नेपाली जनसम्पर्क समिति फ्रान्सको तेस्रो अधिवेशन, भण्डारीको नेतृत्वमा नयाँ कार्यसमिति
नेपाली जनसम्पर्क समिति फ्रान्सको तेस्रो अधिवेशन आइतबार पेरिसमा सम्पन्न भएको छ। अधिवेशनले शिवराम भण्डारीको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ।
अधिवेशनको सभापतित्व समितिका निवर्तमान सभापति सुधिर रानाले गरेका थिए। नेपाली कांग्रेस तथा नेपाली जनसम्पर्क समिति फ्रान्ससँग आबद्ध व्यक्तित्व, पूर्वपदाधिकारी, शुभेच्छुक तथा फ्रान्सस्थित नेपाली समुदायका प्रतिनिधिहरूको उपस्थितिमा अधिवेशन सम्पन्न भएको हो।
कार्यक्रमको उद्घाटन समितिका संस्थापक सभापति निर्मल अर्यालले दीप प्रज्वलन गरी गरेका थिए। राष्ट्रिय गानपछि नेपाली कांग्रेसका सहिदहरू तथा नेपाली जनसम्पर्क समिति फ्रान्सका संस्थापक संरक्षक किरणचन्द्र सिंह प्रधानको स्मृतिमा एक मिनेट मौनधारण गरिएको थियो।
समितिका सचिव सचिन सेन तथा निवर्तमान उपसभापति कृष्ण गुरुङले अतिथिहरूलाई खादा तथा माल्यार्पणसहित स्वागत गरेका थिए। कार्यक्रमको सञ्चालन निवर्तमान महामन्त्री विकास के.सी.ले गरेका थिए।
स्वागत मन्तव्य राख्दै निवर्तमान उपसभापति गुरुङले समितिको स्थापना, विकास र वर्तमान अवस्थासम्मको यात्रामा योगदान पुर्याउने सबैप्रति आभार व्यक्त गर्दै आगामी दिनमा संस्थालाई थप सुदृढ र गतिशील बनाउन एकताबद्ध प्रयास आवश्यक रहेको बताए।
संस्थापक सभापति निर्मल अर्यालले समितिको स्थापनादेखिको यात्रा, संस्थाको उद्देश्य तथा मूल्यमान्यताबारे धारणा राख्दै नेपाली कांग्रेसको लोकतान्त्रिक आदर्श र विदेशमा रहेका नेपालीहरूको हितलाई प्राथमिकतामा राख्नुपर्ने बताए।
त्यस्तै, एनआरएनए फ्रान्सका पूर्वउपाध्यक्ष चेनभक्त ढुंगानाले अधिवेशनको सफलताको शुभकामना दिँदै नेपाली समुदायबीच आपसी सहकार्य, एकता र संस्थागत समन्वयलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिए। संस्थापक कोषाध्यक्ष देविजङ्ग गुरुङले संस्थाको स्थापनादेखि हालसम्मका उपलब्धि र आगामी चुनौतीबारे धारणा राखे।
कार्यक्रममा नेपाली जनसम्पर्क समिति फ्रान्सका पूर्वमहामन्त्री तथा एनआरएनए फ्रान्सका पूर्वमहासचिव कमलबिक्रम केसी, पत्रकार दीपक चालिसे, संस्थापक कोषाध्यक्ष देविजङ्ग गुरुङलगायत नेपाली कांग्रेसप्रति आस्थावान व्यक्तित्व तथा शुभेच्छुकहरूको उपस्थिति थियो।
यसैगरी, एनआरएनए फ्रान्सका आईसीसी सदस्य तथा नेपाली जनसम्पर्क समिति फ्रान्सका संस्थापक उपाध्यक्ष शिवराम भण्डारीको सन्देशमूलक मन्तव्य प्रस्तुत गरिएको थियो। उनले संस्थाको लोकतान्त्रिक मूल्य, संगठनात्मक एकता तथा नयाँ पुस्तालाई संस्थासँग जोड्दै लैजानुपर्ने आवश्यकतामा जोड दिए।
औपचारिक कार्यक्रमको समापन गर्दै निवर्तमान सभापति सुधिर रानाले आफ्नो दुई कार्यकालको अनुभव सुनाउँदै कार्यकालमा सहयोग गर्ने पदाधिकारी, सदस्य तथा शुभेच्छुकप्रति आभार व्यक्त गरे। उनले नेतृत्व हस्तान्तरणलाई संस्थाको लोकतान्त्रिक र संस्थागत प्रक्रियाको महत्वपूर्ण पक्षका रूपमा लिनुपर्ने बताए।
रानाले आफ्नो कार्यकाल समाप्त भएको घोषणा गर्दै नवनिर्वाचित नेतृत्वलाई सफल कार्यकालको शुभकामना दिए। सो अवसरमा संस्थाको स्थापना तथा विकासमा योगदान पुर्याएका संस्थापक सभापति निर्मल अर्याल र संस्थापक कोषाध्यक्ष देविजङ्ग गुरुङलाई सम्मान गरिएको थियो।
औपचारिक कार्यक्रमपछि निवर्तमान सभापति रानाले बन्दसत्र तथा निर्वाचन प्रक्रिया सञ्चालनको जिम्मेवारी निर्वाचन संयोजक सुवर्णविक्रम हमाललाई हस्तान्तरण गरेका थिए। निर्वाचन संयोजक हमालले समितिको विधान र निर्धारित प्रक्रियाअनुसार निर्वाचन प्रक्रिया अघि बढाउँदै नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको घोषणा गरे।
नयाँ कार्यसमिति
निर्विरोध निर्वाचित नयाँ कार्यसमितिमा शिवराम भण्डारी सभापति, कृष्ण गुरुङ वरिष्ठ उपसभापति, विकास के.सी. र सुजन राज भट्ट उपसभापति, सुशिल भण्डारी महामन्त्री, विवेक धमला सहमहामन्त्री तथा दिपेन्द्र दाहाल कोषाध्यक्ष निर्वाचित भएका छन्।
त्यस्तै, संचिन सेन, सागर गुरुङ र चिरञ्जीवी सापकोटा सदस्यमा निर्विरोध निर्वाचित भएका छन्। सह–कोषाध्यक्ष भने नवनिर्वाचित कार्यसमितिले मनोनयन गर्ने जनाइएको छ।
निर्वाचनपछि नवनिर्वाचित सभापति शिवराम भण्डारीले अधिवेशनबाट प्राप्त जिम्मेवारी संस्थाको विधान, लोकतान्त्रिक मूल्य र संगठनको उद्देश्यअनुसार इमानदारीपूर्वक निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे।
उनले फ्रान्समा रहेका नेपाली समुदाय तथा नेपाली कांग्रेसप्रति आस्थावान लोकतन्त्रप्रेमी नेपालीबीच सहकार्य र समन्वयलाई प्राथमिकता दिँदै संस्थालाई थप सशक्त, एकताबद्ध र प्रभावकारी बनाउने बताए। साथै उनले निवर्तमान नेतृत्व, निर्वाचन समिति, संस्थापक तथा सम्पूर्ण सदस्यलाई धन्यवाद दिँदै सबैको सहयोग र सहकार्यबाट आगामी कार्यकाललाई प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे।
निर्वाचन संयोजक हमालले निर्वाचन प्रक्रिया विधान र निर्धारित विधिअनुसार निष्पक्ष तथा व्यवस्थित रूपमा सम्पन्न भएको घोषणा गरेपछि अधिवेशन औपचारिक रूपमा सम्पन्न भएको थियो।
तेस्रो अधिवेशनबाट नयाँ नेतृत्व चयन भएसँगै नेपाली जनसम्पर्क समिति फ्रान्सलाई आगामी दिनमा थप संस्थागत, लोकतान्त्रिक र गतिशील रूपमा अघि बढाउने आधार तयार भएको सहभागीहरूले बताएका छन्।




