पेरिसमा मैच्याङ, च्याङ्बा र तामाङ सेलो
फ्रान्स निवासी तामाङ समुदायले राजधानी पेरिसमा २८६१ औं तामाङ ल्होछार भब्यताकासाथ मनाएका छन् ।
फ्रान्सवासी तामाङ समुदायको संस्था तामाङ घेदुङ फ्रान्सले आइतवार आफ्ना विविध भेषभुषा, सांस्कृतिक कार्यक्रम र परिकारहरुसहितका विभिन्न कार्यक्रम गर्दै मनाएको हो ।
कार्यक्रममा मेदोमाया, मैचाङ र च्याङ्बा, तामाङ सेलो जस्ता उच्च महत्वका गीत र नृत्यका साथै एक दर्जनभन्दा बढि नृत्य र अन्य गीतहरु प्रस्तुत गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि नेपाली दुतावास फ्रान्सका राजदूत सुधिर भट्टराईले मेन्दो माया, मैच्याङ र च्याङ्वा सेलोलाई देशको सांस्कृतिक पहिचानको रुपमा हेरिने बताए । उनले यस्ता सांस्कृतिक कार्यक्रमले बिदेशमा जन्मे हुर्केका पुस्तालाई निरन्तर नेपाल र नेपाली पहिचानसित जोडिरहन पुस्तान्तर र उत्प्रेरकको काम गर्ने उल्लेख गरे ।
“नेपाल र नेपालीको पहिचान निरन्तर कायम राख्न यस्ता सांस्कृतिक कार्यक्रमहरु भैरहनुपर्छ । त्यसले पुस्तानतरमा ठूलो भूमिका खेल्छ । नेपाली दुतावासको त्यसमा सधैं सहयोग रहन्छ’ भट्टराईले भने ।
कार्यक्रमका प्रमुख अतिथि राजदूत सुधिर भट्टराई र सभापति तामाङ घेदुङ फ्रान्सका अध्यक्ष मिलन पाख्रिन खुम्बु तामाङले संयुक्तरुपमा दिप प्रज्वलन गर्दै कार्यक्रम उद्घाटन गरेका थिए ।
सुरेश डुल्छेन लामाले सञ्चालन गरेको कार्यक्रममा निशा लामाले उपस्थितहरुलाई नयाँ वर्ष २८६१ को शुभकामना दिईन् । कार्यक्रममा गैर आवासीय नेपाली संघ फ्रान्सका अध्यक्ष लोक पुन मगर, नेपाली एकता समाज फ्रान्सका संस्थापक तप्त भण्डारी, नेपाली सांस्कृतिक गृह फ्रान्सका अध्यक्ष नन्द कुमार थेवे, नेपाली जनसंपर्क समिति फ्रान्सका अध्यक्ष सुधिर राना, साहित्यकार हरिहर अर्याल लगायतले शुभकामना ब्यक्त गरेका थिए ।
सञ्चालक सुरेस लामाले कार्यक्रम सफल पार्न आर्थिक सहयोग गर्ने करिब दुई दर्जन दाताको नाम सुनाएका थिए । उनले नेपाली संघसंस्थाका कार्यक्रमलाई सफल पार्न हात फुकाएर गरेको आर्थिक सहयोगले नेपालीहौर्को सांस्कृतिक पाटोलाई जिवन्त राख्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे ।
कार्यक्रममा मेरो माया, तामाङ सेलो, छुकुछुकु रेलैमा, लोकिचोरी लाएको माया, नाचिदेउ मैच्याङ, रातोरातो गालामा केटोले झुकाएर म्वाई खाला लगायतका गीत र नृत्य प्रस्तुत गरिएको थियो । कार्यक्रममा फ्रान्सबासी नेपालीहरुको बाक्लो उपस्थिति थियो ।