फ्रान्समा मगर समुदायको गीत, संगित र मौलिक परिकार
फ्रान्सवासी मगर समुदायले आफ्नो समुदायको विविध साँस्क्रितिक कार्यक्रम र परिकारसहित माघी पर्व भब्यताकासाथ मनाएका छन् । फ्रान्सको राजधानी पेरिसमा आइतवार मगर समाज फ्रान्सले मगर समुदायका डेढ दर्जन जति गीत, संगित र नृत्यका साथै आफ्नो मौलिक परिकारसमेत प्रस्तुत गरेका थिए ।
कार्यक्रममा कौडा नाचन, मारिने, झ्याउरे, लोकगीत र नृत्यहरु प्रस्तुत गरेका थिए । माघी पर्व थारु, मगर, तामाङ, र गुरुङ लगायतका अन्य समुदायको पर्वसमेत रहेकाले तमु र थारु समुदायको गीत र नृत्यसमेत प्रस्तुत गरेका थिए ।
कार्यक्रममा सभापतित्व मगर समाज फ्रान्सका अध्यक्ष विष्णुसारु मगरले गरेका थिए भने प्रमुख अतिथि नेपाली दुतावास पेरिसका राजदूत सुधिर भट्टराई थिए ।
राजदूत भट्टराईले प्रवाशमा अहिले पाँचौं पुस्तासम्म भैसकेकोले पछिल्लो पुस्तालाई नेपाल, नेपाली र नेपालीपनसित जोडिरहन आवश्यक रहेको औंल्याए । उनले बिदेशका नेपाली र हुर्किँदै गरेको पुस्तालाई नेपाल र नेपालीपनसित जोडिरहन भाषा, साहित्य, संस्कृती र सम्पदाको चिनारि महत्वपूर्ण रहने बताए ।
भट्टराईले भने ‘प्रवाशमा अहिले पाँचौं पुस्ता भैसक्यो । तिनलाई नेपालसित जोडिरहन, नेपालीपन जोगाईरहन, आफ्नो भाषा, संस्कृती र साहित्य महत्वपूर्ण हुन्छ । यस्ता कार्यक्रमले त्यसकोलागि महत्वपूर्ण भूमिका खेल्छन् । नेपाली दूतावासले यस्ता कार्यक्रमलाई सधैं सम्मान, सहयोग र साथ दिन्छ ।’
कार्यक्रमका सभापति मगर समाज फ्रान्सका अध्यक्ष विष्णुसारु मगरले आफ्नो भाषा, संस्कृती, भेषभुषा र रितिरिवाज फ्रान्समा रहेका बालबालिका र यहाँका नेपालीमाझ परिचय गराउन, तिनलाई आफ्नो समाजप्रतिको लगाव दिर्घलिनरुपमा सुचारु राख्न र मगर संस्कृती र सभ्यतालाई परिचित गराउनपनि हरेक वर्ष यस्ता कार्यक्रम गर्दै आएको बताए ।
कार्यक्रममा उल्लेखनिय समाजसेवा गरेको भन्दै गैर आवासीय नेपाली संघ फ्रान्सका अध्यक्ष लोक पुन मगरलाई सम्मान गरियो । सम्मानित लोक पुन मगरले आफूले सम्मानित र प्रशंसित हुनकालागि समाज सेवा नगरेको बरु गाह्रोसाह्रोमा परेकालाई नेपालीको नाता र मानवीय आधारमा सेवा गरेको बताए ।