शुक्रबार, माघ ४, २०८१

लिच्छवीकालको पुरानो देश ‘हाँडी गाउँ’ ले मारेको फड्को

डा. हरिकुमार श्रेष्ठ ‘शिखर’२०८१ पुष १२ गते १६:४५

डा. हरि कुमार श्रेष्ठ

‘कहीँ नभएको जात्रा हाँडी गाउँमा’ भन्ने उखान नेपालीहरूको जनजिब्रोमा छाप परेको छ । हाँडी गाउँ कयौंपटक पुगियो तर मलाई त्यस ठाउँले तान्न सकेको थिएन । तर विगत केही वर्षदेखि हाँडी गाउँले कमाएको चर्चाको शिखरले मेरो पनि ध्यान तान्दै गयो । मनमस्तिष्कमा अड्डा जमाएर बसिरहेको थियो । मनभरी हाँडी गाउँमा सञ्चालन हुँदै आएको गाडी बन्दाबन्दी शनिवारीय बजार कस्तो होला भनी प्रश्नको चाङ सल्बलाउन थालेको थियो ।

म हाँडी गाउँलाई भेटेरै र देखेरै सुम्सुम्याउन र मुसार्न चाहन्थेँ । तर समय व्यस्तता र स्वास्थ्य समस्याको कारण त्यो मौका जुराउन ‘आकाशको फल आँखा तरी मर’ जस्तै भएको थियो बितेको एक वर्ष । जब मेरो स्वास्थ्य सुधारमा रङ्गको बहार आउन थाल्यो, तब ठ्याक्कै आधा वर्षको पीडादायी गुफाको बसाइ सकिने बित्तिकै लक्ष्मी (श्रीमती) र म २०८१ मंसीर १५ गते हाँडी गाउँ जाने निर्णय गर्‍यौँ ।

विहान चराचुङ्गीको आवाज गुञ्जायमान हुनुअघि नै निद्राबाट ब्युँझेदेखि पलपल हाँडी गाउँको अङ्गअङ्गबारे सोचमग्न भएँ। आनन्दको नशा लिएर झुम्झुमिएको थिएँ । हामीलाई त्यहाँको नेवारी संस्कार र रमझम हेर्ने रहर थियो । खानपिनको स्वाद चाख्ने रहर पनि ह्वात्तै बढेको थियो ।

विहानपख आकाश उठिसकेर रङ्सालिएको थियो । आकाश मुख धोएर स्वच्छ निलो र सफासुग्घर देखिन्थ्यो । कताकतिको आकाश भने अझै सेतो सिरकले गम्लङ्ग बेरिएकै देखिन्थ्यो । विहान सूर्यको रोशनी भने डुल्दैथियो शहर बजार र हाम्रै बस्ति वरिपरि । घरको छतमा विहानको घमाइलो घामको किरणसँगै टाँसिएर नील गगनसँग भलाकुसारी गरी बस्ने मन नभएको पनि हैन । तर आज हाम्रो मानसपटलमा त्योभन्दा पनि शक्तिशाली आकर्षण केन्द्र बनेर आयो हाँडी गाउँ । त्यसैले घरमा हल्का पेटपूजा गरेर करिब १०ः०० बजे घरबाट प्रस्थान गरियो हाँडी गाउँतर्फ ।

हामी स्युचाटार घरबाट पैदल मार्चपास गरी करिब १५ मिनेटमा कलङ्की मन्दिर नजिकैको बसस्टपमा पुग्यौँ । केही समय बसको प्रतीक्षामा रह्यौँ । गाडी सहचालक भाइ रत्नपार्क, चावहिल नेर कटुवाल कराउँदै यात्रीलाई बसतर्फ आकर्षण गर्दै थिए । हामी पनि बस चढेर बध्यौं अगाडि । सधैँभरि यात्रीहरू भेँडाबाख्राझैँ कोचाकोच हुने बसभित्र त सिटहरू फालाफाल त्यो दिन ।

विहानपख शनिवारको दिन भएकोले गाडीको त्यति ताँती, धुवाँ, धुलो र मानिसहरूको उकुसमुकुस पनि थिएन बाटोमा । बस धेरै समय नरोकिइकन अगाडि बढ्दै गयो । त्रिपुरेश्वर पुग्दा नपुग्दै ओर्लनुपर्ने वाद्यात्मक स्थिति आएकोले त्रिपुरेश्वर बस बिसौनीमा ओर्लियौँ हामी । युनाइटेड वर्ल्ड ट्रेडड सेन्टरमा पसी काम फत्ते गर्‍यौँ र पुनः बस बिसौनीमै पुग्यौँ ।

त्रिपुरेश्वरमा माउ र बाच्छाबाच्छी गाडीहरूको आउने जाने रफ्तार अन्यत्रभन्दा अलि बढी नै थियो । केही बसहरू त आए तर गन्तव्य मिलेन । केही समयको प्रतीक्षापछि सहचालक भाइ बसको ढोकाबाट खस्लाझैँ गरी झुण्डिएर चावेल चावेल भन्दै बस हामीलाई नै ठेस्लाझैँ गरी रोक्न आइपुगे । बस हाम्रो गन्तव्य पार गरी चावहिल जाने भएकोले हामी पनि कमलपोखरीसम्म जानको लागि बस चढ्यौँ । मुस्किलले सिटमा बस्न पाइयो ।

बस त्रिपुरेश्वरबाट देब्रेतर्फ मोडिएर युनाइटेड वल्र्ड ट्रेड सेण्टरलाई बायाँ र दशरथ रङ्गशालालाई दायाँ पार्दै सिधै उत्तरतर्फ हानियो । एकैछिनमा धरहरा चोक आइपुग्यो, जहाँबाट देब्रेतर्फ गगनचुम्बी सेतो टावर बिहानको घामको किरणले निकै नै चम्किएको देखिन्थ्यो । दाहिनेतर्फ सहिद गेट गजधम्म बसेको थियो । त्यसपछि बस एकैछिनको लागि धरहराको पूर्वी गेट अगाडि रोकियो । बसहरू, माइक्रो बसहरू, टेम्पोहरूको त्यति व्यवस्थित रूपमा लाइनमा नभएकोले गज्याङ्मज्याङ् रङ्सालिएको जात्रा जस्तै रमाइलै थियो त्यहाँ । केही मोटरसाइकलहरू भने फुतुफुतु धरहराको भूमिगत गुँडतर्फ पस्ने र निस्कने गरिरहेका हुन्थे । केही मानिसहरू गेट आसपासमा विभिन्न पोजमा फोटो खिच्नै व्यस्त थिए । त्यस्तै, धरहरा हेर्न जाने मानिसहरूको भीड लाइनमा देख्न सकिन्थ्यो ।

हामी चढेको बस एकैछिनमा अगाडि बढ्यो । केही छिनमै बसले दायाँतर्फ टुँडिखेल र रत्नपार्क, बायाँतफ सैनिक अस्पत्ताल र वीर अस्पत्ताल परिसरलाई चिर्दै भोटाहिटी चोक पार गर्‍यो । अगाडि दायाँतर्फ राजा प्रताप मल्लको पालामा बनेको सुन्दर रानीपोखरी थियो भने बायाँतर्फ नेपालकै पुरानो विद्याको मन्दिर ‘दरवार हाईस्कूल’ थियो ।

बस अगाडि बढ्दै जमल चोकबाट दायाँतर्फ मोडियो र केहीछिनपछि फेरि त्रिचन्द्र कलेजतिर दाहिने मोडिएर कलेजलाई पक्लक्क दुई चिरा पार्दै अगाडि बढ्दै गयो । बस वागबजार चोक पुगेपछि बायाँतर्फ मोडिएर पूर्वतर्फ हान्निँदै वागबजारको बिचबिचै अझै अगाडि बढ्यो । त्यसपछि, दिल्लीबजार चोकबाट बायाँतर्फ मोडिएर उत्तरतर्फ हात्तीसार मार्गलाई अङ्कमाल गर्न पुग्यो । केहीछिनमै फेरी दायाँ मोडिएर पशुपति मार्ग समात्दै करिब ११ः२० बजे कमलपोखरी बस बिसौनीमा रोकियो । हामी त्यहीँ ओर्लियौँ ।

पहिला पहिला त बस बिसौनी आउनै नहुने रोकेरै हैरान । तर हिजोआज भने बस बिसौनीमा यात्रु नभए पनि पहिला पहिलाझैँ खासै रोकेर बसेको पाइएन बाटोमा । कलङ्कीदेखि नै सडक, पैदलयात्री मार्ग, पार्क तथा चउरहरू सफासुग्घर थियो । तर धरहरा अगाडि भने पैदलयात्री बाटो राम्रो र सफासुग्घर थिएन । अन्यत्र जस्तो रङ्गिन ब्लकहरू पनि बिच्छ्याइएको थिएन । खै जिम्मेवारी महानगरको हो कि प्रदेश वा संघीय सरकारको ?

यो महानगरको जन्म भएपछि पहिला डा। बाबुराम भट्टराई प्रधानमन्त्री बनी सरकारको नेतृत्व गरकोे बेलामा सडक विस्तारको कार्य गरिएको थियो । त्यस्तै, केशव स्थापित मेयर भएको बेलामा पनि महानगरभित्र उल्लेखनीय प्रगति भएको थियो । यद्यपि, सडक र पैदलयात्रीमार्ग अस्तव्यस्त थियो । सडकमा न त सहज रूपमा गाडी कुँदाउन पाएका थिए न त पैदलयात्रीहरू पैदलमार्गमा भएको सानातिना पसलले अवरोधले सहज रूपमा हिँड्न पाएका थिए । कतिपय अवस्थामा त पैदलमार्गमा पसल गरिबस्नेहरूको सामानमा यसो झुक्किएर पैतलाले छुन पुगेमा ‘आँखा छैन कि के हो ? कस्तो हिँडेको’ भन्थे भने कतिपयले ‘बाटो हिँड्न पनि जानिँदैन कि कसो’ भनेर कस्तो टसिला र तिखा बाणहरूले घोच्दथे । जे होस् अहिले मेयर वालेन्द्र साहको पालामा पैदलमार्ग सफासुग्घर, खुल्ला र यात्रामा सहज छ । बिरामी, गर्भवती, बच्चाबच्ची र वृद्धाहरूको लागि त पहिला जस्तो झमेला नभई झनै सहज भएको छ ।
शनिवार अलि बिहानै भएकोले सडकको दायाँबायाँ पसलहरू खुल्न बाँकी नै थिए । सहचालक भाइले हाँडी गाउँ जाने पैदलमार्ग बताइदिए । जहाँ जानको लागि कमलपोखरीको पूर्वतर्फबाट उत्तरतिर सामा मार्गतिर लाग्यौँ ।

अब हाम्रो ध्यान देब्रेतिरको एक सुन्दर र मनमोहक कमलपोखरीतिर पनि पुग्यो । मुख्य द्वारबाट भित्र पस्यौँ । हाम्रा नयनहरूले एकैछिनमा पोखरीको वरिवरिका दृश्य र परिदृश्यहरू खोतल्दै तस्वीर खिचिसकेको थियो । पोखरीको चार कुनामा प्राचीनशैलीका चार पाटीहरू अवस्थित थिए भने पूर्वतिरको मूलद्वारतिर भने ठूलो पाटी थियो । हामी पनि ठूलो पाटितिर लाग्यौँ । पाटी ईट्टाको आधारमा काठको खम्बा, डाँडा, भाटाद्वारा झिँगटीको छानाले निर्मित थियो भने बाहिर वरिपरि हिड्ने बाटो, काठको बार र बस्ने बेञ्चहरू थिए ।

कमलपोखरीमा बारबन्देज र सृङ्गार पटारले यात्रीको ध्यान खिच्दैथियो । दशकौँ अगाडि यो पोखरीमा फोहरको डुङ्गुर हुन्थ्यो तर आजको यो विकसित र परिवर्तित सुन्दर रूपले कसको पो मन चुम्दैन होला र ! पोखरी वरिपरि रोपिएका बिरुवाहरू बाल्यकालमै थिए भने पूर्वी र उत्तरी भागतिर गोल्डमोहर, धुपीलगायत अन्य केही बिरुवाहरू भने बैँसले चुम्चुमिँदै पोखरीको सुन्दरतामा लालित्य थपेको थियो । पोखरीको दक्षिणतिरको पेटी र चउर भने अझै पुनः निर्माणधिन अवस्थामा थियो ।

पोखरी आसपास निकै नै पारिलो घामको रापले तताउँदै थियो त्यस आसपास । त्यसैले, रातको समयमा चिसो तथा अन्य समस्याले कोपिरहेको तथा चिमोटिएरको पीडादायी मनको घाउलाई त्यहाँको रमणीय, शान्त र पारिलो घाममा सेकाएर बस्दा आधा पीडाबोझ त त्यसै कम होला जस्तो लाग्दथ्यो । सायद त्यही भएर होला दिन जति बैसिँदै जान्थ्यो त्यति पोखरीमा आउने मानिसहरूको सङ्ख्या बढ्दै जाने ।

त्यहाँ साना बच्चाबच्ची र उनीहरूका अभिभावकदेखि माया साटासाट गर्ने जोडीहरूको बाहुल्यता थियो । युवाहरू भने प्रायः जोडाजोडीमा देखिन्थे । कतिपय जोडाजोडी त बिरुवाका कलिला मुना जस्ता । उनीहरूका ओँठ तथा गाला चिमोट्दा पनि पिचिक्क दूध निस्केला जस्ता । तर उनीहरूमा ठेट्ने बैँसको धुप बेरिएर सुगन्धको राग फैलिरहेको देखिन्थ्यो, उनीहरू हाउभाउ हेर्दा । उनीहरू छिनछिनमा आँखाको जुधाइसँगै गाला मुसार्दै र चिम्टदै अँगालोमा बेरिँदै थिए । एक सांसारिक तथा अलौकिक सुख, शान्ति, खुसी र आनन्दका तृप्ति लिएका थिए । त्यहाँ बस्ने मानिसहरूले पनि उनीहरू माथि नजर नचाएकै हुन्थे । साना केही केटाकेहीहरू ट्वाँ परेर हेरिरहेका हुन्थे । कोही टिकटक बनाउन व्यस्त थिए । कोही फोटो खिच्न त कोही गफिन र कोही मोबाईल हेर्न । सबै व्यस्त देखिन्थे आ–आफ्नै ताल र सुरमा । कसैको कसैसँग सरोकार थिएन त्यहाँ ।

हामीलाई पनि एकछिन खुल्ला नीलो आकाशमुनि पाटी छेउमा बसी पोखरी, हरियाली, चराचुरुङ्गीको चहलपहलको रमणीय दृश्यहरू अझै नियाल्न मन लाग्यो । लक्ष्मीलाई पनि फोटो खिच्ने हुट्हुटीको रङ्गिन मुजुरा पलाएर आएछ । उनलाई फोटो खिचाउन धेरैजसो मैले नै कर गर्नुपर्ने तर त्यतिखेरको माहोलले उनलाई पनि रामैसँग तताएछ कि जस्तो लाग्यो । अनि हाम्रो अनुरोधलाई स्वीकार गरी एकजना कलिलो भाइले कैद गरिदिए मोबाइलभित्र । पहिला पहिला गाला पुष्ठ र कल्कलाउँदो हुँदा त फोटो जसरी खिचे पनि राम्रै आए जस्तो लाग्थ्यो । तर अहिले त बैँस लत्रँदै गएकोले अनुहार पनि झुस्सफुस्स, चाउरी र सिथिलको कारण फोटोहरु पनि कुरूपको देखिने ।

पोखरी वरिपरि पेटी र चउर सफा गर्ने नगरपालिकाका कर्मचारीहरू युद्धस्तरमा आफ्नै काममा व्यस्त देखिन्थे भने धर्म प्रचार प्रसार गर्ने व्यक्तिहरू पनि मानिसहरूलाई भेट्दै बोलाई बोलाई दुईचार कुरा राख्न भ्याइहाल्थे ।

हामीले हेर्दा पोखरीको मन अलि धमिलो भए तापनि खुसी पार्न पूरा आकाश, सूर्य, भवनहरू, रुखबिरुवाहरू एकसाथ डुबुल्की मार्दै पोखरीसँग टाँसिन पुग्दथे । विश्व शान्तिका प्रतीक मानिने केही परेवाका हुल, र अन्य केही चराचुङ्गीहरू पनि पोखरीको वल्लो किनार र पल्लो किनारतिर भुर्भुराइरहेका हुन्थे । केही त्यहीँ पाटीको छानामा घुर्घुराउँदै पारिलो घाममा बैँसिदै गफिएका हुन्थे । बैंस त उनीहरूलाई पनि मज्जाले आउने रहेछ बा ! ठुँडमा ठुड जोडेर चुम्बन गरिरहेका हुन्थे । तर के के बोल्छन् के साउति मार्छन् चराचुरुङ्गीले भनेर बुझ्न पाए झनै कति आनन्द र रमाइलो हुन्थ्योहोला ? प्रकृतिमा यिनै रुखबिरुवा, घाम, पानी, हावा, जीवजन्तु छन् र पो ईन्द्रणी बनाएर रमाउदै जीउन पाएका छौ हामी ।

अर्को महत्त्वपूर्ण, पोखरीको उत्तर पूर्वी कुनामा पानीका कलात्मक धाराहरू निर्मित थिए भने पूर्वी दक्षिण कुनामा सेतो रङ्गको सिंहमरमरबाट निर्मित बालकृष्ण सम (विसं १९५९–२०३८) को सालिकले समस्त मानव मनमष्तिस्कलाई चुमेको थियो । मैले पनि शिर झुकाएर एकपटक नमन गरेँ सालिकलाई । त्यहाँ समका केही उक्तिहरू उल्लेख भए तापनि मलाई उनको “देशभक्ति त मर्दैन चुत्थै देश भए पनि” भन्ने उक्ति यहाँ साभार गर्न मन लाग्यो ।

वास्तममा, यो उक्ति उनले मुकुन्द इन्दिरा नाटकमा उल्लेख गरेका छन् जस्ले उनलाई एक राष्ट्रवादी साहित्यकारको रूपमा स्थापित गर्न सहगोगी भूमिका खेलेको पाइन्छ । हो राष्ट्रभक्ति प्रत्येक स्वाभिमानी नेपालीको मन मुटुमा भक्भकि उम्लनुपर्दछ । तर कठै ! हामीमध्ये कतिमा त बदामको सिलो खोजेझैँ खोज्नुपर्ने भएको छ राष्ट्रभक्ति त्यसैले त बेचिन्छ महाकाली, चेपिन्छन् सीमाहरू र बेचिन्छन् नागरिकहरू शरणार्थीको ट्याग भिरेर । अनि साघुँरिदै र खुम्चिँदै छौ हामी ।

त्यस्तै, साहित्यकार समको सालिकको पश्चिमतिर एक मन्दिर थियो भने पानीको प्यास मेट्न पूर्वतिर भेण्डिङ मेशीनबाट पैसा तिरेर पानी पिउन पाइने व्यवस्था रहेछ । यसले यात्रीलाई थप सहजता भएको पाइयो ।

पूर्वतिरको मूलद्वार नजिकै रुख जतिकै अग्लो चराको कृत्रिम गुँडहरूको व्यवस्था पनि गरिएको रहेछ जहाँ चराहरूले आनन्द लिइरहेको देखिन्थ्यो । केही चराहरू गुँडको मुखमा झुलुक्क देखिएर फेरि गुँडभित्रै बिलाउँथे । यसले मानिसमा झन् चराहरू कतिखेर निस्केलान् भनी कुतुहलता जगाएको थियो । त्यहाँको बसाइमा विगत आधा वर्षसम्म हाम्रो मनको तलाउमा थुप्रिएका दुःख, दर्द र पीडाका पानी रित्तिँदै शरीरका केस्राकेस्रा बिरेचित भई आल्हादित हुन्थ्यो ।

करिब १२ बजेतिर हामीले कमलपोखरीलाई बाइबाइ गर्दै त्यहाँबाट आजको प्रमुख गन्तव्य स्थान हाँडी गाउँतर्फ प्रस्थान गर्‍यौँ । हामी उत्तरतर्फ लम्बिएको चारढुङ्गेको भित्री कच्ची सडक हुँदै नक्सालतर्फ बढ्यौँ । हामीलाई लागेको थियो कि काठमाडौँ महानगरभित्रका सडकहरू पूर्णरूपमा कालोपत्रे भएका होलान् । तर सडकको त्यो दृश्य देख्दा भने त्यो ठाउँ त काठमाडौँको दूर दराज जस्तो लाग्यो । हुन त सबै कार्य एकैचोटी सम्पन्न गर्न सकिने पनि हैन ।

तर कतिपय नेतृत्त्वले त जादूको छडी नचाएझैँ यो गछौँ, त्यो गर्छाैँ भनेर झुट्टा आश्वासन बाँडेर हैरान पार्छन्, अनि हामी भोटर पनि लहैलहैमा लागेर उनैलाई भोट दिई जिताइदिन्छौँ चुनाव । एकछिनको गल्तिले वर्षौँ दिनसम्म पुन्पुरोमा हात राखेर बस्दाको अवस्थाले पनि पिरोल्दैन हामीलाई । त्यसैले त पछाडि परेका छौँ हामी ।

केही समयमै पारिपट्टि प्रहरी प्रधान कार्यालयको पश्चिम–दक्षिण कुनातिर पुगेपछि हामी पारी नगइकन वारीबाटै दाहिनेतर्फ मोडियौँ । उक्त प्रधान कार्यालयको परिसर देखेपछि मलाई २०४२, ४३ सालमा असई पदमा आवेदन दिएको याद आयो । सायद मेरो घरपरिवार र स्कूलका एक गुरुसँगको भलाकुसारीमा स्वीकृति पाएको भए अहिले प्रहरी सेवाको कुनै पदबाट सेवा निवृत्त हुन्थेँहोला । तर त्यसमा एक रति पनि पछुतो छैन मलाई ।

हामी भने निरन्तर अगाडि बढिरह्यौँ र एकैछिनमा देब्रे मोडिएर सडक पार गरी प्रहरी प्रधान कार्यालयको पूर्वतिरको पर्खालको आडआडै अगाडि बढ्यौँ । केही समयमै फेरि दाहिनेतिर सडक पार गरी टङ्गालको नयाँपाटी नेपालको आडबाटै छिरेर गहनापोखरीतिर लाग्यौं । एकछिनमै पुगियो हाँडी गाउँको एक प्राचीन विशेष सम्पदा गहनापोखरी ।

हामीले सोचेका थियौं कि रङ्गीचङ्गी बोटबिरुवा, फूलहरू तथा ध्वजापतका जस्ता गरगहनाले झपक्कै सिङ्गारिएकी बधु जस्तै होलिन् गहनापोखरी । तर हाम्रो सोचाइले बल्ड्याङ् खायो । वास्तविक स्वरूप त्यस्तो रहेनछ । यसको अलावा कमलपोखरीमा जस्तो यात्रीहरुको लागि विश्रामगर्ने स्थान अभाव थियो त्यहाँ । पोखरीले आकाशलाई हेर्दै त्यस्तै सफा र सुन्दर हुन पाए हुन्थ्यो भनेर टोलाइरहेकी थिइन् ।

सुधारको लागि धेरै प्रयासहरू भएका छापहरू पाइए तापनि पोखरी अझै बुच्चै, अलुनो, नग्न, उजाड, उदाङ्ग र उराठलाग्दो रहिछिन् । सायद विभिन्न राजनीतिक हानाथापले हो कि वा काम सम्पन्न गर्ने समय नआएर हो वा त्यस्तै अवस्थामा राख्नुपर्ने प्रचलनले हो । लक्ष्मीले थपिन् “ सन्देशमूलक एक बोर्ड रित्तै र पोखरी उजाड हुनुमा नेताहरूको हानाथापले पो हो कि !” त्यो त हामी एकछिनको यायावरलाई थाहा हुने कुरै भएन । तर त्यहाँ वरिपरिका पुराना केही रुखहरूले भने पोखरीको शोभा बढाएकै थियो ।

हामी विस्तारै पोखरीलाई दाहिने पार्दै घुमेर उत्तर पूर्वतिरको सानो कालोपत्रे अलिअलि उकालो न्याल्मा मार्गलाई पछ्याउँदै अगाडि बढ्दै गर्दा लामोढुङ्गे मार्गको चोक पुग्यौँ । चोकमा सडकको दाहिनेपट्टि छोँटो काठको मौलो आकारको खाँबोमा साङ्ले बारले घेरेर राखिएको करिब सात फिटभन्दा लामो कालोकालो रङ्गको ढुङ्गा लम्पसार परेर चिर निद्रामा सुतेको अवस्थामा थियो ।

त्यहीँ ड्युटीमा रहेका पाँच–छ जना नगर प्रहरी भाइहरूलाई यो ढुङ्गाको बारेमा जानकारी लिन खोज्यौँ । तर एउटाले अर्कोलाई सोध्न भन्दै तर्किन थाले । उनीहरू अनुत्तरित भए । त्यसैले हामी यसबारेमा अनभिज्ञ नै रह्यौँ । यदि त्यहाँ एउटा सानो जानकारी बोर्ड राखिएको भए हामी जस्ता अनभिज्ञ यात्रीको जिज्ञासा सजिलै मेटिने थियो ।

सायद त्यो ढुङ्गा त्यहाँ राख्नुको उद्देश्य शहरीकरण गरिनुपूर्व त्यस स्थानमा खेतीपातीको काममा जाने व्यक्तिहरूले हँसिया वा अन्य हतियारहरू धारिलो बनाउन प्रयोग गर्नको लागि होला भन्ने कुरा त्यस ढुङ्गा किनाराका डोबहरुलरूलाई हेर्दा सजिलै आँकलन गर्न सकिन्थ्यो । अहिले त्यो ढुङ्गाले त्यस क्षेत्रको सिङ्गो कृषि क्षेत्रको इतिहास बोकेर बस्दै हतियार धारिलो र चम्किलो बनाएजस्तै हाँडी गाउँलाई पनि चम्काउन सहयोगी बने जस्तो लाग्छ ।

त्यसपछि हामी विस्तारै ६०-७० मिटर अगाडि बढ्ने बित्तिकै करिब १२ः३० बजे हाँडी गाउँ चोक पुग्यौँ । हाँडी गाउँ काठमाडौँ महानगरपालिकाको वडा नं। पाँचमा केही उचाइमा रहेको एक प्राचीनकालदेखि प्रख्यात थुम्को हो भन्ने जानकारी थियो ममा । वास्तवमा, यो स्थान पहिलो शताब्दीका पहिलो राजा विशालले राजधानी बनाई शासन गरेको लिच्छवीकालीन सम्पदा भएको कुरा त्यहाँबाट जानकारी पाइयो । शहरमा नेवारहरूको बाहुल्यता रहेछ ।

हाँडी गाउँमा प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीमा हाँडी गाउँ जात्रा (टुनालदेवी जात्रा वा गहना खोज्ने जात्रा) लाग्दो रहेछ । तर यो जात्रा हेर्न अब यो वर्षको चैत्र महिना कुर्नुपर्ने छ ।

चोक र सडक सानो र साँघुरो भए तापनि सफासुग्घर थियो । चोकैमा उत्तर मोहडा फर्केको एक डबली छ जहाँबाट सडकहरू चारै दिशातिर सलल बगेको पाइन्छ । चोकको उत्तरतिर हाँडी गाउँ मार्गसँगसँगै लम्बिएको छ हाँडी गाउँको मुख्य बजार । बजार प्राचीन तथा आधुनिकताले सजिएका सुन्दर घरहरूको एक पुञ्ज अथवा सङ्गम स्थल हो ।

डबलीको दक्षिणतर्फ एक अग्लो र ठूलो बोर्डको सिरानमा ‘नरः (हाँडीगाउँ)’ लेखिएको छ । वास्तवमा, नेवारी शब्द नरः भनेकै हाँडी गाउँ रहेछ । बोर्डमा त्यस क्षेत्रका विभिन्न क्रियाकलापहरू र महत्त्वपूर्ण धरोहरहरूको रङ्गिन र मनमोहक चित्रहरू सजिएको छ । डबलीको पूर्वतिर सडक पारी भने सरस्वतीको मन्दिर थियो भने अझ पूर्व धोबी खोला देख्न सकिन्थ्यो ।

त्यस डबलीको उत्तरतर्फतिरको अर्कै भित्तामा ‘नरः दे’ भनेर लेखिएको ब्यानरमा टाँसिएर फोटो खिच्ने व्यक्तिहरू पनि त्यत्तिकै देखिन्थे । हामीले पनि फोटा खिचायौँ । तर हामीलाई भने नेवारी शब्द ‘नरः दे को ‘दे’ ले दिमाग कम्पन गरायो । नेवारको सन्तति भएर पनि यति शब्दको अर्थ नजान्ने हामी । पाटनबाट व्यापार व्यवसाय गर्न भनेर गोरखा हुर्रिएका मेरा बाजे बराजुले त उताको सङ्गतले आफ्नो मातृभाषालाई उतै पोलेर चटनी बनाई खाइसकेछन् । तर मेरी आमाले पनि घरमा नेवारी भाषा सिकाउनमा कन्जुस्याइँ गर्नाको कारण आज यो अवस्था बेहोर्नु परेको छ । मन खिन्न हुनेरहेछ । वास्तवमा नेवारी शब्द ‘दे’ भनेको देश रहेछ । लिच्छवीकालमा हाँडी गाउँ एउटा देश रहेछ, तर लिच्छवी शैलीका घरहरू भने केही पनि नभेटिने रहेछ । सायद जमिनको गर्भमा लुकेर बसेको छ कि ! अन्वेषण जरुरी छ ।

हामी हाँडी गाउँ पुग्दा त्यतिखेरसम्म हामीले न त त्यहाँ सडकमा कुनै पसल राखेका देख्यौँ न त कुनै यात्रीहरूको आगमन नै । त्यसैले, सायद हामी नै पहिलो व्यक्तिहरू भएछौँ कि जस्तो लाग्छ त्यो दिन । त्यहाँ भरखरै पसल राख्न सुरसार गर्दै थिए केही व्यक्तिहरू । हामीले उनीहरूमध्ये एक स्थानीय दम्पतीसँग सोधपुछ गर्‍यौँ बजार कतिबजे खुल्छ होला भनेर ? ‘खुल्ने त दुईबजेपछि हो दाइ तर एकबजेतिर त खानपिन सुरु हुन्छ एकछिनपछि आउनुस् न है’ निम्तो गरिन एक महिलाले ।

हामी विस्तारै हाँडी गाउँ मार्गको उत्तरतर्फ बजार बजारै फोटो खिच्दै अगाडि बढ्दै के गएका थियौँ मानिसहरू भरखर घरबाहिर निस्केर त्रिपाल, बेञ्च, टेबल, चूल्हा, ग्याँस सिलिण्डर र अन्य आवश्यक सामग्रीहरू निकालेर भोजनालय तथा पसल तयार गर्ने सुरसारमा रहेछन् । हामी एकैछिनमा बजारको उत्तरपट्टिको पल्लो छेउमा दाहिनेतिरको पिपलबोटको जराभित्र अवस्थित कृष्णमन्दिरसम्म पुग्यौँ । लक्ष्मीले मन्दिर दर्शन गरिन् । मेरो इच्छा अझै केही अगाडि बढ्ने थियो तर हामी थाकिसकेकोले लक्ष्मीको आग्रहमा अब ओरालो बाटो अगाडि बढ्नेतिर पूर्णविराम लगायौँ । त्यतातिर केही घर, सडक र बोटबिरुवाहरू मात्र देखिन्थे । त्यहाँबाट चक्रपथको चावहिलसम्म पुग्न हिँडेर करिब २० मिनेट लाग्ने रहेछ ।

त्यसपछि हामी देब्रेतिरको एक बन्द पसलको आगनको घमाइलो पेटीमा झोला राख्यौँ र थचक्क बस्यौँ । केही समय घामको पारमा त्यो बस्ति, बजार हेर्दै त्यहीँको बारेमा भलाकुसारी गर्‍यौँ । लामो समयपछिको आजको यो यात्राले घाँटीलाई सकस पर्न थालिसकेकोले एकपटक कसरत गरिहालेँ । त्यसपछि अलि राहत महसुस भयो । त्यतिखेरसम्म गाडीहरूको आवतजावत निर्बाधरूपमा चलिरहेकै थियो ।

दिउँसोको सवा एक बजिसकेको थियो । बिहान खाना निकै कम खाएकोले भोकले भुईँचालो ल्याएको थियो शरीरमा । अनि हामी फक्र्यौँ बजार क्षेत्रतिर लरखरिँदै । बजारको सडक, चोक र भित्री बाटाहरू त भरिभराउ भइसकेका रहेछन् । पसलेहरू खाना बनाउँदै ग्राहक रिझाउन भ्याइ नभ्याइमा थिए । केही केटाकेटीहरू दगुर्दै, उफ्रँदै, जिस्कँदै, हाँस्दै, रमाउँदै थिए । उनीहरूलाई चिन्नै नपर्ने एकैछिनमा साथी बनिहाल्ने । बजार दिउँसो दुई बजेबाट सुरु भई सातबजेतिर बन्द हुने भनिए तापनि एक बजेबाट नै मानिसहरू ठेलमठेल भई खानपिनमा रमाइरहेका थिए । त्यहाँ सुन्दर युवा जोडीहरूको बाहुल्यताले बजार जुरुक्कै उचालेको थियो ।

हामी पनि दायाँबायाँ खानाको परिकार हेर्दै, लोभिँदै र मुख रसाउँदै पहिला भलाकुसारी भएको ठाउँमा पुग्यौँ । पसलहरू त खानाको विभिन्न परिकारहरू जस्तैः सेलरोटी, बारा, मःमः, भटमासको छोयला, माछाको छोयला, कुखुराको छोयला, नेवारी खाजा सेट, तारेको आलु, भुड्के रोटी (यः मरी), जुजु धौ, च्याउको छोयला, अचार, बफ छोयला, चिया, कफी, चिसो पेयपदार्थ जस्ता खानपिनको परिकारले सुन्दर र बास्नामय बनिसकेको रहेछ ।

हामी बसेको भोजनालय पनि करिब आधा घण्टाको बीचमा अन्यत्रभन्दा बढी मानिसहरूको ओइरो लागिसकेछन् । सायद यो नै त्यहाँ बढी चल्ने भोजनालय हो कि जस्तो लाग्यो । बस्ने बेञ्चहरू पनि मानिसहरूले ओगटीसकेका थिए । मुस्किलले दुई सिट भेटायौँ ।

हामीभन्दा अगाडि र देब्रेतिर बस्नेहरू जोडीहरू भने मलिन आवाजमा र मन्दमुस्कानका साथ गफिँदै स्वादले खानाका परिकारहरू दापिरहेका थिए । किनकि, खाना छ र त जीवनको ईञ्जिन चल्छ सबैको । त्यसैले, प्रायः बन्द हुन लागेको हाम्रो ईञ्जिन चलाउन हामीले पनि सुरुमा चिउरा, भटमास, राँगोको छोयला, भटमासको छोयला, हरियो सागको तरकारी, बोडीको तरकारी र अचार भएको तयारी खाजासेट मगायौँ । ईन्धन भर्दै गयौँ । जीवन बढी उर्जावान बन्दै गयो । हामी पनि खडेरीले ओइलिएको बिरुवा पानी पाएपछि जागेजस्तै जाग्न र गफिन थाल्यौँ ।

लक्ष्मी माछा भनेपछि हुरुक्कै हुने । त्यसैले, माछाको छोयला मगाइन् । मैले पनि कुखुराको छोयला मगाएँ । त्यसपछि, अण्डा बारा, मिश्रित चटामरी र फेरि लक्ष्मीको इच्छाअनुसार एकप्लेट माछाको छोयला थप्यौँ । खाना अति पिरो र नुन चर्को भए तापनि स्वादिष्ट थियो । यति खाँदैमा पेट त बेलुनमा हावा भरिएझैँ अटमस्स फुलेर फुट्ला जस्तो भयो । त्यसैले, मनले चाहेर पनि अन्य परिकारहरू थप्नसक्ने आँट भएन हामीमा ।

खाना खानेक्रममा मैले आमुन्ने सामुन्ने बसेका युगलहरूसँग केही भलाकुसारी गर्ने जमर्को गरेँ । एक जोडी र उनीहरूका साथीहरू कोटेश्वर जडीबुटीदेखि आएका । अर्को जोडी स्वयंभूतिरबाट । तर अलि लज्जालु स्वभावका । सिधा नहेर्दिए हुन्थ्यो र नबोल्दिए हुन्थ्यो भन्ने खालका । मोरामोरीहरू कति टसिला । उनीहरूको हाउभाउबाट हामीले पनि त्यति कोट्याउनेतिर लागेनौँ । तर खाना खाएर जाने बेलामा भने ‘हामी त जान्छौँ मिठो मिठो खानु होला ल !’ भन्दै निस्किए । हामीले पनि धन्यवादका साथ राम्रोसँग जानुहोला भनी विदावादी गर्‍यौँ ।

हामी खाना खान बसेको भोजनालय भने भित्री गल्लीको मुखैमा थियो । त्यसभन्दा भित्रपट्टि अझै अर्को पसल थियो । काम गर्ने नेवार्नी महिला सुन्दरीहरू नेवारी हाकुपटासीमा सजिन्छन् होला भन्ने लागेको थियो तर कोही कोहीले मात्र लगाएको पाइयो बजारभरी । त्यस भोजनालयमा सात जना कामगर्ने व्यक्तिहरू सबै नै रोबोट शैलीमा व्यस्त थिए । भ्याइ नभ्याइ थियो उनीहरूलाई । तर बिचरा सँगैको अर्को भोजनालयमा भने हामी बसुञ्जेलसम्म एक माखो पनि मारेका हैनने। एक त त्यहाँ पुगेका पाहुनाहरूलाई स्वागत र सत्कारको कमी देखिन्थ्यो भने अर्को त गएका धेरै पाहुनाहरू पनि मुखतिरै रोकिन्थे ।

हामीले खाएको खानाको जम्मा रु. एक हजार ५० भएछ । त्यहाँ घरभित्र कलात्मक शैलीमा चाकु यः मरी र खुवा यः मरी बनाउँदै थिए दुईजना महिलाहरू, शौचालयको ढोका नजिकै बसेर । म त त्यहाँ एकछिन यः म्री बनाएको हेर्न लागेँ । लक्ष्मी भने बाटोतिर निस्केर पर्खेर बसिन् । सानोमा मैले पनि घरमा त्यसरी नै यः मरी बनाउन सिकेको त थिएँ तर बिर्सिसकेछु । खानापिनाको परिकार सबै नै हामीसँग पनि मिल्दाजुल्दा नै थिए ।

त्यसपछि फेरि बजार घुमफिर गर्दै अर्कै ठाउँमा चाकु यः म्री र खुवा यः म्री खायौँ, लक्ष्मीले अर्कै ठाउँमा निकै नै स्वादिष्ट भक्तपुरे जुजु धौ (दही) मुख मिठ्याउँदै खाइन् । त्यसपछि डबलीतिर लाग्यौँ । डबलीको दक्षिणतर्फ बजारलाई पनि नजर लगायौँ ।

त्यहाँ खानपिनमा व्यस्त मानिसहरूको भीडले मलाई ताईवानको पुरानो शहरका सडकहरूमा सञ्चालन भएका रात्रीकालीन बजारहरूको याद दिलायो । सायद रातिसम्म बस्न सकेको भए हाँडी गाउँ पनि त्यस्तै देखिन्थ्यो कि !

त्यहाँबाट डबलीतिर पुग्दा त्यहाँ धादिङ्बेसीबाट अध्ययन भ्रमणमा आएका टोलीसँग पनि भेट भयो । उनीहरू त्यहाँका सरल, सहयोगी र फूर्तिला वडाअध्यक्ष वीरेन्द्र प्रजापतीसँग भलाकुसारी गर्दैरहेछन् । म पनि त्यसै भीडमा एउटा पिउसो बनेर पसेँ र मौकामा चौका हानी हाँडी गाउँको केही जानकारी लिन भ्याएँ । लक्ष्मी भने भीडमा पस्न पनि चाहिनन् । उनीहरूले भन्दै थिए, “नेवारी खानाको साथै अन्य खानाको पनि व्यवस्था गर्नसके अझै यात्रीहरूको सङ्ख्यामा वृद्धि हुन्थ्यो कि” ! तर मेरो विचारमा, हाँडी गाउँको अस्तित्व जोगाउने हो भने त्यहाँकै सामग्री र खाद्य परिकारको विकास तथा विस्तारमा जोड दिनुपर्दछ । हैन भने त्यहाँ जाने मानिसहरूको चाप घट्न जाने देखिन्छ ।

लक्ष्मीलाई त्यो बजार रमाइलो र खानपिन मिठो भए तापनि खासै नौलो लागेन । लक्ष्मीलाई घुँडाको दुःखाइको कारण हिँड्दा हिँड्दा थकाइ लागेको र म अरुसँगै गफमा व्यस्त भएकोले सडकमा एक्लै बस्न अलि पट्यार लागेकोले मनको तितो पोखिन् । तर म भने निकै नै रत्तिए तापनि हामी दुबैजना थकाइकै कारण वरिपरिका धेरै ठाउँहरू हेर्न जान पनि सकिएन । लक्ष्मीले हसाउँदै भनिन् “यस्तो खाना त म पनि बनाइहाल्छु नि घरमा । खानैको लागि किन धाउन पर्‍यो यति टाढा टाढा”। अनि, यो आउँदो यः मरी पुन्हीः को दिन घरमै यः मरी बनाएर खाने सल्लाह पनि गर्‍यौँ ।

वास्तवमा बजार दिउँसो दुई बजेदेखि सुरु भएर जाडो महिनामा बेलुकी सात बजे र गर्मी महिनामा आठ बजेसम्म सञ्चालन हुनेरहेछ । बजार निकै नै झिलिमिली र मनमोहक देखिन्छ रे राति । उक्त बजार समयमा बजारमा यातायात साधनहरूको प्रवेशमा अस्थायी नाकाबन्दी लगाइनेरहेछ शनिबार हाँडी गाउँ प्रवेशको चारैतिरका नाकाहरू बन्द गरेर । त्यसपछि मानिसहरू निर्बाध रूपमा खुल्लमखुल्ला हिड्न पाउने भएकोले सुरक्षित र प्रदूषणबाट पनि जोगिने । त्यसैले, हामी पनि निकै नै आनन्दका साथ मुखमा मोहोला नलगाइकनै हिँडेका थियौँ ।

डबलीको पश्चिम सडकतर्फको उत्तर मोहडामा युएसएडको ब्यानरमा एक स्टल थियो । त्यहाँ ‘स्वच्छ हावा मेरो अधिकार’ लेखिएको थियो । एक जना महिलाले वायु प्रदूषणले स्वास्थ्यमा पार्ने असरबारे जानकारी दिएकी थिइन । प्रत्येक हप्ताको शनिबार गरिने गाडी बन्दाबन्दीले मानिसको स्वास्थ्यमा सुधार हुने जानकारी त पाइयो । तर कति प्रतिशत सुधार भयो त भनेर सोध्दा उनलाई त्यसबारे जानकारी रहेनछ । त्यसैले, हामीले थप प्रश्न सोध्ने जमर्को पनि गरेनौँ ।

बजारमा काठमाडौँ नगरपालिकाको वडा नं ५ कार्यालय र स्थानीय समितिले सहयोग गर्दै आएको रहेछ जसमा स्थानीयहरूले पसल तथा भोजनालय सञ्चालनको लागि वडाबाट सिफारिस लिनुपर्ने रहेछ । यसको अलावा, ‘होम स्टे’ को प्रावधान पनि रहेछ ।

त्यहाँ घुम्न जाने यात्रीहरूको लागि गाडी पार्किङ्को राम्रो व्यवस्था नभएकोले गहनापोखरी वरिपरि राख्नुपर्ने बाद्यता रहेछ भने बजारमा छुट्टै सार्वजनिक शौचालयको व्यवस्था नभएकोले प्रत्येक घरको शौचालयलाई बजार अवधिको लागि खुल्ला गरिँदो रहेछ बोर्ड टाँसेर । हामी निस्कने बेलामा घर घरको शौचालयमा बोर्ड टाँस्न पुगेका थिए त्यहाँका व्यक्तिहरू । यसरी बजार सञ्चालनमा सुरक्षा तथा अन्य सहयोग गरेबापत प्रत्येक पसलबाट प्रत्येक शनिवारको लागि रु. पाँच सय का दरले भाडा उठाइने रहेछ ।

खानाको परिकार एकै भए तापनि पसल अनुसार मूल्यमा विविधता पाइने रहेछ । वडा अध्यक्ष्यको कुरा अनुसार, बजार सञ्चालनको सुरुवातका दिनहरूमा प्रतिदिन करिब दुईतीन लाखको कारोबार भए तापनि अहिले ३०–४० लाख हुने जानकारी पनि पाइयो । दिनमा करिब १० हजार देखि १५ हजार जनाको उपस्थिति हुने रहेछ आजकाल । यो त्यहाँको जनताको रोजगारीको दरिलो माध्यम बन्दै गएको पाइन्छ । यति छोँटो अवधिमा भएको यो प्रगतिलाई नमन गर्न मन लाग्यो । वास्तवमा लोहालाई घनले पिटेर स्पात बनाएझैँ त्यहाँका मानिसहरूले नगरपालिका र वडा नं। पाँचको सहयोगमा हाँडी गाउँलाई पनि स्पातझैँ चम्काउन लागेका छन्, जुन अनुकरणीय छ ।

वडाले खानाको सरसफाई र शुद्धतामा पनि विशेष ध्यान दिएको पाइए तापनि कतिपय स्थानमा भने शौचालय छेउमै बसेर यः मरी बनाइरहेको दृश्यले भने खानाको सरसफाइमा विशेष ध्यान दिन जरुरी देखिन्छ । खानाको सरसफाई र शुद्धताको लागि करिब ३० जना व्यापारीहरूले यसभन्दा अगाडि तालीम लिइसकेको र तुरुन्तै थप ३० जनालाई तालीम दिने व्यवस्था गरिएको कुरा गौरवका साथ सुनाए वडाअध्यक्ष प्रजापतिले । त्यहाँका घर तथा भवन निर्माणमा आधुनिकताको प्रभाव पर्दैआएको परिप्रेक्षमा उनले अझै थपे कि, वडाले नयाँ घर निर्माण तथा पुरानो घर मर्मतको लागि विशेष योजना ल्याएको रहेछ ।मौलिकताको आधारमा प्रति घर आठलाखदेखि बत्तिस लाखसम्म अनुदान सहयोग पाउने रहेछन् । आगामी दिनमा नयाँ घर तथा भवन निर्माण तथा पुनः निर्माणमा प्राचीनशैलीलाई पछ्याउँदा हाँडी गाउँको महिमा तथा चमक झनै बढ्ने देखिन्छ ।

मैले वडा अध्यक्षसँग त्यहाँको खाद्य आपूर्तिको स्रोत व्यवस्थापन बारे सोध्दा त्यहाँ आफ्नै उत्पादन नभएको कारण सबै नै बाहिर बजारबाट आयातित रहेछ । यदि नजिकैको जिल्लाका किसानहरूसँग सहकार्य गरेर ब्लकमा उत्पादन गर्न सके सस्तो र गुणस्तरीय सामग्री पाइने र बजारमा गुणस्तरीय खाद्य परिकार व्यवस्था गर्न सकिने कुरा राख्दा उनले काठमाडौँको टोखा तथा दक्षिणकाली क्षेत्रतिर सम्भावना रहेको बताए । आगामी दिनमा यो बारेमा छलफल चलाउन सकिने भन्दै सम्पर्क आदानप्रदानपनि गर्‍यौं ।

वास्तवमा, हाँडी गाउँमा शनिवारीय बजार, जात्रा तथा मठ मन्दिरहरूको जति चर्चा चुलिँदो छ त्यो अनुसार त्यस क्षेत्रको विकासमा भने अझै थप जोड दिनुपर्ने देखिन्छ । त्यहाँ बगैँचा, पोखरी, बाटोघाटो, गाडी पार्किङ, सार्वजनिक शौचालय, ढल तथा हाँडी गाउँ विशेष सौगातका बस्तुहरूको उचित व्यवस्थापन गर्नसके हाँडी गाउँको महक झनै बढी आयआर्जनमा समेत थप वृद्धि हुने देखिन्छ ।

अन्तमा, वडा अध्यक्षले बेलुकी चार बजेपछि डबलीमा नाचगान तथा अन्य विविध कार्यक्रम सुरु हुने बताए । हामीहरू भने आफ्नो स्वास्थ्यको ख्याल गरी आजको यात्रालाई त्यही बिट मार्‍यौं । अत्यन्त सहयोगी वडा अध्यक्षसँग विदावादी भई त्यहाँबाट साँढे तीनबजे नै घरतर्फ प्रस्थान गर्‍यौँ ।

(नगार्जुन १०, स्युचाटार, काठमाडौँ
२०८१ मंसीर ३०)

तपाइँको प्रतिक्रिया

फेसबुक