शुक्रबार, साउन ४, २०८१

‘वाङलुङ जस्तै मेरा बा’

जीवा लामिछाने२०८१ असार १६ गते ४:१५

बा बित्नु भएको तिथि अनुसार आज दशौँ वार्षिकी । बा बिनाका यी दश वर्षमा उहाँको संस्मरणमा लेखिएको पुरानो मेरो लेख (परिमार्जन सहित) – ‘वाङलुङ जस्तै मेरा बा’ ।

बा यस धर्तीबाट बिदा हुनु भएको तिथी अनुसार आज दशौँ वार्षिकी । यो दश वर्षमा त्यस्तो कुनै समय भएन जब बाको सम्झना नआएको होस् । मान्छेहरु भन्छन्, ‘आफन्त गुमाउनुको पीडा समयले भुलाउँदै जान्छ ।’ बाको हकमा भने फरक देख्दै छु । गाउँले र आफन्तजनले समेत उहाँको अभाव महसुस गर्दै मसँग कुरा गर्छन् । उहाँको तिर्सना मेट्ने प्रयास गर्छन् ।

जीवा लामिछाने

केहि महिना अघि एक धार्मिक अनुष्ठानमा पदमपुरका आफन्तजनहरुसँग भेट भएको थियो ! त्यहाँ सबैले बासँगको संगतका अनेक प्रसंग संस्मरण गराए । मेरा छोराहरु समेत ब्रेकफास्ट र डिनर टेबलमा बेलाबेलामा बासँगका सम्झनाहरु सुनाई रहन्छन् । विदेशमै जन्मिएका–हुर्किएका मात्र होइन, पश्चिमा शिक्षा पाएका र धेरै संगत गर्न नपाएका ती कलिला मस्तिष्कले समेत मेरो बालाई किन यति धेरै सम्झिए होलान् ?

बाभित्र विशेष केहि क्षमता थिए, जसरी हरेकका बाभित्र हुन्छन् । जीन्दगीले गम्भीर शिक्षा दिएको एउटा खुला पुस्तक थिए हाम्रा बा । जस–जसले बा भित्रका ती कुरा पढ्न पाए, उनीहरुले बालाई विर्सन सकेनन् । चाहे ती गाउँले हुन् या आफन्तजन । अथवा दूरदराजका मानिसहरु………।

नोबेल पुरस्कार बिजेता अमेरिकी उपन्यासकार ‘पर्ल वक’ द्वारा लिखित विश्वविख्यात उपन्यास ‘द गुड अर्थ’ अर्थात ‘कल्याणी धरती’को शीर्षपात्र ‘वाङलुङ’ जस्तै लाग्छ मलाई, हाम्रा बा ।

सय वर्ष अघिको चिनियाँ समाज र त्यसको एउटा किसान वाङलुङको चरित्र ‘कल्याणी धरती’ उपन्यासमा राम्रोसँग उतारिएको छ । मलाई यो चरित्र विश्वभरीका किसानले भोगेको यथार्थ कथा जस्तो लाग्छ । यहि कारण आज पनि किसानको कथा सम्झँदा विश्वले ‘द गुड अर्थ’ को वाङलुङ्लाई सम्झन्छ ।

धेरै अर्थमा हाम्रा बा पनि नेपाली समाजको वाङलुङ हुनुहुन्थ्यो । उहाँ कृषि कर्ममा समर्पित हुनुहन्थ्यो, वाङलुङ जस्तै । उहाँ कर्मयोगी हुनुहुन्थ्यो, वाङलुङ जस्तै । उहाँ गोठमै जन्मनु भयो । पटकपटक गरेर वर्षौ गोठमै आफ्नो किशोर र जवानी बिताउनु भयो, वाङलुङले जस्तै । आफूले औपचारिक शिक्षा लिन नपाए पनि घरमै शिक्षक राखेर आफ्ना सन्तानलाई शिक्षा–दिक्षा दिलाउनु भयो, वाङलुङले जस्तै । कहिलेकाहीँ आश्चर्य लाग्छ, कुनै दूरदराज देशको एउटा व्यक्तिको चरित्र चित्रण गर्दा एउटा लेखकले कसरी सार्वजनिक दृष्य देख्न सक्छ ?

भाङ्ग्राको लुगा लगाएर गोठबाटै रातारात दुलही लिन हिँडेका, घैयाबारीमा पाखुरी बजार्दै पसिना चुहाइरहेका बा जब मेरो स्मृति–विम्बमा प्रकट हुँदै जान्छन्, कल्याणी धरतीको वाङलुङको सजिव तस्विर आँखै अगाडि आएर नाच्न थाल्छ ।

हाम्रा बा कृषि पेशाबाट कहिल्यै विमुख हुनुभएन । उहाँ जे कुरा बोल्नुहुन्थ्यो, गम्भीर अनुभवपछि मात्र बोल्नुहुन्थ्यो । ‘संसारमा हजारौं पेशा होलान् । व्यवसाय पनि होलान् । तर खेतीपाती नै सबैभन्दा उन्नत पेशा हो ।’ सुरु सुरुमा मलाई लाग्थ्यो, कृषिबाहेक अरु कुनै पेशा थाहा नभएका कारण बाले यसो भन्नु भएको होला । बिकल्प देखेपछि उहाँको धारणामा सायद परिवर्तन आउँछ । तर त्यसो भएन ।

म इन्जिनियर हुँदा खुसी हुनुभयो। छोराको अध्ययन पुरा भयो भनेर । म व्यसायमा लाग्दा पनि खुसी हुनुभयो, मेरा सन्तानले राम्रो गर्दैछ भनेर । संगतले संसारका धेरै कुरा सुन्नु भयो, आँखैले देख्नुभयो । तर कृषिप्रतिको अगाध प्रेमभावमा कहिल्यै परिवर्तन आएन ।

बाले जीवनभर मेहेनत गर्नुभएको थियो । उहाँको दु:ख मैले देखेको थिएँ । छोरोले गर्ने कर्तब्य अनुसार मैले उहाँलाई भौतिकरुपमा सुख दिने प्रयास गरेँ । तर उहाँको विचारमा भौतिक सुख वास्तविक सुख थिएन । यही कारण रुस त के काठमाडौंको घरमा समेत उहाँ रमाउनु भएन । बरु उहाँको अनुहार त्यो बेला धपक्क उज्यालो भयो, जब मैले उहाँलाई कमाई खान पुग्ने खेत किनिदिएँ । त्यसलाई खनजोत गर्ने ट्याक्टर किनिदिएँ । उहाँ मेरो प्रगति हेर्न रुस पुग्नुभयो । हामीलाई अझै प्रगति गर्ने आशिर्वाद दिनुभयो । तर त्यो बैभवले उहाँलाई कति पनि छोएन ।

केही दिनपछि गाउँ फर्केर उहाँ आफ्नै खेतमा हातपाउ चलाउन थाल्नुहुन्थ्यो। घरभरी सहयोगीहरु थिए । तर आफ्नै हातले बोट बिरुवालाई सुम्सुम्याउनु हुन्थ्यो । खनजोत गर्नुहुन्थ्यो । आली लगाउनु हुन्थ्यो । उहाँ गाउँ छाड्न चाहनुहुन्न भन्ने थाहा पाएपछि उहाँलाई हिँडडुल गर्न सजिलो होस् भनेर मैले एउटा गाडी किनिदिएको थिएँ। उहाँ शुद्ध किसान, गाडी चलाउन सक्ने कुरा थिएन । उहाँ चालकलाई लिएर खेत जानुहुन्थ्यो । दिनभर खेतमा काम गरेर फर्कनुहुन्थ्यो । ‘अब यो उमेरमा यसरी श्रम गर्नु आवश्यक छैन’ भन्दै मान्छेहरुले आफ्ना पछाडि कुरा काट्छन् भन्ने उहाँलाई थाहा नभएको होइन । तैपनि उहाँले आफ्नो परम्परागत पेसा कहिल्यै छाड्नु भएन।

आफ्नै हातले बोट विरुवा हुर्काउन, त्यसबाट अन्न र फलफूल लिन कहिल्यै बिर्सनु भएन । कसैले ‘यो दु:ख किन ?’ भनेर प्रश्न गर्दा सहज भावमा भन्नुहुन्थ्यो, ‘कृषिभन्दा उन्नत पेसा केही छैन । यसले नै संसारलाई पालेको छ। हामीले काम नगरे संसार भोकै पर्छ ।’

उहाँको पहिरन पनि अनौठो थियो । उहाँ प्राय कछाड बेर्नुहुन्थ्यो । गाउँको खेतीपातीको व्यस्त बेलामा कछाड लगाउनु स्वभाविक नै थियो । तर गाउँ घर र सहर–बजारमा आफ्नो गाडीमा सयर गर्दा पनि उहाँले आफ्नो पहिरन परिवर्तन गर्नुभएन । उहाँले विरलै सर्ट पैन्ट लगाउनु भयो ।

उहाँको अर्को मन्त्र थियो, ‘मान्छे श्रम गर्ने प्राणी हो । श्रम नगरी मुखमा अन्न हाल्न मिल्दैन ।’ उहाँले जन्मेदेखि मृत्युपर्यन्त यो नियमको पालना गर्दै कडा परीश्रम गर्नुभयो । केही काम नहुँदा पनि जग्गाको साँध सीमाना दह्रो बनाउने, रुख बिरुवा रोप्ने र खेती किसानका नयाँ नयाँ कुरालाई प्रयोग गर्न व्यस्त हुनुभयो ।

हरेक युवाले आफ्नो गाउँ छाडेर केही सिक्न र आर्जन गर्न केही समय देश– विदेश घुम्नु पर्छ र पाखुरी बजाउन कहिल्यै अल्छी गर्नु हुँदैन भन्ने उहाँको मन्त्र थियो। यसरी पाखुरी बजाएको पैसाले गाउँमा जग्गा जमिन जोड्ने, सन्तानलाई राम्रो पठाउने र सन्तानलाई पनि केही समय यसैगरी बाहिर पठाउने नीतिको पक्षपाती हुनुहुन्थ्यो । आफ्नो युवा अवस्थामा आसामदेखि मद्राससम्म पुग्नुभयो। जब केही पैसा भयो, गाउँमा जग्गा जमिन जोडेर त्यसको स्याहार गर्न थाल्नुभयो । ‘संसार हेर, नयाँ कुरा सिक । तर आफ्नो जमिन नछोड’ भन्ने सिद्धान्तमा सधैं अडिग रहनु भयो । बासँग न अर्थशास्त्रको ज्ञान थियो न त समाजशास्त्रीय विश्लेषण गर्ने क्षमता । अहिले सम्झँदा लाग्छ, उहाँ नेपाली समाज र अर्थ चरित्रबारे राम्रै जानकार हुनुहुन्थ्यो ।

भरपुर मेहेनत गरेपछि आफूले कमाएको सम्पतीको केही अंश समाजको हितमा प्रयोग हुनुपर्छ भन्ने कुरामा पनि उहाँको स्पष्ट अडान थियो । यहि कारण उहाँ आफ्नो गाउँ वरपर हुने सामाजिक दायित्वमा सधैं अगाडि बढेर आफूले सक्दो योगदान गर्नुहुन्थ्यो । आज चितवनको टाँडी, पदमपुर क्षेत्रमा स्थापित मन्दिर, पुस्तकालय, स्वस्थ चौकीहरुमा उहाँको नाम कुँदिएको छ । खासमा समाज सेवा गर्नुपर्छ भन्ने मेरो सोचमा बुवाले धेरै नै हौसला दिनु भएको हो । गाउँ–घरमा मिलेर बस्ने हो भने आफ्नो तर्फबाट सक्दो योगदान गर्नुपर्छ भन्ने उहाँको पुरानो नियम कहिल्यै तोडिएन ।

धन हुँदा धन र शरीर स्वस्थ हुँदा श्रमले सेवा गर्नु भन्ने उहाँले बनाएको नियम जीवनभर पालना भएको देखियो ।

आफ्नो निजी स्वभाव, निजी नियम वा निजी सिद्धान्त बनाएर बाँच्ने मान्छे बिरलै भेटिन्छन् । आफ्नो अडानमा चट्टान झैँ अड्ने मानिस देख्दा अनौठो लाग्नु स्वभाविक नै हो । जब म मेरा बालाई पछाडि फर्केर हेर्छु, दुई छाक जाउलो खान नपाएको अवस्थामा होस् कि मनग्गे आर्थिक हैसियत भएको अवस्थामा होस्, उहाँमा कुनै परिवर्तन आएको मैले देखिन । कतिसम्म भने आर्थिक मामिलामा आफ्ना छोराहरुले समेत कुनै गलत गर्लान भन्ने कुरामा उहाँ सचेत हुनुहुन्थ्यो । उहाँले आफ्नो हातले जति समाजसेवा गर्नुभयो, जग्गा–जमिनबाट आएको आम्दानीले मात्र गर्नुभयो ।

कहिलेकाहीँ लाग्थ्यो, हामीले आर्जन गरेको सम्पती उहाँको हो । हकपूर्वक चलाउनुहोस् । घुर्की पनि देखाउनु होस् । तर उहाँले सधै आफ्नो परिश्रममा मात्र विश्वास गर्नुभयो । कहिलेकाहीँ सोच्छु, हाम्रो समाजमा यस्ता चट्टानी पुरुष कति होलान्?

मेरो बा रहरका सन्तान थिएनन् । उहाँको जन्मसँगै परिवारमा न उल्लासको दियो बल्यो, न हर्षको वहार चल्यो । बा जन्मेपछी हजुर बा र हजुर आमाको सम्बन्ध टुटीयो । बा जन्मदा ओत लाग्ने आफ्नै छानो थिएन । श्रीमानबाट छुट्टीएकि एउटी पाकी महिलाले बिरालोले बच्चा सारे जस्तै कहिले कसको गोठमा कहिले कसको गोठमा अरुको काम गर्दै मेरा बालाई हुर्काउनुभएको थियो ।

सानैदेखि मेरा बाले गोठ, खेत र काम बाहेक अरु कुरा जान्नु भएन । सधैं जमिनको संगत गर्नुभयो । जमिनबाट माथि उठ्नु भयो । यहि कारण सुरुमा चर्चा गरिएको उपन्यासको पात्र वाङ्लुङ् जस्तै मेरा बाको धरतीप्रति असिम स्नेह थियो । तर उपन्यासमा सम्पती कमाएपछि वाङ्लुङमा पैसाको मात चढ्छ । यो मातसँगै उसको सम्पर्क गलत महिलासँग हुन्छ । गलत बाटोमा लागेपछि दु:खमा साथ दिएकी श्रीमती ‘वो लान’ लाई समेत उसले उपेक्षा गर्न थाल्छ । विस्तारै जीवनमा नपाएको दु:ख पाउँछ । उसलाई आफ्नै काका, भाइ र छोराले समेत धोका दिन्छन् । वाङलुङको व्यभिचारी चरित्र र केही कमजोरीका कारण उसले यस्तो धोका पाएको थियो । सायद यहिँ पुगेपछी वाङ्लुङ् र मेरा बाको कथा छुट्टिन्छ ।

अरुको गोठमै हुर्किरहेका बेला उहाँका मावली बाले बालाई भेट्नु भएको थियो । उहाँले नै बालाई खेती किसानीको ज्ञान दिनुभयो । आफूलाई हुर्काउने मावली हजुरबा र उहाँका सन्तानको गुन बाले कहिल्यै बिर्सनु भएन । यहि कारण उहाँले मावली भाइलाई आफूसँगै राख्नुभयो । विहेवारी गरिदिनुभयो । दुबैले मिलेर जग्गा–जमिन जोडे । एक अर्काको साहारा बने । परिवार ठूलो भएपछि उहाँले सहोदर भाइलाई झैँ सम्पती अंशबन्डा गराएर छुट्टिनु भयो ।

कतिसम्म भने उहाँहरुको घर छुट्टीयो तर मन सधैं एक अर्कामा गाँसिइरह्यो । सायद, यहि कारण हुनसक्छ, आज पनि बाका मावली हजुरवुवाका सन्तानसँगै हाम्रो निकट सम्बन्ध छ । हामी चौथो पुस्तामा पनि एक अर्कामा दाजु-भाइ कै व्यवहार गर्छौं । मान्छेले कोसँग कस्तो व्यवहार गर्छ, बदलामा उसले उस्तै प्रतिफल पाउँछ । यो कुरा हामीलाई उहाँले सिकाएर जानुभएको छ । यहीँनेर मेरा बा आम मानिसभन्दा माथि उठ्नु भएको थियो भन्ने प्रतित भैरहन्छ ।

बाले राजनीति गर्नु भएन । कुनै पद पाउनु भएन । यस अर्थमा कतिपयलाई उहाँका बारेमा यति लामो चर्चा अनावश्यक लाग्न सक्छ । तर आज हामीले देखिसक्यौं, मानिस पदले होइन, उसको व्यवहारबाट सम्झन योग्य बन्ने रहेछ ।

पहिले विद्यालय पढ्दा लाग्थ्यो, ठूला मान्छेहरु मृत्युपछि अमर हुन्छन् । आजभोलि लाग्छ, ठिक अर्थमा बाँच्ने हो भने सामान्य मानिस पनि अमर हुन्छन् । र, यो समाजमा धेरै ज्ञात–अज्ञात बाहरुले आफू ओझेलमा परेर अरुलाई माथि पुर्‍याउने काम गर्नुभएको छ । केही भाग्यवस लिपिबद्ध हुनपुग्छन्, कोही समयसँगै बिस्मृत हुँदै जान्छन् ।

बा, तपाईंले धर्ती छाडेको यो पुण्य तिथिमा लेख्ने वहाना मात्र पाएको हुँ । सम्झनामा त तपाईं सधैं सधैं आईनैरहनुहुन्छ ।

हुर्कने क्रममा मलाई लाग्थ्यो, म ठूलो भैरहेको छु । त्यो भ्रम थियो । तपाईंको श्रमले उब्जेको अन्नबालीले मलाई हुर्काइरहेको थियो ।

स्कुल पढ्दा लाग्थ्यो, म पढिरहेको छु । तर त्यसको खर्च तपाईंले धानीरहनु भएको थियो । पछि सामाजिक व्यवहार पनि गर्दै गएँ र त्यसको प्रशंसा पनि हुन्थ्यो । त्यो बेला आफैप्रति गौरव पनि लाग्थ्यो ।

आजभोलि पो बुझ्दैछु, तपाईंले सिकाएका नैतिक पाठहरु पनि त्यसमा घुलमिल भएका रहेछन् । गाउँमा बडो इज्जतदार भएर ठाँटिदै हिँड्थ्यौं हामी । अहिले पो थाहा हुँदैछ, इज्जत तपाईंले कमाउनुभएको थियो । त्यसको ब्याजमा हामी रमाइरहेका थियौं । जति जति सोच्दै जान्छु, तपाईं यतै कतै मसँगै टाँसिएर बस्नुभएको छ । आखिर मेरो शरीर पनि त तपाईंकै अंश त होनी । आफैंले आफैंलाई कसरी बिर्सन सकिन्छ र?

तपाइँको प्रतिक्रिया