शनिबार, साउन १२, २०८१

नेपाली रोंटे पिङको स्विजरल्याण्डमा दर्शन

ददि सापकोटा / जेनेभा२०८१ जेठ २५ गते ७:५५

स्विजरल्याण्डको जेनेभा शहरमा नेपालको रोटें पिङ खेल्न पाइन्छ भन्दा धेरैलाई अचम्म लाग्न सक्छ । नेपालमा हराउँदै गएको रोटें पिङ स्विजरल्याण्डमा भने लोकप्रिय बन्दै गएको छ । गत १४ वर्षदेखि स्विस नागरिकहरुले त्यहाँ नेपालकै जस्तो रोटें पिङ खेलेर मनोरञ्जन लिईरहेका छन् । स्विजरल्याण्डका तिन पार्कमा सन् २०१० देखि सञ्चालनमा रहेको रोंटे पिङ हजारौंले खेलिसकेका छन् । नेपालमा रोटें पिङ देखेपछि त्यसैको नक्कल गरेर स्विजरल्याण्डमा बनाएका हुन् नेपाल प्रेमी जँ लाभेगोले ।

तर अचम्म के भने हामी नेपालीले रोंटे पिङ भनेपनि स्विसहरुले भने यसलाई रोटी पिङ भन्ने गर्छन् । पिङका निर्माता लाभागोका अनुसार यो पिङ सेल रोटी झैं घुमाउरो हुनाले रोटी पिङ भनिएको हो । नेपालका पहाडी भागमापनि रोटी पिङनै भन्ने सुनेको उनले बताए ।

जँ लाभेगोले पहिलो पटक नेपालमा देखेको रोटें पिङ

त्यसो त रोटें पिङ मनोरन्जनकलागि मात्रै नभएर यस समूहमा काम गर्ने नेपाली संस्क्रिति स्विसहरुलाई सिकाउनकालागिपनि हो । लाभाका अनुसार रोटें पिङ खेल्न समूह चाहिन्छ । यसमा धनी र गरिब भन्ने हुन्न । एक दुई जना मात्रै पिर्कामा बसेर पनि यो घुम्दैन । यसका चारै दिशामा मिलेर बसेपछि बल्ल सन्तुलन मिल्छ र यो घुम्छ । एउटै पिङमा धेरै जना खेल्न मिल्ने हुनाले यसले धनी गरिब, भिन्न भाषा, शैली, उमेर, समूदायका मानिसहरुलाई सँगै बसेर, मिलेर बस्न, खेल्न प्रेरणा दिन्छ । त्यसो त, लाभेगोले हेर्दा अलि भिन्न खाले रुपका पनि बनाएका छन् रोंटे पिङ । तर ति हेर्दा अलि भिन्न देखिएपनि मूलभुत सिद्दान्त, तरिका र चल्ने पद्दती एकै हो ।

आजकाल पश्चिमी समाजमा मानिसहरु एक्लिँदै गएका छन् । आफ्नै भाषा राम्रो, महत्वपूर्ण ठान्ने प्रव्रित्ति छ । हुने खानेहरुले गरिबहरुलाई अल्ग्याउँछन् । जमघट हुन आफ्नै भाषा, आफ्नै उमेर आफ्नै जस्तो संस्क्रिति बोकेका खोज्ने गर्छन् । “त्यसैले सामूहमा मिलेर बस्ने, रमाउने र बाँच्ने नेपाली संस्क्रितिपनि सिकुन् भनेर मैले यो स्विजरल्याण्डमा पहिचान गराएको हुँ” जँ लार्भेगोले भने ।

लार्भगो सन् १९८० मा पहिलो पटक नेपाल गएका थिए । त्यतिबेलै उनले यो रोंटे पिङ देखेका हुन् । त्यतिबेलै उनी यसको सिद्दान्तबाट प्रभावित थिए । त्यो देखेर उनको दिमाखमा थियो, यस्तै पिङ हाम्रो देशमापनि बनाउन पाए ! नभन्दै त्यसको ३० वर्षपछि मौका जुर्‍यो । सरकारले ड्युरेबल डेभलप्मेन्ट फेस्टिबल आयोजना गर्ने निर्णय गर्‍यो जेनेभामा । त्यसको ढाँचा बनाउने मध्ये एक उनीपनि परे । उनले ३० वर्ष अघि देखेको रोटें पिङको स्विसहरुलाई दर्शन गराउने निर्णय गरे ।

तर दुखको कुरो सन् १९८० मा उनले नेपालमा जहाँ रोटें पिङ देखेका थिए गत जनवरीमा पुग्दा त्यहाँको रोटेंपिङ भत्किसकेको थियो । केहि अवशेष मात्रै बाँकि थिए । तर उनले त्यसैलाई हेरेर रेखाचित्र कोरेर ल्याए । संयोग कस्तो पर्‍यो भने उनले रोटें पिङ भएको नेपाली एक रुपियाँको नोटपनि देखे । स्विजरल्याण्ड आएपछि आफुले कोरेको रेखाचित्र र एक रुपियाँको नोटमा अंकित तस्बिर हेरेर सिकर्मीलाई बनाउन लगाए ।

पिङ त तयार भयो । तर कसरि प्रयोगमा ल्याउने ? ३० वर्ष अघि देखेको रोंटे पिङ ठ्याक्कै कसरि चल्छ भन्ने उनलाई मेसो थिएन । उनले केहि साथीहरुसित मिलेर परिक्षण गरे । गज्जबको मनोरञ्जन दियो । पहिलो दिन वालवालिकाहरुलाई राखेर घुमाए । “ति यति रमाए कि तिनले पिङ छोड्नै मानेनन्” लाभार्गोले सुनाए ।

हुनपनि यो पिङ अहिले स्विजरल्याण्डमा मात्रै होइन अन्यत्रपनि फैलिन लागेको छ । यहि वर्षको राष्ट्रिय दिवसका दिन जेनेभाको मुख्य भागमा यो पिङ सरकारको आग्रहमा प्रदर्शन गरिएको थियो । अब उनी चौथो पिङ बनाउने योजनामा छन् । यस्तै पिङ बनाइदिन फ्रान्सबाटपनि उनलाई आग्रह गरिएको छ । “यो पिङ जति फैलिन्छ उतिनै नेपालीहरु झैं युरोपेलीमापनि भिन्न भाषा, लिङ्ग, धर्म, संस्क्रिति, पहिरन, संस्कार, अलग समूदाय, उमेर र स्तरका मानिसहरु मिलेर बस्ने संस्क्रितिको प्रभाव पर्ने छ । यसले नेपाल र युरोपेली दुबैलाई फाइदा पुग्छ” लाभार्गोले भने ।

 

(पून पोस्ट गरिएको-सम्पादक)

तपाइँको प्रतिक्रिया