायको आवश्यकता, त्यसका चुनौती र सम्भावनाबारे विभिन्न विचार, लेख तथा विश्लेषण प्रकाशित गर्दै सार्वजनिक बहस चलाएका थिए। तामाङ समुदायका नेतृत्वकर्ता, समाजसेवी तथा युवामाझ उनले लिखित र मौखिक दुवै माध्यमबाट एकताको बहसलाई निरन्तर अघि बढाएका कारण एकीकृत तामाङ संगठन निर्माणको पक्षमा थप जनमत र दबाब सिर्जना भएको समुदायका अगुवाहरू बताउँछन्। एकिकृत तामाङ समुदायका लागि उनले समाजका अगुवासित निरन्तर सम्पर्कमा रहेर सुझाव लिने र बहस गर्ने गरेका थिए ।
नेपालमा रहँदासमेत विभिन्न युवा अभियान तथा सामाजिक संस्थाहरूमा नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका विशाल स्याङ्बो तामाङको नेतृत्वमा ल्हा म्हेन्दो तामाङ समाज लण्डनले आगामी दिनमा समुदायको साझा हित, सांस्कृतिक संरक्षण, युवा सहभागिता र संस्थागत सुदृढीकरणका क्षेत्रमा अझ प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको छ।
बेलायतस्थित तामाङ समुदायको संस्थागत एकतालाई नयाँ उचाइमा पुर्याउने यस निर्णयले समुदायभित्र सहकार्य, प्रतिनिधित्व र साझा पहिचानलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि समेत सकारात्मक आधार तयार गर्ने विश्वास व्यक्त गरिएको छ।





