शनिबार, साउन १२, २०८१

एक पाइलामा संसार, अर्कोमा ब्रम्हाण्ड

कृष्ण शर्मा२०८१ जेठ १६ गते १७:२०

न प्रहृष्येत्प्रियं प्राप्य नोद्विजेत्प्राप्य चाप्रियम् ।
स्थिरबुद्धिरसम्मूढो ब्रह्मविद्ब्रह्मणि स्थितः ।
⁃ गीता ॥ अध्याय ५ ॥ श्लोक २०॥

अर्थातः जो न प्रिय वस्तु प्राप्त गरे पछि अति हर्षित हुन्छ, न अप्रिय परिणाम पाएर विचलित हुन्छ ।
जसको बुद्धि स्थिर छ, जो मोहरहित छ, अनि जो भगवद्विद्याको ज्ञाता हो त्यो शुरू देखि नै ब्रह्ममा स्थित रहन्छ ।

म लामो समय सम्म केही पाउँदा खुशि अनि नपाउँदा बेखुशि रहेँ। अस्थिर रहेँ। अनि त्यो भन्दा पनि लामो समय सम्म ज्ञानरहीत मूर्खावस्थामा रहेँ। खान हुने नहुने। पिउन हुने नहुने। गर्न हुने नहुने सबै कर्महरू गरेँ । कुमार नगरकोटीले जस्तै मसानघाटैमा रात त बिताइन । संजीव उप्रेतीले जस्तै रात बिरात टौदहको फन्को मार्न पनि पुगिन होला । तर जीवनले तेर्साएका ती भन्दा घनघोर काला रातहरूमा म मसानघाट अनि टौदह भन्दा बढी दर्ददायी अवस्थाहरूबाट चाहिँ गुज्रिएँ ।

शायद प्रारब्धमा म भगवद्विद्याको बिधार्थी थिइन। त्यसैले होला शुरू देखि नै ब्रह्ममा स्थित रहन सकिन। भट्किइरहेँ। त्यसकारण स्थिर हुन सक्नुलाइ मैले आफ्नो यात्राको अन्तिम गन्तब्य बनाएँ । भट्किएर थाके पछि जो कोहि पनि स्थिर हुन खोज्दछ ।

यतिबेला भने अस्थिरताका सयौं बिसौनीहरू पार गरेर अहिले यो प्राप्यमा आइपुगेको छु । त्यसैले म जहाँ छु, स्थिर छु। शान्त छु । अविचलित छु । अकिन्चित छु । अनि पूर्ण छु। भरिएको गाग्री जस्तै। मनसुनको तलाउ जस्तै। बैकाल ताल जस्तै। आँधीबेहरी नखेपेको अवस्थाको पश्चिम प्यासिफिक जस्तै।

म देख्छुः दुखका, पीडाका, क्रोधका, ईर्श्याका, अहंकारका असंगत सबै ढुंगाहरू मेरो आँखा अगाडिबाटै तल खस्छन् । बडो गर्हुंगो गरी डुब्छन्। आजकल कसैले रिस, द्वेश र रागका ढुंगा मलाइ लक्षित गरेर फ्याँक्दा मेरो शान्त तलाउको सतहमा तरंगका चक्र उत्पन्न हुँदैनन् । म अटल रहन सकिरहेकोछु। सबै कुरा म मा आउँछन्, अनि हराउँछन् । न मैले तिनिहरूलाइ काँध दिएर बोक्छु, न आजकल तिनिहरूले मेरो पिठ्युमा लाद्ने असफल कोशिस नै गर्छन् । मैले अनासक्त भावमा उनिहरूलाइ हेर्छु । उनिहरू शायद मेरो सम्यक दृष्टीबाट दिक्क हुन्छन् अनि आफ्नो बाटो लाग्छन् । म उनिहरूलाइ हेर्नुपर्ने अनाशक्त आग्रहबाट फेरि स्वतन्त्र हुन्छु । आशक्ति, आकर्षण, बिकर्षण, आग्रह, पूर्वाग्रह … केही रहँदैनन्। भागदौडको भ्याइ नभ्याइ यात्रा सकिएको छ। गणितका जोड घटाउहरू समाधान भएका छन्। गुणन एवं भागका हिसाबहरू टुंगिएका छन्।

मैले माथि नै भनिसकें कि यो गन्तब्यमा नआउन्जेल म अस्थिर थिएँ । मैले थप्न चाहें त्यो यात्रा कष्टयुक्त थियो। थकानयुक्त थियो। हारयुक्त थियो । धारयुक्त थियो। प्रहारयुक्त थियो। हरेक बिसौनिहरूमा अल्झिन्थें । म जे मा थिएं त्यसैमा रमाउँथें । म जे थिएँ त्यो मलाइ थाहा थिएन । त्यसैले म स्वयं सँग रमाउन सकिरहेको थिइन। बाहिरका धेरै कुराहरूले यसरि तान्दथे मानौं म जन्मँदा ति सबैमा मेरो नाल जोडिएको थियो । नयनहरूले घेर्दथे मलाइ। कसैले माया गरेको अनुभूती हुन्थ्यो। मलाइ लाग्थ्यो, त्यो नै अन्तिम बिसौनी हो। उत्रन्थेँ ।

मलाइ सम्झना छ, एउटा बिसौनीले मलाइ मायानगरीमा पुर्याएर झारेको थियो। म त्यहांँ धेरै वर्ष सम्म अल्झें । त्यो ठाउँले बिगत मात्र होइन म स्वयंलाइ समेत बिर्साएको थियो । म त्यहाँ को थिएँ वा के भएको थिएँ मलाइ थाहा भएन। लाग्थ्यो, म हराएको थिएँ स्वयं सँग। कसैको प्यारमा म देवदास भएको थिएँ। तर देवदासको अन्तिम नियतीमा पुग्नु अघि कता कताबाट दिमागमा संकेत आयो। धोकाका अस्पष्ट रेखाहरू देखा पर्न थाले। अनि ज्ञात भयो, माया भनेको त दुखको सुन्दर आवरण मात्र हो भनी। त्यसपछि मैले उनको घर जान चढेको रिक्सा रोकें र बस चढें ।

फेरि जीवनको गाडि अगाडि बढ्यो। यात्राको क्रममा केही चिनेका, धेरै नचिनेका सहयात्रीहरू दरबदर भेटिन्थे। कोहि अपरिचितले मलाइ हेर्दा किन हेरिरहेको होला जस्तो लाग्थ्यो ।

अस्थिर थिएँ । त्यसैले सोध्थेँ पनि । अनि कोहि अपरिचित सहयात्री माथि अनायास नजर पर्दा उनले पनि “कस्तो एक टकले अरूलाइ हेरिरहन सक्ने पाखे रहेछ” भनी सोच्दा हुन् सायद। यात्रामा कोही वाद गर्न आउँदा म विवाद गर्थें। हरेक कुरामा मैले मत वा बिमत राख्थें, जसरि अरूले राख्थे। म बोल्दा सायद अरुलाइ ठिक त्यसरि नै पोल्थें जसरि उनिहरूका कुराले पोल्थे मलाइ। मैले अरूको त्यसरि नै लुट्न खोज्थें सायद, जसरि उनिहरू मेरो लुछ्थे।

कस्तो अचम्म! यो अन्तिम बिसौनीमा आए पछि क्रमभंग भयो। चक्र तोडियो। आरन रोकियो । घुमाइ सकियो। बाटो सोझियो। यात्रा अब घुमी घुमी त्यहीं पुग्न छोड्यो । सबै राम्रा नराम्रा भनेर तुलना गरिने कुराहरू छुटे। संकोच छुटे। मायाका शब्दजाल तोडिए। धोखाघडि फुटे। वाद बिवाद छुटे। काम छुटे। क्रोध छुटे। लोभ छुटे। मोह छुटे । अहंकार छुटे। अस्थिरताको गति छुट्यो। केवल स्थिरता रह्यो ।

तिमी स्थिर हुन चाहन्नौ भने पनि ठिक छ । कुरा यत्ति हो कि तिमीले आफू चढेको त्यो बिसौनीहरू बिच कुदिरहने घुम्ती बसको यात्रा मन पराएको हुनुपर्यो। तिमि जेमा छौ त्यसमै रमाउन सिकिसकेको हुनुपर्यो । तर यदि तिमी स्थिर हुन चाहन्छौ भने म भन्न चाहन्छुः अझै तिमी गन्तब्यमा पुगेका छैनौ । त्यसका लागि तिमीले घुम्ती बसको टिकट काट्दै हिडिरहन छोड्नुपर्ने हुन्छ । तिमीले चढ्ने होइन उत्रने यात्रा चयन गर्नुपर्छ। त्यागको यात्रामा चढ्नुपर्छ ।

यो यात्रा शुरूमा कठीन जस्तो लाग्छ। पट्यारलाग्दो अनुभूति हुन्छ। माया गरिएका कुरालाइ त्यागेर एक्लै हिँड्न सजिलो चाहिं पक्कै हुँदैन । तर हिँड्न छोड्नु हुँदैन । स्थिर भएपछिको यात्रामा पनि हिँड्नु त पर्छ नै । यधपी, मैले यति चाहीँ खुलाउनै चाहेंँ, स्थिर यात्रा सोझो हुन्छ। त्यसैले बेजोडको गतिवान हुन्छ। हल्का हुन्छ । हिँड्न थालेपछि महसुस हुन्छ त्यसको गुरूत्वहीनता। गर्हुंगा सबै सामानहरू पछाडि छोडेकोले यात्रा यति हलुको हुन्छ कि एक पाइलाले संसार नाप्छ, अर्कोले ब्रम्हाण्ड ।

तपाइँको प्रतिक्रिया