सोमबार, चैत २४, २०८१

जति माया लाए पनि…

कृष्ण शर्मा२०८१ चैत २३ गते ९:१०

“त्यसपछि उनले घर छाडिन्” छापिएको दुई दिनपछि एक्स (ट्विटर) मा एक सज्जनले मलाई पिछा (फलो) गरेको सूचना आयो। ‘म जस्तो निरस प्राणीको पछि लाग्न खोज्ने मनुवा को होला?’ भन्ने कौतुहलता जाग्नु शायद स्वाभाविक थियो। पिछा गर्ने अनुरोधलाई स्वीकार्नु अघि मैले ति सज्जनको प्रोफाइल हेरेँ। काव्यिक प्रकृतिका मानिस जस्तो लाग्यो। उद्दन्डात्मक र उत्ताउला  कुराहरू थिएनन्। उनले कान्तिपुरको निबन्ध र मेरो वेब-साइटमा प्रकाशित त्यसैको असली लेखको लिंक दुवै पोष्ट गरेका रहेछन्। मन न हो, दंग पर्यो। अनि त के नै चाहियो र ?

मैले उनलाई ‘फलो ब्याक’ समेत गरेँ । त्यसपछि उनले आफ्नो फोन नम्बर सन्देश बाकस मार्फत पठाए । कुरा गर्न चाहेको जनाउ दिए । मैले तुरुन्तै उनलाई फोन चाहिँ गरिनँ। पहिले जस्तो नयाँ साथी बनाउन मेरो मन हत्तपत्त तयार हुँदैन । आजकल मलाई आर्थर सोपेन्हावरको ‘ मानिसको इच्छा माथिको स्वतन्त्रता’ नामक पुस्तकले निथ्रुक्क भिजाए जस्तो लाग्छ। म त्यो पुस्तकको नशा नशामा बगेको महशुस हुन्छ।

दुनियाँदारीबाट दिक्क भएर होला आफ्नै मस्तिष्कको साँगुरो एवम् अँध्यारो गल्ली प्यारो लाग्न थालेको छ। गल्लीबाट निस्कने प्रयास स्वरुप नम्बर पाएको करिब एक सातापछि फूर्सद निकालेर फोन गरेँ। गहिरो तर धोद्रो स्वरमा ‘हेल्लो’ सुनियो। मैले आफ्नो नाम बताए पछि उनले कृतज्ञता जाहेर गरे, जुन आवश्यक थिएन। केही समय औपचारिक कुरा भए। त्यसपछि उनी अलिक खुले, “तपाइँले उधिनेर त्यसै छोडेको टिकारामको कथाप्रति मेरो असन्तुष्टि छ है, सर ।”

मलाई उनको सिधै कुरा गर्ने शैली मन पर्यो। मैले उनको असन्तुष्टि एकदमै जायज भएको स्वीकार गरेँ र थपेँ, “टिकारामको कथा अपुरो भएको कुरा सोर्है आना सत्य हो। टिकारामका बारेमा थप्ने कुरा नभएरै मैले वासिंटन पोष्टको कथा तुनेको  हुँ।”

“थुप्रै टिकारामहरू मध्ये म पनि त्यस्तै नियती बाँचेको एक टिकाराम हुँ, सर । त्यस्तै एक पात्रको पूरा कथा बताएर पाठकहरूलाई न्याय दिन चाहनुहुन्छ भने मलाई लाग्छ मेरो पटकथा त्यसका लागि उपयुक्त हुन सक्छ।

“तपाईँ एलिजाबेथ बन्दरगाह नजिकैको सामुदायिक क्याम्पसमा पढाउने मानिस त होइन नि?”, मैले उनको ध्यान खिच्दै सोधेँ।

“होइन, होइन। … ढुक्क हुनुहोस्, म त्यो मानिस बिल्कुलै होइन।”
“ए… ओके…।” मलाइ थाहा छैन म किन ढुक्क भएँ।

एकछिन सम्म हामी दुवै यसरी चुप रह्यौँ मानौ हामी मेशिन थियौँ र कसैले हामी दुबैको दिमागको स्विच एकसाथ अफ गरिदिएको थियो।

त्यसपछि उनी बोल्न थाले :

“सर, म विद्यार्थी भिसामा आज भन्दा २८ वर्षअघि अमेरिका छिरेको हुँ। अध्ययन सकेर, कागज बनाएर परिवार ल्याउन मात्रै १५ वर्ष लाग्यो। ति १५ वर्षमा घटेका कुरा गर्ने हो भने एउटा सानो तिनो उपन्यास तयार हुन्छ होला। त्यसैले म यतिबेला विस्तारमा जान चाहिनँ। छोटकरीमा भन्नु पर्दा म पढाइमा अब्बल थिएँ तर दुनियाँदारीको मामीलामा एकदमै लोफर। अटिस्टिक भन्छन् नि, … लगभग त्यस्तै। एक वर्ष पढाइको बीच गर्मीको छुट्टीमा एउटा भारतिय अमेरिकि सज्जनको स्टोरमा काम शुरु गर्दा उमेर नपुगेको युवालाई परिचय पत्र नहेरी कनै चुरोट बेच्न पुगेछु। तै ति पटेल साहु दयालु निस्के। गिरफ्तारीबाट बच्नको लागि भागेर टाढा कतै जाने सल्लाह दिए। म त्यँहाबाट भागेँ र अमेरिकाको पूर्वी किनारको राज्यमा पुगेँ ।

संयोगवशः त्यहाँ एक समकक्षी अमेरिकी महिलासँग मित्रता गाँसियो। उनले आफ्ना पिता पिस कोर्प्सको स्वयमसेवी भएर नेपाल गएको कुरा गरेपछि दुवैको मनमा शायद मित्रताको कमन ग्राउण्ड तयार भएको थियो । हामी दुवैले एक अर्काका समस्याहरू साझा गर्न थाल्यौँ। मेरो कहानी सुनेपछि उनैले कागजको लागि बिहे गरेर सहयोग गर्ने प्रस्ताव सुनाइन्। अदालतमा बिहे गरेको दुई महिनापछि उनलाई के भयो मलाई आजसम्म पनि थाहा छैन। मबाट लिएको पुरा पैसा मलाई नै फिर्ता दिएर सम्बन्ध बिच्छेद गरिन् । अनि आफ्नो बाटो लागिन्। उनी गएपछि थाहा भयो मैले उनलाई भित्रभित्रै मन पराउन थालेको रहेछु । शायद उनले मलाई दया मात्रै देखाएकी थिइन्। म प्रेममा अन्धो हुनुअघि आँखा खोलिदिएर हिँडिन्। तर म अल्झिएँ। धेरै समय सम्म बल्झिएँ पनि।

अन्ततः ओबामाको शासन कालमा आर्मीमा भर्ती भएको खण्डमा ग्रीनकार्ड अनि नागरिक बन्न बाटो/समय छोटिने कुरा आयो। सिपाही बनेँ र युद्ध क्षेत्र पुगेँ। दुई वर्ष डरलाग्दो युद्धभूमिमा बिते। ज्यान बचाएर फर्केको दुई वर्षपछि ग्रीनकार्ड आयो। त्यसको करीब चार वर्षपछि नागरिक बनेँ र नेपालबाट श्रीमतीलाई अमेरिका ल्याउन सकेँ। २०१३ देखि २०१५ सम्म सबै ठीक थियो। श्रीमतीले नेपालमा नर्सिंग पढेकी हुनाले तुरुन्तै राम्रो पैसा पाइने जागीर खान थालिन। २०१५ साल पछि उनका र मेरा कुरा बाझ्न थाले। म बाबु बन्न चाहन्थेँ । उनि आमा बन्न तयार भइनन्।  तर त्यसपछि म डिप्रेसनमा गएँ। काम गर्ने जाँगर मर्यो। सिर्जनशिलता मर्यो। म हुतिहारामा दरिएँ। निकम्मा भएँ। हावा भएँ। लफंगो भएँ। डरपोक भएँ। हप्ता दुईमा एक साँझ साथीहरूसँग एक गिलास बियर पिउँदा पनि जँड्याहामा दरिन थालेँ। नूर गिर्यो। म पूर्णकालीन टिकाराम भएँ। उनले लगातार छिट्ने आलोचनाको थुकले मेरो आत्मविश्वासको बत्ती निभाउन थाल्यो। जहाँ काम शुरू गर्यो त्यहीँबाट निकालिन थालेँ। मबाट घर चलाउन आवश्यक पैसा पनि जम्मा हुन छोडेपछि उनले छोड्नु शायद स्वाभाविक थियो। उनले छोडेको तोडले मेरो बाँच्ने जिजीबिषाको हठात हत्या भयो। जीवन झनै निरर्थक लाग्न थाल्यो। तर मर्न सजिलो रहेनछ। प्रहरीले बचाए। रिहाबमा बसेर थेरापी लिएको तीन महिनापछि जुन प्रहरी अधिकारीले बचाएका थिए उनैले सामुदायिक प्रहरी सेवामा लगेर जोडे। प्रहरी बनेपछि सबैभन्दा पहिले मैले आफूभित्र बसेर मलाइ  भीर तिर धकेल्ने कोशिस गरिरहने टिकारामको हत्या गरेँ।

मलाई बाँच्नु थियो । त्यसैले उसको हत्या आवश्यक थियो। त्यसरी मैले बिगतलाई बिर्सिएँ। तपाईको टिकारामलाई पढेपछि बिगत एक खेप फर्कियो। मैले अरू टिकारामहरूलाई मेरो नियती भोग्नबाट, आलोचनाको थुकले निभ्नबाट कसरी बचाउन सक्छु होला भनेर आजकल एक्लै सोची बस्छु। मेरो कथा र संकल्पको सार्वजनिककरण पनि त्यस अभियान तर्फको एउटा पाइला हो कि भन्ने सम्झेको छु। एक्लै र स्वतन्त्र जन्मनु भएको हो भने किन माया नगर्ने मानिसको साथको लागि आफूलाई कैद गर्नु हुन्छ? फुकाल्नुस् अरूले के भन्लान् भन्ने संकोचका जन्जिरहरू…”

मलाई थाहा भएन उनले वाक्य किन अधुरै छोडे। उनको कथा सुनेर म फोन मै ट्वा परेँ। मलाई याद छैन हामीले कसरी संवाद टुंग्यायौँ।

उनको कथा सुनेपछि मैले अनायास बिराज दाजुलाई पो सम्झन पुगेँ। ति दाजु पत्नी पिडित थिएनन्। तर उनि त्यो भन्दा पनि एक कदम अगाडि, परिवार पीडित थिए ।

वि. स. २०५३ साल हो कि जस्तो लाग्छ। चैतको महिना थियो। होली पर्व भर्खर मात्र सकिएको थियो। च्यातिईनसकेको तर रंग उडेर फुंग भएको पुरानो सुतीको धोती जस्तो भएको थियो काठमाडौंको आकाश। बिराज (नाम परिवर्तन) दाजु पहिलो पल्ट कोरिया उड्ने दिन थियो। तर त्यसै दिन नेपाल बन्द थियो। काठमाडौंका सडक एकदमै सुनसान थिए । मलाई याद छैन कुन राजनितिक पार्टीले त्यो बन्दको आयोजना गरेको थियो । तर सडकमा टेम्पोको कुरै छोडौं रिक्सा समेत थिएनन्। हामी त्यति बेला बबरमहल स्थित वन मन्त्रालय पछाडिको एउटा सानो घरमा डेरा गरेर बस्थ्यौँ। मसँग तराईबाट ल्याएको ‘रोडमास्टर’ ब्राण्डको साइकल थियो जुन खासै प्रयोगमा आएको थिएन। त्यो दिन साँझ पाँच बजेको फ्लाइटको टिकट थियो उहाँको। अघिल्लो दिनको बिदाइ भेलामा मेनपावर कम्पनीका मालिक मधु लम्सालले कोरिया जाने सबैलाई भोली दिउँसो दुई बजे एअरपोर्ट पुग्नैपर्ने उर्दी जारी गरेका थिए। बाह्र बजेसम्म पनि टेम्पो, ट्याक्सि, रिक्सा केही पाइने छाँटकाँट नदेखेपछि टंक काका र मैले साइकलमा बिराज दाजुका दुई वटा साना साना कपडाका  सुटकेस बाँध्यौँ । र हामी तिन जना एअरपोर्ट तिर लतारियौँ।बिराज दाजु एयर्पोर्टभित्र छिरेपछि हामी जहाज हेर्ने छतजस्तो विमानस्थलको कौशीमा पुग्यौँ र पाँच बजेसम्म कुर्यौं। जब दाजु बसेको बिमान उड्यो, म सँगै मेरो मन पनि थचक्क बस्यो। अहिले सम्झदा पनि नरमाइलो लाग्छ। टंक काकाले ‘उठ कृष्ण, अब जानु पर्छ’ भनेपछि म उठेँ। हामी साइकल डोर्याएर डेरातिर फर्कियौं । रातभर मन चैतको चुरे जस्तै डढिरह्यो। ति दाजु त्यो समयमा मेरा लागि एक आदर्श थिए। प्रजातन्त्रका लागि जेल बसेका; पढाईमा पनि तेज; बोल्नमा त उनलाइ सानोतिनो मानिसले भेट्दैनथ्यो। उनले २०४९/५० साल तिर कोलोम्बोमा आयोजित सार्क युवा बक्तृत्वकला प्रतियोगितामा नेपाललाइ प्रतिनिधित्व गर्ने मौका जो पाएका थिए। तर लामो समयसम्म स्वदेशमा संघर्ष गर्दा पनि केही उपलब्धि हात नलागेपछि दाजु विदेशिँदै थिए।

स्वदेशमा केहि गर्न नसकेर बिदेश उड्ने मानिसले शायद साना सपना देखेको हुन्छ। जस्तैः संसार देख्ने, पैसा कमाउने, केही पैसा घर पठाउने, केही समय पछि स्वदेश फर्किने, बिहे गर्ने, घरजम गर्ने…। शायद बिराज दाजु ति सब कल्पेरै त उडेका थिए होलान्। तर त्यतिबेला उनले देखेका सपना मेरा लागि भने गौण थिए। म काठमाडौंको खाल्डोमा थिएँ। मेरो दिमाग पनि खाल्डो जस्तै थियोः अलिक चिसो, अनि अँध्यारो। अलिक आत्मकेन्द्रित। विदेश जाने कुराको कल्पना गर्न पनि सकेको थिइनँ। जीवनमा कल्पना गर्न सक्नु जस्तो ठुलो कुरा केही पनि छैन जस्तो लाग्छ मलाई आजकल। त्यो बेला मेरो दिमागमा भने एउटा मात्रै कल्पना थियोः एम ए पढेर सकाउने अनि क्याम्पस पढाउने। खैर, मेरो निरस जीवनबारे अरू कुनै दिन गफिम्ला। अहिलेलाई बिराज दाजुको कुरामा फर्कौं।

बिराज दाजुले महिनै पिच्छे मलाई घरबेटिकोमा फोन गर्थे। म उठाउन नपुग्दै फोन नकाटियोस् भन्ने सोचेर म हुर्रिंदै सिँढि चढ्थेँ। बडो स्नेह गर्थे उनले मलाई। रुखो सुनिने तर माया गरेको बुझिने गरी “के पठाइदिम्, भन्?” भनि सोध्थे। टन्सिलले सताइरहने मेरो समस्यासँग वाकिफ भएकोले हरेक पटकको कुराकानीमा उनले मेरो स्वास्थ्यको बारेमा सोध्थे। उनले सोध्दा म द्रवित हुन्थेँ। मैले उनलाई मिस गरेको कुरा गर्थिन। बरु कट्टुको पसलमा व्हिस्कि पिएका कुरा गरेर टार्थें। म भित्रभित्र के सोच्दथेँ भन्ने कुरा उनले बुझ्थे।

५५ सालको तिहार मनाएर म काठमाडौं फर्केको साँझ बिराज दाजुको फोन आयो। दाजु कोरिया उडेको दुई वर्ष पुगिसकेको थियो। त्यस साँझ दाजुले लगभग कामेको स्वरमा बडो दुःख लाग्ने कुरा गरे। मैले ‘कसरी बिमार पर्यौ दाइ ?’ भन्दा साथ उनी फोनमै हक्कानिए। द्रवित स्वरमा भन्दै थिए, “तिमीले बरू प्रत्येक कलमा कस्तो छौ भनेर सोध्छौ, कुराकानी टुंग्याउँदै गर्दा आफ्नो ख्याल राख्नु भन्छौ। तर मेरो घरका कसैले पनि आजसम्म मेरो स्वास्थ्यको बारेमा केही सोधेका छैनन्। फोन गर्दासाथ बाउ आमाले घरको तला थप्न थालेको पैसा पुगेन भन्छन्। बहिनीहरूले चाडवाडको लागि छुट्टै पैसा पठाईदेऊन, दाइ… भन्छन्। भाइले मोटरसाइकलको किस्ता तिर्न पुगेन भन्छ। म बिरामी भएर बोलेको स्वर उनीहरूको कानमा पटक्कै छिर्दैन, भाइ।” आजकल स्वयम बिदेशमा हुँदै गर्दा महशुस हुन्छः आफन्त र आफ्नो लाग्ने मानिसले सन्चो बिसन्चो सोध्नु भनेको आधा रोग निको हुनु जस्तै हो।
म दुःखको गम खान्छु। हो; बुद्धले भने जस्तै जीवनमा दुखः छ। तर दुःखका बोरा बोक्न किन विवश छ मान्छे?
मेरो रुँदै गरेको मनको मझेरीमा टपटप्ति अरुण थापाका गीत झर्छन्ः

जति माया लाए पनि जति कसम खाए पनि…

तपाइँको प्रतिक्रिया