बुधबार, साउन २७, २०८३

एनआरएनए तथा ‘युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेसन’का गतिविधिप्रति प्रवास नेपाली सम्पर्क विभागको आपत्ति

नेपालप्लस संवाददाता / काठमाडौं२०८३ साउन २७ गते १६:१४

प्रवास नेपाली सम्पर्क विभागका विभिन्न देश तथा क्षेत्रका प्रमुखहरूले गैरआवासीय नेपाली संघ (एनआरएनए) तथा ‘युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेसन’ (UNDO) सँग सम्बन्धित पछिल्ला गतिविधिप्रति गम्भीर चासो र असन्तुष्टि व्यक्त गरेका छन्। विभागका विश्वभरका विभिन्न देश तथा क्षेत्रका प्रमुखहरूले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै प्रवासी नेपालीसँग सम्बन्धित संस्थागत गतिविधि पारदर्शी, समावेशी, निष्पक्ष र सबै पक्षलाई समान व्यवहार गर्ने किसिमको हुनुपर्नेमा जोड दिएका छन्।

संयुक्त विज्ञप्तिमा प्रवासमा रहेका नेपालीहरूको प्रतिनिधित्व, सहभागिता र सम्मानलाई बेवास्ता गर्न नहुने स्पष्ट पारिएको छ। कुनै संस्था वा समूह विशेषलाई प्राथमिकता दिने तथा अन्य पक्षलाई उपेक्षा गर्ने प्रवृत्तिप्रति आपत्ति जनाउँदै विज्ञप्तिमा प्रवासी नेपाली समुदायलाई विभाजित गर्नेभन्दा सबैलाई समेटेर अघि बढ्ने वातावरण निर्माण गर्न सम्बन्धित पक्ष जिम्मेवार हुनुपर्ने उल्लेख गरिएको छ।

विज्ञप्तिमा संगठनका मूल्य, मान्यता तथा प्रचलित कानुनी व्यवस्थाको सम्मान गर्दै प्रवासमा रहेका नेपालीहरूको हितलाई केन्द्रमा राखेर गतिविधि सञ्चालन गर्न सम्बन्धित पक्षलाई आग्रह गरिएको छ। विदेशमा रहेका नेपालीबीच आपसी सद्भाव, एकता र सहकार्य कायम राख्न सबै पक्षले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा पनि जोड दिइएको छ।

संयुक्त विज्ञप्तिमा एसिया–प्रशान्त, खाडी तथा मध्यपूर्व, उत्तर अमेरिका र युरोप क्षेत्रका विभिन्न देशमा रहेका प्रवास नेपाली सम्पर्क विभागका प्रमुखहरूको सहभागिता रहेको जनाइएको छ।

एसिया–प्रशान्त क्षेत्रबाट अस्ट्रेलिया, न्युजिल्यान्ड, दक्षिण कोरिया, जापान, हङकङ, मकाउ, मलेसिया, भारत, थाइल्यान्ड र माल्दिभ्सका प्रतिनिधिहरू सहभागी छन्। त्यस्तै, खाडी तथा मध्यपूर्व क्षेत्रबाट ओमान, कुवेत, कतार, इजरायल, साउदी अरब, संयुक्त अरब इमिरेट्स (यूएई) र बहराइनका प्रमुखहरू संयुक्त विज्ञप्तिमा सहभागी रहेको उल्लेख छ।

उत्तर अमेरिकाबाट अमेरिका र क्यानडाका प्रतिनिधि तथा युरोपबाट नेदरल्यान्ड्स, अस्ट्रिया, नर्वे, फ्रान्स, बेल्जियम, स्पेन, लक्जेम्बर्ग, डेनमार्क, स्विट्जरल्यान्ड, पोल्यान्ड, फिनल्यान्ड, साइप्रस, जर्मनी, पोर्चुगल, माल्टा र रोमानियालगायत देशका विभागीय प्रमुखहरू सहभागी रहेको विज्ञप्तिमा जनाइएको छ।

विश्वका विभिन्न मुलुकमा रहेका विभागीय प्रमुखहरूको संयुक्त धारणा सार्वजनिक गर्दै विज्ञप्तिले प्रवासी नेपालीसँग सम्बन्धित गतिविधिमा निष्पक्षता, पारदर्शिता, समान व्यवहार र संस्थागत मर्यादा कायम गर्न सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ।

विज्ञप्तिमा प्रवासी नेपाली समुदायको एकता र साझा हितलाई प्राथमिकतामा राख्दै आगामी दिनमा सहकार्य, समावेशिता र संस्थागत पारदर्शिताका आधारमा अघि बढ्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराइएको छ।

तपाइँको प्रतिक्रिया

फेसबुक