बिहीबार, मंसिर ६, २०८१

सानो जङ्गबहादुरको बेलायत यात्रा झैं !

छत्रमान सुब्बा / तेजपुर, असम२०८१ कार्तिक ३ गते ११:४७

एडिनबरा शहर, स्कटल्याण्डको राजधानी । मैले ‘बेलायतका बाछिटा’ भन्ने शीर्षकमा विष्णु एस.राईको नियात्रामा एडिनबरालाई ‘साहित्यको शहर’ भनेर लेखेको-पढेको थिएँ । सर वाल्टर स्कट, विश्व प्रसिद्ध जासुसी उपन्यासकार आर्थर कानन डायल, जे.के. रोलिङ जस्ता विद्वानको कर्मथलो रहेछ यो। यसलाई ‘सिटि अफ फेस्टिवल’ भनिन्दो रहेछ किनभने,  यहाँ उल्लेखनीय फेस्टिवलहरू सधै नै भैरहने रहेछन्।

शैर कर ये दुनिया 

फिर जिन्दगी कहाँ

अगर जिन्दगी रही भी 

नौजवानी कहाँ?”

महापण्डित राहुल सांकृतायनको यो उक्ति मन परेर यहाँ उद्धरण गरि दिएँ। कहिले पनि भ्रमण भनेर उसलाई छुट्टै समय दिएर कतै यात्राको ईतिहास बनाउने प्रचेष्टा आजसम्म म बाट हुन सकेको छैन ।मैले आफ्नै पाइला फर्केर हेर्दा त्यस्तो किसिमको छाप कही पनि देखिन। अवश्य २०१८ सनको नेपालको दशदिने साहित्यिक भ्रमण र साहित्य अकादेमीको अनुवाद पुरस्कार ग्रहण गर्नु गएको संक्षिप्त दुइटा यात्रा स्मरणहरू भने लेखेको  पाँए।

अवश्य पनि यसरी नियात्राले सिर्जना गरेका अनेकौँ कृतिहरू भने पढ्ने मौका नपाएको होइन । ती हुन- असमिया भाषामा हाड्सनर परा लोहित गङ्गा (कनक सेन डेका), ‘लाष्ट ष्टपेज शान्त मनिका(विकाश बरुवा), ‘चिन देश साइ आहिलो(डा.शुनिल कुमार शइकिया) नेपाली भाषामानौँ डाँडापारि(विष्णु एस राई), ‘मेरो न्युजिलेन्ड यात्रा(ज्ञानबहादुर क्षेत्री), ‘हिमालदेखि सागरसम्म (हरि ढुङ्गेल) ‘एन फ्रेङ्कको डायरी(सन्तोष रावत), ‘समय संवेग (डा. अञ्जना वस्ती भट्टराई) ,’इःमानुनिमा(डा. बालकृष्ण माबुहाङ) डा.गोविन्दराज भट्टराईको मेरो पहिलो बेलायत यात्रा रहेका छन्।

बेलायत जाने रहर कसलाई नहोला? त्यसमाथि कुनै समारोहमा  सम्मानीय अतिथिको रूपमा हुँदा अथवा केही अनुष्ठानमा बोलाएको हुँदा अझ कति गजवको हुँदो हो। मान्छे यसै त बेलायत भनेपछि हुरुक्कै हुने गरिन्छ ।अनि निम्त्याउँदा र आफ्ना-आफन्त हुँदा त कुनै अर्कै भैहाल्छ नि। मानिस विदेश किन जान्छन? त्यसको छुट्टै विवेचना हुन सक्छ ।

अध्याय  छ । यहाँ भने विदेशको यात्रा र यसको स्मरण भनौ नियात्रालाई पैलाउने केही प्रयास गरेको छु ।

नेपाली साहित्य संसारमा नवचेतनाको उजागर गर्ने खनिकर वा अभियन्ताका रूपमा प्रतिष्ठा पाएका सर्जक डा. गोविन्दराज भट्टराईलाई अब यहाँ धेरै चिनाईराख्नुपर्ने आवश्यकता छैन। उनको ‘उत्तरआधुनिक विमर्श’ शीर्षक सिद्धान्त र समालोना ग्रन्थ जजसले पढेका छन्, उनीहरू नयाँ प्रतिको वास्नाले सुगन्धित हुने नै छन र उनीहरू आफ्ना पुराना ध्यान धारणालाई एकपल्ट दोहोराएर विचार गर्न बाध्य रहने छन्। उनको सोच र विचारलाई जान्नु पर्ने अठोट लिएका सर्जकले ‘उत्तरआधुनिक विमर्श’ रुचीकर पठनको बिषय हुन सक्छ ।

भट्टराईको ‘मेरो पहिलो बेलायत यात्रा’ ग्रन्थलाई जम्मा २४ वटा शीर्षकमा लेखिएको छ अनि ५ पाठकीय प्रतिक्रिया पनि यसमा समावेश गरिएको पाउछौँ। प्रथमत यात्रा साहित्यलाई निबन्ध सङ्कलन भनेर चिनाउने हो भने यो कस्तो हुनुपर्छ भन्ने बारे भर्जिनिया उल्फको भनाई मनन गरिहेरौं-“निबन्धको पहिलो शब्दले नै हामी पाठकलाई मोहनी लाओस । लठ्याउदै लगेर अन्तमा हाम्रो चित्तलाई चङ्गा बनाउँदै झ्वाट्ट छोओस् । आफै काखमा राखोस् र घुम्टो ओढाउँदै संसार बिर्साइदियोस् ।”

अनि फेरि यात्रा साहित्य र यात्रा वर्णनमा फरक पाइन्छ ।  यो रचना यात्रा वर्णन कि साहित्य हो भन्ने दोधार उब्जनसक्छ। कलाको सघन प्रयोग र कल्पनाशील स्रष्टाले यस्ता सिद्धान्तलाई पूर्ण रूपमा प्रयोग गरेको यो कृति वर्णनभन्दा सृजनमा धेरै आधारित पाइन्छ।

उनी पहिलोपल्ट बेलायत पुग्ने संयोग जुटाइदिने स्रष्टा श्विश्वासदीप तिगेलाको नाम श्रद्धाले उल्लेख गर्दै नियात्राको पहिलो अध्याय “बेलायत भूमि टेकेको साँझ´´२०६५साल भाद्र ६ गते बिहिबार (२१ अगस्त २००८) देखि शुरुवात गरेका छन्। यस अध्यायमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलदेखि  दिल्ली हुँदै दिन ढलेको बेला ६-३० बजे बेलायतको हिथ्रो विमानस्थलमा उत्रिएर केही अभर परिने होकि भन्ने शङ्का बोकेर बाहिरि निस्कँदै गर्दा गोपी प्रसाईं र विश्वासदीपले फूलगुच्छाले स्वागत गरेको उल्लेखले यसलाई रोचक पारेको छ। यहाँ मानव र यन्त्र-साथी साथी देखिएको अनुभव रहेको छ। अनि २००८ सनमा नोबेल विजयी पामुकको ‘माइ नेम इज रेड’´को उल्लेख पनि छ। परन्तु यो अध्याय भने उनीहरूसँगको बेलायतमा भेट र विश्वासदीपको फोक्स्टनको वासस्थानमा पुगेर रातसँगै यो टुङ्गिन्छ।

त्यसपछि फोक्स्टनको घुमफिर र प्रभातको कार्यक्रम बाट यात्रा शुरुवात पाइन्छ। यसमा भने नेपालीले आफ्नै देवता पुज्छन्, आफ्नै देशको अनुहार हेर्नू तस्विरहरू राख्छन र आफूलाई आफ्नोपनको अनुभूति प्रदान गराउने प्रयास गर्दछन् भन्ने आभास पाइन्छ। एउटा दृष्टान्त: “टेबलमा आर्टिफिसियल सुनखरी फुलको। त्यहीँ एउटा थालिमा शिवपार्वतीको सानो इमेज । दसै वटा कलश ससाना, तिनमा फूल ,तलतिर धूप र थालीमा चढाएको बेलायती चानचुने– यसले डायास्पोरिक चेतनाको दस्तक दिएको छ। अनि यात्रा साहित्य हुने आफ्नो चरित्र छर्ल्याङ पारेको छ।”

प्रवासी नेपाली साहित्य समाज, ब्रुनाई/युकेले आयोजना गरेको कार्यक्रममा पुग्नु छ ,स्क्रिनमा औंलाले थिचेर ‘पश्चाताप’ चलचित्रको  गीतको प्रिमियम शो विमोचन गर्ने कार्य सुन्दानै उपस्थितिको अनुभूति हुने। त्यो दिन पनि यसरी एउटा सकारात्मक, सिर्जनात्मक र जातिप्रेममा समर्पित दिन बन्यो। पाठ पढ्दै जाँदा उल्लेखनीय कुरा  के छ भने त्यहीँ क्षेत्रबाट स्थानीय निकायमा  विजय हासिल गर्ने एमपी  शिव गुरूङसँग भेट गर्ने र एउटा सासानो नेपाली संसार निर्माण भएको अनुभव समेटिएको छ। उनीले त्यहाँ लण्डनको एउटा कलेजमा चारघन्टा समेटेर कार्यक्रम सक्दै फोक्स्टन पुगेको बयानले यसलाई टुङ्ग्याएका छन्।

लेखकले विश्वासदीप तिगेलाका बारेमा भनेका छन्-“उनी एउटा त्यागी युवा हुन्। उनी साहित्यमा डुबेर लागेका छन्।भविष्यले उनको योगदानको मूल्याङ्कन गर्नेछ।´

वास्तवमा इङल्याण्ड,स्कटल्याण्ड,वेल्स र आयरल्याण्ड चारवटा राज्य मिलेर बनेको युके, संयुक्त अधिराज्य भनिदो रहेछ। यहाँ जोडिएको अर्को एउटा प्रसङ्ग छ कृष्णभूषण बलको कविता । उनको कविताको प्रशंसा छ-“मलाई त कविताले मान्छे मान्छेको मुटुमा देश लेख्नु थियो/मलाई त कवितामा मान्छेले गाउने  गीत लेख्नु थियो ।”

पाठ पढ्दै जाँदा अर्को सन्दर्भमा, विदेश यात्रामा साहित्यका हस्तिहरूलाई पनि आफ्नै देशले ठग्छ, बाधा दिन्छ र दुखी बनाउछ भन्ने कुराको सूचना भनौं सचेतता पाइन्छ। डा.भट्टराई अङ्ग्रेजीका अध्यापक हुनाको नाताले ‘यो देश आफ्नो पुरानो थातथलो (अंग्रेजीभाषी नाता) ठानेर स्कटल्याण्डतिर जाँदाको अनुभूति यस्तो छ-“म आफ्नै पुरानो घरतिर आएको छु। तर कसैले चिन्दैन, कसैले बोलाउँदैन। आफ्नो पुरानो घर यही हो किनभने विगतका चार दशक मैले  बेलायतकै सेवा गरेको छु।“ आजसम्म एक लाख विद्यार्थीलाई अङ्ग्रेजी सिकाएँ होला, बोलेर-लेखेर वा भाषिक सङ्गठन गरेर। यो मेरो बेलायतको सेवा नभएर कसको हो त? ब्रिटिस गोर्खा जस्तै स्वेच्छाले म बेलायती सेवामा जीवन बिताउने रहेछु। आज शेक्सपियरदेखि बर्नार्ड शासम्मलाई भेट्न आउँदैछु भन्दा मेरो मन किन नउचालियोस् ?”´

‘सैन्य अभ्यास केन्द्रतिर’ शीर्षक अन्तर्गत भने एकजना गोर्खा ब्रिटिस सैनिक मिजास तेम्बे (साहित्यका हस्ति) ले रोयल मिलिटेरी एकेदेमी स्यान्डहर्स्टको परिसरमा अवलोकन गराएका थिए। डेढ सय वर्ष पुरानो विश्वप्रसिद्ध सैन्य तालिम र प्रशिक्षण केन्द्र हेरेको रोचक प्रसङ्ग यो पठनमा छ। के थियो त्यो विशाल भवनमा ? …पेन्टिङहरू। ठूलाठूला राजा, महाराजा, सम्राटका। भारतीय वीर पुरुषहरूका-तरबार भिरेका,फेटा कसेका योद्धा। युद्ध मैदानमा पछारिएका घोडाहरू, घाइते भएर पछारिएका,खुकुरी उज्याएर युद्धभूमितिर उडेका गोर्खाली शैन्यहरू…। यसरी हेर्दै जाँदा माछाका सिपाहीहरू छन् भने त्यहाँ तलाउमा पैसा तिरेर नियम अनुसार फिशिङ गर्न पाइने। मलाई यतिबेला मेघालयको एउटा कुरा याद आयो, त्यो के भने  मेरी कान्छी बैनी बासन्ती राई, जुवाइ मनोज राई र श्रीमती कौशिला सुब्बासँग शिलङ घुम्न जाँदा पैसा तिरेर बल्छी मार्न पाइन्छ भन्दै तलाउतिर देखाए। त्यहाँ त्यतिमात्रै होइन जसले धेरै माछामार्छ उसले २/३ लाख रुपिया इनाम पनि पाउँछ भनेर सुनाएका थिए।

‘बेलायतमा मलामी गएको त्यो आधादिन’ शीर्षक आलेखमा शैनिक कवि विशाल के.सी.का पिताको मलामी गएर आएको दिनको दुःखान्त बर्णन छ। एकजना ब्रिटिस (लिम्बू) लाहुरेको मलाम जानू भएको रहेछ।सबै मलामीले कालोबस्र धारण गरेका थिएछन्। लिम्बू फेदाङमाले मुन्धुम गरेर लाशको अन्तिम संस्कार भएको सुन्दा राम्रो- नराम्रो दुबै लाग्यो ।राम्रो लाग्यो- आफ्नै संस्कारले भएछ, नराम्रो लाग्यो-एउटा अन्जान मुलुकमा कतिपय दुःख, आँशु नि लुकाउनुपर्यो ।

अर्का सैनिक कवि  गणेश राईले ‘राइफलको नालका जिन्दगी’ लेख्ने, उनी पनि लेखकसँगै लण्डन घुमे । बकिङह्याम दरबार हेर्न पुग्दा दरबारका गार्डमा नियुक्त गोर्खा गणेश राई साथमा हुनु कति आनन्द र खुसिको मूहूर्त! पुस्तकमा लण्डन यात्रा अध्याय भने अति महत्व र ज्ञानवर्धक उच्चाइ बोकेको पाइयो। लण्डनभित्र उनीहरु कै मात्र होइन,  गोर्खाको वीरत्व र सेवा साधनालाई पनि प्रशंसा गरेका निकै दस्तावेज र कर्मपूजाको आभास पाइन्छ। आफ्नै पूर्खाको वीरगाथा कसलाई गौरव नलाग्ला त ? केही दृष्टान्त हेरौँ-“त्यहाँ रक्षा मन्त्रालयको सामुन्ने एउटा अग्लो बस्टमाथि काँधमा बन्दुक ठड्याएर उभिएको बन्दोबस्तीको भारी भिरेर छ्त्रेटोपी पर्लक्क ढल्काएको एउटा भव्य सालिक देख्यौँ, त्यो कुनै गोर्खालीको थियो ,बेनामी एउटा तर राई लिम्बू मगर गुरुङ मङ्गोल मुहारको।…रक्तसञ्चार भइरहेका वीरतापूर्ण आँखा, अभय मुद्रा र निर्भय गतिका पाइला- यो भव्यता देख्ता मेरो आँखा भरिएजस्ता भए । म छक्क परेँ,मुग्ध भएँ । गोर्खालीको वीरत्वको पूजा र प्रंशसाले बकिङह्याम प्यालेसको नजिकै भव्य राजप्रसादहरूको बिचमा उभिएको यो एक मात्र सालिकले कसका हृदयमा आनन्द र गौरवको मुस्लो उठाउँदैन होला।”

त्यही नजिकै स्तम्भमा सर राल्फ लिले टर्नरका शब्द कुधिएका छन्- “हे गोर्खालीहरू,तिमीहरू वीरहरूका वीर अनि दयालुहरूका अति दयालु–इत्यादि। अनि कविता बेचेर पाठ गरेर जिउने जोजेफको  कहानी पनि जोडिएको छ लण्डन शहरमा ।”

गोर्खा म्यूजियमको अवलोकन गर्ने योजना बनेपछि थाहा लाग्छ, आजको घुमाइ बेलायतको प्राचीन शहर विन्चेस्टरतिर हुँदैछ। म्युजियमको बाहिरपटि लेखिएको थियो- द गोर्खा म्युजियम !

म्युजियमबारे अगाडी लेखिएको छ-‘सन् १८१५ मा स्थापित गोर्खाली बटलियनले बृटिश इण्डिया कालदेखि हिजोसम्म सहभागी भै लडेको कथा, कुन-कुन देशमा कहाँ युद्ध भए, कुनकुनमा गोर्खाली सेना संलग्न थियो, कसरी तिनीहरूले लडे, कति विजय प्राप्ति भयो, कति क्षति भयो- ती सारा कुरा खुल्नेगरी प्रदर्शन गरिएको यो म्युजियमले एक अपूर्व चेतना निर्माण गर्यो ।”

गोर्खालीले बन्दुकको नालमा जीवन राखेर देशसेवा गरेको मृत्युसँग जीविका साटेको र वफादारको सबै देशमा यस्तो सम्मान पाएको भए शरणार्थी हुनपर्ने थिएन होला यो जातिले। अनि, यात्राको क्रम छ- ऐतिहासिक स्टोनहेन्जको अवलोकन। त्यहाँ सर्जक मित्रहरूको नाम आयो- विश्वासदिप तिगेला, मिजास तेम्बे र मुलिवीर राई। उनीहरूको सद्भाव साँच्चै सराहनीय छ।

अब यो दिन बितेपछि शेक्सपियर जन्मभूमिको यात्रातिर जाने तर्खर हुन्छ । नाट्य सम्राट शेक्सपियरलाई नजान्ने नचिन्ने को होला र? परन्तु उनको जन्मथलो कस्तो रहेछ कहाँ रहेछ ? जान्न र हेर्ने चाहना पनि कस्को नहोला त ? यसरी बेलायत गएको बेला स्ट्राटफोर्ड अपन-एभनमा पुगेर यस्ता महान प्रतिभाको आँगनमा नाचेर आएको शुखद समाचार हामीलाई चुडेर दिएका छन्। हामीले प्रसादझै ग्रहण गरेर शिरमा पवित्र जलको अनुभूति लिए पनि हुन्न र? यसपछि फार्नबोरोको कार्यक्रममा जानुछ उनीहरूलाई। ओकफिल्ड स्कुलको भव्य समारोहमा भाग लिएर बृटिशको तीज खाएर भोलिपल्ट स्कटल्याण्ड जाने निम्तो छ, कार्यक्रम छ।

आब्रोथ शहरमा मधुसुदन भट्टराईसँग एकदिन बिताएको पलको वर्णन पनि पाइन्छ। त्यसपछि समुद्री संसारबाट निस्केर एडिनबरा शहर। एडिनबरा शहर, स्कटल्याण्डको राजधानी । मैले ‘बेलायतका बाछिटा’ भन्ने शीर्षकमा विष्णु एस.राईको नियात्रामा एडिनबरालाई ‘साहित्यको शहर’ भनेर लेखेको-पढेको थिएँ। सर वाल्टर स्कट, विश्व प्रसिद्ध जासुसी उपन्यासकार आर्थर कानन डायल, जे.के. रोलिङ जस्ता विद्वानको कर्मथलो रहेछ यो। यसलाई ‘सिटि अफ फेस्टिवल’ भनिन्दो रहेछ किनभने,  यहाँ उल्लेखनीय फेस्टिवलहरू सधै नै भैरहने रहेछन्। अङ्ग्रेजीका आदिकवि ज्याफ्रे चसरको दैलोमा पुगेर उनको शालिकमा ढोगेर फर्केको आनन्द एकजना  गम्भीर स्रष्टालाई भिन्दै हुने रहेछ भन्ने विवरण यहाँ समेटिएको छ ।

लेखकलाई एकपल्टको यात्रामा दुईपल्ट लण्डन घुम्ने चाहना देखेर आफूलाई उनीसँगै जान पाएको भए भन्ने लोभ पनि उब्जियो । लेखकलाई दुईपल्ट हेरेर पनि चित्त नबुझेको शहर हेर्ने रहर त कहिले पूरा होला र ? परन्तु  आफूलाई कृति पठनकै क्रममा घरिघरि लेखक भट्टराईसँगै म पनि उहीँ घुमि रहेकोछु भन्ने आभासले केही तृप्ति भने नदिएको होइन।

निबन्धमा उनले फेरि अन्तिमतिर आएपछि आफ्नो अतृप्त मनका कुरा थपेका छन्- “आज हिँड्ने दिन। बेलायती यात्राको समय अत्यन्तै कम्ती भएको अनुभव हुन्छ। केही दिन समय थपियो तर पनि थोरै भयो। यी कुरा थपिदा पनि दिनभने थपिएनन। अब यसरी दिन सकिएर लेखकको बिदाइको साँझ आइपुग्यो। लण्डन घरिघरि हेरेर नअघाउने लेखकको कारण त्यहाँ गोर्खाको इतिहासले मात्रै पनि खिचेको होइन, हामीलाई चाहिने बौद्धिक खजना पनि मन  भरिने र  दिमाग भरिने गरि बटुल्ने विचार नअघाएर पनि यस्तो भएको होला ! फेरि चसरको क्यान्टरबरी पुग्ने धोबो र तिर्सना पनि उत्तिकै लागेको छ। अनि दोस्रो पल्ट क्यान्टरबरीको दर्शनले आफ्नो बेलायतको पहिलो यात्रालाई अन्तिम रूप दिने बाध्यतामा समाहित हुनु पर्ने छ। उनलाई त्यो बौद्धिक दर्शन गरेपछिको अनुभव- मलाई यस्तो तृप्ति कहिल्यै मिलेको थिएन।”

यसरी एघारदिने बेलायत यात्रा सकेर घर फर्किन्दा यो नियात्रा जङ्गबहादुरको बेलायत यात्रा जत्रो नभए पनि सानो जङ्गबहादुरको बेलायत यात्रा जस्तो त भयो होला भन्ने महशुस लेखकले गरेका थिए । आफूले पनि यो नियात्रा पढिसक्दा सानो जङ्गबहादुरको बेलायत यात्रामा सहभागी नै भए जस्तै महशुस  गर्न थालेको थिएँ।

[email protected]

तपाइँको प्रतिक्रिया