बेलायतमा तामाङ समुदायको सामुहिक ल्होसार र एकताको सन्देश
बेलायतमा चिसो बढेकै बेला तामाङहरुको भेटघाट बाक्लिन्छ । सामाजिक कामकालागि बैठक बस्छन् । साना ठूला भेलाहरु पनि बाक्लै हुन्छन् । यहि बेला तामाङहरुको सोनाम ल्होसार पर्छ । जहिले चोसोयाममा । अहिलेको ल्होसार झन फरक होला जस्तो देखिन्छ ।
नेपालका आदिबासी जनजातिहरु मध्ये विशेषगरी तामाङ, शेर्पा, ह्योल्मो र थकालीहरु सोनाम ल्होसार र गुरुङहरुले भने तोला ल्होसार मनाउँछन् । तिब्बती मुलका केहि समुदायले ग्याल्बो ल्होसार पनि मनाउने गर्छन् । नेपालमा मनाइने प्रमुख दुइ ल्होसार भने तोला र सोनाम ल्होसार नै हो! चन्द्र पात्रो अन्तर्गत मञ्जुश्री सम्बत २८६१ औं सोनाम ल्होसार यस वर्ष डुल ल्हो (सर्प वर्ग) परेको छ । तामाङलगायत माथि उल्लेखित समुदायले यस नयाँ वर्षलाई नेपाल भरि धुमधामले मनाउँदै आएका छन् । त्यसो त, वर्ष दिनमा आउने पर्वलाई बिदेशमा रहेका आप्रवासी नेपाली समुदायले पनि बडो उत्साहका साथ् मनाउँदै आएका हुन् ।
बेलायतमा नेपाली समुदाय यसैपनि ठूलो छ । ति मध्ये तामाङहरु लगभग २० हजारको आसपासमा छन् । जब सन् २००९ ताका भूपू गोर्खाहरुको आवासीय नीति सरकारले पारित गर्यो त्यसपछि नै नेपालीको जनसख्या बढ्दै गएको हो। विभिन्न अध्ययनहरुका अनुसार बेलायतमा पाइला टेक्ने पहिलो नेपाली मोतिलाल सिंह र राणा प्रधानमन्त्री जंग बहादुर नै रहेको बताईने गरेको छ ।
अन्य समुदायसँगै तामाङहरुको संख्या बढ्नुको कारण पनि भूपू गोर्खाहरुको आवासिय नीति पारित हुनु, गोर्खा भर्तीमा निरन्तर तामाङ युवाहरु पनि छनौट हुनु, अध्ययन र श्रमका लागि आउनु हो । बेलायतमै स्थायी आवासीय अधिकार प्राप्त गरि बस्ने कारणले नै हुनुपर्छ, तामाङहरुको जनसंख्या पनि २० हजार भन्दा बढि पुग्नु ।
बेलायतका स्थानीय पुराना तामाङ अभियन्ताहरुका अनुसार सन् २००६ देखि तामाङहरु संगठित हुन् थालेका हुन् । आफूआफू भेला भई समाज निर्माण र आफ्ना परम्परा, भाषा, धर्म र संस्कृतिहरुको संरक्षण गर्न अन्य संस्था जस्तै तामाङहरुकोपनि संस्थाले आकार लिनु स्वभाविकै हो।
मानिसहरु बिस्तारै बढ्दै गए । खाँचोको महसुस हुँदै गयो । एकताको भावना झ्यांगिँदै गए । यिनै विविध कारणले यस्ता संस्था एकपछि अर्को जन्मिँदै गए। बेलायतमा अहिले तामाङ समुदायका छ वटा संस्था कृयाशिल देखिएका छन्। उहि जाती, एकै उद्देश्य तर छुट्टा छुट्टै सामाजिक संस्था निर्माण गरि किन छरपस्ट टुक्रिएर बस्ने ? यो प्रश्नपनि उभिने गरेको छ । भाबी सन्ततिहरुको लागि एउटा मात्रै सुन्दर तामाङ समाज निर्माण गरौं भन्ने बहसपनि घनिभूत भएको छ । त्यस्तो एकै संस्था जहाँ आफ्नो परम्परा, कालजयी गीत संगीत, धर्म र संस्कृति सुरक्षित होस् भन्ने मनसायले धेरै तामाङ बुद्दीजिवी, समाजसेवीहरु चिन्तित देखिएका छन् । त्यहि चिन्ताले एउटा बहस निम्त्याएको छ-अब तामाङहरु छरिने होइन एकजुट हुनुपर्छ । यो बहस तातिँदै गएकोपनि छ । धेरैले यसलाई वास्तविक र समय सान्दर्भिक भनेका पनि छन् ।
अनुकूल अवस्थामा त जसलेपनि गर्छ । तर हाम्रा अग्रजहरुले प्रतिकूल परिस्थितिका बावजुद पनि तामाङहरुको हक र अधिकारको लागि संघर्ष गरे । ति संघर्षहरुले ल्याएको प्रतिफलका रुपमा जुन उपलब्धिहरु आज हाम्रो पुस्तालाई मिलेको छ, अब फेरी हामी आफ्नै दम्भ, घमण्ड र अहंकारले ति प्राप्त उपलब्धिहरुलाई बचाउन सकेनौं भने के होला ? आगामी पुस्तालाई हस्तान्तरण गर्न चुक्यौं भने कस्तो होला? इतिहासले समग्र तामाङ समुदाय र सचेत अभियन्ताहरुलाई सराप्ने हो कि ? सोच्नुपर्ने छ ।
यस्तै भावनाबाट प्रेरित भएर बेलायतका क्रियाशील पाँच समाजहरु एकजुट भएका छन् अहिले । ति लण्डनको ह्यारो लिजिएर सेन्टरमा संयुक्त ल्होसार कार्यक्रम लिएर २५ जनवरीका दिन आउँदै छन्। यस संयुक्त ल्होसार मूल समारोह समितिका संयोजक हरिसिंह वाइबा हुनुहुन्छ । सदस्य सचिब बम ब्लेन्थेन हुनुहुन्छ। सबै पाँच समाजका अध्यक्षहरु सदस्य रहने गरि १०१ सदस्यीय मूल समारोह समिति पनि बनिसकेको छ। आर्थिक संयोजक श्री दावा स्याङ्ग्बो सम्हाल्न लाग्नुभएकै छ ।
यस्तो संयुक्त कार्यक्रम लण्डनमा पहिलो पटक हुन लागेपनि अन्य ठाउँहरुमा भने भईसकेकै छन् । सन् २००५ ताका हुनुपर्छ, कास्कीमा नेपाल तामाङ घेदुङ् कास्की, ह्योल्मो समाज कास्की र तीन गाउँले थकाली समाजले पनि सोनाम ल्होसारको उपलक्ष्यमा एक हप्ते संयुक्त कार्यक्रम आयोजना गरेका थिए । कुम बहादुर तामाङ, क्याप्टेन पूर्ण बहादुर ह्योल्मो र बसन्त थकालीले त्यस वर्षको ल्होसार कार्यक्रमको नेतृत्व गर्नुभएको थियो ।
त्यसो त, सन् २०१६ मा इटालीको मिलानमा रेन्जी शेर्पाको संयोजकत्वमा तामाङ, शेर्पा, गुरुङ र तिब्बतीहरुले संयुक्त रुपमा कार्यक्रम आयोजना गरेकै हुन् । उनीहरुले एक भब्य ल्होसार मनाएका थिए त्यो बेला । त्यसपछि २०१७ मा म स्वयम मितेरी मञ्च मिलानको अध्यक्ष निर्वाचित भएँ। मितेरी मञ्च मिलान कुनै जातिय संस्था होइन। मिलानमा एउटा मात्र नेपालीहरुको साझा संस्था मितेरी मंच मिलान । हामीले त्यहि संस्था मार्फत ल्होसार, दशैं, तीज र नेपाली नयाँ वर्ष मनाउने परम्परा सुरु गरेका थियौं। यस्ता उदाहरण खोज्ने हो भने अन्यत्रपनि फेला पर्लान् ।
यो द्रिष्टीले हेर्दा बेलायतका तामाङहरु जुट्नका लागि ढिला भएको हो कि भन्ने लाग्छ । तर समयको खाँचो, माग र पिढीहौर्को जिम्मेवारीबोधले अभियन्ताहौर्लाई एकै थलोमा उभ्याउनेपनि गर्छ । हिन्दीमा ‘देर आया दुरुस्त आया’ भने जस्तै तामाङ अभियन्ताहरु, र यी पाँच समाज (ल्हाम्हेंदो तामाङ समाज, तामाङ समाज युके, म्हेंदोमाया समाज युके, तामाङ घेदुङ्ग रेडिंग ह्युल्बा केन्ट) का अध्यक्ष र पदाधिकारीहरुको आँट र उत्साहलाई सलाम गर्नै पर्छ । यो सफल बनाएमा यसले एउटा अभुतपूर्व ऐतिहासिक कार्यक्रम सम्पन्न गर्ने छ । त्यसले समान प्रकृतिका तर छरिएका अन्य संस्थालाईपनि एकिक्रित हुन उर्जा दिने छ ।
जनवरी २५ तारिक करिब ११:३० देखि लामा गुरु कर्म वान्ग्देल र वहाँको टोलीले पूजा सुरु गर्नुहुनेछ, यो कार्यक्रममा । वाङ्ग वितरण, पूजापाठ, ढोकभेट पश्चात दिउँसो दुई बजे देखि औपचारिक कार्यक्रम सुरु हुनेछ । मिठा तामाङ परिकार छोहोका साथै भोजनको व्यवस्था त हुने छ नै, सांस्कृतिक कार्यक्रम लगभग रातको ३ बजे सम्म चल्ने तयारि गरिँदै छ ।
कार्यक्रम यतिमै सिमित छैन । अन्य प्रमुख आकर्षणहरु इन्डियन आइडलका पूर्व बिजेता प्रशान्त तामाङ उपस्थित हुँदैहुनुहुन्छ । सेलो गायक चन्द्र कुमार दोङ्ग, रोशन फ्युबा, गीतु लोप्चन र ऋतु लामालाईपनि चिनाईरहनै परेन । उहाँहरुको पनि उपस्थिति लगभग निस्चित गरिएको छ । सामुहिक ल्होसार तयारि समितिले भेटवार्ता, तयारि, ब्यवस्थापनको पाटोलाई बलियो, कसिलो र रसिलो बनाउन जुटिरहेकै छ । यो सामुहिक तयारि समितिले आव्हान गरेको छ -बेलायतबासी सबै समुदाय र तप्काका समुदायहरु यस एतिहासिक कार्यक्रमको प्रत्यक्षदर्शी बनिदिनुस् । तामाङहरुको भेषभुषा, संस्क्रिति, परिकार र संगित अलि गहिराईबाट नियालिदिनुस् । चाखिदिनुस् । हामीलाई हौशलापनि दिनुस् । सामुहिक कार्यक्रम भएकाले सांस्क्रितिक कार्यक्रमले समाजलाई बलियोपनि बनाउँछ । एकताको सन्देश जान्छ । भातृत्वको संस्कार फैलिन्छ । त्यसैले मपनि भन्छु “२५ जनवरी ह्यारो जाउँ, सोनाम ल्होसार संगसँगै रमाईसित मनाउँ ।”
(मितेरी मञ्च मिलानका पूर्व अध्यक्ष रहेका लेखक संयुक्त ल्होसार मूल आयोजक समारोह समिति, बेलायतका सदस्य तथा ल्हाम्हेंदो समाज युकेका महासचिब हुन्-नेपालप्लस)