बिहीबार, कार्तिक १५, २०८१

पिउने केटो

कृष्ण शर्मा२०८१ साउन १४ गते ८:०८

मनको काखमा बस्न पाउँदा आनन्द लाग्छ मलाइ । सानो हुँदा आमाको काख अनि गुरूको सामिप्यमा बस्दाको जस्तै अपार आनन्द। मनले मेरो कुरा गुरूले जस्तै नबोलिकनै बुझ्छ। अनि आमाले जस्तै नदेखिकनै चिन्छ। आमाले जस्तै, मनले नचाउँदा म कहिल्यै थाक्दिन । मलाइ मनको सबैभन्दा मनपर्ने कुरा के हो भने उसले मलाइ म जस्तो छु त्यस्तो ‘म’ लाइ नै बेपनाह माया गर्छ। निशर्त माया गर्छ। मनमौजी माया गर्छ। बेरोकटोक माया गर्छ । पिउन, उफ्रन, लड्न, झगडा गर्न, उट्पट्यांग गर्न – सब छुट दिन्छ। कहिल्यै कुनै कुरामा, काममा भाँजो हाल्न आउँदैन। आफैसँग हराउँदा “बौलाइस कि क्या हो” भन्दैन। तिललाइ पहाड बनाउन्न। हेला गर्दैन। होच्याउँदैन। बिन्दास हुन दिन्छ। भन्छः एक बारको जुनी हो, किन रोकौं तलाइ, किन टोकौं।

केहि वर्ष अघि ट्विटरमा मनले मेरो वास्तविक नामलाइ उल्टाएर छोट्यायो, अनि दुइ वटा भाषाको सहयोगमा ‘पिk’ नामाकरण गरिदियो। फ्रेन्च दार्शनिक ज्याक्स डेरिडाको ‘डिकन्स्ट्रक्सनिस्ट सिद्धान्त’को बिधार्थी भएपछि यतिसम्म भत्काएर नयाँ केही बनाउने कोशिस त गर्ने नै भयो नि, हैन र… ?

ट्वीटर स्पेस नाम गरेको आधुनिक चौतारोमा मनका धेरै साथीहरू छन्। तपाइलाइ सुन्दा अचम्म लाग्ला । तर सत्य यहि हो कि त्यस प्लेटफर्मका सबैजसो साथीहरू मेरो मन भन्दा उमेरमा साना । तर बुद्धिमा हिमाल भन्दा ठूला अनि तर्कमा सगरमाथा भन्दा अग्ला छन्। उनीहरूबाट मनले नयाँ धेरै कुरा सिक्न पाएको छ। उट्पट्यांग टाइपको ‘पिk’ नाम देखेर स्पेसमा कसैले नामको बारेमा कौतुहलता जाहेर गरेको खण्डमा पेन्सिलभेनियाको पिट्सबर्ग स्थित विश्वबिधालयमा (बिकास) अर्थशास्त्रमा बिधावारिधी गर्दै गरेका प्रशान्त भाइ आइहाल्छन्। “पिk भनेको ‘पिउने केटो’ को छोटो दार्शनिक रुप हो है” भनिदिन्छन्। नहाँसिकन यसरि भनिदिन्छन् कि नयाँ ट्वीटेहरूलाइ शायद आजन्म म भनेको पिउने केटो नै हो भन्ने छाप पर्छ होला।

मलाइ लाग्छ, मानिस बडो तुच्छ खालका नाटक गर्न सक्ने एउटा अति कमजोर दिमाग भएको जेमा पनि जोसँग पनि असुरक्षित महशुस गर्ने बहुरुपिया छेपारो टाइपको जनावर हो। समय र मौसम अनुसार होइन कि आफ्नो निहीत स्वार्थ अनुसार मानिसले हजारौं पटक आफ्नो परिचय बदल्छ।

गज्जब के छ भने प्रशान्तले जस्तै धेरै अरू साथीहरूले मेरो मनलाइ आफ्नो बारेमा केहि न केहि भन्नुपर्ने झन्झटिलो बाध्यताबाट हाइसन्चो हुन्छ। रमाइलो अस्प्ष्टता त तब थपिन्छ जब अस्ट्रेलियाको क्यानबेरामा बस्ने अर्का ‘मिस्त्री’ नाम गरेका मृदुभाषी भाइले ‘पिk’ भनेको ‘पिरोलिएको केटो’ को छोटोरूप हो भनेर ठूला ठूला मानिसहरु भएको भब्य समारोहमै सगर्व घोषणा नै गरिदिन्छन। अनि युरोप तिरको एक सम्पन्न देशमा आर्थिक परामर्शदाताको रूपमा काम गरिरहेका अर्का नेपाली ‘जादु’ छन् जसले एकदमै चिनेको जस्तो सुनिने गरी गम्भीर मुद्रामा सबैलाइ भनिदिन्छन्, “म पिk लाइ धेरै वर्ष अघि देखि (राम्रोसंग) चिन्दछु”। उनी यो पनि थप्छन, “त्रिभुवन विश्वबिधालयमा स्नातकोत्तर पढ्दा देखि नै चिन्दछु।” मेरो मन मेरा आँखा फाट्ने गरी अनि आश्चर्यमा केहीबेर मुख बन्दै नहुने गरि दंग पर्छ।

अरुले जस्तो जादुले आफ्ना फोटाहरु ट्विटरमा पोस्ट गर्दैनन। न त मिस्त्रीले जस्तै सजिलै मलाइ डि एम नै गर्छन। प्रशान्तले भर्खरै युरोप गएको बेलामा ‘भेट्न खोजेको थिएँ तर साइतै जुरेन भन्दै थिए। टेक्सास तिर बस्ने एक आइ टि का धुरन्धरले समेत आज सम्म पनि जादुको बास्तविक नाम पत्ता लगाउन सकेका छैनन् रे। जादुको कुरा सुन्दा लाग्छ उनि र म समकक्षी हौं। समकक्षी नभए पनि कम्तिमा समकालीन चाहिं हुनसक्छौं।

प्रशान्तले मेरो मनलाइ पिएको बेलामा समेत भेटेकोले रमाइलोको लागि ‘पिउने केटो’ भनेर चिन्नु वा चिनाउनु कुनै आश्चर्यको कुरा भएन। करीव ८६११ नटिकल माइल टाढा अस्ट्रेलियाको राजधानी शहरमा मस्ताराम गरिरहेका मिस्त्री भाइसँग मनको प्रत्यक्ष रुपमा भेट भएको छैन। तर स्पेसको प्लेटफर्ममा बोल्दा यस्तो लाग्छ उनि मेरो मनसँग निक्कै मिल्ने बालसखा हुन जसले उनलाइ उनकी आमाले जस्तै जानेको छ। स्पेसको हाम्रो लामो उठबसले उनलाइ शायद म आजीवन पिरोलिइरहेको एक अप्ठेरो आत्मा हुँ भन्ने भ्रममा पुर्याएको छ कि जस्तो लाग्छ। त्यसैले नै उनले मलाइ मेरो मनबाट छुट्याएर ‘पिरोलिएको केटो’ बनाइदिएका छन। लाग्छ उनले पनि डेरिडालाइ जादु अनि स्पेसका अर्का धुरन्धर बिरादरी दाजुले जस्तै गहिरोसँग अध्ययन गरेका छन। मिस्त्रीको ठम्याइमा केहि सत्यता हुनसक्छ। जीवनले कुबेलामा पस्केको यो बिद्रुप बिसंगतीबाट मेरो मन बाहेकको म जति अरु को नै पो पिरोलिएको होला र!

जीवनले जस्तै गरी चोट माथि चोट थोपरेर प्रशान्त वा मिस्त्री भाइका सम्बोधनले मलाइ पिरोल्दैनन्। बरु मलाइ ति हास्यरसले भरिएका सम्बोधनहरु यथार्थमा प्रिय एवम रमाइला लाग्छन। ति सम्बोधनहरुले मेरो कुनै एक वा दुइ निश्चित समय अनि हालतको प्रतिनिधित्व गर्छन। एउटा ‘म’ को आँखिझ्यालबाट संसारको साँघुरो गल्ली चिहाउन सहयोग गरिदिन्छन।

मानिसको क्षण भरको दशाले उसको क्षणिक परिचय दिन्छ। पूरा परिचय त शायद नामले मात्र दिने कोशिस गर्छ। किनकि हाम्रो भूतलाइ बर्तमान र बर्तमानलाइ भविष्यसँग जोड्न सक्ने एउटै मात्र तत्व नाम हो। तर त्यहि नाम पनि मानिसले सुरक्षाभावका कारण फेरिरहन्छ

तर जादु दाजुको सम्बोधनले चाहिं धेरै त होइन अलि अलि चाहिं पिरोल्छ। पिरोलिएपछि म स्वयंलाइ सोध्छु, ‘कति चिनेका होलान त यि दाजुले मलाइ?’ जादु दाजुले मलाइ ‘फिल गुड’ गराउनको लागि पनि त्यो उपाय निकालेका हुन सक्छन्। तर म फेरि घोत्लिन्छु, ‘मैले ट्विटरमा आफ्नो फोटो उनले जस्तै राख्दै नराखेको भए के जादु दाजुले मलाइ त्यति चिन्दा हुन जति चिनेको छु भन्छन?” उनको असली नाम र तस्विर थाहा नभएको र नदेखेको हुनाले मैले जादुलाइ आजसम्म उनी यस्ता मानिस हुन् भनेर ठोकुवा गर्न सकेको छैन। त्यसैले मैले उनलाइ आंशिक रुपमा मात्र चिन्दछु मात्र भन्न सक्छु। उनको स्वर र उनका बिचारहरुलाइ आधार मानेर जति चिन्न सकिन्छ त्यति मात्र चिन्दछु र चिनेको छु। नभेटी, सुनेको आधारमा म यति चाहिं निर्धक्क भन्न सक्छु कि जादु नाम जस्तै आवाज, शिष्टता र बिद्वताको दुनियाँका छोटा बादशाह नै हुन। तर “हराउन आएको म यता, मलाई चिनेर आसपास भनेर सबै खेल उल्टो नबनाइदिनु होला” भनेर ट्विटरको टाइमलाइनमै लेखेकोले आसपास भनेर उहाँको सबै खेल उल्टो बनाइदिने कुरा पनि त भएन।

खैर, यो सब पछि अव नामलाइ भत्काउने र फेरि बनाउने खेल तिर लागौं जसका लागि ट्वीटर प्रख्यात छ।

मलाइ लाग्छ, मानिस बडो तुच्छ खालका नाटक गर्न सक्ने एउटा अति कमजोर दिमाग भएको जेमा पनि जोसँग पनि असुरक्षित महशुस गर्ने बहुरुपिया छेपारो टाइपको जनावर हो। समय र मौसम अनुसार होइन कि आफ्नो निहीत स्वार्थ अनुसार मानिसले हजारौं पटक आफ्नो परिचय बदल्छ। उदाहरणको लागि मलाइ नै लिनुस न। क्यामेराले उतारेका मध्ये राम्रा तस्वीरहरु बाहेक फेसबुकमा र ट्विटरमा परिचय दिने मेरा नाम समेत फरक छन। हामी यति बिध्न असुरक्षित र बहुरुपिया छौं कि हाम्रो परिचय सामाजिक संजाल पिच्छे फरक फरक छ। मैले न्वारनको नाम आजसम्म कसैलाइ भनेको छैन र शायद भन्नेवाला पनि छैन। पहिलो पटक उच्चारण गर्दा मेरो पहिलाको हाकिम रिचर्डले बाहेक अरू सबै म्लेच्छहरुले मेरो नाम शुद्ध सँग भन्न जानेनन् भने मैले उनिहरुलाइ सजिलो पारिदिन्छु, “तिमिले मलाइ ‘कृष्ण’ भन्न नसकेको खण्डमा ‘कृष’ भने पनि हुन्छ।” मेरी अर्धांगिनीले पनि त्यसै गर्छिन्। उनका अमेरिकन साथीहरूलाइ भनिदिन्छिन “ इफ इट्स टूऽऽऽऽ डिफिकल्ट टु प्रोनाउन्स माइ नेम, यु क्यान कल मि सोनिया।”

तपाइ जेसुकै भन्नुस हामी अपुरो छौं त्यसैले असुरक्षित छौं। असुरक्षित छौं त्यसैले सुरक्षाको लागि बहुरुपिया बन्ने असफल कोशिस गर्छौं। हाम्रो पुरा परिचय छैन। यदि छ भने भन्नुस न त हाम्रो पुरा परिचय के हो? हामी कसरि चिनिन्छौं? के हामी त्यहि हौं जसरि चिनिन्छौं? यदि त्यसरि चिनिदैनौं जसरि चिनाइन्छौं भने हामी हौं को त?

मानिसको क्षण भरको दशाले उसको क्षणिक परिचय दिन्छ। पूरा परिचय त शायद नामले मात्र दिने कोशिस गर्छ। किनकि हाम्रो भूतलाइ बर्तमान र बर्तमानलाइ भविष्यसँग जोड्न सक्ने एउटै मात्र तत्व नाम हो। तर त्यहि नाम पनि मानिसले सुरक्षाभावका कारण फेरिरहन्छ। त्यसैले उसले प्रयोग गर्ने कुनै पनि नामले उसको ब्यक्तित्वको पुरा परिचय बोक्न पाउँदैन।

अन्तमा भन्नै पर्छ मेरो मनलाइ पिk नामाकरण गर्न प्रेरीत गर्ने फेरी तिनै जादु दाजु हुन जो बिन्दास ‘डेरिडा स्टाइल’ बाँच्ने कलामा पोख्त छन्। फ्यानहरुको लश्कर बिच मुस्कुराएकै छन्। पूराना थिती र संरचना भत्काएर बाँचेकै छन्। जादुलाइ ‘डेरिडा स्टाइल’ पुगेकै छ भने मेरो मनलाइ किन पो नपुग्ला र!

हामी यति बिध्न असुरक्षित र बहुरुपिया छौं कि हाम्रो परिचय सामाजिक संजाल पिच्छे फरक फरक छ। मैले न्वारनको नाम आजसम्म कसैलाइ भनेको छैन र शायद भन्नेवाला पनि छैन।

अब अन्त्यमा भन्नै पर्छ मैले। मेरो मनले मेरो गुरू बन्ने मौका पाएको बेलामा म संसारको सबैभन्दा शक्तिशाली मानिस भएको हुन्छु। संसार फाँडिरहेको हुन्छु। तर मैले फाँडेको अरुले थाहा नपाउन् भनेर उसले मलाइ छुपारूस्तम् बनाइदिएको छ पिk को रूपमा।

के भन्नु भयो?

ए… परिचय?
खै प्रशान्त? ए प्रशान्त, कता छौ यार! यसो, यि दाजुलाइ पिk को अर्ग्यानिक परिचय देउ न त…
ल्याऽऽऽऽऽऽ
प्रशान्त त “लिसनिंग” मोडमा पो पुगेछन्।
खैर … मै दिन्छु…
“दाजु, म पिउने केटो।

हो, हजुरले सहि सुन्नु भयो, म पिउने केटो।
नाममा केही छैन क्या, जसरि जीवनमा केही छैन।

सन् २००४ मा यो धराबाट बिदा हुनु अघि डेरिडाले एउटा लेक्चरमा एरिस्टोटलको पुरा जीवन एउटा वाक्यमा समेट्न सकिन्छ भनेको याद आउँछः “एरिस्टोटल जन्मेपछि नमरून्जेल सोचिरहन सक्ने मानिस थिए।”

मलाइ लाग्छ, हामीलाइ डेरिडाले बाहेक अरु कसैले गहिरोसँग चिनेकै छैन। डेरिडा सर्प थिए त्यसैले उनले हामी बाँकि सबै सर्पका खुट्टा देखेका थिए। त्यसैले उनका जति फ्यान थिए त्यति नै दुश्मन पनि। उनको डिकन्स्ट्रक्सनिस्ट सिद्धान्त प्रजातन्त्रको नाममा लुकेर दुनिया लुट्नेहरूका लागि आँखाको कसिंगर भएकोले उनलाइ सरापेर थाक्दैनन्। तर उनिहरूलाइ थाहा छैन कमिलाले सरापेर डिंगा मर्दैनन्।

तपाइँको प्रतिक्रिया