मंगलबार, चैत १८, २०८१

इटाली : नेपालीका लागि गन्तब्य कि ट्रान्जिट ?

विशाल स्याङ्बो तामाङ / लण्डन २०८१ चैत १७ गते ०:०४

अहिले नेपाली समाजमा युवा पलायन चर्को बहस बनेको छ । बहस नहोस पनि किन ? सबैको मुखमा एउटै वाक्य छ ‘रोजगार छैन’ । सामाजिक संजाल होस् या समाचारहरुको शिर्षक । ति मुनी भारि कमेन्ट हुन्छन । नेपालका नेताहरु, बर्तमान राजनिती र सरकारको सत्तोसरापले भरिएका पाइन्छन ति । झन् आजभोली त व्यवस्थालाई नै दोष दिन थालेका पनि छन कतिपयले । ‘जति पढे पनि आखिर विदेश नै जाने हो । नेपालमा बसेर के गर्नु ?’ भन्नेहरुको कमि पटक्कै छैन । अभिभावकहरुपनि आफ्ना लालाबालाको भविष्य देख्न छोडेर बिदेश पठाउनै तल्लिन छन । घर खेत बेचेर होस कि जग्गा धितोमा राखेर । लईनो भैंसी बेचेर होस कि वा साहुसित चर्को ऋण काढेर ।

युवा पलायन अथवा रोजगारको सिलसिलामा बिदेसिनुको कारण सबैको समान मात्रै छैन । धेरै कारणहरु छन । त्यसको छुट्टै बहस पनि बन्न सक्छ । छुट्टै अभियान र प्रतिबद्दताको त झनै खाँचो होला । तर देश छोड्नु र पलायन हुनु दुइ फरक कुरा हुन् । त्यसो त, पलायन नै हुनुपर्ने कारण पनि समान हुँदैनन । मान्छे पिच्छे फरक छन् । ति फरक भैरहन्छन । जे होस् सबै कुराको एक मुष्ठ दोष भने आम रुपमा नेपालको बर्तमान राजनीती र नेताहरुलाइ नै दिईरहेको देखिन्छ ।

हुन पनि हो, ठूलो संघर्ष र धेरै शहिदहरुको बलिदान पश्चात नेपालमा नचिताएको राजनैतिक परिवर्तन भयो । संघिय लोकतान्त्रिक ब्यवस्था पनि आयो । तर त्यसले जनातामा खासै परिवर्तन दिन सकेन । त्यसैले, धेरै विद्वानहरु देखि सर्बसाधारणले भन्दै आएका छन्- देशमा व्यवस्था परिवर्तन त भयो अवस्था परिवर्तन भने भएन । जनताका दुख हिजो जस्तो थियो त्यो आज बदलिएन । जनाताका आशा जे थिए त्यसमा दलहरुको ध्यान जान सकेन । जनाताको भन्दा आफ्नै दल, कार्यकर्ता, नातागोता र पार्टीका हर्ताकर्ताहरुकै स्वार्थ वरिपरी नेता घुमे । तीनकै हालिमुहाली चल्यो । झण्डा फेरिए तर जनताका दुख र सास्तिका दिन फेरिएनन । जनाताले सर्बत्र गुनासो यसैमा गर्दै आएका छन ।

‘राजनीति लाजनिती भयो’ भन्नेहरुको संख्या दिनप्रतिदिन बढिरहेको छ । यसो भनिरहँदा के साँच्चिकै यो व्यवस्थाको कमजोरी नै हो त ? त्यसो त पक्कै होइन । राजा महाराजाकै पालादेखिनै नेपालीहरु मुग्लान पस्न सुरु गरेका हुन । अंग्रेज र भारतीय सेनामा भर्ति हुने प्रकृया संघिय लोकतान्त्रिक व्यवस्था आएपछि मात्र शुरु भएको त होईन । नेपालीहरुको मुगलान यात्रा एक शताब्दि भन्दा लामो ईतिहाँस बोकेको विषय हो ।

विसं २००७ सालमा प्रजातन्त्र आएपश्चात बिस्तारै नेपालीहरुमा चेतना अभिब्रिद्दी हुँदै गयो । गरिबले पढ्न पाउने ब्यवस्था शुरु भयो । भाषा एउटा बलियो पक्ष हो । साक्षरता बढ्दै गएपछि ज्ञान र सिप अभिब्रिद्दिका लागि पनि मानिसहरु परदेश लाग्न थाले । शिक्षाले दुर दराजका ढोका खोलिदियो । सूचनाको पहुँचमा पुर्‍याईदियो । परदेशका संभावना, सेवा, सुविधा र प्रविधिको आँखा खोलिदियो । अवशरका ढोकाहरु पहिल्याउन थाले । देशमा मनग्य रोजगारी र परिवारको जोहो राम्रोसँग नटर्ने भएपछी यो एउटा परम्परा जस्तै बन्दै गयो । विश्वका अरु देशबाट हुने भ्रमण र ति देशका नागरिकको बानी र नियतिले पनि नेपालीलाई प्रभाव पार्नेनै भयो । नेपालको राजनीतिक अस्थिरताले यो क्रमलाई बढाउन झनै मद्दत गर्यो । नेपालीहरु शिक्षित र दिक्षित हुँदै जाँदा प्रवाशमा रोजगारीका संभावना र मागपनि देख्दै गए । क्रमश : युवा पलायनको गन्तब्य धेरै देशहरु बने । युरोप त झन धेरै नेपालीका लागि सपना र एउटा विकल्प समेत बनेको छ । धेरै नेपाली युवाहरुले युरोपका भिन्न भिन्न देशहरुलाई आफ्नो भविष्यको गन्तब्य बनाएका छन । गएको डेढ दशकमा नेपालीहरुको आप्रवाशन युरोपमा अचम्मै लाग्दोगरी बढेको छ । युरोपका देश मध्ये नेपालीको गन्तब्य इटाली पनि हो ।

इटाली असाध्यै सुन्दर छ । प्रकृतीले भरिभराउ सजाईदिएको देश हो । समुद्र, समथर भूमी, टिलिक्क टल्केका हिमाल । छङछङ बग्ने छहरा, तातोपानीका कुण्ड, घुम्दै फिर्दै बगेका नदी र कुल्कुलाउने कुलेसा । सबै छन ईटालीमा । बिकाशका हिसाबले पनि संसारका कुनै देश भन्दा कम छैन ईटाली । त्यहाँको भौतिक पूर्वाधार लोभलाग्दो छ । हरेक शहरका आआफ्ना ऐतिहासिक सभ्यता, ईतिहास, आफ्नै खालको परिचय छ । शहरै पिच्छे फरक संस्कृती र संरचना छन । ऐतिहासिक हिसाबले एउटा संग्रहालय हो ईटाली । एउटा भनाइ नै छ ‘रोम एक दिनमा बनेको होइन( रोमे इस नोत बुइल्त इन अ डे)’ ।

रोम यस्तो अलौकिक शहर जसको प्राचिन सभ्यता जती पटक हेरेर पनि मानिस अघाउँदैन । म एक दशका यही देशमा बसें । इटाली बसाइले धेरै कुरा सिकायो । उमेरको हिसाबले पनि जिवनको एउटा महत्वपूर्ण समय मैले ईटालीसितको सामिप्यमा बिताएँ । म र मेरो परिवार सन् २०१८ देखि बेलायत सर्‍यो । तर ईटाली सदा यादमै रहन्छ । मलाई जता भए पनि ईटालीका सम्पदा, ईटालियन खाना, त्यहाँको संस्कृती र ईटालियनहरुको फरासिलो प्रस्तुतिले चिमोटिरहन्छ ।

विश्वका धेरै देशबाट रोजगारीको लागि विभिन्न बाटो भएर गैर कानुनी ढंगले इटाली प्रवेश गर्नेहरु निकै छन । ति मध्ये थुप्रै नेपाली तथा बिदेशी दलालहरुको चंगुलमा फसी एउटा सुन्दर भविष्यको कल्पना गर्दै इटाली प्रवेश गर्छन । तर त्यस क्रममा तीनले भोगेका दुख र पीडाका सास्तिहरुको कहानी दर्दनाक पनि छन ।

सपनाको देशमा खुट्टो टेकेर मात्रै त हुन्न । त्यहाँको बसाईलाई सहज बनाउन फेरी अर्को संघर्षका कठिन दिनहरु शुरु हुन्छन । नेपालीहरुको लागि इटालीमा अर्को चुनौती त्यहाँको भाषा हो । कागज नै भएपनि भाषा नसिकेसम्म काम पाउनु निकै गाह्रो पर्छ । काम पाइसकेपछि भने भाषा सिक्दै गईन्छ र बसाइ राम्रै हुन्छ । किनकि त्यहाँ हावापानी राम्रो छ । खानपान स्तरीय हुन्छ । बच्चाहरुको पढाइ र उपचार निशुल्क छ । इटालियनहरु भन्ने गर्छन ‘मुसोलिनीलाइ जतिसुकै आलोचना गरे पनि गरिबले पनि साक्षर हुन र रोगको उपचार निशुल्क पाउनुपर्छ भनि ब्यवस्था बसालेका हुन ।’

नेपालबाट केहि बिद्यार्थी हरु उच्च शिक्षा हासिल गर्नपनि इटालीलाइ चुन्दै आएका छन । अन्तर्राष्ट्रिय विद्यार्थीका रुपमा इटाली प्रवेश गरि विभिन्न क्षेत्रमा बिध्यबारिधि गर्ने नेपालीको संख्यापनि बाक्लो छ । त्यसैले नेपाललाई बौद्धिक र दक्ष जनशक्ती पनि प्रदान गरेको छ ईटालीले ।

सुख, सुविधा र सुन्दरताले मात्रै सधैं त नपुग्ने रहेछ । जती सुविधा र सुन्दर देश भएपनि कालान्तरमा नेपालीहरु ईटालीबाट लाखापाखा लाग्ने गरेका पनि छन । केहि नेपालीहरु त्यहाँको अनुभव लिएर अन्यत्र बसाइ सर्ने गरेका छन । त्यसको मूल कारण त्यहाँको भाषा र त्यो देशको अर्थतन्त्र आप्रवाशी मैत्री नहुनु हो । जतिसुकै पढे पनि राज्यका महत्वपूर्ण पद र जिम्मेवारीमा विदेशीलाई भन्दा इटालियनलाइ नै प्राथमिकता दिन्छन । आफू अब्बल हुँदाहुँदै पनि त्यस अनुसारको पदमा अवशर नपाउने भएपछी नेपालीहरु अरु देशहरुमा सर्दै गएको देखिन्छ । त्यहाँको कार्ता दि सोज्ज्योर्नो (स्थाई बसोबासको अनुमति) लिएपछि बहुसंख्यक नेपालीहरु अहिले बेल्जियम, जर्मनी, स्वीडेन, डेनमार्क तथा बेलायत तर्फ बसाइ सरेका छन । सुन्दर देश, राम्रो हावापानी, मिजाशिला जनता भैकन पनि नेपालीहरु त्यहाँबाट फेरी अन्यत्र लाग्नुले मनमा प्रश्न जागिरहन्छ, ‘इटाली गन्तब्य कि ट्रान्जिट ?

(विशाल ईटालीको मितेरी मन्चका पूर्व अध्यक्ष र सामाजिक अभियन्ता हुन्, उनी खासगरी प्रवाशको सामाजिक विषयमा कलम चलाईरहन्छन्)

तपाइँको प्रतिक्रिया