सोमबार, फागुन १९, २०८१

हिरा बन्दै स्याउको राजधानी मार्फा

डा. हरिकुमार श्रेष्ठ ‘शिखर’२०८१ फागुन १८ गते २०:०२

डा. हरि कुमार श्रेष्ठ

मार्फाको विमानस्थल नजिकैको मुक्तिनाथ होटेलका व्यक्तिहरूले हामीलाई गरेको आतिथ्य सत्कार, स्वादिष्ट थकाली भोजन र सफा आवास उत्कृष्ट थियो । त्यसैले, हामी २०८० असोज सात गते लोमान्थाङदेखि मार्फासम्म दिनभरी गाडीको यात्रा गर्‍यौं । चिसोले कठ्याङ्ग्रिनुको साथै थकाइ र भोकले लल्याङ्लुलुङ् भएर थाकेपनि पुनः उही होटेलमा वास बस्नपुग्यौँ । हाम्रो यात्रा तालिकामा एक दिन स्याउको राजधानी मार्फामा बिताउने निर्णय  थियो । वास्तवमा, श्रीमती (लक्ष्मी) लाई मार्फामा स्याउ तथा खुर्पानीका स्वर्णिम बगैँचाहरू, मार्फा बजार, मार्फा गाउँको शयर गराइ त्यहाँको प्राङ्गारिक जडीबुटीको मिठो सुगन्धले शरीर तथा अन्तरआत्मा रङ्मङाउनु थियो । मैले ३७ वर्षअगाडि पाइला टेकेको मार्फाले कस्तो काँचुली फेर्‍यो होला भन्ने कौतूहलता पूरा गर्ने चाहना पनि थियो ।

यात्राको छैटौँ दिन बिहानै उठेर मार्फा जाने तयारीमा थियौँ । बाहिर चलेको चिसो हावाले मुटु नै छेडिराखेको थियो । कालीगण्डकीको सुस्त आवाजसँगै सूर्यको रोशनीले विमानस्थल वरिवरिका घर जगमगाएका थिए । चराहरू भुरर्र भुरर्र उड्दै आफ्नै वेग र सुशेलीमा जगाउँदै थिए जनजनलाई । नदी पारी जोमसोमको शिरमै रङ्गिन दुनियाँको चमक नीलगिरिलाई गम्लङ्ग घुम्टो हालेको थियो, टकटकाउँदो सेतो बादलका गुल्छाहरूले । हावाको वहावसँगै बादलका रूपरङ्ग र आकृतिमा परिवर्तन आइरहन्थ्यो छिनछिनमा मनै लोभ्याउने गरी । संसारमा हरेक चिज परिवर्तनशील छ र त जीवन ईन्द्रेणीजस्तै रङ्गिन बन्दछ ।

विहानै शीतोष्ण वागवानी विकास केन्द्र, मार्फाका प्रमुख पद्मनाथ आत्रेयलाई फोन गरेँ । त्यस केन्द्रका फार्महरू घुम्न सहयोग पाइन्छ कि भनेर कुरो राखेँ । उहाँको सकारात्मक जवाफले फार्म राम्रोसित घुम्न पाईने भयो भन्ने खुशि लाग्यो । मेरो मनको छेउमा आशा र हर्षका बीउहरू अंकुराउन थाल्यो । लक्ष्मी पनि फुरुङ्ग बनिन् । उनको अनुहारमा विहानको हिमाली चमक देखिन थाल्यो । उनले आफ्नो शरीर फूलको थुङ्गाजस्तो हल्का भएको महसूस गरिन् । त्यतिखेर, पृथ्वीको गुरुत्वाकर्षणले पनि हार खाएथ्यो जस्तो लाग्छ ।

हामी भोलीपल्ट बिहानै पोखरा फर्कनुपर्ने । बाटो सम्झँदा कुनै क्षण पनि चिरनिन्द्रामा समाधिस्त बन्न सकिने अवस्था थियो । जीवनको ईञ्जिन कतिखेर कहाँ बन्द हुन्छ थाहा नहुने । पोखराबाट जोमसोमसम्म आउँदा बाटोमा खाना खान ढिला गरी भोकले सेल्टिएपनि बसले सुरक्षितसाथ गन्तव्यमा पुर्‍याएकोले बसमै फर्किने निधो गर्‍यौँ ।

असोज नौ गते मार्फादेखि पोखरासम्म जानको लागि बसको दुइवटा टिकट प्रति व्यक्ति रु तेह्र सयका दरले लियौँ । पोखरा फर्कने पीडादायी बाटोले त्रसित र उकुसमुकुस थियौँ । ‘वनको बाघले नखाए पनि मनको बाघले खान्छ’ भने जस्तै थियौँ हामी ।

म पहिलोपटक मुस्ताङ् जाँदा त पोखरादेखि नै हिड्नुपर्दथ्यो । जोमसोमदेखि मार्फा जानको लागि जम्मा दुइ घण्टा लाग्दथ्यो । तर हिजो आज गाडी चल्छ, हामी अल्छी बनेका छौँ । लगेज बोकेर हिँड्नसक्ने अवस्था पनि थिएन हाम्रो । आजकल त हिँडेर पुग्ने समयसम्म पनि गाडी कुरेर गाडीकै यात्रामा रमाउँछौँ हामी ।

मार्फा जानको लागि दिउँसो हत्पत्ति गाडी नपाइदो रहेछ । ट्याक्सीमा जाँदा दुई हजार रुपियाँसम्म भाडा लाग्ने रे ! त्यसैले, ‘घाँटी हेरेर हाड निल्नुपर्छ’ भन्ने उखानले झ्याप्प दिमागमा कब्जा जमायो । हामी मार्फा पनि बसमै जाने निधो गर्‍यौँ । तर विहान नौ बजे खाना खाएर बस कुर्दाकुर्दा एघार बजे बल्ल बस आयो । होटल नजिकै गाडी रोकेछन् ड्राईभरले । हर्न बज्न थाल्यो । हामी दुई दिनमै होटेलवालासँग एकै परिवारका सदस्यजस्ता भइसकेका थियौँ । विदावादी भयौँ एकआपसमा बाई बाई गर्दै ।

होटलका भाइहरूले हाम्रो लगेज बसभित्र राखिदिए । उनीहरूको मृदूभाषी स्वरलहरी र सहयोगी भावना दिमागी नक्शा बनेर बसिरहेको छ । मुक्तिनाथ होटलले पाहुना सत्कार र सेवालाई प्राथमिकतामा राखेको अनुभूति पनि राम्रै भयो । हाम्रो लागि मार्फामा होटल पनि बस काउण्टरकी बहिनीले फोनबाटै बुक गराइदिएकी थिइन् । वास्तवमा, मुस्ताङमा मानवीयताको सफेद रङ्गमा अहिलेसम्म बिटुलो नभएको सङ्केत हो यो । त्यत्ति कामको लागि पोखरामा भने चारसय रुपियाँ दोबारेका थिए हामीसँग एक होटलवालाले ।

हामी मात्रै थाकेको हो कि भनेको त गाडी पनि थाकेको रहेछ र पो गुड्नुभन्दा पनि थकाइ मार्दोरहेछ बढी । ठाउँठाउँमा मान्छे चढ्नुपर्ने अनि उनीहरूले मुस्ताङको स्याउ, स्याउको सुकुटी, दाल तथा ब्राण्डीजस्ता कोशेलीका पोकाहरू पनि लोड गर्नुपर्ने । कतिलाई व्यापार गर्नुपर्ने । कतिलाई हाकिम, साथी र ईष्टमित्रहरू खुसी पार्नुपर्ने । निरन्तर चलिरहन्छ यो प्रकृया त्यहाँ ।

दिनको सवा १२ बजिसकेको थियो । मार्फाको शीतोष्ण वागवानी विकास केन्द्र अगाडिको रेड एप्पल होटल नजिकै गाडी रोकेर गयौँ होटलभित्र । त्यतिखेर करीब सात किलो मिटरको दूरी पार गर्न एक घण्टाभन्दा बढी लाग्यो । माथिल्लो मुस्ताङको ठण्डी, सिरेठो र खुख्खा मरुभूमिमा सेकिँदै प्रकृतिको क्यान्भासमा रङमङिएका चित्रहरू खोतलेर जीवनमा एक नयाँ अध्याय थपेका थियौँ । तर प्रकृतिले नितान्त फरक प्रकृतिका चित्रहरू कोरेको थियो मार्फामा । माथिल्लो मुस्ताङको जस्तो मरुभूमि खोजेर पाइदैनँ त्यहाँ । नदी, हरिया पहाड, नीला आकाश, सिरसिरे हावा र फलफूलले सिँगारिएको त्यो प्राकृतिक सङ्गम निकै नै मनमोहक थियो । हरपल जहाँकहीँ हरियाली छाम्न पाइने । प्रकतिलाई चुम्दै बास्नादार स्वाद लिन पाइने । साँच्चिनै स्याउ, खुर्पानी, ओखर, सल्ला, धुपी, अन्न तथा तरकारी बाली र अन्य रुख तथा बिरुवाहरूले जगमगिएका थिए मार्फा र वरिपरिका डाँडापाखाहरू । अरवी मुलुकहरूमा जस्तो बीउ उम्रेर जङ्गल बन्न मान्छे कुर्नु र केही लगानी गर्नु पर्दैन त्यहाँ ।

होटलमा दुईजना महिला मात्र । जहाँ महिलाको बास हुन्छ, त्यहाँको वातावरण शीतल, शान्त र सौहार्दपूर्ण हुन्छ भन्ने मान्यता छ मेरो, केही अपवाद बाहेक । हाम्रो परिचयपछि उमेरले भरिपूर्ण एक दरिली, रसिली र सुन्दरी बहिनीले हाम्रो ठूलो लगेज जुरुक्क बोकेर कोठामा पुर्‍याइन् । स्याउजस्तै रसिलो, वास्नादार, रङ्गिन र मिठास बोलीको मुस्कान छर्दै “केही समस्या परेमा खबर गर्नु ल” भनेर बाहिरिइन् । मुस्कान राम्रो परिचयको ढोका, संस्कार र यात्राको सुगन्ध पनि हो भन्ने बुझेको छु मैले । जसले यात्रालाई उर्जावान तथा जीवन्त बनाउन मद्दत गर्दछ ।

एकैछिनको विश्रामपछि होटेलको पारी पहाडको टाउकोले बादलको घुम्टो बेरेर ठिङ्ग उभिएको रमणीय दृश्य देख्यौँ । त्यही पहाडको फेदीमा थियो रङ्गीचङ्गी फलफूलका बोटबिरुवाले सजिएको शीतोष्ण वागवानी विकास केन्द्र । हामी केन्द्रको प्रवेशद्वारबाट वनस्पतिका आकर्षक हरिया सुन्दर पर्खालहरू र बगैँचाको बिचको बाटो हुँदै सीधै कार्यालय परिसर पुग्यौँ । केन्द्रभित्रको उत्तम फार्म व्यवस्थापनले निकै नै लोभ्यायो मन । लक्ष्मीले भनिन् “यस्तो ठाउँमा पनि अहा कस्तो सजीवता मिलेको रङ्गीचङ्गी बगैँचा” ? वास्तवमा, घर, पहाड, पृथ्वीलाई रङ्गीचङ्गी बनाएर मगमगाउँदै जीवन्त बनाउने फलफूल तथा बोट बिरुवाहरू, हावा, पानी, घाम, जून र तारा त हुन् नि ! जसले गर्दा हाम्रो जीवन पनि रङ्मङाउँदै मगमगिन्छ ।

हिजो मात्र त्यहाँ विशेष कार्यक्रमको लागि काठमाडौँ र पोखरातिरबाट आएका चितपरिचित अनुहारहरूसँग भेट हुने सुवर्ण मौका मिलेकोमा मेरो मनमथिङ्गलभरी खुशीका बहार छाउन थाल्यो । एकै छिन सौहार्दपूर्ण गफमा रङ्मङियौँ हामीहरू । त्यहाँ बीउबिजन प्रयोगशाला, पोखराका साथीहरूले केही दिनअगाडि मात्र मेरो जन्मस्थान पालुङ्टार ६, भोटेकाटे, गोरखामा मकै बाली गोदाम निरीक्षणको लागि गएको पनि सुनाए । उनीहरू सबैजना पोखरा फर्कन चुम्चिुमिँदै एकदम हतारमा थिए । एकछिनपछि मार्फाको चिनो स्वरूप केही सामुहिक फोटोहरू खिचेर विदावादी भए उनीहरू ।

बाहिरबाट जाने पाहुनालाई त्यहीँ बनेको रोजमेरी बिरुवाको हर्वल चियाबाट स्वागत सत्कार गर्ने प्रचलन रहेछ त्यहाँ । चिया कफी नपिउने मेरो आदतअनुसारको निकै नै बास्नादार चिया पाएकोमा औधी खुशी भएँ । नौलो स्थानलाई मुसार्न तम्सँदा त्यहाँको कुनै जानकारी र सहयोगी विना अगाडि बढ्दा अन्धकारमा रुमल्लिनुपर्ने हुन्छ । त्यसैले, चियाको चुस्कीसँगै व्यक्तिगत, कार्यालय तथा फार्मको बारेमा जानकारी आदान प्रदान भयो । मैले पनि आफ्नो मनाङदेखि बीउबिजन गुणस्तर नियन्त्रण केन्द्रमा कामगर्दा र त्यसपछिका दिनहरूमा गरेका अध्ययन तथा नोकरीको छोँटकरीमा जानकारी दिएँ ।

“आजीवन नै बीउबिजन क्षेत्रको अध्ययन, तालीम तथा कार्य गरेको हुँदा तपाईँजस्तो एउटै फिल्डमा अध्ययन तथा कामगर्ने व्यक्ति त विरलै हुन्छन्” भने केन्द्र प्रमुख आत्रेयले मलाई । हुन पनि हो, मैले स्नातकदेखि विद्यावारिधिसम्मको अध्ययन यसै क्षेत्रमा गरेँ । मैले ४० वर्षभन्दा बढी जागिरे अवधिमा जति पाएँ यसै क्षेत्रबाट पाएँ । जति दिएँ दिलोज्यानले यसै क्षेत्रको वृद्धि र विकासको लागि दिएँ । त्यसैले त रमाइलो लाग्छ बीउबिजनको कुरा चल्दा ।

यो केन्द्र नेपाल तथा भारत सरकारको संयुक्त पहलमा विसं २०२३ भाद्र १४ गते स्थापना भएको रहेछ । उचाइको हिसाबले यो ठाउँ औषत समुद्रको सतहदेखि २,६५० मिटरमा  रहेछ । यसको क्षेत्रफल १७७ रोपनी (मार्फामा १७६ र जोमसोममा एक रोपनी) रहेछ भने घासामा रहेको २० रोपनी जमीन भने विसं २०५८ सालदेखि नेपाली सेनाले प्रयोग गर्दै आएको रहेछ । यो ठाउँ मात्र हैन, नेपालका अधिकांश कृषि फार्म केन्द्रहरू यस्तै चपेटामा परेर कृषिप्रधान देश नेपालको कृषि फार्महरू मरिचजस्तै खुम्च्याउन खोजिएको छ ।

त्यहाँ स्याउ, जङ्गली खुर्पानी, ओखर, आरू, कागजी बदाम जस्ता फलफूल र बन्दा, गाजर, रायो साग, मुला, गोलभेडा, स्वीसचार्ड, सलगम, धनिया, लसुन, आलुजस्ता तरकारीको बीउ उत्पादन तथा वितरण हुँदै आएको जानकारी पाइयो । यसको अलावा, केही ताजा तरकारी पनि उत्पादन तथा बिक्रीवितरण गरिँदोरहेछ । अझै नयाँ कुरा त त्यहाँ स्याउमा टिस्युकल्चर प्रविधिको प्रयोग गरी बेर्ना उत्पादन गर्ने प्रयास गरेको र सो कार्यको लागि वायोटेक्नोलोजिष्ट अशोक लिम्बुले त्यो काम गर्दा रहेछन् । लिम्बु र मेरो वायोटेक्नोलोजी सोसाईटी अफ नेपालको बारेमा कुराकानी भयो जहाँ म केही वर्ष अगाडि कोषाध्यक्ष, उपाध्यक्ष र जर्नल सम्पादकको रूपमा संलग्न थिएँ । उनले त्यहाँ स्याउको टिस्युकल्चरमा भएका प्रगति पनि सुनाए । बिरुवा निस्किसकेकोले अब फिल्ड नर्सरीमा लगाइसकिएको पनि जानकारी दिए । यदि यो कार्यले सफलता पाएमा प्रत्येक वर्ष करोडौँ रुपियाँ खर्च गरेर विदेशबाट स्याउका बिरुवाहरू ल्याउने झण्झट पनि निमिट्यान्न हुने रहेछ ।

करीब एक घण्टा स्याउको स्वादजस्तै रसिलो र स्वादिलो गफपछि डिष्टिलरी (रक्सी बनाउने ठाउँ) तिर लाग्यौँ । पुरानै मेशीनरी तथा औजार उपकरणहरू उही पुरानै कोठामा दयनीय अवस्थामा रहेछन् । टिनको पत्ताको टालो हाल्दै काम चलाइएको । सकसमा छन् त्यहाँ काम गर्नेहरू । तर सुन्नेले कुरा नसुनेपछि बुझ्नेले कुरा नबुझेपछि हुनेनै यस्तै यो भ्रष्टाचारले थलिएको देशमा । त्यहाँ केही भाँडोहरूमा रक्सी बनाउन स्याउहरू किण्वन (फर्मान्टेशन) प्रकृयामा थिए । यस केन्द्रमा खुर्पानी तथा स्याउको ब्राण्डी, जाम र सुकुटी, स्याउको साइडर तथा आरुबखडाको रक्सी बनाउने कार्य गरिँदै आइएको रहेछ । तर मूल्य भने विसं २०४३ को तुलनामा करीब पाँच गुणाले वृद्धि भइसकेछ । हाल फलफूल भने ठेक्कामा दिइसकिएकोले त्यहाँबाट बिक्रीवितरण नहुने रहेछ । मलाई जानकारी भएसम्म २०४३ सालतिर त सबै चिज फार्मबाटै बिक्रीवितरण हुन्थ्यो ।

मुस्ताङमा स्याउको विकास तथा विस्तार मार्फाबाट भएको हो । विसं २०४० को दशकतिर त्यस केन्द्रको मुख्य भूमिकामा थिए तत्कालीन राजाको हुकुमप्रमाङ्गीबाट त्यहाँको प्रमुख बनेका शैक्षिक प्रमाणपत्र भन्दा पनि व्यवहारिक ज्ञानले भरिपूर्ण पासाङ् कम्बाछे शेर्पा । उनलाई प्राविधिक सहयोग गर्नेमा एक जना जापानिज कृषि विज्ञ टोरोकोण्डोको साथै केही नेपाली विज्ञहरू पनि थिए । उनीहरूले मनाङतिर पनि सेवा विस्तार गरेका थिए । मैले टोरोकोण्डोलाई २०३९-२०४० मा मनाङमा भेटेको थिएँ अङ्गुर उत्पादनसम्बन्धी एकहप्ते तालीममा विषय विशेषज्ञको रूपमा ।

मार्फाको स्याउ रसिलो, स्वादिलो, वास्नादार र आकर्षक भएकोले मार्फालाई स्याउको राजधानी भनिँदो रहेछ । स्याउको गुणस्तर मार्फाको मात्र नभइ सम्पूर्ण मुस्ताङमै एकै किसिमको राम्रो पाइन्छ । दक्षिण एसियामै स्याउमा मुस्ताङ निकै नै ख्याति कमाएको छ । त्यसैले, विदेशबाट आयातित स्याउलाई ठूला शहर काठमाडौँ, नारायणगढ, पोखरालगायत अन्य ठाउँहरूमा महँगोमा बिक्रीवितरण गर्न मुस्ताङको स्याउ भनेर ढाँट्ने गरेको पनि पाइएको छ । यदि समयमै बजारमा गुणस्तर अनुगमन गरी नियन्त्रण गर्न नसकिएमा यसले मुस्ताङको स्याउप्रति मानिसमा जुन सकारात्मक छाप छ भोलीका दिनमा खलल पार्ने स्थिति देखिन्छ ।

बिजुली पानी उत्पादन गर्ने डिष्टिलरी हेरेपछि केन्द्रको विभिन्न ब्लकहरूमा रहेको कालीगण्डकी वारिपारिका फार्महरू हेर्ने रहरको हुटहुटी जागेको थियो । तर चिसो हावाले पानीको हल्का बुँदहरूसँगै कन्चट र अन्य नाङ्गा भागहरूलाई नराम्रोसँग सेकिरहेको थियो । केन्द्र प्रमुखसँग विदावादी भए तापनि वायोटेक्नोलोजीमा कामगर्ने भाइ साथमै थिए । आशा गरेका थियौँ कि हामीलाई घुम्न उनले नै सहयोग गर्ने होलान् । किनकि, यात्रामा स्थानीय सुगन्ध बोकेका मान्छे पाउनु यात्रालाई सुगन्धित, सुकिलो र चम्किलो बनाउनु हो । तर उनी पनि ‘ल घुम्नुहोला । काम छ’ भनेर हामीबाट विदा भए । हामीले यात्रालाई निरन्तरता दियौँ ।

विसं २०४३ मा मनाङ्बाट थोराङ भञ्ज्याङ पारगरेर मुक्तिनाथ र जोमसोम हुँदै म र जिल्ला स्वास्थ्य कार्यालय, मनाङका हेल्थ असिष्टेण्ट सिताराम बस्नेत उक्त केन्द्रमा व्यक्तिगत भ्रमणमै गएपनि त्यहाँका प्राविधिक कर्मचारी साथीहरूले निकै राम्रो सहयोग गरेका थिए । यसपटक पनि त्यस्तै सहयोग पाइन्छ होला भन्ने सोँचेको थिएँ । अझ, कृषिलाई नै कर्मथलो बनाएर ४० वर्ष बिताएकोले त्यस्तो सहयोगको अपेक्षागर्नु स्वभाविकै पनि थियो । तर मेरो सोचाइले बल्ड्याङ खायो । हाम्रो त्यस फार्ममा फूल फुलेझैँ फुल्ने आकांक्षा खडेरीको कारण फुट्न नपाइ ओइलिँदै चाउरिएको कोपिलाजस्तै बन्नपुग्यो । तर पनि हिम्मत र साहस मरेको थिएन आत्माभित्र ।

लक्ष्मीले हल्का छड्के शब्द वाणहरू बर्साउन थालिन् । तपाईँका कृषिका साथीहरू त भन्न थालिन् ! पहिला र अहिलेको कर्मचारीतन्त्रमा फरकको केस्रा केस्रा केलाउँदै फेहरिस्त सुनाउन थालिन् । उनले “पहिलेकै संसारिक सपनामा हुनुहुन्छ भने अब ब्युँझनुस्” पनि भनिन् । उनले मेरो पनि कमीकमजोरी औँल्याउँदै भनिन् “घुम्न आउने अनि कोठाभित्रै गफमा समय बिताएर हुन्छ त हामीले ? आफूले पनि अलि चासो दिन त पर्थ्यो नि !” उनको कुरा सुनेपछि मनमा अलि खिन्नता नआएको पनि हैन । तर यात्रालाई तिख्खर स्वादिलो बनाउँनु थियो हामीले । त्यसैले, मनमथिङ्गलको सिलौटामा सरकारात्मक सोच रगड्दै, यात्राको कसौँडीमा मिसाएर पकाउँदै यात्रालाई स्वादिलो र रसदार बनाउन थालियो ।

उनले सल्लाह पनि दिइन् “यदि कर्मचारीहरूले नभ्याउने भएमा टाढादेखि आएका आगन्तुकहरूको लागि बरु आवश्यक शुःल्क लिएरपनि घुमाइदिने व्यवस्थाको विकास गरे कति राम्रो हुनेथियो ।”

फार्म भित्र चिटिक्क सजाएर राखिएका ईन्द्रेणी लहर जस्तै स्याउका बोटहरूले हाम्रो यात्राको रङ्ग, बास्ना र स्वादलाई निखार दिँदै थिए । प्रफुल्ल मुद्रामा रमायौँ, फोटो खिच्यौँ । केही व्यक्तिहरू झरेका स्याउहरू रमाउँदै सङ्कलन गरेर लैजाँदै थिए । भुइँँमा त्यत्तिकै कुहाएर फाल्नुभन्दा त त्यसको सदुपयोग गर्नु नै राम्रै हो ।

केन्द्रभित्र नै एउटै बोटमा रातो र पहेँलो दुइ जातको स्याउ लटरम्म फलेको देखेर लक्ष्मीलाई अनौठो लाग्यो । त्यो कलमी प्रविधि अपनाएर बनाइएको थियो । आफ्नै हातले टिपेर खान पाए कति मिठो हुन्थ्यो होला ! त्यहाँ सानादेखि ठूला स्याउका बिरुवाहरू लटरम्म राता, हरिया तथा पहेँला दानाहरूको भारी बोकेर झुकिरहेका थिए । फलेको बृक्ष झुक्ने नै हो । यो दृश्यले आगन्तुकहरूलाई स्वागत गर्नुको साथै मानिसहरू पनि फलेका बृक्षजस्तै असल बनुन् भन्ने सकारात्मक सन्देश दिइरहेको हुन्थ्यो । यदि सबै परिस्थिति त्यस्तै भइदिएको भए त हाम्रो देशमा झैझगडा पनि हुने थिएन होला । सानो निहुँमा सदनमा “कहीँ नभएको जात्रा हाँडी गाउँमा” भने जस्तै रडाको मच्चाउँदै कुर्ची टेबुल भाँचिनुको साथै सदन घेरेर कामको गतिलाई अबरुद्ध पार्ने पनि थिएनन् होला ।

हामी केन्द्र बाट निस्किँदा सिमसिम पानी परेको थियो । जाडो बढ्दै थियो । सिरिठोले कञ्चट पड्काउँदै थियो । शरीरमा पैतलादेखि शिरसम्म लुगलुगे दौड सुरु भइसकेको थियो । चराचुरुङ्गीहरू पनि चिरबिर गर्दै ओत खोज्दै थिए ! हाम्रो यात्राले भने अझै विश्राम पाएको थिएन ।

मार्फाको सडक कालोपत्रे नभए पनि फराकिलो र राम्रो थियो । सडकमा हिँड्दा हावाको जोडले ओडेको छाता फर्काउला जस्तो । केन्द्रको प्रवेशद्वारबाट बाहिर निस्केपछि दाहिने मोडिएर अगाडि बढ्यौँ । नदी वारितिरका केन्द्रका सबै ब्लकहरू बन्द थिए जालीको बारले घेरेर । केही अगाडि बढ्ने बित्तिकै देब्रेतिरको एक ब्लकको ढोका बन्द भए तापनि साँचो लागेको थिएन । बोलायौँ कोही छन् कि भनेर । तर निशब्द र शून्यताले छायो त्यहाँ ।

सूर्यलाई बादलले बन्दी बनाएर राखेकोले उसको अनुहार, कीरण र राप भेट्न नसकिने भयो । सिमसिमे वर्षादको साथै जाडो पनि बढ्दै जान थाल्यो । दाँतै किट्किटिने । लक्ष्मीले म चिसोले कठ्याङ्ग्रिएको देखेर आफूले ओडेकी उनीको रातो टोपी मेरो टाउकोमा लगाइदिइन् । उनले आफ्नो टाउको र गलामा भने पछ्यौरा बेरिन् । मनभरी हर्ष र उल्लासको वर्षा हुँदै दुबै नयनका डिलसम्म टिल्पिलाउदै के आएथ्यो तर मैले राम्रैसँग लुकाएँ यसलाई ।

करीब पौने एक बजिसकेको थियो । चिसो हावामा सेकिँदै र पानीमा भिज्दै अगाडि बढेर नदीपारि फार्मतिर जाने हिम्मत पनि भएन । होटलतिर गएर केही समय विश्राम लिने र निजी क्षेत्रमा सञ्चालित फार्महरू हेर्दै मार्फा गाउँ घुमेर फर्कने निधो गरी फिर्ता भयौँ होटलतिर ।

दुबै जना कठ्याङ्ग्रिएर शरीरका सारा रौँहरू ठाडो हुँदै सिउसिउ गर्दै थियौँ । जाडोमा त भोक पनि निकै छिटो लाग्नाले लर्खरिन थालिसकेका थियौँ । कोठामा तातो पानीमा नरिवलको धुलो घोलेर एक एक कप पिइहाल्यौँ । निकै आनन्द र राहत मिल्यो जाडोमा । बाहिर पानी अलि कम भएकोले बाहिरियौं हामी । किनकि, मार्फालाई जतिसक्दो खनिखोस्रि गर्नु थियो बढीभन्दा बढी जानकारी सँगाल्न । सडक सडक हिँड्दै दायाँ र बायाँका निजी क्षेत्रले सञ्चालन गरेका स्याउ फार्महरू नियाल्दै अगाडि बढ्यौँ । सडक छेउका स्याउ फार्मका बोटहरूले किसानको लागि हिरा–मोती, तथा सुन–चाँदीका सिक्काहरू बोकेर टल्किराखेका थिए । अझ भन्ने हो भने कोहिनुर हिरा बन्दैछ स्याउको राजधानी मार्फा । सम्पूर्ण बजार क्षेत्र खुला भएपनि मानिस भए नभएको भेउ पाउन सकिन्नथ्यो ।

एक सभ्य समाजको प्रतिकको रूप झल्किराखेको हुन्थ्यो मार्फा । हाम्रोतिर भएको भए स्याउका पोकाहरू बोकेर यात्रीहरूलाई किनिदिन भन्दै हैरान पार्दथे । तर खै त त्यहाँ त्यस्ता गतिविधिहरू नगरे पनि बिकिराखेकै छन् स्याउका पोका र अन्य स्थानीय उत्पादनहरू ।

स्याउ बारीभित्रका ओखर, खुर्पानी, हरिया सागपात र घोगा लागेका मकैले स्याउ बारीको शोभा निकै नै बढाएको थियो । पोखराबाट आएको पहिलो दिन मार्फाभन्दा तल्लो क्षेत्र पनि निकै नै खेतीपातीमैत्री पायौँ । मार्फा भन्दामाथि पनि लोमानथाङ्गसम्मै जहाँ पानी हुन्थ्यो त्यहाँ बस्ती र बोटबिरुवा तथा खेतीपाती देखिन्थ्यो ।

स्याउ फलेको पहिलो पटक हो लक्ष्मीले देखेकी । उनी हौसिदै फोटो क्लिक गर्दै थिइन् । हुन पनि कतिपय बोटहरूमा त यति लटरम्म फलेको थियो कि स्याउ बयान गर्नै नसकिने । तर पनि स्याउ धेरै फलेन भन्दै थिए मुस्ताङका किसानहरू । यस्तो कुरा सुन्दा लक्ष्मी आश्चर्यचकित थिइन् । वास्तवमा, कतिपय वर्ष स्याउमा फलै कम लाग्छ किनभने स्याउ फुल्ने समयमा वर्षाद तथा तुसारोको कारण मौसम प्रतिकूल बन्दछ र त्यस्तो अवस्थामा परागसेचनको लागि मौरी तथा अन्य कीराहरूको संख्यामा पनि कमी आएकोले यस्तो समस्या देखिन सक्छ ।

मुस्ताङमा २,२०० देखि ३,२०० मिटरको उचाईसम्म स्याउ राम्रो फल्छ । स्याउको राजधानी मार्फाको सिकाइको अवलम्बन अन्य क्षेत्रहरूमा पनि गरेको पाइयो । यसको लागि केन्द्र तथा कृषि ज्ञान केन्द्रको योगदान महत्वपूर्ण भएको स्याउ खेतीमा संलग्न केही किसानहरूले बताएका थिए । पाखुराको ताकत, नैतिकता, उचित हावापानी, असल व्यवस्थापन र गुणस्तरीय उत्पादनले अवश्य चम्कन्छ एकदिन विश्वसामु मार्फा तथा समग्र मुस्ताङको स्याउ ।

मुस्ताङमा हरियाली बनाउन संस्थागत, सामुहिक तथा व्यक्तिहरूलाई स्याउ खेतीमा अभिप्रेरित गरेको पाइयो । वास्तवमा, राजधानीको राम्रो चहल पहलले प्रदेश तथा स्थानीय निकायहरूमा सकारात्मक सन्देश प्रवाह गरेको छ । स्याउमा पनि त्यस वागवानी केन्द्रले गरेको किसानमुखी राम्रो कामको सिको गर्दै त्यहाँका किसानहरूले नेपालमा स्याउ आयात प्रतिस्थापनमा सहयोग गरेका छन् । साथै भूक्षय निवारण, रोजगारी सिर्जना गर्नमा मद्दत पुर्‍याउने अपेक्षाका साथ प्रत्येक वर्ष सबै गाउँपालिका गरी करीब ४० हजार स्याउका बिरुवाहरू थपिँदै गएको देखिन्छ ।

यसमा टुकुचाको ८० घरपरिवारले सञ्चालन गरेको सामुदायिक स्याउ फार्म, छुसाङको ताङ्वेमा ग्रीन ताङ्वेको एक हजार रोपनी क्षेत्रफलमा स्थापना भएको स्याउ फार्म, घमी, मुक्तिनाथ तथा चैलेमा स्थापना तथा विस्तार भएको स्याउ फार्महरूलाई लिन सकिन्छ । ताङ्वे, छुसाङको स्याउ फार्म हेर्दा त्यहाँ सिँचाइको लागि पाइपहरू बिच्छ्याइएका थिए प्रत्येक बोटलाई । सुख्खा क्षेत्र, बलौटे भूवनोट, नियमित सिँचाइको लागि पानीको अभाव तथा उचित व्यवस्थापनको अभावले बिरुवा सुख्खा हावाहुरीले निस्सासिँदै, चाउरिँदै, सिन्की बन्दै विलीन हुने दयनीय अवस्थामा देखिन्थ्यो ।

एकछिनपछि हामी संरक्षित पुरानो मार्फा गाउँतिर लाग्यौ, जहाँ हामीलाई एक सुन्दर प्रवेशद्वारले स्वागत गरिरहेको थियो । पहिलाको मार्फा गाउँभन्दा अहिलेको संरक्षित मार्फा गाउँमा केही नयाँ घरहरू थपिएका थिए । तर काठ, ढुङ्गा र माटोबाट निर्मित पुरानै घरहरूको बाहुल्यता भए तापनि अझै भर्भराउँदो नवयौवन वक्षजस्तै लाग्दथ्यो मार्फा गाउँ । बाटो साँघुरो भएतापनि ढुङ्गा बिच्छ्याइएकोले सफा थियो । सिमसिम पानी परिरहेको थियो  हिलो भने थिएन । अधिकांश घरहरू माटोकै छाना र छानामाथि दाउरा थिए । घर सेतो र रातो माटोले लिपेको झुरूप्प मिलेको थियो । धेरै दाउरा भएको घर डोल्पा र मनाङ्मा जस्तै सम्पन्नताको पहिचान रहेछ मुस्ताङ्मा पनि ।

वास्तवमा, मार्फाले शताब्दीऔँदेखि थकाली रहनसहन, खानपीन, जीवनशैली, मौलिक कला तथा संस्कृति जोगाएर राखेको छ । अझ मार्फाको गाउँमाथि पाखामा आकाशसँग मितेरी लगाइ बसेको करीब तीन सय वर्ष पुरानो भिर गुम्बा त्यहाँको कोहिनुर हिरा बनेको पाइन्छ । वास्तवमा, उक्त गुम्बामा विपत नहोस्, खेतीबाली सप्रोस् र रोगव्याधी नलागोस् भन्ने मान्यताले पूजाआजा गरिने प्रचलन रहेछ ।

मार्फामा पसलहरू घर भित्रभित्रै लुकेर सजिएका थिए । घर बाहिर वरिपरिका पूरै खाली जमीनहरू बोट बिरुवाहरूले रङ्गिएका थिए । मार्फा गाउँ स्याउ, खुर्पानी, रक्सी, ब्राण्डी, जाम र अन्य स्थानीय परिकारहरूले आँखा टपक्क टिप्ने गरी रङ्मङिएको थियो । त्यसैले त मानिसहरू झुम्मिएका थिए त्यहाँ । तर मात्तिएको थिएन मार्फा गाउँ । सायद यहि रौनकताले होला, बाहिरबाट आएका अधिकांस पाहुनाहरू मार्फा गाउँमा पाइला नटेकी फर्कँदैनन् भन्छन् स्थानीयहरू । त्यतिखेर पनि केही युवाहरू जाडो र पानीको कुनै प्रवाह नगरी मार्फाको स्थानीय थकाली पहिरनमा सजिएर टिकटक बनाउन र फोटो खिच्न व्यस्त देखिन्थे ।

हामी मार्फामा आनन्दको खोजीमा भएकोले जतिसुकै हावाहुरी, ठण्डा र झरीको पासोसामु पनि अत्तालिएका थिएनौँ । किनकि, ‘मीठो खानेले जुठो खान पनि सिक्नुपर्दछ’ । तर समय घर्कँदै गएको र केही स्याउका पोकाहरू किन्न बाँकी नै भएकोले पूरै मार्फा घुमेर नभ्याएपनि फर्कियौँ रेड एप्पल होटलतिर ।

मार्फा गाउँ प्रवेशद्वार बाहिर त झन् प्रत्येक घरमा पसल थियो, जहाँ स्थानीयस्तरमा निर्मित स्याउ तथा खुर्पानीका ब्राण्डी, जाम, सुकुटी, आरुबखडाको रक्सी, छोप (अचार) र मुस्ताङमा उत्पादित आलु, दाल, ईत्यादि हुन्थ्यो । बाहिरबाट आउने पाहुना हुन् वा स्थानीयवासी नै किन नहुन् तल झर्दा व्यवसायको लागि वा कोशेलीको लागि त्यहाँ उत्पादित वस्तुहरू नै लगेका हुन्थे । यतिखेर स्याउको राजधानी मार्फा स्याउमय थियो । कतिपय ठूला शहरका व्यापारीहरूले भने आफू त्यहाँ नगए तापनि व्यापारी वा गाडीको चालकसँगको व्यक्तिगत सम्बन्धका कारण सिधै गाडीहरूबाट मगाउने पनि गर्दा रहेछन् ।

मार्फामा किसानहरूले पनि पूरै स्याउ फार्म ठेक्कामा बिक्रीवितरण गरेको हुँदा बजारको समस्या पनि भएन । तर बजारमा प्लाष्टिकको थैलामा पोको पारेर एक सय ४० रुपियाँ देखि दुई सय सम्म मूल्यमा बेचिने भएकाले ग्राहकले छानेर लैजान नपाउने वाद्यात्मक अवस्था रहेछ ।

साँझ ढल्किएपछि ठण्डीको कारण भोक जुरुक्क जुर्मुराइरहेको थियो । साधा थकाली खाना (भात, स्थानीय दाल, साग, चटनी वा छोप) जिब्रो पड्काई पड्काई खायौँ हामीले । विहान चाँडै नै पोखराको लागि प्रस्थान गर्नुपर्ने, जाडो पनि बढी भएको र कोठामा ईण्टरनेट पनि बिग्रिएकोले खाना खाएर झोला प्याक गरी सुत्यौँ ।

अन्त्यमा, उज्यालो रजनीको जुनेली हावाको रस शीतको थोपा बनी बिरुवाको पात तथा फूलमा झल्किएझैँ हृदयभरी मार्फाको सुन्दरता झल्किरहेको छ । वास्तवमा, मुस्ताङमा कृषि क्षेत्र विकासको लागि कृषि कार्यालयहरूको प्रभाव राम्रै परेको पाइयो । त्यहाँ घुम्न जाने पर्यटकहरूलाई शीतोष्ण वागवानी विकास केन्द्र र स्थानीय निकायहरू मिलेर संयुक्त रूपमै सेवा शुःल्क लिएर भए पनि एग्रो–टुरिज्म (कृषि पर्यटन) अवधारणाको विकास गरी सरकारी तथा निजी फार्महरू घुम्ने व्यवस्था गर्नसकेमा भ्रमण अझै उत्कृष्ट र ज्ञानवर्धक हुने देखिन्छ ।

उत्पादित स्याउ अहिले त थोरै छ बजारको लागि समस्या नहोला । तर ठूला ठूला फार्मले ठूलो परिमाणमा उत्पादन गर्न थालेपछि ग्रेडिङ्ग र गुणस्तर नियन्त्रणसहित व्यवस्थित बजार प्रणालीको विकासको साथै वस्तुको विविधिकरण हुनुपनि जरुरी छ । टाढा टाढा लैजानुपर्ने भएकोले सानै परिमाणमा भएपनि विशेष प्याकेजिङको व्यवस्था आवश्यक देखिन्छ । यदि यसरी नै अन्य जिल्लाहरूतिर पनि क्षेत्रगत हिसाबले फलफूल खेती गर्न सकेमा नेपालबाट बाहिरिने युवा जनशक्ति नेपालकै विकासमा लगाउन सकिन्छ । यसको लागि सबै तहका सरकार तथा सरोकारवाला निकायहरूले गम्भीरताका साथ सोच्न जरुरी देखिन्छ ।

तपाइँको प्रतिक्रिया