मंगलबार, माघ २९, २०८१

वैज्ञानिक बुद्ध

राम बहादुर गुरुङ२०८१ माघ २८ गते १४:०६

यो मन कति भाग्छस् ? रोकिन एकछिन भए पनि । तर मान्दैन । भागेको भागै छ विनासित्ती । यसको कुनै शिलशिला छैन । श्रृखला पनि छैन । यो चञ्चल मन । रुखको हाँगा हाँगा चहारी हिँडने वाँदर जस्तै मन ।

जब हामी ध्यान गर्न आँखा बन्द गरेर बस्छौं र मनलाइ एकाग्र गर्न लाग्छौं तब महशुस हुन्छ, मन कति चञ्चल छ । एउटा प्रवचनमा गुरुजीले भन्नु भएको छ ‘हामीलाइ अरुले हेर्दा ठिकै जस्तो देखेको मात्र हो । तर गहिरिएर आफ्नो मनलाइ हेर त हामी आफैं पागल भन्दा कम छैनौं ।’

विना श्रृखलाको विविध विचार आइरहन्छ जसको एकापसमा तादम्यतानै छैन । तादम्यतानै नभएको विचार आाइरहनु आखिर पागलपन त हो । तर हामी भित्रको मनको एउटा कुनामा क्षिण भए पनि सजगता छ । बेला बेला त्यसले सजग बनाउँछ र एउटा साँच्चैको पागल भन्दा अलिक फरक छौं बाहिरबाट हेर्दा । तर आफैले आफू भित्र चियाउँदा चाहीँ हामी आफैं एक पागल मान्छे भन्दा खासै फरक छैनौं ।

कति आउँछन शिलशिलाहिन विचारहरु ! नढाँटी भन्दा अधिकांश विचारहरु नराम्रानै आउँछन राग, द्वेष र मोहयुक्त । कहिलेकाहिँ झल्याक् झुलुक राम्रा विचार पनि आउँछन तर त्यो टिक्दै टिक्दैन । अर्को राग, द्वेषयुक्त विचार अनेक रुपमा प्रकट भइरहन्छन । तिनले कहिलेकाहीँ आउने राम्रा विचारलाइ पनि छोपिदिन्छन् अर्थात नराम्रा निरर्थक विचारनै हावी भइरहेको हुन्छ ।

म्यानमारका भन्ते प्रज्ञाश्री उदाहरण दिँदै भन्नुहुन्छ, यसको जाँच यसरी गरौं कि एक ठाउँमा कालो र सेतो ढुंगा थुपारौं । राम्रो विचार आउँदा सेतो ढुगा एक ठाउँमा राखौं । नराम्रो विचार आउँदा अर्को ठाउँमा कालो ढुंगा राखौं । एउटा निश्चित समय पछि ढुंगाको थुप्रो हेर्यो भने कालो ढुंगाको थुप्रोनै ठुलो देखिन्छ र सेतो ढंगाको थुप्रो सानो । यसरी नराम्रो विचारको संख्यानै धेरै हुन्छ हामी भित्र । उहाँले दिनुभएको यो उदाहरण ठिक हो जस्तो लाग्छ ।

आमाको गर्भमा आए देखीनै भवचक्र अथवा दुखचक्र शुरु हुने त हो । विश्वास गर्नेले त्यसभन्दा अधिदेखी भवचक्र चलिरहेको मान्दछ । र त्यो संस्कारको निरन्तरता पनि भइरहेको हो भन्ने मान्यता राख्छन् । जति बाँच्दै गइयो त्यती संस्कार बनाउँदै गइयो ।

धेरै त हामीले अज्ञानवश खराव कर्म गर्दै आइयो । कति ढुंगामा खोपेको जस्तो मेटनै नसक्ने कर्म गरियो भने कति हल्का फुल्का । त्यसको फल पनि भोग्दै आइयो । तर पनि अझै हाम्रो चेत खुलेको छैन । तृष्णा बढेको बढ्यै छ घटने नामोनिशान छैन । यो कडीलाइ टुटाइएकोनै छैन अनि कसरी संस्कार फेरिने र रोक्ने ?

भवचक्रको तृष्णा र आशक्तीले फेरी संस्कारको निरन्तरतानै भइरहेको हुन्छ । यसको मतलव दुखले कहिल्यै साथ छोडदैन जसरी गोरुको पछाडी गाडा गुडिरहेको हुन्छ । यही भवचक्र वा दुखचक्रलाइ तोडन भगवान बुद्दले प्रतित्यसमुद्पाद वा कार्यकारणको सिद्दान्त पत्ता लगाउनुभयो जसलाई धर्मचक्र भनिन्छ । भवच्रकको १२ कडीलाइ निरोध गर्दै गएमा मात्र जन्म र मृत्युको चक्रबाट मुक्त भइन्छ वा निर्वाण प्राप्त हुन्छ भन्ने वौद्ध दर्शनको मान्यता हो । चार आर्यसत्य, अष्टांग मार्ग र प्रतित्यसमुुद्पादको नियम बारे गौतम बुद्दले पहिलो पटक पाँच जना उनिसँगै सत्यको खोज मार्गमा हिँडेका भिक्षुहरुलाइ बताएर प्रशिक्षित गर्नुभएको थियो । यसलाइ वौद्ध दर्शनमा धम्मचक्कपवध्द्न शुत्त भनेर पाली भाषामा भनिएको छ । चार आर्य सत्यलाइ यसरी भनिएको छ :

पहिलो, दुख सत्य र दोस्रो, दुख समुदय सत्य । तेस्रो, दुख निरोध सत्य र चौथो, दुख निरोध मार्ग सत्य । शिल, समाधी र प्रज्ञामा विभाजन गरिएको अष्टांग मार्ग निम्न बमोजिम छन:

शिल अन्तरगत पहिलो- सम्यक वाचा, दोस्रो- सम्यक कर्म, तेस्रो- सम्यक आजिविका । समाधी अन्तर्गत पहिलो- सम्यक प्रयत्न, दोस्रो- सम्यक सजगता र तेस्रो- सम्यक एकाग्रता पर्छन । त्यस्तै प्रज्ञा अन्तर्गत पहिलो- सम्यक संकल्प र दोस्रो- सम्यक दृष्टी ।

प्रतित्यसमुद्पादको वाह्र कडी यसप्रकार छन:

पहिल- अविद्याको कारण संस्कारको उत्पती, दोस्रो- संस्कारको कारण विज्ञान अथवा चेतनाको उत्पती, तेस्रो- विज्ञान अथवा चेतनाको कारण नामरुप अथवा मन सहितको शरिरको उत्पती, चौथो- नामरुपको कारण मन सहितको छ इन्द्रियहरुको उत्पती जसलाई षडायतन भनिन्छ । पाँच-षडायतनको कारण फस्स अर्थात मनको विषयसँग स्पर्शको उत्पत्ती, छैठौं- स्पर्षका कारण संवेदनाको उत्पती, सातौं- संवेदनाको कारणले तृष्णाको उत्पती, आठ-तृष्णाको कारण उपादान अर्थात आशक्तीको उत्पती, नवौं- आशक्तीको कारणले भव अथवा लौकिक जीवनचक्र वा भवचक्रको उत्पती । भवलाइ भइरहने अर्थमा पनि लिइन्छ । दशौं- भवको कारणले जाती अथवा जन्म भइरन्छ। एघारौं- जाती वा जन्मकै कारण वृद्ध र रोगी भइन्छ। बाह्रौं- अन्तमा शोक र दुख सहित मृत्यु प्राप्त हुन्छ ।

वौद्ध दर्शन अत्यन्तै गहिरो र मनसँग सम्वन्धित भएकोले वर्तमान समयमा विकशित राष्ट्रका विख्यात वैज्ञानिकहरु पनि यस प्रती आकृष्ट भइरहेका छन । यस विषयको अनुसन्धानमा लागेको पाइन्छ । अहिलेको सबैभन्दा उन्नत विज्ञानलाइ क्वान्टम विज्ञान भनिँदो रहेछ । त्यो क्वान्टम विज्ञानको एकदमै विकसित रुप त गौतमबुद्द आफैंले अभ्यास गर्नुभएको रहेछ । त्यो अभ्यास अहिलेका वैज्ञानिकहरु भौतिक वस्तुमा गरिरहेका छन भने गौतमबुद्दले त्यसको प्रयोग मनोविज्ञानमा गर्नुभएको रहेछ । हामीलाइ भौतिक लाग्ने सारा वस्तु वास्तवमा परमाणुको पुञ्ज हुन जुन क्षण प्रतिक्षण उत्पाद व्यय भइरहेको छ । यी सारा भौतिक जस्ता देखिने वस्तु अन्ततोगत्वा केवल तरंग मात्र हो भनेर गौतम वुद्धले आजभन्दा छव्विससय वर्ष अधिनै सिद्ध गरिसक्नु भएको विषय रहेछ ।

स्थुलरुपमा देखिने वस्तुलाई शुक्ष्मतम अवस्थामा हेरिँदा क्षण प्रतिक्षण उत्पाद व्यय भइरहने तरंगनै रहेछ जसलाई हामी नित्य संझेर त्यसको पछाडी लिप्त हुन्छौं । र दुख यहिँबाट शुरु हुन्छ । वास्तवमा हर वस्तु, घटना अनित्य छ । तर हामी नित्य भएको भ्रममा छौं । मरुभूमीमा मृगले दृष्टिभ्रममा पानी देखेर पानी प्राप्ती वा त्यसको पछाडी चरम आशक्तीले दौड लगाइरहेको जस्तै हामी पनि जीवनमा दौडीरहेका छौं। यसरीनै हामी दुखचक्रमा फसीरहेका छौं भन्ने वास्तविकता वुद्धले औंल्याइ दिनुभएको छ । दुखचक्रबाट मुक्ती पाउनुलाइनै निर्वाण भनिन्छ । भवचक्रको वाह्र कडीलाइ रोक्दै गयो भने दुखबाट मुक्त भइन्छ। निवार्ण प्राप्त हुन्छ भन्ने वौद्ध धर्मको सिद्धान्त हो । यसकारण गौतमवुद्ध मानव जातीलाइ दुखबाट मुक्त हुने मार्गदर्शकको रुपमा एक महान वैज्ञानिक हुनुहुन्थ्यो ।

तपाइँको प्रतिक्रिया